महिला हिंसा र घर घरका रावणहरू

आदर्श समाज सम्वाददाता
मंसिर २३, २०७१

नेपाली समाजको चेतनाको स्तर बिस्तारै बढ्दैछ। महिला हिंसा विरुद्धका गतिविधि पनि अचेल केही बढ्दैछन्, आवाजहरू बलियो गरी आउँदैछन्। यति बेला महिला हिंसा विरुद्ध सोह्रदिने अभियान पनि जारी छ। यद्यपि महिला हिंसाका घटनामा कमी आएको छैन। यस्ता घटनाको नालीबेली लामो छ। त्यसमाथि हाम्रो समाज पितृसत्तात्मक छ। त्यसैले महिला हरेक कोणबाट प्रताडित भएको पाइन्छ। हुन त कतिपय अवस्थामा पुरुषहरू पनि पीडित होलान्। केही पुरुषहरू भन्ने गर्छन्, “महिलालाई धेरै सुविधा भयो। हामी अन्यायमा पर्‍यौं।” एकाध घटना यस्ता होलान् पनि तर अधिकांश घटनामा महिला पीडित छन्।

महिलामाथि मानसिक, शारीरिक, यौनिक, आर्थिक र सामाजिक हिंसा छ। महिलामाथिको मानसिक हिंसा अझ बढी गम्भीर छ। महिलालाई कठपुतली बनाएर राख्ने हाम्रो सामाजिक संरचना त्रुटिपूर्ण छ। विभेद भ्रूणदेखि नै सुरु हुन्छ। महिला हुनुको कारणले भ्रूणमै हत्या गरिन्छ। श्राद्धमा पुरुषलाई ठूलो पिण्ड र महिलालाई सानो पिण्ड दिने समाजको चलन छ। किनकि पिण्ड बनाउने पुरुष नै हो। रजनीशले भनेझैँ पुरुषको हातमा सत्ता, धन र यौन छ। यी तीन चीजले महिलालाई दासी बनाएको छ। हामीले भगवान मानेका रामले पनि सीतामाथि शङ्का गरेपछि सीताले अग्नि परीक्षामा जानु पर्‍यो। रामलाई अग्नि परीक्षा सीताले गरिनन्। यसरी हेर्दा हामीले घर घरमा रावण पालेका छौं। युगौंदेखि पितृसत्तात्मक सोचले ग्रसित हाम्रो समाजले महिलामाथि बढी नै चियो चर्चो गर्छ। महिला पुरुष समानताको जति ठूलो भाषण गरे पनि छोरा र छोरीमा विभेद भएकै हुन्छ। छोरा घरमा ढिलो आए पनि कुनै चिन्ता र चासो हुँदैन तर छोरीले अलि अबेर लगाए हामी बाबु आमाले केरकार गर्छौ। पुरुष महिनौं या वर्षौं बाहिर गएर बेखबर बसे पनि उसको चरित्रमा कुनै प्रश्न उठ्दैन। तर एउटी महिला एक छिन कतै बसे पनि चरित्रमा प्रश्न उठाइन्छ। कहाँ कोसँग बसी भन्दै जासुसी आँखाले उसलाई सधै पछ्याइरहेका हुन्छन्।

चरित्र र कुमारीत्व महिलासँग अन्योन्याश्रति बनेर आउँछ। कुमारीत्वको प्रश्न उठाउने पुरुष आफू कुमार हुनुपर्ने कि नपर्ने – कुनै पुरुषले विवाहअगाडि कसैलाई प्रेम गरेको हुन सक्छ। त्यसैगरी महिलाले पनि कसैलाई प्रेम गरेकी हुन सक्छे। तर लोग्नेले विवाह अगाडिको श्रीमतीको प्रेम सम्बन्ध थाहा पाएपछि पारपाचुके गरेका घटना अनगिन्ती छन्। त्यति मात्र होइन। मोबाइलको एसएमएस र फेसबुकको च्याटले धेरैको जिन्दगी बर्वाद भएको छ। पुरुष खुलमखुला दुर्इवटा महिलाको पोइ भएर हिँड्न सक्छ तर महिलाले सपनामा पर पुरुषसँग बोलेको देखँे भनिन् मात्रै भने पनि उनीमाथि शंका हुन्छ। जब साँझ पर्छ, भट्टी र रेष्टुराँमा पुरुषहरू हातमा गिलास लिएर चम्चाले सितन टिपेको शहरमा पनि देखिन्छ। गाउँमा पनि धेरै तथाकथित भलाद्मी पुरुषहरू बेलुकी भएपछि भट्टीमा आसन जमाउँछन्। अनि तिनका श्रीमतीले घरमा खाना पकाएर छोरा छोरीलाई खुवाउने, अनि आधा रातसम्म लोग्नेलाई भान्सा कुर्ने चलन धेरै घरमा छ। त्यसमाथि किन ढिलो आउनु भयो भनेर सोध्न मिल्दैन। लोग्ने भनाउँदाको खुट्टासम्म मादक पदार्थ चढेको हुन्छ। त्यो पासुला उनी माथि पनि बज्रन सक्छ। त्यस्तो हिंसा गर्ने हामी पुरुषहरू घर घरमा छौं।

