कोरोना [कोभिड-१९] ताजा अपडेट
यहाँ क्लिक गर्नुहोस्

मानवीय र पर्यावरणीय संकटसँगै (कोभिड–१९)

Avatar डी.बी. विश्वकर्मा
चैत्र २७, २०७६

आफ्नो स्वार्थ निम्ति पर्यावरणीय घटकहरुमाथि चरम दोहनसँगै विनासगरी समग्र जीवहरुलाई संकटमा पार्नु महा भूल हो ।

ग्रहहरुमध्य प्राणीहरुका लागि सबैभन्दा उपयुक्त वातावरण भएको ग्रहको रुपमा प्राप्त सुन्दर उपहार हो, पृथ्वी । जहाँ हावा, पानी, जमिन, जंगल र जैविक विविधताले भरिपूर्ण छ । यिनीहरुलाई पर्यावरणीय घटकहरु अर्थात प्राकृतिक श्रोत साधन पनि भनिन्छ । मानव र समग्र जीवहरु यिनै पर्यावरणीय घटकहरुसँग अन्तरसम्वन्धित् छन् । जीवहरुबीच अन्तरकृया गर्दछन् । यिनीहरु एक अर्कामा पुरक पनि छन् ।
त्यसैले, यस पृथ्वी करोडौं थरीका जीवहरुको वासस्थानका लागि साझा घर समेत हो । यहाँ, सबैका लागि समान रुपले जीउन पाउने अधिकार छ । जसमध्ये मानव सर्वश्रेष्ठ र चेतनशील प्राणी हो । हरेक प्राकृतिक श्रोत साधनहरु मानव मात्रको एकलौटी पेवा होइन । आफ्नो स्वार्थ निम्ति पर्यावरणीय घटकहरुमाथि चरम दोहनसँगै विनासगरी समग्र जीवहरुलाई संकटमा पार्नु महा भूल हो ।

हाल विश्वमा घटित घटनाक्रमहरुले दुई किसिमको संकट पैदा गराएको छ । एकातर्फ पर्यावरणीय संकट र अर्कोतर्फ मानवीय संकट । विभिन्न काल खण्डहरुमा ठूला–ठूला प्रलयकारी घटनाहरु घटेका छन् । जसको कारण समग्र मानव र जीवजगतले ठूलो क्षति व्यहोर्नुपरेको इतिहास हामीले सुन्दै र देख्दै आएका छौं । जसको कारण प्रकृतिमाथिको विघटन र वर्वादी व्यहोर्नुपरेको छ ।
मानिसले आफ्नो अस्तित्वलाई सन्तुलनमा राख्नको लागि प्रकृतिले दिएको बायुमण्डल, जलमण्डल, भूमण्डलहरुबाट स्वच्छ हावा, पानी र भोजन प्राप्त गर्नु पहिलो आवश्यकतासँगै शर्त पनि हो । तर, भौतिक सुख सुविधाको निम्ति प्राकृतिक श्रोत र साधनमाथि मानिसले एकलौटी रजाईं गर्दै आएका छन् । पैसा अर्थात पूँजीको बृद्धि, संचित गर्नुलाई सम्पन्नता, सत्ता र शक्ति मापनको मुख्य वस्तुको रुपमा महत्व दिंदै आएको छ ।

‘जसले प्राकृतिक श्रोत र साधनमाथि दोहन गरेर कर्पोरेट विकासलाई पैसामा बदल्न सक्छ, उही सर्वशक्तिमान कहलिन्छ’ भन्ने मान्यताले ग्रसित विश्वका केही मुठ्ठीभर मानिसहरुले नै मानवलगायत समग्र प्राणीहरुलाई संकटमा पारेका छन् । कर्पोरेट विकास र पूँजी बृद्धिको प्रतिस्पर्धामा आँखा चिम्लिएर कार्वन डाईअक्साइड ग्याँसको उत्सर्जन भइरहेको छ ।

मानिसले आफ्नो अस्तित्वलाई सन्तुलनमा राख्नको लागि प्रकृतिले दिएको बायुमण्डल, जलमण्डल, भूमण्डलहरुबाट स्वच्छ हावा, पानी र भोजन प्राप्त गर्नु पहिलो आवश्यकतासँगै शर्त पनि हो । तर, भौतिक सुख सुविधाको निम्ति प्राकृतिक श्रोत र साधनमाथि मानिसले एकलौटी रजाईं गर्दै आएका छन् ।

