मृगौला रोग र रोकथामका उपाय

आदर्श समाज सम्वाददाता
पौष २१, २०७१

के तपाईलाई चिनी रोग वा रक्तचापको समस्या छ ? छ भने कहिलेदेखि यी रोगहरूबाट पीडित हुनुहुन्छ ? के तपाईको चिनी रोग वा उच्च रक्तचाप अहिले नियन्त्रणमा छ ? यदि नियन्त्रणमा छैन भने तपाईको मृगौला बिग्रन सक्छ। त्यसैले मृगौला रोगबाट आफू पनि बच्नुहोस् र परिवारका सदस्यलाई यस्तो रोग लाग्नबाट बचाउनुहोस्।

मृगौला हाम्रो शरीरको पेटको पछाडि ढाडको दुवैतिर रहेको महत्वपूर्ण अंग हो। हरेक शरीरमा यो एक जोडी हुन्छ। प्रत्येक मृगौला सिमीको गेडा आकारको ४ देखि ५ इन्च लामो हुन्छ र त्यसमा लाखौको संख्यामा नेफ्रोनहरू हुन्छन्। यिनै नेफ्रोनले सानो फिल्टरका रूपमा काम गर्छन्। यी फिल्टरले रगतमा भएको फोहोर पदार्थ र बढी भएको पानी छानेर पिसाबमार्फत बाहिर पठाउँछन् र रगत सफा भइराख्दछ। यसले रगतमा भएको पानी, नुन र खनिज पदार्थ सन्तुलनमा राख्दछ जसले गर्दा रक्तचाप नियन्त्रणमा हुन्छ। हाड बलियो पार्ने भिटामिन डि र रक्तचाप नियन्त्रणमा भूमिका खेल्ने रेनिन नामको इन्जाइम उत्पादन यसले गर्ने भएकोले पनि यसको महत्व धेरै छ। त्यसबाहेक यसले इरिथ्रोपोइन्टिन नामको हमोर्न उत्पादन गर्छ, जसले राता रक्तकोष बनाउँछ।

जब मृगौला बिग्रन्छ तब पिसाबमार्फत निस्कनुपर्ने पानी र फोहोर पदार्थ शरीरमै जम्मा हुन्छ। त्यसपछि वाकवाक लाग्ने र हातखुट्टा सुनिने, स्याँस्याँ हुने, पिसाब फेर्न गाह्रो हुने हुन्छ। त्यसपछि मृगौलाले पूर्ण रूपमा काम गर्न छोड्छ, अनि यसलाई राम्रो बनाउनै सकिन्न। यसलाई नै मृगौला रोग भनिन्छ।

मृगौला बिग्रनुका कारणहरू

मृगौला रोग विशेषतः दुर्इ प्रकारका हुन्छन् : १) अचानक मृगौला बिग्रने रोग र २) कडा एवं दीर्घकालीन रोग। मृगौलाले काम नगरेको केही घण्टा वा केही दिन भएको अवस्थालाई अचानक मृगौला बिग्रिएको भनिन्छ। धेरै झाडापखाला लाग्नु वा बान्ता हुनु, धेरै गर्मीमा काम गर्नु र पर्याप्त मात्रामा पानी नपिउनुका कारण शरीरमा पानीको मात्रा कम हुन जान्छ। यस्तो अवस्थामा पनि अचानक मृगौला बिग्रन्छ। अरू कारणमा धेरै लामो समयसम्म ज्वरो आउने र रगतमा सङ्क्रमण हुने, पिसाब मार्गमा पत्थरी वा प्रोस्टेड ग्रन्थी बढेर अवरोध हुने जस्ता समस्याहरू पर्दछन्। धेरै मात्रामा एन्टिबाइटिक र दुखाइ कम गर्ने औषधीहरू सेवन गरेमा अनि अरिङ्गालले टोकेमा पनि त्यसको विषले मृगौला बिग्रन सक्छ।

