मित्रता

manojregmi मनोज रेग्मी
वैशाख २९, २०७७

अष्ट्रेलिया रहरको देश। सपनाको देश। लाखौंको सपनाको देशमा केही लाख खर्च गरेर मर्सी पनि सबैले झैं सपना पछ्याउँदै आइपुगेको थियो, अष्ट्रेलिया।

साथीहरुको ओपेरा हाउस र हार्बरब्रिज अगाडिको फोटोबाट प्रभाबित भएर मात्र होइन, सजिलै काम पाइन्छ भन्ने सुनेर सिड्नी आएको थियो ऊ। आएको केही दिनमै उसले बुझेको थियो, सिड्नीमा काम पाउनु भनेको यार्सागुम्बा पाउनु जस्तै कठिन रहेछ।

उसलाई एयरपोर्टमा उसको लंगोटिया यार, अनिकेत लिन आएको थियो। उसैले मर्सीलाई आफ्नो कोठामा लगेर राख्यो। एक हप्ता सम्म उसैको यूनिटमा दुख-सुख मिलेर बस्यो। कलेज पनि उसैले देखाइदियो। ऊ आफू भने पाँचै दिन ब्यस्त रहेछ। मर्सी आउने दिन बिदा परेकाले मात्रै उसलाई पिकअप गर्न भ्याएको रहेछ।

सुरुमा सिभि बनाएर कामको लागी एप्लाई गर्न नि अनिकेतले सहयोग नै गर्यो। साँच्चै नै भन्ने हो भने बिदेशमा एयरपोर्ट पिकअप गर्न जानु मात्रै नि ठूलो कुरा मानिन्छ। अनिकेतले त झन घरमा ल्याएर राखेको थियो। गुन लगाएको थियो।

हप्ता दिन बित्दै जाँदा अनिकेतसँग यूनिट शेयर गरेर बसेका साथीहरुले अफ्ठ्यारो मानेझैं गर्न थाले। यो कुराको अनिकेतले पनि लख काटेको थियो, तर मर्सीलाई भनि हाल्न भने सकिरहेको थिएन।

त्यो कुरा मर्सीले नि बुझेको थियो। एकदिन मर्सी आफैंले अनिकेतलाई आफ्नो लागी कोठा खोजिदिन भन्यो। अनिकेतले फेसबुकमा कोठा खोज्न सहयोग गरिदिने पेजहरु हेर्दै गर्न सुझाब दियो। उसलाई पनि उसका साथीहरुले भित्रभित्र दबाब दिन थालिसकेका थिए। त्यसैले उसले केही भनेन। बरु कोठा खोज्न सघाइदियो।

मर्सी सकभर अनिकेतकै आसपास कोठा सर्न चाहान्थ्यो। नजिकै भए गाह्रो-साह्रो पर्दा आड हुन्थ्यो भन्ने थियो उसलाई। हुनत आमाको काख र देशको माटो छोडेसी आफूले चाहे जस्तो कहाँ हुन्छ र! उसले बुझेको थियो। तर पनि सकभर अनिकेतबाट ऊ धेरै टाढा हुन भने चहादैंनथ्यो।

एकहप्ता फेसबुकमा कोठा खोजेपछि बल्ल तल्ल एउटा चित्तबुझ्दो कोठा भेटियो। कोठा भेटिएको कुरा उसले अनिकेतलाई फोन गरेर सुनाउन खोज्यो, तर उसको फोन उठेन। मर्सीले सायद ब्यस्त भएर होला भनेर फेरी फोन गरेन। बरु त्यो साँझ उसले जानी नजानी भएपनि साथी थाकेर आउँछ भनेर खाना बनाएर बस्यो। कुर्दा कुर्दा अनिकेत आएन। न त उसको फोन नै आयो। ऊ कुर्दा कुर्दा सोफामै निदायो।

रातको १२ बजेतिर अनिकेत आयो। उसले मर्सीलाई बाहिर सुतेको देख्ना साथ सोध्यो- ” ओइ, बाहिर किन सुतेको?”