पर्यावरणीय घटकहरु हावालाई विशाक्त बनाउँदै जैवजगतका लागि आवश्यक पर्ने अक्सिजन उत्पादनको श्रोत हरियाली वनस्पति र वन जंगलको विनास भैरहेको अवस्था छ । जहाँ, मानव र प्राणीले शुद्ध हावामा सास फेर्न पाउने अधिकारबाट वञ्चित हुनुपरेको छ । पृथ्वीमा अत्याधिक तापक्रमको वृद्धि गराउनुले कतै अनाबृष्टि, कतै अतिबृष्टि त कतै खडेरी लाग्नु, पानीका श्रोत मानिने हिमशृंखलाहरु पग्लिंदै जानुले आज जलवायु परिवर्तनको चरम प्रभाव र असर भनी बुझ्न सकिन्छ ।

प्रकृतिले दिएको शुद्ध पानीको मुहान, श्रोतहरु सदाको निम्ति सुक्दै र समाप्त हुँदै गएको अवस्था छ । सदियौंदेखिको डाँडा र पहाडी वस्तीका मानिस पानीको अभावमा विस्थापन हुनुपर्ने अवस्था सृजना भएको छ । उलपलध पानीको श्रोतहरु पनि विषाक्त भएका छन् । पानीको अभावमा समग्र जैवजगत आतंकित हुनुपरेको छ । दैनिक एक सय भन्दा बढी प्रजातीका जीवहरु सदाको लागि लोप हुँदै गएको विश्व वन्यजन्तु संस्थानको तथ्यांकले देखाएको छ । मानिसको जनजीवनमा असन्तुलन पैदा भएको छ । आज खेतीयोग्य जमिनहरु उज्जड र बाँझो बन्न पुगेको छ ।

जीवनको मुल आधार अर्थात जीवनको रेखा भनिने कृषि प्रणालीलाई विषाक्त बनाइएको छ । हिजोका प्राकृतिक तथा जैविक खेतीलाई आज विस्थापन गरिएको छ । कर्पोरेट मूल्य र मान्यताबाट हौसिएर हरित कृषि क्रान्तिको नाममा बहुराष्ट्रिय कम्पनीहरुले उत्पादन गरेका युरिया (विषादीजन्य) चिजहरुको भष्मासुर प्रयोग गरिएको छ । समग्र धर्तीको ६० प्रतिशत भन्दा जमिन आज विषमय बनेको यथार्थ हामीले देख्दै आएका छौं । प्रचुर मात्रामा खाद्य उत्पादन गर्ने लालचमा जमिनको उर्वरतालाई ह्रास गराउँदै विषाक्त खाद्यबाली उत्पादन गर्न उद्धत रहेको छ ।

समग्र धर्तीको ६० प्रतिशत भन्दा जमिन आज विषमय बनेको यथार्थ हामीले देख्दै आएका छौं । प्रचुर मात्रामा खाद्य उत्पादन गर्ने लालचमा जमिनको उर्वरतालाई ह्रास गराउँदै विषाक्त खाद्यबाली उत्पादन गर्न उद्धत रहेको छ ।

कृषि उत्पादन व्यापार र नाफासँग जोडेर जति सक्यो चाँडो धेरै उत्पादन गर्ने र नाफा कमाउने होडमा छ । यस्तो उत्पादन र वितरणले मानव स्वास्थ्यमा गम्भीर र डरलाग्दा रोगहरुको आक्रमण हुने गरेको छ । तिनै खानपानले अहिलेका मानिसमा कलिलै उमेरमा सुगर, प्रेसर, युरिक एसिड, अल्सर, क्यान्सर, प्यारालाइसिस, हार्ट–अट्याक, एचआईभी एड्स जस्ता खतरनाक रोगहरुको शिकार हुनुपरेको छ । कतिपय बालबालिकाहरु आमाको गर्भबाट जन्मदैमा निमोनिया, जन्डिस् लिएर जन्मने गरेका छन् । कति त जन्मदै अपांग भई जन्मने गरेको घटनाहरु देख्न सकिन्छ ।

