मानसिक रोग: भ्रम र यथार्थ

yuwarajpoudel युवराज पौडेल
फागुन ७, २०७६

आज सडक गल्लीहरुमा कडा मानसिक रोगले विक्षिप्त जीवन बिताउनेहरु प्रशस्त मात्रामा छन् । कतिपय संघसंस्थाहरुले यस्ता पीडितहरुलाई सडकबाटै उठाएर उपचारका लागि लाने गरे पनि उपचारको निरन्तरता नहुँदा फेरि पनि सडकमा आउन बाध्य छन् ।

एक दिन मेरो नजिकैको छिमेकी भाइ दौडँदै मेरो घरमा आयो । ऊ सर्प सर्प भन्दै भाग्दै थियो, तर कतै सर्प थिएन । त्यसपछि उसले मेरो कोठामा पसेर लाइब्रेरीका किताबहरु यताउति फालिदियो । उसले बुबाआमालाई पिट्ने, असामान्य कुरा गर्ने, डराउने, चिच्याउने आदि गर्न थाल्यो । त्यसपछि उसलाई उपचारका लागि अस्पताल लगियो ।
अस्पतालमा डाक्टरले उसलाई कडा खालको मानसिक रोग ‘सिजोफ्रेनिया’ भएको ठहर गरे । डाक्टरले उसलाई काउन्सेलिङ गरे र औषधि दिए । औषधी सेवनपछि उसको समस्या कम भयो । घरपरिवारले रोग निको भएको ठाने । एकातिर रोग निको भएको भ्रम र अर्कातिर आर्थिक अभावका कारण उसले औषधि खान छाड्यो र फेरि समस्या झन् डरलाग्दो भएर देखियो ।
मेरो एक जना नातेदार दाजु नेपाली सेनामा जागिरे हुनुहुन्थ्यो । उहाँमा एक्कासि एक प्रकारको मानसिक समस्या देखियो । उहाँलाई मानसिक रोग लागेको सुरुमा थाहा पाउन गाह्रो भयो । रोगकै कारण उहाँले जागिर छाड्नुभयो । रोगकै कारण उहाँले रक्सी बढी पिउने र घरमा भाँडभैलो मच्चाउन थाल्नुभयो । डराउने, उत्तेजित हुने, अनौठा कुरा गर्ने, घरबाट भाग्ने, एउटै कुरा गरिरहने आदि जस्ता लक्षणहरु बढ्दै जान थालेपछि छिमेकीहरुको सहयोगमा उहाँलाई उपचारको लागि अस्पताल लगियो ।
अस्पतालमा मानसिक रोग विशेषज्ञले उहाँलाई परीक्षण गरे । डाक्टरले उहाँलाई ‘बाइपोलर डिसअर्डर’ भन्ने मानसिक रोग भएको ठहर गरी उपचार अगाडि बढाए । डाक्टरको सल्लाहमा निरन्तर उपचार गरेपछि उहाँको समस्या ठीक भयो । उहाँले अहिले गाउँमा बाख्रापालन गरी ठूलो व्यावसायिक सफलता प्राप्त गर्नुभएको छ ।
केही समयदेखि युट्युबमा गुल्मीको रुपाकोटका रमाकान्त भण्डारी अर्थात् पीएचडी बाबाका भिडियोहरु भाइरल भए । आफूले पीएचडी गरेको भन्ने उनी मानसिक रोगले विक्षिप्त अवस्थामा थिए । मानसिक रोगकै कारण उनले उपचारविहीन अवस्थामा तीस वर्ष जङ्गलमा बिताए । लक्ष्मी प्रसाद देवकोटा लगायतका कविता भन्न रुचाउने तथा आफूलाई वी.पी. कोइरालाको अनुयायी बताउने भण्डारीको बौद्धिकताबाट प्रभावित भएका तथा आफूले तीस वर्ष अगाडि देखेका व्यक्तिलाई युटयुबमा बेहाल अवस्थामै देखेपछि ग्रीन सिटी अस्पतालका अध्यक्ष लोकबहादुर टण्डनले उनको उपचारको चाहना व्यक्त गरे ।
