मेरो ओलम्पिक यात्रा संस्मरण

आदर्श समाज सम्वाददाता
असाेज ९, २०८१

-तेजबहादुर गुरुङ

ओलम्पिक सहभागिता जुनसुकै खेलाडीको लागि अन्तिम लक्ष्य हो । लामो समय खेल क्षेत्रमै जीवन समर्पण भएकाले मेरो निम्ति पनि ओलम्पिक प्रत्यक्ष अवलोकन गर्ने हुटहुटी थियो नै । अन्ततः यसपालि फ्रान्सको राजधानी पेरिसमा आयोजित ३३ औं ग्रीष्मकालीन ओलम्पिक समापन समारोहमा सहभागिता जनाउने अवसर मिल्यो । नेपालबाट केही सदस्य पहिले नै गइसके पनि समापनका लागि नेपालबाट उड्दा नेपाल ओलम्पिक कमिटीतर्फबाट मसहित नेपाल ओलम्पिक कमिटी लेखा प्रमुख राजन श्रेष्ठ गरी दुई सदस्य थियौं ।

गएकै बेलुकी पेरिसस्थित नेपाली दाजुभाइहरूको स्वागत कार्यक्रमा सरिक हुने अवसर मिल्यो ।

२६ जुलाईदेखि ११ अगष्टसम्म भएको पेरिस ओलम्पिकको समापनको हामीहरू साक्षी बन्यौं । भव्य समारोहबीच भएको समापनमा पेरिसको मेयर एनी हिडाल्गोले लस एन्जलसका मेयर करिन वासलाई झण्डा हस्तान्तरण गरे । लैंगिक समानतालाई प्राथमिकतामा राखि महिला तथा पुरुष खेलाडीलाई समानरुपमा सहभागी गराइएको यस ओलम्पिकको समापन समारोहमा दुवै शहरका मेयर महिला नै थिए । सोही बेला जादुमयी ढंगले हलिउडका चर्चित कलाकार टम क्य्रुज देखा परे ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी अध्यक्ष थोमस बाक तथा आयोजक कमिटी अध्यक्ष टोनी एस्टान्गुटले समापनमा भनाइ राखेसँगै ४ वर्षपछि लस एन्जलसमा भेट्ने वाचाका साथ ओलम्पिक दीयो निभाइयो । र, ओलम्पिकले विश्राम लियो ।

ओलम्पिकमा सहभागी हजारौं खेलाडीहरूलाई एकैप्रकारको सुविधाको व्यवस्था थियो । त्यति धेरै मानिसलाई एकै ठाउँमा ओलम्पिक भिलेज निर्माण गरी आवासको बन्दोबस्त गरिएको थियो । सबैलाई खानाका लागि समानरुपमा मेस थियो । ओलम्पिक भिलेज साँच्चिकै हेर्नलायक रह्यो । सबैले आ–आफ्नो निवास बाहिर आफ्नो देशको झण्डा फहर्‍याएको दृश्य मनमोहक थियो ।

भारतीय ज्याभालिन खेलाडी निरोज चोपडालगायत अन्य ओलिम्पिक पदकधारी खेलाडीसँगसँगै रहेर खाना खाँदा ज्यादै आनन्द लाग्यो । सबै खेलाडी, अफिसियलहरूका लागि पेरिस सहरभरि घुम्नका लागि रेल र बसको निःशुल्क कार्डको व्यवस्था थियो । खेलस्थल र अन्य सहरमा कडा सुरक्षा थियो । मैले विच भलिबल, ह्याण्डबल, एथलेटिक्सका इभेन्टहरू, बक्सिङ, पुरुष तथा महिला म्याराथन आदि प्रत्यक्ष अवलोकन गर्ने मौका पाएँ ।

समापन समारोहपश्चात् हामीहरू भोलिपल्ट १२ अगस्टमा कतार एयरलायन्सको जहाजबाट पेरिसदेखि दोहा (६.५ घण्टा) र दोहादेखि काठमाडौं (४.५ घण्टा) फर्कियौं । फर्किंदा नेपाल ओलम्पिक ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, महासचिव नीलेन्द्रराज श्रेष्ठ र सदस्य दीर्घ केसीसमेत सँगै थियौं । यसरी मनभरी पेरिस ओलम्पिकको याद सँगाल्दै ११ दिनको ओलम्पिक यात्राले विश्राम लियो ।