मर्सि निन्द्रबाट ब्यूझिदै बोल्यो- ए तँ आइपुगिस्! म त तँलाई कुर्दा कुर्दै निदाएछु, यार।जा तँ फ्रेस भएर आइज, म खाना तताउँछु!
“ओहो, अचम्मै गरेछस् त! तेरो फोन आएको पछि मात्र देखें, कलब्याक गरौं भनेर हेरेको ११ बजिसकेको रहेछ, सुतिसकिस् होला भन्ठानेर गरिन। काहाँ अष्ट्रलियामा पनि खाना कुरेर साध्य हुन्छ! मैले त उतै मैले काम गर्ने रेष्टुरेन्टमा खाएर आए! थकाइ लागेको छ, फेरि भोली बिहानै काम छ, म त सुत्छु, यार। तँ पनि खाना खाएर सुत्!”- यति भनेर अनिकेत सरासर आफ्नो कोठातिर गयो।

यता मर्सी ट्वाल्ल परेर, नेपालको रातभर फुटबल हेरेर दिउँसो १२ बजेसम्म सुत्ने अनिकेतलाई सम्झ्यो। अनि आफ्नो हालत पनि त्यस्तै त होला नि पछि भनेर एकछिन झस्कियो।

भोलिपल्ट शुक्रबार थियो। अनिकेत काममा गएको थाहै पाएन उसले। अष्ट्रेलियामा बुढाबुढीको पनि हप्तौं भेट हुदैन भन्ने सुनेको थियो। आज आफ्नै साथीको व्यस्तताले त्यो कुरालाई सही साबित गरिदियो।

शनिबार अनिकेतको बिदा हुन्थ्यो। त्यही दिन मर्सीको कोठा सर्ने कुरा भयो। शनिबार नेपालबाट आउँदा ल्याएको दुईटा सुट्केश र केही थान सपनाहरु बोकेर मर्सी कोठा सर्यो। उसँग रुम शेयर गर्ने साथी पनि अनिकेतले नै खोजी दियो।

कोठा सरेको दिन मर्सीलाई साह्रै नरमाइलो लाग्यो। अनिकेतलाई साह्रै मिस गर्यो। देश मिस गर्यो। आफूले झगडा गरेर सताएका बाआमा मिस गर्यो। साथीहरु मिस गर्यो। लाइभ गेम मिस गर्यो। फेवाताल मिस गर्यो। माछापुच्छ्रे मिस गर्यो। माटोको गन्ध मिस गर्यो। धुलोधुँवा मिस गर्यो। गाडीको हर्न मिस गर्यो। कसैले मिस नगर्ने कुरा पनि त्यो दिन उस्ले मिस गर्यो। सबैभन्दा बढी त उसले आफैंलाई मिस गर्यो। नेपाली जीवनको रमाइलो सम्झिदा सम्झिदा त्यो रात ऊ भोकै निदायो। सपनामा पनि उसले सबै मिस गर्यो। सपनामा उसकी भूतपुर्व प्रेमिका देखिई। उसलाई पनि मर्सीले सपनामै किस गर्यो।

अब दुई हप्ता पछि भाडा तिर्ने दिन आउँछ भन्ने थाहा थियो उस्लाई। नेपालबाट सटही गरेर ल्याएको पैसा अलिअलि सामान र कोठाको बोन्ड तिर्दैमा सकिन लागेको थियो। उसलाई अब काम नखोजी धरै थिएन। अनिकेतले सुझाएझैं भएभरका बिज्ञापनमा आफ्नो सिभी अपलोड गर्थ्यो। कतैबाट ई-मेल आयो की भनेर बारम्बार आफ्नो जिमेल रिफ्रेस गर्दै बस्थ्यो। तर, हप्तादिन बितिसक्दा पनि उसले काम पाएन। ऊ हैरान भएर शनिबार अनिकेतलाई फोन गर्यो। सप्ताहन्त भएकाले उसको बिदा थियो, त्यसैले अनिकेतले उसलाई आफ्नो घर बोलायो।

“आइपुगिस्?”- तलबाट थिचेको डोरबेलको उत्तरमा अनिकेतले सोध्यो।

“अँ, ढोका खोल्दे त!”