फलस्वरुप केही पत्रकारहरुको सहयोगमा उनलाई पटक पटकको प्रयासबाट काठमाडौं ल्याएर ग्रीन सिटी अस्पतालमा उपचार गरियो । समाजसेवी टण्डन आफैले उनलाई सम्हालेर माया गरेर उपचारमात्र गरेनन्, उनको जिङ्ग्रिङ्ग परेको कपाल काटिदिए । नुहाइदिए र कपडा फेरिदिएर चिरिच्याट्ट पारे । उनलाई टण्डनले आफ्नै बाबुका जस्तो सम्मान र माया दिएर निःशुल्क उपचार गरे । पहिले गाउँमा बोरा बोकेर हिँड्ने, रिचार्ज कार्ड बोक्ने, हातमा चुरा लगाएका थोत्रा र झुत्रा कपडामा सडक गल्लीमा भेटिने पीएचडी बाबा उपचारपछि घर फर्किँदा दौरा सुरुवालमा सफाच्याट भएर जाँदा गाउँलेहरुलाई चिन्न हम्मेहम्मे प¥यो ।
लगभग तीस वर्षसम्म मानसिक रोग सिजोफ्रेनियाबाट पीडित भएर उनले निकै कष्टपूर्ण जीवन व्यतित गरे । उनले धेरै समय रुपाकोटका जङ्गल, गाउँ, सडक, गल्लीमा कष्टपूर्ण जीवन बिताएका थिए । ग्रीन सिटी अस्पतालका अध्यक्ष लोकबहादुर टण्डनले जुन मानवता देखाए, त्यो आफैमा प्रशंसनीय छ । उनले अझै पनि नेपाली समाजमा मानवता जीवितै छ भन्ने एउटा गतिलो उदाहरण प्रस्तुत गरेका छन् । अहिले उनी लगायत थुप्रै मानवतावादी मनहरु पीएचडी बाबाका लागि आश्रम बनाइदिन कम्मर कसेर लागेका छन् । यो त एउटा उदाहरण मात्र हो ।
आज सडक गल्लीहरुमा कडा मानसिक रोगले विक्षिप्त जीवन बिताउनेहरु प्रशस्त मात्रामा छन् । कतिपय संघसंस्थाहरुले यस्ता पीडितहरुलाई सडकबाटै उठाएर उपचारका लागि लाने गरे पनि उपचारको निरन्तरता नहुँदा फेरि पनि सडकमा आउन बाध्य छन् । आजको एक्काइसौ शताब्दीको युगचेतनाका लागि सडकमा मानसिक रोगीहरु बेहाल जीवन बाँच्न बाध्य हुनुले सभ्यता र समृद्धिलाई गिज्याइरहेको अनुभूति हुन्छ । कडा वा जटिल मानसिक रोगका कारणबाट घर परिवारबाट उपेक्षित भएर सडक गल्लीमा दुर्दशापूर्ण जीवन बाँच्न विवश यस्ता बिरामीहरुको उपचार र संरक्षणका लागि राज्यले उचित कदम चाल्नैपर्छ । रोगकै कारण सडकमा पुग्नुपर्ने अवस्था आउन दिनुहुँदैन । मानसिक रोगका क्षेत्रमा काम गर्ने संस्थाहरुले रोगीहरुका नाममा व्यक्तिगत स्वार्थ पूरा गर्ने नभई वास्तविक पीडितको उपचार र संरक्षणमा लाग्नुपर्ने देखिन्छ । उनीहरुलाई समाजमा सम्मानपूर्वक जीवन जिउने वातावरण पैदा गर्नुपर्छ।
मानसिक रोग संसारभरि एउटा प्रमुख स्वास्थ्य समस्या हो । नेपालमा कुल जनसंख्याको २५ प्रतिशतमा कुनै न कुनै प्रकारको मानसिक रोग भएको अनुमान गरिएको छ । नेपालमा मानसिक रोगीको यकिन संख्या कति छ भनेर अध्ययन भइसकेको भने छैन । बोली, भावना, चेतना, विचार, स्मृति, स्मरणशक्ति आदिमा आउने असामान्य स्थितिलाई मानसिक रोगका रुपमा बुझिन्छ । मानसिक रोगका कारणहरुमा वंशानुगत कारण, सामाजिक तथा सांस्कृतिक कारण, तनाव, लागुपदार्थ दुव्र्यसन, पारिवारिक बेमेल, दीर्घ रोग आदि छन् ।

मानसिक रोग विभिन्न प्रकारका हुन्छन् । मानसिक रोगलाई मूलतः कडा र कम कडा मानसिक रोगका रुपमा वर्गीकरण गरिएको पाइन्छ । सामान्य टाउको दुख्नेदेखि कडा सिजोफ्रेनियासम्मका मानसिक रोग हुन्छन् । एन्जाइटी, डिप्रेसन, बाइपोलर डिसअर्डर, ओसिडी, मेनिया, हिस्टेरिया, साइकोसिस, सिजोफ्रेनिया आदि मुख्य मानसिक रोगहरु हुन् । लागु पदार्थ दुव्र्यसन, सुस्त मनस्थिति आदिलाई पनि मानसिक समस्याकै रुपमा लिइन्छ ।