रंगशाला बाहिर पहिलोपल्ट उद्घाटन
यसपालिको ओलम्पिकमा ३२ खेलका ३२९ विधामा २०६ देशका १० हजार भन्दाबढी खेलाडीबीच प्रतिस्पर्धा भएको थियो । नेपालका तर्फबाट ६ विधामा ७ खेलाडीले भाग लिएका थिए । सिटी अफ लाइट (City of Light) भनेर चिनिने पेरिसमा भएको उद्घाटन समारोहले विश्वको ध्यान खिचेको थियो । ओलम्पिकको इतिहासमै उद्घाटन समारोह पहिलोपल्ट रंगशालाबाहिर भएको हो ।

त्यसबेला हामीले टिभीका स्क्रिन र अनलाइनमा देखेअनुसार सहभागी टोलीलाई डुंगा र क्रुजमा राखेर सेयन नदीमा मार्च पास्ट गराइएको थियो ।

‘खेल सबैका लागि खुला’ अवधारणाबीच भएको पेरिस ओलम्पिकले इतिहासमा पहिलोपल्ट लैंगिक समानता (Gender Equity) लाई महत्व दियो । सबै खेलमा महिला पुरुषको बराबर सहभागिता रह्यो । ४५ हजार स्वयंसेवक खटिए भने ३ हजार लेजन अफिसर थिए । भोलेन्टियर सबै देशहरूबाट जान सक्ने व्यवस्था मिलाइएको थियो ।

‘खेल खेल्ने अधिकारलाई वञ्चित गर्नु हुँदैन’ भन्ने अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको भावनाअनुरुप शरणार्थीहरूले पनि भाग लिए । क्यामरुनका शरणार्थी सिन्डी नाम्बाले बक्सिङमा कास्य जिते । युक्रेन हमलाका कारण रुस र बेलारुस निलम्बन थिए ।

तर, ती देशका खेलाडीलाई खेलमा प्रतिबन्ध थिएन । उनीहरूले जितेको पदक देशको नाममा नगई खेलाडीको नाममा दिइयो ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तथा उपमहासचिवसँग ।

यसरी, पेरिसको पोन्ट दि अस्टरलिजबाट सुरु मार्च पास्ट विश्वचर्चित आइफल टावर नजीक पुगेर टुंगिएको थियो । उद्घाटन समारोहमा ८५ वटा डुंगा प्रयोग भएको थियो । कडा सुरक्षाबीच उद्घाटन समारोहले विश्वका खेलप्रेमीको ध्यान खिचेको थियो ।
नेपालका तर्फबाट राष्ट्रिय झण्डा श्यान्टु श्रेष्ठ र मनीता श्रेष्ठ प्रधानले बोकेका थिए ।
सन् २०२० को टोकियो ओलम्पिकदेखि नै ‘लैंगिक समानता’ लाई महत्व दिएर अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) ले पुरुष र महिला दुवै खेलाडीलाई मार्च पास्टमा राष्ट्रिय झण्डा बोक्न दिने सुरुआत गरेको हो ।

ओलम्पिकको इतिहास
ओलम्पिक भन्नेबित्तिकै मानव सभ्यताको ठूलो परिचायक बनेको छ । प्राचीन ओलम्पिकको सुरुआत ईशापूर्व ७७६ बाट सुरु भएको हो । करिब २८ सय वर्षअघि धार्मिक तथा सांस्कृतिक उत्सव, एकताको भावनासहित ओलम्पिकको अवधारणा तत्कालीन ग्रिक राज्यमा सुरु भएको हो । त्यतिबेला पनि ग्रिसहरूको भगवान्को राजा जिअसको नाममा ग्रिकहरूले ओलम्पिकको आयोजना गरेको पाइन्छ । ग्रीसको ओलम्पिय भन्ने शहरमा पहिलो पटक आयोजना भएकोले यसलाइ ओलम्पिक भनिएको हो । त्यसको मूल उद्देश्य एकापसमा मिलेर बस्ने, सांस्कृतिक आदानप्रदान गर्ने, स्वस्थ जीवनयापन गर्ने आदि त्यसबेलाको अवधारणा पाइन्छ । अहिलेको जस्तो सुविधा नहुँदा नजिकका राज्यहरूमात्र सहभागिता जनाउँथे । दौड, भाला हान्ने, घोडचढी, रथ दौड, रेस्लिङ लगायत पाँचसात वटा खेलहरू मात्र समावेश गरेको पाइन्छ ।

