मञ्चीय कार्यक्रमका समस्या र समाधान

युवराज पौडेल
माघ १, २०७६

हाम्रा म ञ्चीय कार्यक्रमहरुमा धेरै भाषणबाजीको पट्यारलाग्दो शृङ्खला चल्छ । हामी नेपाली अरु कुरामा जे भए पनि भाषण भनेपछि हुरुक्कै हुन्छौँ । भाषण गरेर नथाक्ने विचित्रको संस्कार हाम्रा नसानसामा छ । भाषण पनि सामान्य भाषण होइन, धाराप्रवाहयुक्त बेजोडको भाषण । हाम्रा भाषणको मुख्य विशेषता विरोध, आक्रोश र नकारात्मकता हो ।

केही दिन अगाडि लेखक तथा विश्लेषक आहुतिको कान्तिपुर दैनिकमा ‘मञ्चीय संस्कारको दिगमिग’शीर्षकको लेख प्रकाशित भयो । आहुतिको यो लेखले नेपाली राजनीतिक तथा सामाजिक जीवनको एउटा महत्त्वपूर्ण विषयलाई उठाएको छ । आहुतिले मञ्चीय संस्कारलाई मूलतः इतिहासको चेतनाबाट हेर्ने कोसिस गर्नुभएको छ । विभेदपूर्ण सामन्तवादी संस्कारको एउटा अवशेषका रुपमा मञ्चीय संस्कार रहेको कुरा उल्लेख गर्नुभएको छ । वास्तवमा यो विषय यतिबेला चर्चा गर्न उपयुक्त विषय हो भन्नेमा कुनै दुई मत छैन । नेपालमा मञ्चीय कार्यक्रमहरुका मूलभूत समस्याहरु चर्चा गर्ने उद्देश्यमा प्रस्तुत आलेखलाई अगाडि बढाइएको छ ।
वास्तवमा नेपालमा आयोजना गरिने विभिन्न मञ्चीय कार्यक्रमहरु कस्ता हुन्छन् भन्ने कुरा तपाईँ हामीलाई थाहाभएकै कुरा हो । साना सहकारीका कार्यक्रमदेखि ठूला प्रधानमन्त्री, मन्त्री उपस्थित हुने मञ्चीय कार्यक्रममा थुप्रै समस्याहरु रहेका छन् । हाम्रा मञ्चीय कार्यक्रमहरु प्रायः भद्दा र अवैज्ञानिक प्रकृतिका देखिन्छन् । विगतलामो समयदेखि नै हाम्रा कार्यक्रमहरु एकनाशले चलिरहेका छन्, तिनको व्यवस्थापन पक्षमा खासै नवीनता आउन सकेको पाइँदैन ।
हाम्रा मञ्चीय कार्यक्रमहरुमा समयको ठूलो बरबादी भइरहेको हुन्छ । तोकिएको समयमा प्रमुख अतिथि, अन्य अतिथि वा कोही पनि नआउने एउटा आम मान्यता जस्तै बनेको छ । मानौँ कार्यक्रम दिउसो ११ बजे सुरु हुने भनिएको छ भने, त्यहाँ कम्तीमा १ बजेबाट कार्यक्रम सुरु गरिएको हुन्छ । प्रमुख अतिथि प्रायः ‘ठूलै मान्छे’लाई बनाइने गरिन्छ । प्रायः कार्यक्रमहरुमा राजनैतिक दलका नेता तथा मन्त्री, राज्यमन्त्री आदिलाई प्रमुख अतिथि बनाइन्छ । हाम्रा मन्त्रीहरु तथा राजनीतिक दलका नेताहरु प्रमुख अतिथि बन्न पाएपछि साना सहकारीका कार्यक्रम पनि छोड्दैनन् ।
प्रमुखअतिथिको चयन गर्दा सम्बन्धित क्षेत्रभन्दा बाहिरको व्यक्ति अझ राजनैतिकदलको नेतालाई चयन गर्ने प्रवृत्ति बढी नै पाइन्छ । एउटा क्षेत्रको कार्यक्रममा अर्काे क्षेत्रको प्रमुख अतिथि हुँदा त्यसको प्रभावकारिता कमै हुन्छ । जस्तैः विद्यालयको वार्षिकोत्सवमा कृषि वा भूमि सुधार मन्त्रीलाई प्रमुख अतिथि बनाउनु । विद्यालयको वार्षिकोत्सवमा विद्यालय शिक्षासँग सम्बन्धित विज्ञ, प्राज्ञ वा त्यही क्षेत्रमा महत्त्वपूर्ण योगदान पु¥याएको सम्बन्धित उपयुक्त व्यक्तिको चयन गर्दा शोभनीय हुन्छ ।