ढोका खुलेपछि ऊ सरासर अनिकेतको कोठाको ढोका अगाडि गएर रोकियो।

अनिकेतले ढोका खोलिदियो। कोठाको ढोकामा उभ्भिएको अनिकेतले के छ? भनेर हात अगाडी बढायो।

तर, मर्सिले गम्लङ्ग अंगालो हाल्दै ठिक छ भन्यो। एकअर्काको आत्मिय अंगालोको संसारमा एकछिन दुबैजना हराए।

अंगालोबाट छुट्टिएपछि अनिकेतले सोध्यो- ” आज कतै जाम है घुम्न?”
मर्सीले टाउको हल्लाएर सहमति जनायो।

उनिहरु फेरी चढेर म्यान्ली गए। म्यान्ली बीचमा पुगेर अनिकेतले दुइटा टर्किस् र्याप किन्यो। दुबैजना समुन्द्रको अपरिचित हावासँगै छेउमा रहेको एउटा टेबलमा बसे। र्र्याप खाँदाखादै निन्याउरो अनुहार पारेर मर्सीले भन्यो, “ काम नै पाइएन यार!”
“ यस्तै हो यहाँ। सजिलै काम पाउन गाह्रो छ। आत्तिनु हुन्न! बिस्तारै पाइन्छ। खोज्न चैं नछोड् है! म नि बुझ्दै छु।”
“म नआत्तिएर के गर्नु, यार, कोठा आत्तिसक्यो। भाडा खान। नेपालबाट ल्याएको नि सकिन लाग्यो। रासन किन्न नि गाह्रो हुने भैसक्यो यार अब त!”

“ल ल! नआत्ति । पैसा चाहियो भने भन् न! धेरै त होइन, अलिअलि जम्मा गरेछु। खाँचै परेछ भने दिम्ला!”
अनिकेतको कुराले मर्सीलाई घाँटीमा केही अड्किए जस्तो भान भयो। रोक्न खोज्दा खोज्दै अनिकेतको मायाको असर उसको आँखाबाट छचल्कियो। मर्सीको आँखामा आँशु देखेर अनिकेत पनि रोकिन सकेन। दुबैजना रोए। रुदाँ उनिहरुको आँखाबाट निस्केको आँशु पनि समुन्द्रको जस्तै नुनिलो थियो। तर आँशुको कारण भने साह्रै न्यानो र मिठो थियो।

त्यसपछि उनिहरु तालमा पौडी खेलेको, तालपारीको जंगलमा बिदेशी जोडीहरु लुकेर हेरेको, माछा मारेको,  हवलदारको छोरालाई कुटेर भागेको, काँक्रो चोरेको यावत कुराहरु सम्झिदै नोस्ट्याल्जिक भए। कतिपटक रोए पनि। समुन्द्रको अथाह पानीको छेउमा बिलाएको उनिहरुको आत्मियताको आँशु कसैले देखेनन्। कुरा गर्दा गर्दै साझँ पर्न आँटिसकेको थियो। बुढो सूर्य लौरी टेकेर चस्मा मिलाउँदै समुन्द्रको माथीबाट मर्सी र अनिकेतलाई हेर्दै थियो।

उनिहरु घर फर्किदै थिए। अनिकेतले बाटोमा एउटा साईकलमा जादैं गरेको डेलिभरी ब्वाई देख्यो। उसको अनुहार असामान्य रुपमा उज्यालियो। मर्सीले उसको अनुहारमा आएको चमकको कारण बुझेन।

“अब एउटा साइकल किन्नु पर्छ, बुझिस्!”- अनिकेत बोल्यो।
“किन?”, मर्सीले सोध्यो।
” पिज्जा डेलिभरी गर्न!”- अनिकेतले दिमागमा आएको योजना सुनायो।
“कसले?”, मर्सीले अझै कुरा बुझिसकेको थिएन।
” कस्तो साइको रै’छ! तैंले नि, अरुले कसले हुनु!”- अनिकेतले झर्केर भन्यो।
यो सुनेर अगिको अनिकेतको अनुहारको उज्यालो मर्सीको अनुहारमा आएर पोतियो।

घामले मात्र होइन, मान्छेले पनि आफ्नो प्रकाशले अरुको अनुहारमा उज्यालो छर्न सक्दो रहेछ भन्ने कुरा मर्सीले त्यही क्षण अनुभब गरेको थियो।
बाटोमा अनिकेतले साइकल किनिदिने र सबै कुरा उसको साथीलाई सोधेर चाँजोपाँजो मिलाइदिने कुरा गर्यो। यि कुराहरुले गर्दा अनिकेत प्रति उसको माया र सम्मान झन बढेर आयो।