त्यति मात्र होइन, हामी देख्न सक्छौं कि जब मानवले प्राकृतिक खेतीलाई छाडेर रासायनिक खेतीमा लागेका कारण विषयुक्त खाना खान बाध्य भयो । तब, विभिन्न नयाँ र डरलाग्दा भाइरस तथा रोगहरु (डेंगु, इवोला भाइरस, जीकाभाइरस, स्वाइन फ्लू, वर्डफ्लू, सार्स) लगायतका खतरनाक र नरसंहारकारी रोगहरुले विगतहरुमा आतंक मच्चाइसकेको घटना हामीले देखेका छौं । विश्वमा मानवले धेरै ठूला क्षतिहरु व्यहोर्दै आइरहेका छन् । साथसाथै चेतावनी समेत पाइरहेका छन् ।

यस्ता चुनौति र चेतावनीहरुलाई वेवास्ता गर्दै प्रकृतिमाथिको दोहनलाई कम गर्नुको साटो सिध्याउनमा लागी परेका छन् । त्यति मात्र होइन कि विश्वका राज्य र सरकारहरुले सामाजिक संकटलाई विकराल बनाउँदै आएका छन् । रासायनिक हतियार निर्माण, परीक्षण र युद्धको होडमा सबैखाले शक्तिको प्रदर्शन गरिसकेका छन् । अबको लडाई र शक्ति प्रयोगको विकल्पको रुपमा जैविक हतियारको विकासलाई लिएको बुझिन्छ ।

हालसालै मात्र चाइनाको हुवेई प्रान्तको वुहान शहरबाट सुरु भएको नोबेल कोरोना (कोभिड–१९) भाइरसले आज विश्वलाई तहस नसह पारिरहेको छ । हालसम्म हजारौंको संख्यामा ज्यान लिइसकेको छ भने लाखौ मानिसहरु यसबाट संक्रमित बनेका छन् । संक्रमितको संख्या बढिरहेको छ । विशेषगरी, यस भाइरस विश्वका विकसित र शक्तिशाली राष्ट्रबाट सुरुभई तिनै शक्ति राष्ट्रहरुमा ठूलो आतंक मच्चाइरहेको छ । हर संभवको प्रयास बाबजुद् पनि भाइरसलाई नियन्त्रणमा ल्याउन सकेको छैन ।

यसबाट भान हुन्छ कि कतै मानव समुदायले बेलाबेलामा अड्कलबाजी गर्दै आएको तेश्रो विश्वयुद्ध भइरहेछ । जुन रासायनिक हतियारको नभै जैविक हतियारको युद्ध मानिन्छ । यो स्वयं विश्वका महा शक्तिवादी राष्ट्रहरुले एकअर्कामा लगाइरहेको आरोप– प्रत्यारोप र वास्तविक घटनाक्रमहरुले पुष्टि गरेको छ ।
सारमा भन्नुपर्दा समग्र पृथ्वीका मानव र प्राणी जगत एकपछि अर्को महासंकटहरुमा फस्दै गएको छ । वैज्ञानिकहरुको चेतावनीअनुसार पनि हामी समग्र मानव र जीवहरु प्वाल परेको पानीजहाजमा महासागरको यात्रा गर्दैछौं । जसमा मानव समुदाय एकापसमा सामाजिक, धार्मिक, राजनीतिक, आर्थिक, जातीय लगायत विभिन्न बहानाबाजीको लडाईं, झगडा र लुछाचुँडीमा अल्झिएको अवस्था छ । तर, आफू सयर गर्दै गरेको जहाज सबैलाई लिएर डुब्दै गरेको कुरामा ख्याल गरेको छैन ।

त्यसैले, अब मानव समुदाय सजग हुनुपर्ने बेला आएको छ । जुन कुराको सही समयमा सही विचार, एजेण्डा र समाधानको दिशालाई मानवले बुझेर अंगाल्नु जरुरी छ । जुन हाम्रो प्रकृति–मानव केन्द्रित जन अभियान अर्थात नेचर–ह्युमन सेन्ट्रिक पिपुल मुभमेन्टले दिशानिर्देश गरेको छ । जहाँ, मानव समुदाय पर्यावरणीय घटकहरुको हितैषी बन्न सकोस् । यसैगरी, प्रकृतिका संपूर्ण पक्षहरुलाई मानव र प्राणी जगतको अनुकुलमा हुनेगरी जगेर्ना गर्न सकियोस् । अब, ढिलो नगरी संपूर्ण राज्य, सरकार र मानव समुदाय जुटेर लाग्न जरुरी छ ।

(लेखक, प्रकृति–मानव केन्द्रित जनअभियान नेपालको केन्द्रीय सदस्य हुन्)

हाम्रो सुझाव