प्रमुख अतिथि त्यस्तो व्यक्तित्व हुनुपर्छ, जसले सम्बन्धित कार्यक्रमको उद्देश्य प्राप्तिमा सहयोग पु¥याउन सकोस्, जसका भनाइहरु सम्बन्धित संस्थाका लागि उत्प्रेरक खुराक बनून् । अधिकांश संस्था वा संगठनमा जुन दलको प्रभाव बढी छ, त्यही दलको नेतालाई प्रमुखअतिथि बनाउने प्रवृत्तिले ती संस्थाहरुमा राजनैतिक गन्ध फैल्याउने काम गरेको छ । सरकारका मन्त्री वा राज्यमन्त्री वा अन्य पदीय व्यक्तिहरु पनि आफूसँग असम्बन्धित संस्था वा समारोहमा प्रमुखअतिथि बन्नु राम्रो होइन । जस्तै, पर्यटनसँग सम्बन्धित औपचारिक कार्यक्रममा कृषिमन्त्रीलाई प्रमुख अतिथि बनाउनु अनुपयुक्त र अवैज्ञानिक हुन्छ । सम्बन्धित क्षेत्रका सरोकारवाला र आवश्यक व्यक्तिलाई मात्र मन्तव्यको अवसर दिनु उपयुक्तहुन्छ ।
प्रमुखअतिथिले समयको पालना गर्नु पर्देन । प्रमुखअतिथि नआईकन कार्यक्रम सुरु नै नगर्ने भन्ने मान्यता पनि छ । जसले गर्दा कार्यक्रमहरु सुरु गर्न मै ढिलाइ हुने गर्छ । फेरि सुरु भएपछिको आसन ग्रहणको लम्बेतान प्रक्रिया आफैमा दिक्कलाग्दो छ । भएभरका माथिदेखि तलसम्मका सबैलाई आसन ग्रहण गराउनुपर्ने जुनप्रचलन छ, त्यो त झनै अनावश्यक देखिन्छ । कुर्चीमा बसेपछि स्वतःआसन ग्रहण भएको मानिन्छ र फेरि आसनग्रहण गराइराख्नुको कुनै औचित्य देखिँदैन । फेरि, आसन ग्रहणको यो शृङ्खला प्रत्येक नयाँ मानिस आउँदा दिनभरिजसो नै चलिरहेको हुन्छ ।
उद्घोषकले भूलवश आसन ग्रहण गर्न बिर्सेमा कतिपय मानिस त्यसलाई प्रतिष्ठाको विषय बनाएर कार्यक्रम नै छाडेर हिँडने गरेको पनि देखिन्छ । लेखक तथा विश्लेषक आहुति भन्छन्, ‘आसन ग्रहण त्यस सामन्तवादी युगको संस्कार थियो, जहाँ जन्म, जात वा पदका आधारमा आसन निश्चित हुन्थ्यो’ (आहुति, कान्तिपुर मंसीर २९) । आसन ग्रहण सिध्यिएपछि फेरि ब्याच वितरणमा केही समय खर्च हुन्छ । विश्लेषक आहुतिले भनेजस्तै ब्याच पनि थरिथरिका लगाएर मान्छेको सामजिक श्रेणीनिर्धारण गरिएको हुन्छ । अनि फोटोमा माल्र्यापण भनेर फेरि अर्काे नौटङ्कीहुन्छ । अनि राष्ट्रियगान, शहीदका नाममा मौनधारण, कार्यक्रमको उद्घाटन आदि आदि गर्दा लगभग आधा समय व्यतीत भइसकेको हुन्छ । अनि बल्ल सुरु हुन्छ भाषणको शृङ्खला ।