मर्सीले साइकलमा पिज्जा डेलिभरी सुरु गर्यो। उसको काम भनेको पिज्जा पसलमा बस्नु, अर्डर आउने बित्तिकै तातो पिजा ठूलो झोलामा हाल्नु र अर्डर गरेको ठाँउमा पुर्याइदिनु थियो। मर्सीले एकदम खुसी भएर काम गर्न थाल्यो। नयाँ देशको नयाँ बाटोमा आफ्नो पुरानो सिपले उसलाई रोटी दिनेवाला थियो। डलरका गोटी दिनेवाला थियो। सिस्नोको झ्यांगमा कति पल्ट जाकिएर बिना ब्रेकको साइकल सिकेको उसले झलझलि सम्झ्यो। त्यो साइकल पनि अनिकेतकै थियो। यसरी उसको जीवनमा अनिकेत हरेक कुरामा जोडिएर आउँथ्यो। अनिकेत उसको हरेक सुख-दुखको सहयात्री थियो। कारण थियो।

एकदिन एउटा ठाँउबाट पिज्जाको अर्डर आयो। बाहिर सिमसिम पानी परिरहेको थियो। पानी पर्नु भनेको अर्डर बढी आउनु हो। बढी अर्डर आउनु अर्थात कमाइ राम्रो हुनु। पानी परेर भिजेर डेलिभरी गर्न जाँदा केही मनकारी मान्छेहरुले टिप्स पनि दिन्छन्। त्यो दिन मर्सी दोस्रो पिज्जा लिएर एउटा घर पुगेको थियो। कोठा नम्बर ७ बाट अर्डर आएको थियो। मर्सीले ७ नम्बर डोरबेल बटन थिच्यो।

“हु इज दिस्?”-एउटा महिलाको आवाज थियो अर्कोपट्टी।
“यू ह्याब अर्डर्ड ए पिज्जा, राइट?”- मर्सीले सोध्यो।
“ओ, यस! कम इन!” यति भनेर उसले ढोका खोलिदिइ। क्यार्र गर्दै ढोका खुलेको आवाज आयो। मर्सी ढोका खोलेर भित्र छिर्यो। सरासर कोठा नम्बर ७को ढोकामा गएर कुरिरह्यो। ढोका खुल्यो। अचम्म! ढोकामा एउटा परिचित अनुहार थियो। नसोचेको परिचित अनुहार! कुनै सिनेमाको दृश्य हुन्थ्यो यदि त्यो भने मर्सीको हातबाट पिज्जा भुईंमा खस्थ्यो। तर, त्यसो भएन। त्यो रिल लाइफ नभएर रियल लाइफ थियो।
“मर्सी, तिमी?”- रिमाले आश्चर्य मान्दै सोधी।

मर्सी पनि आफ्नी पूर्व प्रेमिकालाई अनपेक्षित रुपमा भेट्दा छक्क पर्यो। ऊ हातमा पिज्जा लिएर उभ्भिरहेको थियो। उसलाई लाज लागेर आयो।
रिमाले पनि मर्सीको असहजताको भेउ पाई। त्यसैले, उसलाई सजिलो पार्न खोज्दै सोधी-“के भयो, मर्सी? किन टोलाएको ? भित्रै आऊ न!”
जवाफमा मर्सीले, हैन, ठिकै छ, भन्यो।

भित्रबाट तीन-चार बर्षको बच्चा, “मम्मी, पिद्दा आयो?” भन्दै बाहिर आयो।
“बाबु, अंकललाई नमस्कार गर!”- रिमाले आफ्नो छोरोलाई मर्सीको परिचय दिदैं भनी।

जिन्दगीमा यस्तो पनि हुदों रै’छ। साँच्चै यो नियती भन्ने चिज पनि कति शक्तिशाली हुन्छ। हामी जे कुराबाट टाढा भाग्न चहान्छौं, नियतीले हाम्लाई त्यतै डोर्याउँछ। त्यतै लगेर ठोक्काइदिन्छ। मर्सीको पनि त्यहि केस थियो। जसो तसो मर्सीले आफूलाई सम्हाल्यो र त्यहाँबाट हिड्यो। पछाडिबाट रिमाले “पैसा त लिएर जाऊ!” भन्दै थिइ, तर उसले सुनेको नसुन्यै गरि त्यहाँबाट भाग्यो।

