महिला अधिकार होइन, समान अधिकार

आदर्श समाज सम्वाददाता
वैशाख १०, २०७२

भनिन्छ, ‘महिला र पुरुष दुर्इ रथका एक पाङ्ग्रा’ हुन्, तर यो भनाईमा मात्र सीमित देखिन्छ। कसैले पनि यसलाई व्यवहारमा उतारेका छैनन्। महिलाहरूलाई हरेक क्षेत्रमा कुदृष्टिले हेरिन्छ। हाल नेपालमा जति पनि बलात्कार, हत्या, हिंसा, दाईजो सम्बन्धी घटनाहरू घटिराखेका छन्, त्यसमा महिलाहरूले नै यी समस्याहरू भोग्नुपरेको छ। महिला अधिकारका जतिसुकै कानुन बने पनि कानुन बमोजिम महिलाका हक, अधिकार र स्वतन्त्रता सुरक्षित देखिँदैन। महिला हिंसा घरबाट नै सुरु हुन्छ। केही काम परेर छोरी राती घर पुग्छे भने त्यहाँ अनेक प्रश्न आउँछ, तर त्यही घरको छोरा एक हप्तासम्म घर नआएमा पनि घरको कुनै सदस्यलाई मतलब हुँदैन। कुनै महिला समाजमा अगुवा भएर बोल्यो भने पनि किन जान्ने भएकी – पोथी बासेको राम्रो हुन्न भन्ने हाम्रो समाज अझैं जहाँका त्यही छ। मेरो विचारमा महिला हिंसाको अन्त्य भनेको नै महिलालाई आत्मनिर्भर बनाउन उत्पादनमूलक कार्यमा अग्रसर बनाउनु, शिक्षा दिनु पहिलो प्राथमिकता भित्र पर्दछ। जब मान्छे आत्मनिर्भर बन्छ, तब त्यो मान्छे हरेक प्रकारका बन्धन र दासताबाट आफैं मुक्त हुन्छ। जब महिला शिक्षित बन्छे, तब उसले आफैं बुझ्न थाल्छे कि महिला एउटा यौन पुतली र बच्चा जन्माउने मेशिन मात्र होइन, परिआए देश चलाउने र राष्ट्रका लागि बलिदान दिन सक्ने क्षमता पनि उसमा छ।

नेपालमा वर्गीय मुक्ति र समान समाज अर्थात् महिला, पुरुष भेदभाव मुक्त समाजको निर्माण हुन अत्यन्त जरुरी छ। यो कुरा शासन र संविधानमा खुलाएर, लेखेर मात्र सम्भव छैन। पहिले महिलालाई आत्मनिर्भर बनाउनु जरुरी छ, जहाँ त्यो महिला पुरुष सरह यो समाज राष्ट्र र सेवामा खुलेर कम्पिटिसन गर्न सकोस् त्यसपछि कसैले पनि दबाएर कोही दब्नु पर्दैन। आत्मनिर्भर हुन नसक्नाले महिलाहरू विभिन्न खाले सामाजिक बन्धनमा बाँधिएका छन्। जस्तै बच्चा हुँदा परिवार, बिहे गर्‍यो श्रीमान् र बुढेसकालमा छोरा-छोरीको बन्धन, यो बन्धन किन त – कारण हो, आत्मनिर्भर हुन नसक्नु, अरुमाथि निर्भर रहनु। राज्यका हरेक तप्कामा महिलाहरूको सहभागिता चाहिन्छ अर्थात् राज्यले दानमा दिएझैं गरिने ३३% सहभागिता मात्र होइन। हाम्रो देशमा अझै पनि बोक्सीको आरोपमा पीडित महिलाको कथा उस्तै छ, दाईजो नल्याएको भनि घरपरिवारले जिउँदै जलाइदिन्छन् महिलालाई। छाउपडी प्रथाजस्तै महिलालाई पछाडि पारिने धार्मिक परम्परा जसलाई हामी अझै २१ औं शताब्दीमा आएर पनि छोड्न सकेका छैनौं।