हाम्रा म ञ्चीय कार्यक्रमहरुमा धेरै भाषणबाजीको पट्यारलाग्दो शृङ्खला चल्छ । हामी नेपाली अरु कुरामा जे भए पनि भाषण भनेपछि हुरुक्कै हुन्छौँ । भाषण गरेर नथाक्ने विचित्रको संस्कार हाम्रा नसानसामा छ । भाषण पनि सामान्य भाषण होइन, धाराप्रवाहयुक्त बेजोडको भाषण । हाम्रा भाषणको मुख्य विशेषता विरोध, आक्रोश र नकारात्मकता हो ।
समस्याको मुठो फुकाउन पनि हामी माहिर नै छौँ तर समाधानको बाटो देखाउने दृष्टिचेतले हाम्रा भाषणलाई छुँदैन । हामीकहाँ समाधानमुखी भएर सुझावमूलक भाषण गर्ने प्रवृत्ति नै छैन । आलोचनाप्रधान हुनु, विषयकेन्द्री नहुनु, वस्तुगत नहुनु, सङ्क्षिप्तता नहुनु, भावना प्रधान हुनु हाम्रा मञ्चीय भाषणका प्रमुखविशेषता नै बनेका छन् । उद्देश्य एकातिर अनि हाम्रा मन्तव्यहरु अर्कै अर्कैतिर बहकिइरहेका हुन्छन् ।
अझ राजनैतिक दलका कार्यक्रमको त कुरै नगरौँ, त्यहाँ आफ्नो दलको विचार, मान्यता, दृष्टिकोणले भन्दा विरोधीदलको आलोचना र गालीगलौजले बढी प्राथमिकता पाइरहेको हुन्छ । अरुलाई गाली गर्ने र आलोचना नगरे भाषणजस्तै नठान्ने मानसिकता बलियो रहेको छ । मन्तव्य वा भाषणहरुमा कति सकारात्मक कुराको चर्चा हुन्छ । औपचारिक कार्यक्रममा हुने पट्यारलाग्दो मन्तव्यप्रति आमजनताको रुचि पनि कम देखिन्छ । हामीकहाँ भाषणकै कारण नेता हुन पाइने प्रचलन बसेको छ ।
मीठो स्वरमा धारा प्रवाह बोल्न सक्ने नेताले जनताको कुनै काम नगरे पनि सफल नेता ठानिन्छ । राम्रो भाषण नगर्ने तर राम्रो काम गर्न सक्ने नेतालाई जनताले पनि मान्दैनन् । बरु काम चाँहिदैन, भाषणदिने काम छोड्नु हुँदैन भन्ने कुरा चतुर नेताले राम्रैसँग बुझेका छन् । नेपालमा राजनीति गर्ने त्यस्तो नेता अभागीहो, जसको जिब्रो राम्रो चल्दैन, तीखो रुपमा प्रस्तुत हुँदैन । श्रुतिमधुरता नहुनु नै तिनको सबैभन्दा ठूलो अभिशाप हो भलै तिनले जतिसुकै राम्रो काम गरुन् ।
भाषणले हुन्थ्यो भने आजसम्म नेपाल स्वीट्जरल्यान्ड बन्थ्यो, सिङ्गापुर बन्थ्यो । भाषणमा कति नेताले देशलाई उहिल्यै ‘सिङ्गापुर’बनाइसकेका हुन् । भाषणले देश बनेन भन्ने कुरा आम नेपालीले ढिलै भएपनि बुझिसकेका छन् । वर्तमान नेपालले कुरा कम,कामबढी गर्ने नेता खोजेको छ । आजका सचेत जनताले नेताका फुस्रा भाषणमा विश्वास गर्दैनन् भन्ने कुरा नेताले बुझ्नु जरुरी छ । समाज र राजनीतिक जीवनका हरेक क्षेत्रमा कुराभन्दा काम बढी गर्ने नेतृत्व चाहिएको छ ।

वर्तमान सन्दर्भमा हाम्रा मञ्चीय औपचारिक कार्यक्रमहरुमा समयानुकूल संशोधन र परिमार्जन आवश्यक देखिएको छ । मञ्चीय कार्यक्रमहरु असाध्यै भद्दा, अव्यावहारिक, लामा र अवैज्ञानिक भएका छन् ।