रिमासँग भेट भएको साँझ अनिकेत र मर्सी पिउन बसेका थिए। मर्सीलाई अनिकेतले फोन गरेर बोलाएको थियो। पाँच दिन गधाझैं जोत्तिएपछि आउने सप्ताहन्त बिशेष नहुने कुरै भएन।त्यसैले अनिकेतले मर्सीलाई बोलाएको थियो, शनिबार मनाउन। मर्सी अनिकेतको यूनिट पुग्दा बराण्डामा ऊ बार्बीक्यू गर्दै रहेछ।

“किचनको फ्रिजमा बियर छ, लिएर आइज है!”- आउने बित्तिकै अनिकेतले अह्रायो । मर्सीले फ्रिजको चिल्ड बियर लिएर अनिकेत भएको ठाँउमा गयो।

अनिकेतले बार्बीक्यू वोभनबाट चिकेन विंग्स, ड्रमस्टिक र ल्याम्ब चप झिकेर प्लेटमा हल्यो। कुर्सीमा बसेर दुबैजना बियर पिउन थाले। बियरको नशा चढ्दै गएसी अनिकेतले कबिताको शैलिमा दुई लाइन सुनायो-

साथी, बिदेशमा दु:खमा बह पोख्ने कोही हुदैन,
सुखमा गिलास ठोक्ने पनि कोही हुदैन!

मर्सीले मन्द मुस्कानले उसको कबिताको प्रतिक्रिया दियो, तर केही बोलेन्।

मर्सीलाई पनि बियरले हल्का मात चढ्दै थियो। उसलाई दिउँसोको घट्ना अनिकेतलाई सुनाउन मन थियो। प्लेटमा राखेको कुखुराको सपेटा लुछ्दै मर्सीले सोध्यो- ओइ, तैंले रिमालाई चिन्छस्?” अनिकेतले बोतलको पिँधमा रहेको बियरलाई घुटकाउँदै सोध्यो- को रिमा?
“त्यही के?”
“को त्यही भन्छ! खुलेर भन न! के कुरा चपाइरा होला!”
“त्यही रिमा के जो हामीसँगै स्कूल पढ्थी नि!”
“ए…ए, तेरो भूपु?”- यति भनेर अनिकेत हाँस्यो।
“ह्या, नजिस्कि न! मेरो कुरा त सुन पहिला!”
“ल ल भन न त!”
“आज कस्तो बोर भयो यार!”
“कसरी?”
“आज पिज्जा डेलिभरी गर्न भनेर गको ! पिज्जा मगाउने त त्यही रिमा रैछे यार! क्या बोर भो! ”
अनिकेतले हाँसो थाम्न नसकेर मुखको बियर पुरै ओकल्दै बोल्यो- “ह्वाट?”
“ साला जिन्दगीले नि क्या मजाग गर्छ, यार! जे बाट टाढा भाग्न खोज्यो, उतै लगेर टाँसिदिन्छ! यत्रो समय भुलेर बसेको फेरी याद दिलाइदियो।”
“भाउजु बन्ली भनेर म…….!”- यति भन्दा भन्दै अनिकेत रोकियो।
” म…के? के भन्न खोजेको होस् खुरुक्क भन्!”
ह्या, छोड्दे! अर्को केस बियर लिएर आइज बरु जा!”
मर्सी जुरुक्क उठेर गयो। फ्रिजबाट फेरी एक केस बियर झिकेर ल्यायो। एउटा बियर खोलेर अनिकेतलाई दियो। अर्को आफ्नो लागि पनि खोल्यो।

नयाँ बियर घुट्काउँदै अनिकेतले सोध्यो- ” अनि के गरिस् त एक्कासी रिमालाई देख्दा? उसले के भनी?”