केही वर्षगाडि मैले एउटा घटना सुनेको थिएँ। रक्सीले मातेर लोग्नेले श्रीमतीको हातको औंला अचानोमा राखेर काटिदिएछ। छिमेकीले त्यो लोग्नेविरुद्ध उजुर गर्न लगाइन्। लोग्नेलाई प्रहरीले हिरासतमा राख्यो। औंलाको उपचार गराइरहेकी ती महिलाले हस्पिटलको बेडबाट भनिछन्, “मेरो लोग्नेलाई प्रहरीले कति पिट्यो होला ? उजुर फिर्ता गर्दिऊँ।” आफ्नो हातको औला काट्ने लोग्नेमाथि पनि कति माया आएको होला ती महिलालाई ? के त्यस्तो व्यवहार हामी लोग्नेमान्छेले गर्न सक्छौं ? कदापि सक्दैनौं। तैपनि महिलामाथि बर्बर दमन छ। महिला अन्यायविरुद्ध बोल्न समेत हुँदैन। किनभने घरमा सत्ता पुरुषको हातमा छ। आर्थिक पाटो उसैको हातमा छ। मैले देखेको छु ( एउटी महिलाले अहिलेसम्म एक दिन पनि होटल रेष्टुराँमा गएर खाजा खाएकी छैनन्। तर त्यो घरको लोग्ने हरेक दिन भट्टीमा खाएर लर्खराउँदै आधा रातमा आउँछ र श्रीमतीलाई ढोका खोल भनेर डाँको पिट्छ। मस्त न्रि्रामा उठेर ढोका खोल्न ढिला भयो भने त्यो लोग्ने भनाउँदोले आफ्नो रिस श्रीमतीमाथि पोख्छ। जति महिला समानताको कुरा उठाए पनि हाम्रो समाज यहाँभन्दा माथि उठ्न सकेको छैन। घरकी श्रीमती हरेक दिन भट्टीमा खाजा खाएर आधी रातमा आउने भए यो पुरुष भन्ने जातले के गर्थ्यो होला ?

अरू माथि राज्य गर्ने अहंकारी पुरुषले घर घरमा शोषण अन्याय अत्याचार गरेको गर्‍यै छन्। जागिरे, अधिकारकर्मी महिलामाथि कतै कतै पुरुषमाथि हिंसा गरेको आरोप लाग्ने गरेको छ। स्वतन्त्र हुनु भनेको स्वच्छन्द हुनु होइन। कतिपय पीडित पुरुषहरू भन्ने गर्छन्, “मैले विदेशमा कमाइ गरेर लाखौं रकम पठाएँ। म घरमा आउँदा सम्पत्ति पनि छैन, श्रीमती पनि छैन। उनी त अर्कै केटा समातेर टाप कसिछन्।” काठमाडौँका एक जना इन्जिनियर कृष्णबहादुर रानाको यस्तै घटना भएको थियो। उनले महिलाबाट पुरुष पीडित हुनुको आफ्नो दर्द कान्तिपुर दैनिकमा सम्पादकलाई चिठ्ठीमार्फ लेखेका थिए। उनको तर्कमध्ये एउटा तर्क थियो (एउटा पिएचडी गरेको पुरुषले एउटी साक्षर मात्र भएकी महिलालाई विवाह गरेर बस्ने गरेको छ। तर एउटी पिएचडी गरेकी महिलाले साक्षर मात्र भएको पुरुषलाई किन विवाह गर्दैन ? महिलामा यो हठ किन रहन्छ भनेर प्रश्न गरेका छन् उनले। उनको प्रश्नको सजिलो उत्तर मैले पनि पाइनँ। लोग्ने आफूभन्दा सक्षम नै हुनुपर्छ भनेर हो कि ? सामान्यतया आँफूभन्दा अलि राम्रै पद प्रतिष्ठा भएकोसँग विवाह गर्ने प्रचलन हामीकहाँ छ। एउटा लेक्चरर श्रीमतीले सामान्य साक्षर लोग्ने विवाह गरे कसो हुन्थ्यो होला ? हुन त श्रीमतीले जागिर गरेर घर परिवार पाल्ने दिन पनि आउँदै छ। महिलालाई घरबाहिर जान नदिएर पनि यसो भएको हो। महिला हिंसाको नालीबेली धेरै जेलिएको छ। त्यसमाथि सबैभन्दा बढी हिंसा घर घरमा छ। हाम्रो धर्म, संस्कृति, रीतिरिवाज, कानून सबै महिला हिंसालाई प्रश्रय दिने प्रकृतिका छन्। बिहान पति परमेश्वर भन्दै खुट्टा ढोग्ने दिउँसो मञ्चमा पुरुष महिला बराबर हुन् भनेर गोष्ठी सेमिनारमा भाषण गर्ने अनि राती लोग्नेको गोडा मोल्ने हाम्रो नियति छ।