करिब १२/१३ सय वर्षसम्म नियमितरुपमा अगाडि बढेको प्राचीन ओलीम्पकको इतिहास युद्धका कारण खेल रोकियो । फेरि सन् १८९६ मा फ्रान्सेली नागरिक पिअरे डि कबर्टिन (Pierre de Coubertin) ले आधुनिक ओलम्पिकको अवधारणा अघि सारे । जसलाई फादर अफ मोडर्न ओलम्पिक भनी चिनिन्छ । उनले त्ससबेला ग्रिसको एथेन्समै ओलम्पिक खेल लगे, जहाँबाट प्राचीन ओलम्पिकको सुरुआत भएको थियो । ओलम्पिकको शृङ्खला अघि बढ्दै जानेक्रममा सन् १९२४ मा हिउँमा खेलिने विन्टर ओलम्पिकको अवधारणा आयो र पहिलो विन्टर ओलम्पिक फ्रान्सले नै आयोजना गरेको हो । १०० वर्षअघि फ्रान्सले नै दोस्रो पटक ओलम्पिकको आयोजना गरेको थियो । तसर्थ पेरिसमा ओलम्पिक आयोजना भएको यो तेस्रो पटक हो । सन् १९६८ मा अपांगता भएका व्यक्तिलाई समेत ध्यानमा राखेर अमेरिकाको सिकागोमा पहिलो पटक पारा ओलम्पिक सुरु भएको हो ।

ओलम्पिकको ३ लक्ष्यः फास्टर–हाइयर–स्ट्रोङगर (Faster-Higher-Stronger) हुन् । टोकियो ओलम्पिकदेखि टुगेदर (Together) पनि जोडियो । यसरी ४ थिममा रहेर ओलम्पिक खेलाइने गरिएको छ । हरेक ४/४ वर्षको अन्तरालमा हुने ओलम्पिक आगामी सन् २०२८ मा अमेरिकाको लस एन्जलसमा र सन् २०३२ को ओलम्पिक अष्ट्रेलियाको ब्रिजवेन सहरमा हुने तय भइसकेको छ ।

सन् १९६२ मा नेपाल ओलम्पिक कमिटी (एनओसी) को स्थापना भएको हो । वसुन्धरा शाह नेतृत्वको टिमले गरेको प्रयासपछि सन् १९६३ मा नेपाल अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी)को सदस्य बन्यो र सोही वर्ष नेपालमा पहिलो पटक ओलम्पिक मसाल ल्याइएको थियो।

हामीहरू कहाँ छौं ?
सन् १९६४ को टोकियो ओलम्पिक (१८ औं संस्करण) बाट नेपालले प्रतिस्पर्धात्मक खेलमा सहभागिता सुरु गरेको हो । सन् १९६८ को मेक्सिको ओलम्पिकबाहेक अहिलेसम्मका एसियाड र ओलम्पिक खेलकुदमा नेपालको निरन्तर सहभागिता रहेको छ ।
यसरी नेपालले सन् १९६४ यता सम्पन्न १६ मध्ये १५ ओलम्पिकमा एक सय भन्दा बढि खेलाडी पठाइसकेता पनि कुनै पदक प्राप्त गर्न सकेको छैन ।

यसैबीच, नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोवद्र्धनले पेरिस पारालिम्पिक–२०२४ मा ऐतिहासिक कास्य पदक जितेर नेपाललाई अहिलेसम्मकै महत्वपूर्ण पदक दिलाएकी छन् । यो खुसीको कुरा हो ।