३ महिनाभन्दा बढी समयसम्म मृगौलाले कम मात्रामा काम गरेको र क्रमिक रूपमा ब्रि्रँदै गएको अवस्थालाई मृगौलाको कडा एवम् दीर्घकालीन रोग भनिन्छ। जब मृगौला पूर्ण रूपले बिग्रन्छ तब पहिलाको अवस्थामा फर्काउन नमिल्ने हुन्छ। मृगौलाले आफ्नो कुनै पनि काम गर्न नसक्ने अवस्था नभइञ्जेलसम्म खासै लक्षणहरू देखा पर्दैनन् जुन खतरनाक  हुन सक्छ।

मधुमेह र उच्च रक्तचाप नै मृगौलाको दीर्घकालीन रोगका मुख्य कारणहरू हुन्। मधुमेहले गर्दा मानिसको मृगौला बिग्रन्छ। अनि कि त नियमित डायलाइसिस गर्नुपर्छ कि मृगौला प्रत्यरोपण गर्नुपर्ने हुन्छ। उच्च रक्तचापले पनि मृगौलाको धेरै काममा असर गरेको हुन्छ। केही वर्षसम्म उच्च रक्तचाप भइरहेमा यसले रक्त कोषिकालाई समेत बिगार्छ, जसले गर्दा मृगौला खराब हुँदै गएर मधुमेह र अन्य रोग पनि निम्त्याउन सक्छ। त्यसबाहेक मृगौलामा पत्थरी भएर वा प्रोस्टेड ग्रन्थी बढेर पिसाब निस्कनमा अवरोध हुन सक्छ। यदि यो समस्याको उपचार समयमा भएन भने यसले पनि मृगौलालाई बिगार्न सक्छ।

मृगौलाको सबभन्दा सानो एकाइ जुन अति नै सानो फिल्टर जस्तै हुन्छ, त्यो सुनिएको अवस्थालाई ग्लोमेरुलो नेफ्राइटिस भनिन्छ। यस्तो अवस्थामा अचानक वा बिस्तारै मृगौलाको कडा रोग लाग्न सक्छ र मृगौलाको काम गर्ने क्षमतामा कमी आउँदछ। एचआइभी एड्स, हेपाटाइटिस बी र सि वा लामो समयसम्म भाइरसको संक्रमण भएमा रोगसँग लड्ने शक्ति कम हुन्छ। यसले पनि मृगौलाको शक्तिमा ह्रास ल्याउँछ। कहिलेकाहीँ मृगौलामै पनि संक्रमण  हुन सक्छ। धेरै मात्रामा संक्रमण भएको अवस्थालाई पाइलो नेफ्राइटिस भनिन्छ। यस्तो अवस्था लामो समयसम्म भइरहेमा यसले मृगौलालाई असर पुर्‍याउँछ। कसैकसैको मृगौलामा पानीको फोको भएको पाइन्छ। धेरै समयसम्म मृगौलामा पानीको फोको रहिरहे पनि मृगौला कमजोर हुन्छ र रोगको जोखिम बढ्छ।

कसैकसैको मृगौलामा जन्मजात दोष देखा पर्छ। यसको परिणाम स्वरूप पिसाबमा अवरोध हुने वा राम्रोसँग पिसाब गर्न नसक्ने जस्ता समस्याहरू आउँछन्। मुत्र थैली र मुत्र नलीको बीचमा भल्भको जस्तै प्रक्रिया हुन्छ। त्यसको असरले गर्दा मुत्रथैलीको पिसाब माथितिर पिसाब नलीमा फर्किन्छ। यसको उपचारको लागि शल्यक्रिया नै गर्नुपर्ने हुन्छ। यस्तो अवस्थामा मृगौलाको समस्या देखिन सक्छ। लामो समयदेखि औषधी सेवन गर्ने र खासगरी दुखाइ कम गर्ने औषधी धेरै सेवन गर्ने मान्छेहरूको मृगौलासम्बन्धी रोग हुने सम्भावना धेरै हुन्छ।

कसरी रोकथाम गर्ने ?