मर्सी दिउँसोको एक-एक कुरा सम्झिनलाई एकछिन टोलाएझैं गर्यो। रक्सीले दिमाग सुस्त र मुख चुस्त बनाइदिन्छ भनेको उसलाई नि हो जस्तो लाग्दै थियो। एकछिनको शून्यता भंग गर्दै मर्सीले भन्यो-” के गर्नु नि! उस्ले ढोका खोल्दा म पिज्जा लिएर उभ्भिरहेको थिएँ। उसलाई देख्नासाथ एकछिन त मेरो होशै उड्यो। उसको छोरा बाहिर निस्केर पो झसंग भए। टोलाएको रहेछु। अनि पैसा त लिएर जाउ भन्दै थिई, म त भागें।”

यसपटक अनिकेत हाँसेन्, बरु सोध्यो- “कस्ती भएकी रैछे नि रिमा अहिले?”

“तँलाई किन चाहियो फेरी?”, मर्सीले झर्केर सोध्यो।

“यसै सोधेको!”, एकछिन रोक्किएर अनिकेतले थप्यो, “जे भएनी स्कूल सँगै पढेकी साथी हो, त्यही भएर सोधेको नि!”
“क्या माया गर्थी यार मलाई!”- मर्सीले बियर घुट्काउँदै टाढा आकाशमा पिलपिल गर्दै उडिरहेको प्लेनलाई हेर्दै बोल्यो।
“ओइ, मर्सी!”
“हँ, भन् न!”
“एउटा कुरा भन्छु नरिसा है!”
“भन् न। तँसग किन रिसाउनी हो र?”
“आजसम्म यो कुरा बोझ बनेर मेरो मनमा बसिरहेको थियो। कसैलाई सुनाउन सकेको थिइनँ। तँजस्तो आत्मिय कोही लाग्दैन, कुरा खोल्न। तर, यो कुरा भने मैले तँबाट पनि लुकाएको थिएँ”- लर्बराउँदै अनिकेतले कुरा राख्ने एउटा पृष्ठभूमि तयार पार्यो।

“रक्सी लागेछ यसलाई। पुरा लम्बेतान पृष्ठभूमि किन? सिधा भन्। डराउन पर्दैन!”

एकछिन आँट बटुलेझैं गरेर अनिकेत पोखियो- “म पनि रिमालाई मन पराउँथें। तर, तैंले नि मन पराउँछस् भन्ने थाहा पाएर मैले आफूलाई पछाडी सारिदिएको थिएँ। उसको साथमा तँ खुशी होलास् भन्ने थियो, तर आज यत्तिका बर्षपछि पनि तँ उसको साथमा नभएर मेरो साथमा उसको बियोगमा बियर पिउँदै उसैलाई सम्झिदै छस्! तँलाई पनि क्या खेदायो नियतीले। भागेर जहाँ गयो, अतितले खेदाउने।” यति भनिसकेर अनिकेत जुरुक्क उठ्यो। आफूलाई बल्लतल्ल सम्हाल्दै आफ्नो कोठातिर गयो। एकछिनपछि हातमा एउटा कागजको चिर्कटो लिएर आयो। त्यो कागजको टुक्रो मर्सीलाई थमाउदै भन्यो- “जुन दिन तैंले रिमालाई मन पराउँछु भनेर भनिस्, त्यो दिन रिमालाई मैले यो चिठ्ठी दिन जादैं थिएँ। जुन मैले कहिल्यै दिइनँ, तेरो खाँतीर। तर, आज मेरो त्याग न तेरो खुसी हुन सक्यो, न तेरो खुशीमा म नै खुशी हुन पाएँ।”

मर्सीले त्यो चिर्कटो लियो। त्यो चिठी लेखेको कागज हेर्दा लाग्थ्यो कि त्यो अनिकेतले हजारौं पटक पढेको छ। सुमसुम्याएको छ। त्यसैमा आँशु चुहाएको छ। चिठीको दाहिने सिरानमा मिति थियो- २०५८/०५/०६। भदौ ६ अर्थात मेरो जन्मदिन।यसको मतलब उस्ले मलाई उसको माया नै मलाई उपहार स्वरुप दिन खोजेको रहेछ। यो देख्नासाथ मर्सीको आँखा थामिएनन्। आँखाका अक्केराहरु बर्खामा मूल फुटेझैं फुट्न थाले। एक थोपा चिठ्ठीमा पर्यो। त्यो आँशु पनि सायद अनिकेतको सुकेको आँशुको अंशमा गएर टाँसियो। एक भयो।