सन् १९८८ मा भएको दक्षिण कोरियाको राजधानी सिओल ओलम्पिकमा विधान लामाले तेक्वान्दोको प्रदर्शनी खेलमा कास्य पदक प्राप्त गरेका थिए । सन् १९२४ को फ्रान्समा भएको विन्टर ओलम्पिकमा तत्कालीन ब्रिटिस आर्मीमा कार्यरत् तेजवीर बुढाले सम्मानपूर्वक ओलम्पिकको ‘अनररी मेडल’ प्राप्त गरेका थिए ।

सन् १९२२ मा ब्रिटिस माउन्ट एभरेष्ट एक्सपिडिसन समूहमा उनले शेर्पाहरूसँग मिलेर ज्यादै ठूलो भूमिका निर्वाह गरेका थिए । तर एभरेष्ट भने आरोहण गर्न सकेनन् ।

नेपालबाट ओलम्पिकमा सबैभन्दा बढी सहभागिता जनाउने रेकर्ड म्याराथन धावक वैकुण्ठ मानन्धरको नाममा छ । तसर्थ उनी सबैभन्दा भाग्यमानी मानिन्छन् । लगातार चारपटक उनले ओलम्पिकमा सहभागिता जनाएका छन् ।

छनोट चरण पार गरेर यसअघि तेक्वान्दो खेलाडीद्वय संगीना वैद्य र दीपक विष्टले छुट्टाछुट्टै संस्करणमा भाग लिए । केहीले वाइल्ड कार्ड र सबैजसोले अन्य कोटाबाटै सहभागिता जनाउँदै आएकोमा पेरिस ओलम्पिकमा नेपालका कुल सात खेलाडी सहभागी भएका हुन्। टेबल टेनिसबाट स्यान्टु श्रेष्ठ र जुडोबाट मनीता श्रेष्ठ प्रधानले छनोट चरण पार गरेर ओलम्पिकमा स्थान बनाए ।

अन्य खेलाडीमा ब्याडमिन्टनबाट प्रिन्स दाहाल, सुटिङका सुष्मिता नेपाल, पौडीका एलेक्स (एलेक्जेन्डर एस शाह) र डुवाना लामा तथा एथलेटिक्सकी सन्तोषी श्रेष्ठले पेरिसमा प्रतिस्पर्धा गरे । प्रिन्स र सुष्मिता आमन्त्रित कोटामा तथा बाँकी खेलाडीले निर्धारित कोटामा खेल्न पाएका हुन् । पौडी खेलाडी एलेक्स शाहले १०० मिटर फ्रि स्टाइलमा ५१.११ सेकेण्डमा पूरा गरी राष्ट्रिय कीर्तिमान सुधार गर्नुबाहेक अन्य खेलाडीको प्रदर्शन उत्शाहजनक रहन सकेन । म्याराथनतर्फ सन्तोषीले २ घण्टा ५५ मिनेट ०६ सेकेण्ड लगाएर दौड पूरा गरिन् । उनको प्रदर्शन निकै उत्साहजनक रह्यो । उनी २०२४ को पोखरा म्याराथनमा २१ किमी महिलातर्फ स्वर्ण पदकधारी हुन् । ओलम्पिकमा कुल ९७ जना खेलाडीमध्ये उनले ७८ औं स्थान हासिल गरी दर्शकको मन जित्न सफल भइन् ।

सन्तोषी श्रेष्ठसँग

पेरिस म्याराथनको दौडने रुट प्राविधिकरुपले निकै ओह्रालो र उकालो गर्नुपर्ने भएकाले धेरै धावकले एउटा अप्ठ्यारो र गाह्रो रुट भनेर टिप्पणी गरेको पाइयो । महिलातर्फ नेदरल्याण्डकी सिफन हसन २ घण्टा २२ मिनेट ५५ सेकेण्डमा दौड पूरा गरी प्रथम हुँदा पुरुषतर्पm इथियोपियाका तामिरात तोलाले २ घण्टा ६ मिनेट २६ सेकेण्ड लगाएर दौड पूरा गरी ओलम्पिकमा नयाँ रेकर्ड राख्दै स्वर्ण जिते।

२०६ राष्ट्र सहभागी पेरिस ओलम्पिकमा समग्रमा अमेरिकाले सबैभन्दा बढी ४० स्वर्ण ४४ रजत ८४२ काश्य पदक जित्न सफल भयो भने चीनले ४० स्वर्ण २७ काश्यसहित दोस्रो भयो । जापान २० स्वर्ण, अस्ट्रलिया १८ र फ्रान्स १६ स्वर्णसहित क्रमशः तेस्रो, चौथो र पाँचौं भए।