मृगौला रोगको रोकथाम भनेको यो रोग लाग्नै नदिनु हो। यसको लागि मृगौलाको नियमित जाँच गराउनु पर्दछ। यदि बेलैमा थाहा भएमा मृगौला बिग्रनलाई लामो समयसम्म रोक्न सकिन्छ। मधुमेह र उच्च रक्तचाप छ भने यसबाट पनि समयमै बच्नु पर्छ। यी दुर्इ रोगहरू मृगौला रोगका प्रमुख कारण हुन्।

हरेक व्यक्तिले प्रत्येक वर्ष डाक्टरकहाँ जाँच गराउनु राम्रो हुन्छ। पिसाबमा धेरै मात्रामा प्रोटिन, ग्लुकोज वा रगत गएको छ कि भनेर पिसाबको जाँचका लागि डाक्टरलाई सोध्न सकिन्छ। उच्च रक्तचाप छ कि भनेर पनि नियमित जाँच गराउनु उत्तम हुन्छ। यदि भएमा नियमित व्यायाम गर्ने, खाने कुरामा ध्यान दिने र औषधी खाने जस्ता उपाय अवलम्बन गर्नु पर्दछ। रगतमा सुगरको मात्रा बढी छ कि ठीकै छ भन्ने जान्नका लागि सुगरको जाँच गर्नु पर्दछ। यदि तपाईलाई मधुमेह छ भने खाने कुरामा ध्यान पुर्‍याउनुका साथै व्यायाम गर्नुपर्दछ। औषधी पनि खानुपर्ने हुन सक्छ।

यदि तपाईको मृगौलाको काम गर्ने क्षमता पहिलादेखि नै कम भइसकेको छ वा तपाईको डाक्टरले तपाईको मृगौला बिग्रनै लागेको छ भनेमा मृगौला रोग विशेषज्ञलाई भेट्नु पर्दछ। मृगौला रोग विशेषज्ञले केही उपयुक्त जाँच गरेर तपाईको मृगौलाको अवस्थाको बारेमा जानकारी गराउने छन्। अनि रोकथामका लागि उचित सल्लाह दिनेछन् जसले गर्दा मृगौला थप बिग्रनबाट जोगाउन सकिन्छ।

(लेखक चरक मेमोरियल हस्पिटल नयाँ बजारमा आबद्ध हुनुहुन्छ।)

Related News

सम्बन्धित समाचार

  • मनोसामाजिक अपांगता के हो ?

    सुदीप घिमिरे मंसिर १७, २०८०
    राइनास नगरपालिका लमजुङका एक वडा अध्यक्षले अपांगताको अधिकार वकालत गर्न सुरु गरेका छन् । गत महिना आयोजित एक कार्यक्रममा मनोसामाजिक…
  • तिलकदाइको सम्झनामा

    हरि अधिकारी मंसिर १३, २०८०
    विख्यात लोकतन्त्रवादी नेता तथा पूर्वी नवलपुर, गैंडाकोट क्षेत्रका अग्रणी सामाजिक अभियन्ता तिलकप्रसाद सापकोटा कीर्तिशेष हुनुभएको एक वर्ष पूरा भएको छ…
  • अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध

    राजेन्द्र भण्डारी कार्तिक ३, २०८०
    अभिभावकज्यूहरू, मौसम बिस्तारै उष्णबाट शीतोष्णमा परिवर्तन हँुदै छ । अर्कातर्फ हाम्रा संस्कृतिका अभिन्न धरोहरहरू हाम्रा घरआँगनमा प्रवेश गरिसकेका छन्; कतिपय…
  • फेलको फेहरिस्त

    शेषराज भट्टराई असाेज २२, २०८०
    विद्वान्हरू भन्ने गर्छन् ‘विद्यार्थी र शिक्षक कहिल्यै फेल हुँदैन । फेल हुने भनेको सिकाइ विधि हो । सिकाइ विधि फेल…
  • नागरिकको समय नै देश विकासको आधारशिला

    डा. दीपकप्रसाद बास्तोला असाेज २२, २०८०
    नेपाल संसारकै एक पुरानो देश हो । यस कुरामा हामी सबै नेपालीहरूले गर्व गरेका छौं । देश विकासको लागि एक…

hero news full width