आँखाको आँशु पुछ्दै मर्सीले चिठी पढ्न थाल्यो। चिठ्ठी यसप्रकार थियो-

प्रिय रिमा,
धेरै दिनदेखि एउटा कुरा भन्न मन थियो, तर भन्न सकिरहेको थिइनँ। त्यसैले यो चिठ्ठीको सहारले आफ्नो मनको कुरा तिमीलाई सुनाउदै छु। यो चिठ्ठी मात्र तिम्रो लागि हो। नितान्त तिम्रो लागि। तिम्रो मनमा नि मेरो लागि केही त्यस्तो भावना छ भने जवाफ पठाउनु, नत्र यो चिठी मैले नदेख्ने गरी च्यातेर फालिदिनु। तिम्रो जवाफ नआएपछि म आफैं बुझ्नेछु।

कक्षा नौबाट दशमा गएपछि एकदिन तिमी र म दुबै जना आफ्-आफ्नो बेन्चको छेउमा बसेका थियौं। बिचको बाटोले तिमी र मलाई छुट्याएको थियो। त्यो दिन दोस्रो घण्टी पछिको खाली समयमा तिम्ले मलाई तितौरा खाने भनेर सोधेकी थियौ। म लाजले रातोनिलो हुदैं यताउती हेर्दै तिम्रो हातबाट त्यो तितौरा लिएको थिएँ। तिमीलाई त्यो दिन देखि म सधैं हेरिरहन्छु। मलाई थाहा छैन, यो केबल बिपरीत लिंगीप्रतिको मेरो आकर्षण हो या माया।

तर, जब म तिमीलाई देख्छु, मन रोमान्चित हुन्छ। शरिरमा एककिसिमको तरंग पैदा हुन्छ। डर पनि लाग्छ। तिमीसँग अनेकौं बहानामा बोलुँ बोलुँ जस्तो नि लाग्छ। तर, बोल्ने आँटै गर्न सक्दिन। माया कस्तो हुन्छ मलाई थाहा छैन, तर मायामा के के हुन्छ अलिअलि भन्न सक्छु। मलाई खासै लेख्न पनि आउँदैन। सायद मेरा शब्दहरुले घात गरेनन् भने तिमीले मेरो मनको कुरा अवश्य बुझ्ने छौ।

जवाफ पर्खिरहने छु। यति दुख गरेर लेखेको चिठ्ठी च्यातिएर फोहोरको भाँडोमा बस्न योग्य छ जस्तो त लाग्दैन। तिम्रो जे मर्जी।
तिम्लाई माया गर्ने,
अनिकेत

चिठ्ठी पढिसकेर मर्सीले अनिकेतलाई हेर्यो। अनिकेत बियरको बोतलमा हेरेर टोलाउँदै रहेछ। सायद आफ्नो आँखाको आँशु लुकाउन त्यसो गर्दै थियो ऊ।

चिठ्ठी पढिसकेपछि अनिकेतप्रतिको माया र सम्मान झन् बढेर आयो।

अनिकेतलाई हेरेर मर्सीले बोतल बजायो। अनिकेतले पुलुक्क मर्सीलाई हेर्यो। आँखा जुध्नासाथ मर्सीले यो चिठ्ठी आगोमा हाल्दिम भन्ने खालको इशारा गर्यो, अनिकेतको जवाफ दिनु अगि नै मर्सीले चिठ्ठी बार्बीक्यू चुलोमा हालिदियो। एकैछिनमा चिठ्ठी धुँवा बनेर कालो आकाशतिर लम्कियो। नजिकै उडेको चमेरो त्यो प्रेमको धुँवाले आफूलाई नि छुन्छ भनेझैं गरि अलि पर हटेर उड्यो।

मर्सीले अनिकेतलाई गम्लङ्ग अँगालो हालेर रोयो। रक्सी र आघातको मिस्रणले मान्छेको आबेगको बाँधलाई भत्काइदिन्छ। उनिहरुको आबेगको बाँध पनि फुट्यो।दुबै जना एकअर्काको अंगालोमा रोए। राती अबेरसम्म रोए। बिभिन्न बहानामा रोए। रोदनले बोझ उतारेर रातीको दुई बजे दुबै बादलझैं हल्का भए। आकाशमा उडिरहेको प्लेनले पनि ओभरलोड नभनि उनिहरुको बोझ लिएर गयो।

हाम्रो सुझाव