महावीर पुन, भाषणले ठूला भएका होइनन् । सयौँ सयौ होनहार भनिएका नेताले गर्न नसक्ने काम एक्ला महावीर पुनले गरेर देखाएका छन् । आँखा रोगका क्षेत्रमा संसारमै ख्याति प्राप्त गर्न सफल डा. सन्दुक रुइत भाषणले महान् भएका होइनन् । उनले भाषणमा कहिल्यै विश्वास गरेनन् । पहिलाकाम गरेर देखाउनुपर्छ भन्ने उनको दृढ प्रतिज्ञाका कारण आज तिलगङ्गा आँखा अस्पताल संसारकै नमूना आँखा अस्पतालका रुपमा चिनिँदै छ । उनी धेरै बोल्दैनन, आवश्यक कुरा मात्र बोल्छन् ।
आज भारत, पाकिस्तान, श्रीलङ्का जस्ता देशका आँखा रोगीहरु सन्दुक रुइत खोज्दै नेपाल आउनु आम नेपालीका लागि गर्वको विषय हो । त्यस्तै, कुलमानले भाषणमाभन्दा कर्ममा विश्वास गरेकै कारण ‘उज्यालो नेपाल’ सार्थक भएको तथ्यलाई बिर्सन मिल्दैन । त्यसैले, मान्छेको मूल्याङ्कन भाषणमा होइन, कर्ममा गर्ने संस्कार बसाल्न सकिएन भने इतिहासको चक्का सही तरिकाले नगुड्न पनि सक्छ । सिङ्गापुर, जापान, कोरिया आदि तीव्रतर विकासको गतिमा अगाडि बढिरहेका मुलुकका नेता र जनताको संस्कारलाई हेर्ने हो भने उनीहरु भाषणमा भन्दा कर्ममा विश्वास गरेकै कारण यो सब सम्भव भएको तथ्य हाम्रा सामु छर्लङ्गै छ ।
हाम्रा औपचारिक कार्यक्रमहरुमा मञ्चमा अनावश्यक मानिसहरुको थुप्रो जम्मा गर्ने प्रवृत्ति पनि रहेको छ । वास्तवमा यो प्रचलन पनि सही र वैज्ञानिक छैन । मञ्चमा एक जना वक्ता र उद्घोषक भन्दा बढी मान्छे आवश्यक नै हुँदैन । अरु सबै दर्शकदीर्घामा बस्ने परम्परा बसाल्नु उपयुक्त देखिन्छ । फेरि मञ्चमा विश्लेषक आहुतिले भनेजस्तै थरिथरिका ब्याज, थरिथरिका कुर्ची, थरिथरिका खादाको जुन विभेदपूर्ण प्रवृत्ति छ, त्यो पनि समयानुकूल र व्यावहारिक छैन । आसनग्रहण पछि पनि ब्याजवितरण, फोटामा माल्र्यापण, मौन धारण, राष्ट्रियगान, कार्यक्रम उद्घाटन आदि प्रक्रिया चल्छन् । यति गर्दा लगभग आधा भन्दा बढी समय गुज्रिसकेको हुन्छ ।
त्यसपछि सुरु हुन्छ मन्तव्य वा भाषणको अर्काे निरस चक्र । हाम्रा कार्यक्रम योजना तयार गर्दा नै मन्तव्य वा भाषणलाई प्राथमिकता दिइन्छ । फेरि भाषण गर्दा वक्ताले मञ्चमा भएका सयौँ सयौ अतिथि र तिनका पदहरुलाई सम्बोधन गर्दा झनै समयको दुरुपयोग भइरहेको हुन्छ । यो झनै अवैज्ञानिक र अव्यवहारिक प्रचलन हो । यसलाई समयानुकूल संशोधन र परिमार्जन गर्नु आवश्यक देखिएको छ । ‘आदरणीय सभापति, अतिथिज्यू र सम्पूर्ण भद्रजनहरु’भनेर सिधै विषयमा प्रवेश गर्न सकिन्छ । लम्बेतान सम्बोधन आवश्यक छैन । सबै वक्ताले सबै व्यक्तिलाई सम्बोधन गरिरहँदा ऊर्वर समय त्यत्तिकै खेर गइरहेको हुन्छ, जसले गर्दाप्रधान कुरा नै ओझेलमा परिरहेको हुन्छ ।