हाल आएर हाम्रो समाजमा निकै ठूलो परिवर्तन देखा परिसकेको छ। फलस्वरूप शिक्षामा महिलाको पहुँच सहज छ। यति हुँदाहुँदै पनि बाहिरी अर्थात् घरभन्दा बाहिर गरिने काममा समस्या छ, त्यसो हुनुमा समाजमा विद्यमान नकरात्मक सोच जिम्मेवार छ।भनिन्छ, शिक्षाको अभावले अर्थात् जनचेतनाको कमीले हो, तर शिक्षित व्यक्तिको घरपरिवारका महिलाहरूले पनि समस्या भोग्नुपरेको छ। दाईजो नल्याएको निहुँमा कति महिलाहरूले अकालमा ज्यान गुमाउनुपरेको छ भने कोही मानसिक यातना भोगेर आफ्ना दिनहरू बिताउनुपर्ने अवस्था छ। हालका शिक्षित युवापीढिहरू अर्काको देखासिकीमा बुझेर पनि अबुझ हुन्छन्। सरकारले जतिसुकै कानुनको व्यवस्था गरे पनि कानुन बमोजिम अपराधीलाई सजाय दिलाउन सकेको छैन। हुन त महिलाले पनि केही गर्न सक्छन् भन्ने जनमत निर्माण नभएको होइन तर त्यो पर्याप्त हुन सकेको छैन। पितृसत्तात्मक सोचले ग्रसित समाजमा महिलाका लागि विभिन्न सामाजिक बाधा व्यवधान विद्यमान छन्। तिनको समाधानका लागि महिला आफूमा आत्मविश्वास र दृढ इच्छाशक्ति हुनुपर्छ। त्यसपछि भने महिलाहरूले पनि चुनौतीलाई केही हदसम्म पार लगाउन सक्छन्। विगतका दिनमा महिलाका पक्षमा थुप्रै कानुनी तथा अन्य व्यवस्था स्थापित भएका छन्। यसको कार्यान्वयन गराउन, सामाजिक र मानवाधिकार सुरक्षित राष्ट्र बनाउन महिला अधिकार मात्र होइन, समान अधिकार चाहिन्छ। महिला, पुरुष, वृद्ध, बालक, अपा·, जनजाति चाहे जो हुन् समान अधिकार हुनु जरुरी छ।

इलाका हुलाक, भिमाद।

Related News

सम्बन्धित समाचार

  • मेरो ओलम्पिक यात्रा संस्मरण

    आदर्श समाज सम्वाददाता असाेज ९, २०८१
    -तेजबहादुर गुरुङ ओलम्पिक सहभागिता जुनसुकै खेलाडीको लागि अन्तिम लक्ष्य हो । लामो समय खेल क्षेत्रमै जीवन समर्पण भएकाले मेरो निम्ति…
  • ‘स्व’ को खोजीमा प्रतीक्षा

    कृष्णप्रसाद बस्ताकोटी श्रावण ८, २०८१
    मूलतः मानिस धनको लालचले या त प्रख्यातिको भोकले तानिन्छ र यावत् कर्महरूमा यसरी जोगिन पुग्छ –कृष्णप्रसाद बस्ताकोटी चर्चित साहित्यकार सरस्वती…
  • गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण

    हरिबन्धु अर्याल जेठ २९, २०८१
    मुलुकको संवैधानिक प्रावधान र संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको काम हुँदै आएको छ…
  • नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)

    शेषराज भट्टराई जेठ १२, २०८१
    नमच्चिने पिङले झड्का मात्रै दिन्छ । चाहे लभका मामलामा होस् या जबका मामलामा अर्थात् सबका मामलामा काम नगर्ने मान्छेले गफ…
  • बालकथा : मौकाको साटो

    दिनेश बस्नेत जेठ १२, २०८१
    नेपालको पश्चिम भेगमा सुन्दा पनि अचम्म लाग्ने दुईओटा गाउँ थिए । एउटा लिखापुर र अर्काे भुसुनापुर । दुई गाउँको बिचमा…

hero news full width