निरोज चोपडासँग ।

पलेसाले दिलाइन् ऐतिहासिक पदक
पेरिस ओलम्पिकको यात्रा संस्मरण लेख्दै गर्दा नेपाललाई प्यारालिम्पिकतर्फ एक ऐतिहासिक पदक प्राप्त भएको छ । ओलम्पिकमा नेपालको ६० वर्षे इतिहास १९६४ टोकियो ओलम्पिकदेखि अझसम्म कुनै पदक जितेको थिएन ।
तर यो पटक ३३ आंै पेरिस ओलम्पिकमा प्यारालिम्पिकतर्फ तेक्वान्दो खेलमा २१ वर्षीया पलेसा गोवर्धनले काश्य पदक जित्न सफल भएकी हुन् ।

यो नेपालको पहिलो ओलम्पिक पदक हो । काठमाडौं २८, वागबजार निवासी पलेसाको जन्मजात नै बायाँ हातको नाडीभन्दा तल्लो भाग विकास भएको थिएन । पलेसाले १० वर्षको उमेरदेखि तेक्वान्दो खेल्न थालेकी थिइन् । उनले राज्यबाट ६५ लाख रुपैयाँ पुरस्कार पाउनेछिन् । उनले पेरिसस्थित ग्रान्ड प्यालेसमा गत K-44 क्याटगोरीको महिला ५७ के.जि. मुनि रिपेचेजको कास्य पदक भिडन्तमा सर्बियाकी मरिजा मिसेभलाई १५–८ ले पराजित गरेकी हुन् । यस अघि उनले फ्रान्स र भेनेजुयलाकी खेलाडिलाई पराजित गरेकी थिइन । नेपाललाई ऐतिहासिक पदक दिलाएर १९ भदौमा स्वदेश फर्किएकी उनलाई काठमाडौंमा भव्यताकासाथ नगर परिक्रमा गराइएको थियो ।

पदक जितेपछि पलेसाको पोखरामा आयोजित एक सम्मान कार्यक्रममा ।

यो जितपछि उनले भनेकी छन्, ‘यो जित मेरो व्यक्तिगत नभइ सारा नेपालीको हो । मैले १० वर्षको उमेरमा देखेको सपना आज पूरा भएको छ ।’ उनी ३ वर्षअघि टोकियो ओलम्पिकमा पनि अन्तिम चरणमा पदकविहीन बन्न पुगेकी थिइन् । तर उनले हिम्मत हारेनन् ।

सन् २०२२ मा चीनको हाङ्गजाओमा भएको एशियन गेम्स्मा चीनकी चाङली तीङलाई १४–१ ले पराजित गरी सेमिफाइनलमा प्रवेश गरेर काश्य जितेकी थिइन् । स्मरणरहोस्, सन् १९६० को रोम शहरमा पहिलो प्यारालिम्पिकको सुरुआत भई प्रत्येक ४ वर्षमा आयोजना गरिँदैआएको छ । सन् १९८८ को सियोल ओलम्पिकदेखि ओलम्पिक खेलको आयोजना गर्ने शहरमै प्यारालिम्पिक खेल आयोजना गर्ने निर्णय गरिएको थियो । पलेसालाई धेरै धेरै बधाई तथा उज्ज्वल भविष्यको शुभकामना ।

खेलकुदमा लगानी र कार्ययोजना आवश्यक
खेलसम्बद्ध सरोकारवाला निकायले गम्भीरतापूर्वक सोच्नुपर्ने बेला आएको छ । खासमा राज्यले नै खेलको महत्व बुझ्न सक्नुपर्छ । स्वास्थ्यदेखि सामाजिक रुपान्तरणमा खेलले ल्याउने परिवर्तन कसैसँग तुलना गर्न मिल्दैन ।
यहाँ खेलाडीलाई राम्रोसँग वैज्ञानिक तालिम छैन । भविष्य सुनिश्चित छैन । खेलाडीलाई नियमित रुपमा उचित आहारको व्यवस्था छैन । कहाँ खेल्ने टुंगो छैन ।