मानसिक रोग विभिन्न प्रकारका हुन्छन् । मानसिक रोगलाई मूलतः कडा र कम कडा मानसिक रोगका रुपमा वर्गीकरण गरिएको पाइन्छ । सामान्य टाउको दुख्नेदेखि कडा सिजोफ्रेनियासम्मका मानसिक रोग हुन्छन् । एन्जाइटी, डिप्रेसन, बाइपोलर डिसअर्डर, ओसिडी, मेनिया, हिस्टेरिया, साइकोसिस, सिजोफ्रेनिया आदि मुख्य मानसिक रोगहरु हुन् । लागु पदार्थ दुव्र्यसन, सुस्त मनस्थिति आदिलाई पनि मानसिक समस्याकै रुपमा लिइन्छ । प्रायः मानसिक रोगका लक्षणहरुमा– डराउने, आत्तिने, चिन्ता मान्ने, निराश हुने, आक्रोशित हुने, उत्तेजित हुने, निद्रा नलाग्ने, शङ्का मान्ने, भाग्ने, अनौठो कुरा गर्ने, टोलाउने, एक्लै बोल्ने, उदास हुने आदि हुन्छन् ।
नेपाली समाजमा मानसिक रोगलाई रोगका रुपमा नहेर्ने दृष्टिकोण व्यप्त छ । अन्य शारीरिक रोगजस्तै विभिन्न प्रकारका मानसिक रोग हुन्छन् भन्ने धेरै मानिसलाई थाहा नै नभएको स्थिति छ । अझ शिक्षित समुदयामा समेत मानसिक रोगका सम्बन्धमा आवश्यक सचेतना पाइँदैन । जसरी शरीरमा रुघाखोकी, टाइफाइड, क्यान्सर जस्ता लोग लाग्छन्, त्यसैगरी मनमष्तिस्कसँग सम्बन्धित एन्जाइटी, डिप्रेसन, सिजोफ्रेनिया आदि रोग लाग्न सक्छन् भन्ने चेतना नभएकाले पनि आज मानसिक रोगीहरु जटिल जीवन बाँच्न बाध्य भएका छन् ।
मानसिक रोगीप्रति हेर्ने सामाजिक दृष्टिकोण सकारात्मक नभएकाले पनि धेरै रोगीहरु लुकेर बस्न बाध्य भएका छन् । रोग लागिहाले पनि धामीझाँक्रीकहाँ जाने, झारफुक गर्ने प्रचलन व्यप्त छ । एक अध्ययन अनुसार मानसिक रोग लागेका सत्तरी प्रतिशत रोगी उपचारका लागि अस्पताल नै आउँदैनन् । मानसिक रोग पूर्वजन्मको पापका कारणले लाग्छ, यो सरुवा रोग होे, मानसिक रोग निको हुँदैन, बिहे गरेपछि मानसिक रोग ठीक हुन्छ, मानिस आफैले मानसिक रोग निम्ताएको हो, रोगीले आफै ठीक गर्न सक्छ भन्ने जस्ता भ्रमहरु नेपाली समाजमा व्यप्त छन् ।
डा.विश्वबन्धु शर्मा भन्छन्, ः “विवाह गरेपछि रोग निको हुन्छ भन्ने धेरैले भ्रम पालेका हुँदारहेछन् । कतिपयले त मानसिक रोगीलाई विवाह गर्न सल्लाह पनि दिँदा रहेछन्” (मान्छेको मन, पृ.८४) । यो कुनै पूर्व जन्मको पाप पनि होइन र व्यक्ति आफैले चाहेर रोग लाग्ने पनि होइन । मानव मष्तिस्कको न्युरो ट्रान्समिटरमा हुने न्युरो केमिकलहरुको गडबढीका कारण मानसिक रोग लाग्दछ । नेपालमा मानसिक रोगका सम्बन्धमा व्यापक जनचेतनाको खाँचो छ ।
राज्यले पनि मानसिक रोगलाई खासै प्राथमिकता दिएको अवस्था पाइँदैन । मानसिक रोगका सम्बन्धमा काम गर्ने संघ संस्थाहरु पनि आम नागरिकको बिचमा पुगेर काम गर्न सकेको पाइँदैन । आर्थिक अभाव भएका विपन्न वर्गका मानिसका लागि निःशुल्क उपचारको व्यवस्था हुन सकेको छैन । लगातार र लामो समय औषधि सेवन गर्नुपर्ने भएकाले विपन्न समुदायका लागि यो पहुँच बाहिरको कुरा भएको छ । मानसिक रोग विशेषज्ञको सुविधा पनि शहरबजारमा मात्र सीमित छ । मानसिक रोगको उपचार हुन्छ । मानसिक रोगका लागि आज विभिन्न आधुनिक पद्धतिहरु विकास भएका छन् । आधुनिक औषधिहरुको विकास भएको छ ।
