भ्रष्टचारीः मानवअधिकारका मुख्य दुश्मन

तिलक पराजुली
मंसिर २०, २०७६

भ्रष्टाचार गर्न, राष्ट्रको साधन श्रोतको दोहन गर्न त्रिपक्षीय गठबन्धन छ। राजनीतिक नेतृत्व, कर्मचारीतन्त्र र ठूला ठेकेदार तथा व्यापारीहरुको मिलेमतो छ। यसले राज्यव्यवस्था कमजोर बनाएको हामीले देखेका छौं। शिक्षा र स्वास्थ्यका माफियाका अगाडि दुई तिहाई बहुमतको निर्वाचित सरकार निरीह सावित किन भयो?

डिसेम्बर ९ भ्रष्टाचार विरुद्धको अन्तराष्ट्रिय दिवस र १० डिसेम्बर विश्वमानव अधिकार दिवस पर्नु संयोग भए पनि मिल्दो छ। कारण, मानव अधिकारलाई कुण्ठित गर्न भ्रष्टाचार यसरी पछिलाग्छ जसरी बुद्धत्व प्राप्तिबाट विचलित गराउन मार (कामदेव) सिद्धार्थ गौतमको पछि लागेको थियो। मानव अधिकारको रक्षाको लागि सतत क्रियाशील रहने सामाजिक अभियन्ताहरु पनि भ्रष्टाचार र कुशासनको विरुद्ध निरन्तर त्यसरी नै संघर्षरत रहनुपर्छ जसरी राजकुमार सिद्धार्थ गौतम कामवासनासंग लडेका थिए। सुशासन र भ्रष्टाचार मुक्त प्रशासन प्राप्तिको आकांक्षा नागरिकमा कति गहन र तीव्र रहन्छ भन्ने कुराको वोध गर्न चीनका सन्त कन्फ्युसियसको जीवनमा घटेको घटना बडो मार्मिक छ। छैटौं शताब्दी ईशा पूर्वका यी सन्त आफ्ना केही शिष्यहरुलाई साथमा लिएर ज्ञान, सत्य र के गर्दा मानवकल्याण गर्न सकिन्छ भन्ने बुझ्न, खोज गर्न यात्रामा निस्केका थिए।

निकै दिनको हिंडाई बुझाईकै क्रममा एउटा जंगलको बाटो काट्दै उनी अर्को देशको सीमाना पारगर्ने क्रममा थिए। जंगलको बाटोमा बसेर एकजना आईमाई रोइरहेको देखे। उनको दुःख पीडाको कारण सोधे–कन्फ्युशियसले। ती आईमाईले भनिन्–‘यसै जंगलमा बस्ता मेरा पतिलाई बाघले खाई दियो। आज त मेरो छोरालाई पनि बाघले लग्यो’। बढो मार्मिक वृतान्त उनले भनिन्। उनको कुरा सुने पछि कन्फ्युशियसले स्वभावतः भने –‘जाउँ हिंड, यो बाघले खाने जंगलमा बस्नु ठीक छैन’। यी महिलाले रुन छाडेर कन्फ्युशियसतिर आँखा तरेर हेर्दै भनिन्–‘त्यो भ्रष्ट अन्यायी राजाको शासन सहेर बस्नु भन्दा त यहीं जंगलमा बाघको शिकार बन्नु वेश। ’ यो जवाफ दिइन् उनले।

