मातृभाषाप्रतिको मोह

rudrasandeshmagar रुद्र सन्देश मगर
श्रावण २१, २०७७

पृष्ठभूमि:

नेपाल भौगोलिक, जातिय, सांस्कृतिक, भाषिक एवं धार्मिक दृष्टिले विविधताले भरिएको मुलुक हो । संसारमा ६ हजार भन्दा बढी भाषाहरु रहेकाछन् । नेपालको सन्दर्भमा सरकारी तथ्याङ्कले ९२ वटा भाषाहरु प्रयोगमा रहेको कुरा उल्लेख गरेको भएपनि भाषा बैज्ञानिकहरुले भने १४३ वटा भाषाहरु बोलचालमा रहेको बताएका छन् । नेपालमा बसोबास गर्ने आदिवासी जनजातिहरुको अधिकांश मातृभाषाहरु लोप हुने अवस्थामा पुगीसकेको छ । जिवित रहेका केही मातृभाषाहरुको अवस्था पनि त्यति सन्तोषजनक रहेको देखिंदैन । वर्तमान अवस्थामा अधिकांश मातृभाषी समुदायका मानिसहरु खस नेपाली भाषामै कुरा गर्न, सम्बाद गर्न र सञ्चार गर्नमा गर्वको महशुस गर्दछन् वा सहज ठान्दछन् । तर यस्ते रुची र अभ्यासले आफनो मातृभाषा लोप हुंदैछ र कालान्तरमा आफनै पहिचान हराउंछ भन्ने कुराको हेक्का राख्दैनन् ।

मातृभाषी हुनुको गर्व:

एउटै मातृभाषा बोल्ने ब्यक्तिहरु भेट हुंदा स्वाभाविक रुपमा आफनो मातृभाषामा भलाकुसारी गरेको, कुरा गरेको सुन्न र देख्न सकिन्छ । यस्तो बेलामा हामी जो कोहीले पनि यसलाई अन्याथा रुपमा लिनु हुंदैन । किनकी उसले बोल्ने मातृभाषा त आमाको काखमा बसेर दुध चुस्दा देखि नै सिकेको र जानेको ज्ञान र सिप हो । यसर्थ, उस्तै मातृभाषी समुदायका ब्यक्तिहरु भेट हुंदा सोही भाषामा सम्बाद हुनु, कुराकानी हुनु स्वाभाविक हो । जसरी एउटी महिलाले आफनो नाकमा लगाएको ‘फूली’ अनि एउटा पुरुष आफनो कानमा सिउरीएको ‘एक थुंगा फूल’ले गर्दा आफु सुन्दरी र सुन्दर भएको गर्व गर्छ । ठीक त्यसरी नै एउटा मातृभाषीले आफनो मातृभाषा प्रति गर्व गर्दछ । कतिपय मातृभाषीहरु खस नेपाली भाषा प्रष्ट बोल्न जान्दैनन् । यसैलाई लिएर खस नेपाली भाषा बोल्न नसकेकोमा हिनताबोध गरी आफुलाई लघुताभाषको पात्र बनाई रहनु आवश्यक छैन र अरु ब्यक्तिहरुले पनि त्यही बिषयलाई लिएर खिसीटिउरी गरिरहनुको कुनै अर्थ छैन । किनकी खस नेपाली भाषा बोल्न नजान्ने मातृभाषीहरुसंग अथाह आदिबासी सिप र ज्ञान त छ नि । खस नेपाली भाषा संगसंगै आफनो मातृभाषा बोल्न, लेख्न र पढन जान्नु त उसको थप योग्यता र क्षमता हो ।

मातृभाषा जान्नुका फाईदा:

जन्म देखि नै लिएर आएको आफनो मातृभाषा संबन्धी ज्ञान र सिप मातृभाषी समुदायको गहना हो । जुनसुकै मातृभाषी समुदायको मातृभाषा जान्नु सबैका लागि उपयोगी र फाईदाजनक छ । यसर्थ, मातृभाषाको आफनै महत्व छ । हामी काम विशेषले कुनै मातृभाषी समुदायमा गयौं भने त्यहांका बासिन्दाहरुसंग उनीहरुकै मातृभाषामा बोल्न र सम्वाद गर्न सक्ने भयौं भने हामी त्यस समुदायमा तुरुन्त भिज्न सक्छौं र उनीहरुसंग सजिलै आफना बिचारहरु राख्न सक्छौं । विभिन्न राष्र्टि«य तथा अन्तराष्र्टि«य संघ संस्थाहरुले कर्मचारी भर्ना गर्ने क्रममा पनि संबन्धित भौगोलिक क्षेत्रमा बसोबास गर्ने समुदायको मातृभाषा, संस्कार तथा संस्कृतिको बारेमा ज्ञान तथा सिप भएको उम्मेदवारलाई प्राथमिकता दिने गरेको हामीले देखेका छौं । कहिलेकांही आफना ब्यक्तिगत तथा गोप्य कुराहरु गर्नुछ, फोनमा कुरा गर्नुछ भने मातृभाषामै कुरा गर्न सकिन्छ ।

सजिलै लेख्न सकिन्छ मातृभाषामा:

यदाकदा स्वयं मातृभाषीहरुले नै मातृभाषा बोल्न जति सजिलो हुन्छ लेख्न र पढन अनि बुझन गाह्रो छ भनेर भनेको सुनिन्छ । तर वास्तवमा नेपाली अनि अंग्रजी भाषामा जस्तै सजिलै कविता, गजल, मुक्तक, कथा अनि उपन्यास जस्ता साहित्यका जुनसुकै विधाहरु मातृभाषामा पनि लेख्न सकिन्छ र लेखिएका कुराहरु संबन्धित मातृभाषीहरुले पढ्दा सहजै बुझन सकिन्छ । अर्थात आफना मनका भावनाहरु, विचारहरु दोश्रो ब्यक्तिलाई भन्नु पर्ने कुराहरु सजिलैसंग आफनो मातृभाषामा लेखेर ब्यक्त गर्न सक्दछौं । यसर्थ, मातृभाषीहरुले आफनो मातृभाषामा लेख्न र पढन गाह्रो छ भन्ने भ्रमको जालो च्यात्नु आवश्यक छ ।मा

तृभाषामै छोराछोरीको नाम राख्ने प्रचलन:

परापूर्वकालमा केही मातृभाषी समुदायमा बच्चा जन्मंदा उनीहरुको नाम मातृभाषाकै शब्दहरुबाट राख्ने गरेका प्रशस्तै उदाहरणहरु हामीले भेट्न सक्छौं । तर राणा शासन काल र पञ्चायती एकात्मक शासन ब्यवस्था भएका बेला मातृभाषी समुदायहरु माथि भएको भाषिक दमनको कारण मातृभाषामा नाम राख्ने प्रचलनसंगै मातृभाषा नै हराउंदै जान थाल्यो । यसर्थ, अबको मातृभाषी समुदायका ब्यक्तिहरुले आफना छोराछोरीहरुको नामाकरण गर्दा आफनै मातृभाषामा नाम राख्ने गरेको खण्डमा आफनो मातृभाषाको स्तरोन्नतिमा टेवा पुग्ने देखिन्छ । नेपालमा २०४६ को राजनैतिक परिवर्तन पश्चात केही मातृभाषी समुदायहरुले भने बालबालिकाहरुको नाम आफनै मातृभाषामा राख्ने गतिलो कार्यको थालनी गरेका छन् ।

युवा पुस्तामा मातृभाषाप्रतिको वितृष्णा:

लाखौं युवाहरु रोजगारीका लागि अंग्रेजी र कोरियन भाषा सिक्न लालायित भईरहेका छन् । आफनो मातृभाषालाई पन्छएर वैदेशिक श्रम बजारमा आफुलाई योग्य सावित गर्नका खातिर इपिएस, टोफेल अनि आइईएलटिस जस्ता भाषाका परिक्षाहरु दिएर आफुलाई विदेशी भाषाको कसीमा नाप्न अग्रसर हुनु पर्ने बाध्यता युवाहरुमा रहेकोछ । बेरोजगारीका कारण युवा जगतमा आफनो मातृभाषा बोल्न, लेख्न र पढन भन्दा विदेशी भाषा बोल्न, लेख्न र पढन सिक्नु आवश्यक महशुस गर्दछन् ।

भाषामा लगानी:

जहिले सुकै नाफा र नोक्सानको बहिखाता पल्टाउनेहरु भाषामा लगानी गर्नुलाई अनुत्पादक क्षेत्रमा गरिएको लगानी भन्दछन् । अझ मातृभाषामा लगानी गर्नु भनेको त झन ऋणको भारी थप्नु जस्तै हो भन्दछन भन्नेहरु । अरु क्षेत्रमा लगानी गर्दा नाफा सहित लगानी गरिएको रकम फिर्ता भएझैं यस क्षेत्रमा गरिएको लगानी फिर्ता नआउन सक्छ । नाफा र नोक्सानको गणितीय हिसाब मात्रै हुने यस ब्यापारिक दुनियांमा केही यस्ता मानिसहरु पनि छन जसले मातृभाषामा लगानी गर्छन् र अरुलाई पनि लगानी गर्न प्रेरित गर्दछन् । यो यस अर्थमा कि भाषा भनेको मानिसको जन्मदेखि मृत्यु सम्मको सम्पति हो । सञ्चारको माध्यम हो । यसमा ईतिहांस छ । संस्कार अनि संस्कृति छ । अझ भनौं मातृभाषामा पुर्खा र वंशजको रगत छ । त्यसैले त चाहेर वा नचाहंदा नचाहंदै पनि भाषामा लगानी भईरहेकोछ । नेपालको भाषा जातिसंग जोडिएकोछ । त्यसैले त भाषालाई माध्यम बनाएर संबन्धित मातृभाषीहरुमाथि विभिन्न काल खण्डमा राज्यबाट थिचोमिचो भएका प्रशस्त दृष्टान्तहरु हामीले देखेका छौं अनि सुनेका छौं ।

निष्कर्ष:

आदिवासी जनजातिको भाषा, कला, सम्पदा, संस्कृति र ईतिहांसलाई जोगाई राख्न भाषामा लगानी गर्नु पर्दछ । मातृभाषामा लगानी राज्यले गर्नु पर्दछ, संबन्धित मातृभाषी समुदायले गर्नु पर्दछ । साथै मातृभाषी लेखक तथा भाषाविदहरुले आफनो श्रृजनशील समय, दिमाग, विचार र सोंचको लगानी गर्नु नितान्त आवश्यक छ । यसरी गरिएको लगानीले संबन्धित मातृभाषी समुदायको जीवनयापनमा प्रत्यक्ष र परोक्ष रुपमा सकारात्मक परिवर्तनमा सहयोग पुग्नेछ भने सिंगो राष्ट्रको संबृद्धिमा टेवा पुग्नेछ ।

हाम्रो सुझाव