मानसिक रोगको उपचार क्षेत्रमा सफलताका थुप्रै अभ्यासहरु भइरहेका छन् । मानसिक रोग विशेषज्ञका रुपमा ३८ वर्ष सेवा गरेका डा. विश्वबन्धु शर्मा भन्छन् ः “सम्झेर मन गदगद हुन्छ, जाडोले लगभग काम्दै सडकमा खानेकुरा टिपेर खान थालेको व्यक्ति आज सीईयो हुन लागेको सुन्दा । त्यो पनि एउटा प्रतिष्ठित बैङ्कमा । उनीजस्तै कयौँ मानसिक रोगीहरु अहिले पनि सडकको फोहोर खान वा सिक्रीले बाँधिन विवश छन् । तर उपचार, विश्वास र धैर्यले सुखपूर्ण जीवन बाँच्नेहरु पनि त धेरै छन्” (मान्छेको मन) । मानसिक रोगको उपचारमा मूलतः परामर्श (काउन्सेलिङ), मेडिकेसन (औषधि) र विद्युतीय उपचार पद्धतिको प्रयोग गरिन्छ ।
कतिपय सामान्य मानसिक रोगहरु काउन्सेलिङबाट पनि ठीक हुन्छन् भने धेरैजसोलाई काउन्सेलिङ र औषधि दुवै आवश्यकता पर्दछ । जटिल खालको मानसिक रोगमा विद्युतीय उपचार पद्धतिको समेत उपयोग गर्ने गरिन्छ । मानसिक रोग जति छिटो उपचार ग¥यो त्यति छिटो निको हुन्छ । मानसिक रोगको उपचारमा परिवारको ठूलो भूमिका रहन्छ । रोगीलाई घर परिवारमा राम्रो वातावरणको आवश्यकता पर्दछ । फेरि अन्य कतिपय शारीरिक रोगजस्तो भन्ने बित्तिकै सबै मानसिक रोगहरु ठीक नहुन सक्छन् । यसको लागि लामो समयको उपचार प्रक्रिया चल्दछ । डाक्टरको सल्लाहविना रोगीले औषधी छाड्नु हुँदैन ।
मानसिक रोग विशेषज्ञको प्रत्यक्ष निगरानीमा नियमित रुपमा औषधी सेवन गरेमा धेरैजसो मानसिक रोग निको हुन्छन् । निको नहुने मानसिक रोगलाई पनि नियन्त्रण गरी रोगीलाई सामान्य जीवनमा फर्काउन सकिन्छ । कतिपय बिरामीहरु एकचोटि औषधी उपचार गरेपछि ठीक भएको ठानी बिचैमा औषधी छाड्ने र फेरि रोग बल्झिने अवस्थामा पुगेको देखिन्छ । बिरामीले डाक्टरको सल्लाहविना आफूखुसी औषधी छाड्ने, आफूखुसी औषधीको मात्रा घटबढ गर्ने काम गर्नुहुँदैन । कतिपय कडा मानसिक रोगका बिरामीहरुले आफै औषधी खान नमान्ने हुनाले परिवारका सदस्यहरुको प्रत्यक्ष निगरानीमा औषधी खुवाउनुपर्ने हुन्छ ।
रोग निको पार्न आवश्यक पर्ने धेरै तत्वमध्ये डाक्टर एउटा मात्र हो तर डाक्टर नै सबै थोक भने होइन । मानसिक रोग उपचारमा राज्य, समाज, समुदाय, परिवार सबै नागरिकको उत्तिकै भूमिका रहन्छ भन्ने कुरालाई बिर्सनुहुँदैन । खुसी हुने, बढी आशा नगर्ने, सन्तुष्ट हुने, मिहिनेत गर्न नछाड्ने, लागुपदार्थ सेवन नगर्ने, कुलतमा नफँस्ने, मनका भावनाहरु सेयर गर्ने, सन्तुलित खानपान तथा स्वस्थ जीवनशैली अपनाउने, व्यायाम गर्ने, योग र मेडिटेसन गर्ने जस्ता पक्षहरुमा ध्यान दिन सक्दा मानसिक रोगबाट बँच्न सकिन्छ ।

हाम्रो सुझाव