दैवी संयोग जस्तो लाग्ने यो घटना पछि कन्फ्युशियसको जीवनमा नयाँ मोड आयो। भनिन्छ, यो बाघपीडित महिलाको भनाईले उनलाई ज्ञानोदय भयो। उनी सुशासनको खोजी र यसको प्रवर्धनमा सतत रुपमा लागिरहे। वस्तुतः कन्फ्युशियसको माहनता कुनै धर्म गुरुको रुपमा नभएर एक महान् नीतिवेत्ताको रुपमा वा सुशासनका सिद्धान्तकार भनेर स्थापित छ चीन र शेष दुनियामा। सुशासनको कुरा गर्दा यिनले शासकीय शुद्धता, स्वच्छता र सादगीपनलाई जोड दिएकाछन्। एकपटक सम्राट चांगले शासनको उचित व्यवस्थापन गर्न सरकारी अधिकारीमा चाहिने योग्यता र गुण कस्तो हुनुपर्ला भनेर कन्फ्युशियसको सल्लाह मागेका छन्। उनले पाँचओटा कुराहरु सुझाएका छन्। ती हुन्–‘फजुल खर्च नगरेर पनि जनकल्याण गर्नु, आफ्ना सहयोगीलाई यस्तो काम सुम्पनु जुन गर्न ऊ सक्षम छ, धनलोलुपताबाट विरत रहेर आफ्ना आवश्यककता पूर्ति गर्ने, अहंकार प्रदर्शन नगरिकन आफ्नो कर्तव्य पूरा गर्ने र क्रुरता नदेखाई जनताबाट श्रद्धा एवं शान आर्जित गर्न सक्ने। ’ वास्तवमा झण्डै तीन हजार वर्ष पहिले यी सन्तले सुझाएका गुणहरु एक उच्चसरकारी अधिकारीमा हुने हो भने उ अब्बल राष्ट्रसेवक मानिने छ। स्मरणीय छ : यी आचार्यका नाउँमा त्रिविविमा एक अध्ययन संस्थान खोलिंदै छ।

हामी नेपालीहरुले धेरै लामा र कठिन संघर्ष गरेका हौं– भ्रष्टाचार मुक्त शासन र समृद्धिका लागि। व्यवस्थाहरु बदलिए। शासकहरु पनि परिवर्तन गरिए। तर, शासकीय प्रवृत्तिमा कुनै परिवर्तन आएन। शासन र प्रशासनका अधिकारीहरु दिनानु दिन झन भन्दा झन भ्रष्ट भएका छन्।

भ्रष्टाचार गर्न, राष्ट्रको साधन श्रोतको दोहन गर्न त्रिपक्षीय गठबन्धन छ। राजनीतिक नेतृत्व, कर्मचारीतन्त्र र ठूला ठेकेदार तथा व्यापारीहरुको मिलेमतो छ। यसले राज्यव्यवस्था कमजोर बनाएको हामीले देखेका छौं। शिक्षा र स्वास्थ्यका माफियाका अगाडि दुई तिहाई बहुमतको निर्वाचित सरकार निरीह सावित किन भयो? विद्यार्थीबाट असुल गरिएको अनावश्यक शुल्क जुन आपराधिक लाभ हो त्यो फिर्ता गराउन किन सक्दैन सरकार? प्रष्ट बुझिएको के छ भने शासनमा बस्नेहरुले यी माफियासंगबाट फाइदा लिएका छन् र अनेक आर्थिक घोटलामा मिलेमतोमा काम गरेका छन्। त्यसैले यिनीहरु लाचार छन्।

ठेक्का पट्टाको कुरा पनि यही हो। ठेकेदारसंगबाट गैरकानूनी तवरमा नेताहरुले लाभ लिएका छन्। यिनीहरुसंग कुनै नैतिक बल नै छैन। ठेक्का बोलकवोल गरेर आयोजना जिम्मा लिएका छन्, काम गर्न सरकारसंगबाट बजेट पनि लिएकाछन् तर काम गदैर्नन्। दशकौँ देखि आयोजनाहरु अलपत्रछन्। एउटा आयोजनाको कुरा होइन दर्जनौँ आयोजनाको अवस्था यही छ। जनताका आँखा अगाडि यस्तो लुटाहा काम भएको छ। जनताको आवाज यस विरुद्ध उठेपछि ठेकेदारलाई कारवाही गर्छौ भनेका हुन्। काँहा भयो कारवाही? कसलाई भयो? जनताका आँखामा छारो हाल्ने काम सरकारमा बस्नेहरुले गरिरहेका छन्। पप्पुकन्स्ट्रक्सन, कालिका कन्स्ट्रक्सन लगायतले गरेका बदमाशीमा कुनै न कुनै रुपमा प्रभावशाली नेतृत्वको संलग्नता छ। यो आरोप होइन, तथ्य कुरा हो। र, प्रमुख दलका प्रमुख नेताबीच भ्रष्टाचारमा एकता पनि छ।