नेपालभन्दा धेरै साना मुलुकहरूले पदक जितेको इतिहास छ । जम्मा सवा लाख जतिमात्र जनसंख्या रहेके ग्रेनेडा, एक लाखभन्दा साना जनसंख्या भएका बरमुडा र सन मारिनोले विभिन्न पदक जितेका छन् । त्यसको कारण हो, उनीहरूले खेलाडीलाई केन्द्रमा राखी वैज्ञानिक योजना तया गरेका हुन्छन् । तर खेलकुदलाई बेवास्ता गर्दै नेपाल सधैँजसो राजनीतिक खिचातानीमै अल्झियो । यसका लागि खेलकुदमा पर्याप्त बजेट विनियोजन गर्नुपर्छ । ग्रासरुटबाटै प्रशिक्षणको तयारी थाल्नुपर्छ । प्रतिभाको खोजी (Talent Hunt) गर्दै मुलुकमा खेलकुद मात्रै पढाइ हुने विश्वविद्यालय खोल्नुपर्छ । विद्यालयस्तरको पाठ्यक्रममै अनिवार्यरुपमा खेलकुद विषय समेटी खेल संस्कृतिको विकास गर्नुपर्छ ।

अहिलेको वैज्ञानिक र आधुनकि खेलकुद बुझ्न सक्ने प्रशिक्षक आवश्यक पर्छ । बजेट र पूर्वाधारमा ध्यान दिँदै दीर्घकालीन योजना बनाएर प्रशिक्षणसँगै प्रतियोगिता हुनुपर्छ ।

पर्याप्त तयारीसँगै भौतिक पूर्वाधारले सम्पन्न हुनुपर्छ । खेलाडी पनि शारीरिक एवं मानसिकरुपमा तन्दुरुस्त र सक्षम हुनुपर्छ । तत्कालीन, दीर्घकालीन तथा रणनीति योजना बनाउनुपर्छ । सरकारले खेलकुदलाई उद्योगको रुपमा विकास गर्नुपर्छ । नेपालले तयारीका नाममा ६० वर्षदेखि गर्दै आएको गल्ती र कमजोरी दोहोर्‍याइरहेको गुनासो स्वयं प्रशिक्षक र खेलाडीबाट आउने गरेको छ । सरकारले खेल, खेलाडी र ओलम्पिकलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्छ ।

(लेखक प्रदेश खेलकुद परिषद् गण्डकीका संस्थापक सदस्यसचिव एवं नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष हुन्)

Related News

सम्बन्धित समाचार

  • ‘स्व’ को खोजीमा प्रतीक्षा

    कृष्णप्रसाद बस्ताकोटी श्रावण ८, २०८१
    मूलतः मानिस धनको लालचले या त प्रख्यातिको भोकले तानिन्छ र यावत् कर्महरूमा यसरी जोगिन पुग्छ –कृष्णप्रसाद बस्ताकोटी चर्चित साहित्यकार सरस्वती…
  • गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण

    हरिबन्धु अर्याल जेठ २९, २०८१
    मुलुकको संवैधानिक प्रावधान र संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको काम हुँदै आएको छ…
  • नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)

    शेषराज भट्टराई जेठ १२, २०८१
    नमच्चिने पिङले झड्का मात्रै दिन्छ । चाहे लभका मामलामा होस् या जबका मामलामा अर्थात् सबका मामलामा काम नगर्ने मान्छेले गफ…
  • बालकथा : मौकाको साटो

    दिनेश बस्नेत जेठ १२, २०८१
    नेपालको पश्चिम भेगमा सुन्दा पनि अचम्म लाग्ने दुईओटा गाउँ थिए । एउटा लिखापुर र अर्काे भुसुनापुर । दुई गाउँको बिचमा…
  • बुद्ध जयन्ती – एक चर्चा बुद्धशिक्षाको

    आनन्दराज मुल्मी जेठ १०, २०८१
    आज २५६८ औं बुद्ध जयन्ती मनाउँदै छौं । अन्तर्राष्ट्रिय रूपमा अजको दिन शान्ति दिवसको रूपमा मनाइन्छ । इसापूर्व ५६३ मा…

hero news full width