मन्तव्य दिँदा पनि समयको ख्याल नगर्ने हाम्रो संस्कार नै बसेको छ । उद्घोषकले पाँचमिनेटभित्र सक्नुपर्ने भने पनि वक्ताले घण्टौँ समय व्यतीत गरिरहेको हुन्छ । भाषण वा मन्तव्य राख्दा पनि सम्बन्धित संस्था, संगठन वा कार्यक्रमको क्षेत्र र उद्देश्यमा आधारित भएर मात्र राख्नु पर्दछ । सम्बन्धित विषय क्षेत्रभित्रै रहेर संक्षिप्त, उत्प्रेरणामूलक, समाधानमुखी, वस्तुगत र स्पष्टविचार प्रस्तुत गर्नुपर्दछ । भावनामा बहकिएर वा उत्तेजित भएर अनावश्यक सन्दर्भ उठाउनु हुँदैन । आफूलाई विद्वान देखाउन क्लिष्ट भाषाशैलीको प्रयोग गर्ने र अनावश्यक लामो कथा कहानीको पाण्डित्याइँ प्रदर्शन गर्नु हुँदैन ।
आफू बहकिने जस्तो लाग्छ भने कागजमा लेखेर पनि वा टिपोट बनाएर पनि लैजान सकिन्छ । कागज हेरेर पढ्दा आफूलाई ‘नजान्न’े ठान्छन् कि भन्ने मानसिकता पनि रहेको छ । तर कागज नहेरी अनावश्यक लम्बेतान भावनामा बहकिनुभन्दा कागज हेरेर ठोस र बुँदागत कुरा प्रस्तुत गर्नु नै बढी वैज्ञानिक हो । कतिपय कार्यक्रममा वक्ताले बोलेका कुरा फेरि उद्घोषकले आफ्नै तरीकाले समीक्षा र विश्लेषण गर्ने प्रचलन पनि छ । प्रत्येक वक्ताले बोलेका कुराको समीक्षा र सामान्यीकरण गर्नु आवश्यक हुँदैन । फेरि उद्घोषकले वक्ताको भनाइको व्याख्या विश्लेषण गर्ने हैसियत पनि राख्दैन । सामान्य एक दुई वाक्यमा सामान्यीकरण गर्नु अनुपयुक्त नभए पनि बढी व्याख्या विश्लेषण गर्नु अनुपयुक्त नै हो ।
वर्तमान सन्दर्भमा हाम्रा मञ्चीय औपचारिक कार्यक्रमहरुमा समयानुकूल संशोधन र परिमार्जन आवश्यक देखिएको छ । मञ्चीय कार्यक्रमहरु असाध्यै भद्दा, अव्यावहारिक, लामा र अवैज्ञानिक भएका छन् । लेखक तथा विश्लेषक आहुति भन्छन्, ‘राजनीतिक वा सामाजिक कार्यक्रमहरुका मञ्चीय संस्कारहरुले आजको समय र पुस्ताको आवश्यकतालाई सम्बोधन नगरिहेको मात्रहोइन, बरु तिनले घातक भूमिका खेल्न थालेका छन्’ (आहुति, कान्तिपुर, ऐजन) । मन्तव्यलाई मात्र प्राथमिकता दिने, असम्बन्धित क्षेत्रको व्यक्तिलाई प्रमुखअतिथि बनाउने, आसनग्रहणको पट्यारलाग्दो शृङ्खला प्रस्तुत गर्ने, मञ्चमा धेरै अतिथि राख्ने, मन्तव्य राख्दा अप्रासङ्गिक र भावनात्मक हुने जस्ता समस्याहरुले हाम्रा मञ्चीय कार्यक्रमहरु अस्तव्यस्त बनिरहेका छन् । समयको सही सदुपयोगलाई ध्यानदिने, सम्बन्धित क्षेत्रको उपयुक्त व्यक्तिलाई मात्र प्रमुखअतिथि बनाउने, कार्यक्रम चुस्त र छरितो बनाउने, आसन ग्रहण नगराउने, मञ्चमा वक्ता र उद्घोषक बाहेक अरु नबस्ने, सम्बोधन गर्दा छोटो तरिका अपनाउने जस्ता संस्कारहरु बसाल्न सकिएन भने हाम्रा औपचारिक मञ्चीय कार्यक्र्रममा अन्तिममा सभापति एक्लै बोल्नुपर्ने स्थिति आउन सक्छ ।

Related News

सम्बन्धित समाचार

hero news full width