हाम्रो देशमा भ्रष्टाचार विरुद्धको कानून नभएर भ्रष्टाचार बढेको होइन। यद्यपि, कानूनमा पनि केही त्रुटि छ तर भ्रष्टाचार हुनुको मूलकारण भनेको शासन सत्तामा बस्नेको–भ्रष्ट आचरण र प्रवृत्तिले गर्दा नै हो।

भ्रष्टाचार विरुद्ध कारवाही गर्ने संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको संवैधानिक व्यवस्था बलियो छ। यसलाई सुम्पिएका अधिकार र कर्तव्य प्रभावकारी छन्। तर, यसमा नियुक्त हुने प्रमुख आयुक्त र अन्य आयुक्तहरु प्रायः यस्ता व्यक्ति नियुक्त गरिन्छ जसको वफादारी संवैधानिक कर्तव्य भन्दा घुमाई फिराई नियुक्तिको सिफारिस गर्ने राजनीतिक नेतृत्व प्रति रहन्छ। अख्तियारको प्रमुख आयुक्त वा आयुक्तको योग्यतामा अरुकुराको अतिरिक्त उच्च नैतिक चरित्र भएको हुनुपर्ने मापदण्ड तोकिएको छ। तर, सूर्यनाथ उपाध्याय पछिका प्रमुख आयुक्त हेर्दा यो मापदण्ड पूरै वेवास्ता गरिएको पाईन्छ। खास गरेर लाउडा विमान काण्डमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई आयोगले चिठी काटेपछि अख्तियारलाई संस्थागत रुपमा कमजोर बनाउने र अख्तियारमा कमजोर चरित्रको नेतृत्व नियुक्ति गर्ने खेल शुरु भएको हो। यो प्रवृति निरन्तर पनि छ।

लोकमान कार्की कस्ता पात्र हुन् भन्ने कुरा जगजाहेर छँदा छँर्दै उनलाई दलहरुले सर्वसम्मत अख्तियार प्रमुख किन बनाए? उनले राजनीतिक नेताका फाईल खोल्न थालेपछि छापामार शैलीमा महाभियोग प्रस्ताव संसदमा कसरी आयो? आदि प्रश्नहरुको समीक्षा हुनु आवश्यक छ। लोकमानको पटाक्षेप पछि नियुक्त भएका प्रमुख आयुक्त दीपमान सिंह बस्नेतको ‘उच्च नैतिक चरित्र’ देखिंदैछ। अकुत सम्पत्ति कमाएका कारवाहीमा परेका छन्। आयुक्त राजनारायण पाठकको‘उच्च चरित्र’ त उद्घाटित भईसकेकै हो। अहिलेको राजनीतिक नेतृत्व वास्तविक उच्च नैतिक चरित्र भएकासंग तर्सिन्छ, डराउँछ। संझनु पर्ने कुरा के छ भने सूर्यनाथ उपाध्याय पछि राजनीतिक व्यक्तित्वबाट भएका भ्रष्टाचार उपर कुनै कारवाही हुनै सकेको छैन। वर्तमान प्रमुख नवीन घिमिरे ठूलामाछा समात्न कति आँट गर्छन् परीक्षण हुन बाँकी नै छ। संविधान र कानूनले खडा गरेका संस्थालाई उद्देश्य अनुसार काम गर्न नसक्ने बनाएर निष्कण्टक भ्रष्टाचार गनेर्ले यो कुरा ख्याल गर्नु पर्छ कि जनताले ती भ्रष्टहरुलाई भित्री आँखाले हेरिरहेका छन्। र, जनता आंफै सडकमा उत्रने पनि छन्। भ्रष्टचारीहरु मानव अधिकारका प्रमुख दुश्मन हुन् भन्ने कुरा आजका नौजवानहरुले नबुझ्ने कुरै छैन।

Related News

सम्बन्धित समाचार

hero news full width