महिला हिंसा कहाँ छैन होला र ? घरदेखि बाटोघाटो, कार्यालय, सडक सदन सबैतिर व्याप्त छ। सार्वजनिक सवारी साधनमा महिलामाथि दुर्र्व्यवहार भएको प्रत्येक पलमा देखिन्छ। बाटोमा हिँड्दा कार्यालयमा जाँदा सबै ठाउँमा महिलामाथि हिंसा भइरहेछ। सामाजिक संघ संस्थामा महिला भएकै कारण प्रमुख पद दिइँदैन। राजनीतिमा पनि झन कहाली लाग्दो स्थिति छ। केन्द्रको त कुरै छाडिदिउ, जिल्ला तहको मुख्य नेतृत्वमा महिलाको उपस्थिति लगभग शून्य छ। अध्यक्ष तथा सभापति त परै जाओस् जिल्लाको सचिवसम्म महिलालाई बनाउन चाहँदैनन् पुरुषहरू। त्यसैले हरेक संघ संगठनमा पुरुषहरूको मात्र हाली मुहाली छ।

महिला हिंसा कतिसम्म हुन्छ भन्ने कुरा हाम्रो देशको राष्ट्रपति निर्वाचनदेखि शक्ति सम्पन्न राष्ट्र अमेरिकाको अघिल्लो पटकको राष्ट्रिय निर्वाचनलाई हेरे पुग्छ। हाम्रो देशको राष्ट्रपति निर्वाचनमा भर्खरै दिवंगत हुनु भएकी साहना प्रधानको नाम चर्चामा थियो। तर उनी महिला भएकै कारण उनको उम्मेदवारीमा पहल गरिएन। राजनीतिमा महिला माथि भएको हिंसाको एउटा रूप यो हो। त्यस्तै गरी अमेरिकामा अघिल्लो पटक भएको राष्ट्रपतीय निर्वाचनमा डेमोक्राटिक पार्टी  वर्तमान राष्ट्रपति बाराक ओवामा र हिलारी क्लिन्टन राष्ट्रपतिका उम्मेदवार थिए। काला र गोला जातिबीच विभेद भएको अमेरिकामा काला जातिका बाराक ओबामाभन्दा महिला भएकै कारण हिलारीलाई पार्टी त्रै हराइयो। यस्तो छ महिला हिंसाको रूप।

त्यसैले महिला हिंसाको अन्त्य सोह्र दिने अभियानमा छातीमा सेतो रिवन टाँसेर मात्र हुँदैन। घर घरमा हामी पुरुषले महिलालाई सम्मान गर्न जान्नुपर्छ। महिलाको अधिकार र स्वतन्त्रताको रक्षा गरियो भने आफ्नो घर परिवार सुखी हुन्छ भन्ने कुरा हेक्का राख्नुपर्छ। “घर शान्ति नै विश्व शान्तिको आधारः महिला हिंसा विरुद्ध शून्य सहिष्णुता कायम गरौं।” भन्ने यस बर्षो नारा रहेको छ। उक्त नाराको अन्तर्वस्तु हेर्दा घर घरमा भएका रावणहरूलाई पहिला ठेगान लाउने भनेको छ र त्यही नै आवश्यकता पनि हो।

(लेखक अधिवक्ता हुन्।)

Related News

सम्बन्धित समाचार

  • मनोसामाजिक अपांगता के हो ?

    सुदीप घिमिरे मंसिर १७, २०८०
    राइनास नगरपालिका लमजुङका एक वडा अध्यक्षले अपांगताको अधिकार वकालत गर्न सुरु गरेका छन् । गत महिना आयोजित एक कार्यक्रममा मनोसामाजिक…
  • तिलकदाइको सम्झनामा

    हरि अधिकारी मंसिर १३, २०८०
    विख्यात लोकतन्त्रवादी नेता तथा पूर्वी नवलपुर, गैंडाकोट क्षेत्रका अग्रणी सामाजिक अभियन्ता तिलकप्रसाद सापकोटा कीर्तिशेष हुनुभएको एक वर्ष पूरा भएको छ…
  • अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध

    राजेन्द्र भण्डारी कार्तिक ३, २०८०
    अभिभावकज्यूहरू, मौसम बिस्तारै उष्णबाट शीतोष्णमा परिवर्तन हँुदै छ । अर्कातर्फ हाम्रा संस्कृतिका अभिन्न धरोहरहरू हाम्रा घरआँगनमा प्रवेश गरिसकेका छन्; कतिपय…
  • फेलको फेहरिस्त

    शेषराज भट्टराई असाेज २२, २०८०
    विद्वान्हरू भन्ने गर्छन् ‘विद्यार्थी र शिक्षक कहिल्यै फेल हुँदैन । फेल हुने भनेको सिकाइ विधि हो । सिकाइ विधि फेल…
  • नागरिकको समय नै देश विकासको आधारशिला

    डा. दीपकप्रसाद बास्तोला असाेज २२, २०८०
    नेपाल संसारकै एक पुरानो देश हो । यस कुरामा हामी सबै नेपालीहरूले गर्व गरेका छौं । देश विकासको लागि एक…

hero news full width