भूपरिवेष्ठित हुनुको पीडा

आदर्श समाज सम्वाददाता
फागुन १५, २०७३

विश्वका धेरै मुलुक विभिन्न समुन्द्र वा सागरसँग छोएकै पाउँछौं तर त्यस्ता केही मुलुक पनि छन् जसको सिमाना समुन्द्रसँग कतै छुदैन। त्यसैले विभिन्न मुलुकले घेरिएको हुनाले त्यसतालाई भूपरिवेष्ठित मुलुक भन्ने गरिएको छ। विभिन्न मुलुकले घेरिएको हुनाले ती मुलुक आफ्नो निर्वाध रुपले पाउनुपर्ने अधिकारबारे संर्घष्ारत रहेको देखिन्छ। घेरिएका मुलुकहरूसँग राम्रो सम्वन्ध राख्न सक्यो भने सहज बाटो र सुविधा पाइन्छ होइन भने २ वा ३ देशबीच खटपट भइरहेको देखिन्छ। ख्ाासगरी स्वतन्त्र व्यापार गर्ने सर्न्दर्भमा समुन्द्रमा सहज पहुँच र सुविधामा भूपरिवेष्ठित मुलुकका लागि जहिले पनि असहजपन देखिएको छ। नेपाल पनि एउटा भूपरिवेष्ठित मुलुक हो। जसलाई भारत र चीनले घेरिराखेका छन्।

नेपालले समुन्द्र मार्गको सुविधा उपभोग गर्न भारत र चीनसँगको पारवहन सम्झौता आवश्यकता पर्दछ। विश्वका सबै मुलुकले भूपरिवेष्ठित मुलुकहरूलाई कुण्ठित रुपमा समुन्द्रमा पहुँच दिने विश्वसन्धिमा हस्ताक्षर गरी पालना गर्न मञ्जुर गरेको छन् तर पनि अकुण्ठित हुन नसकिरहेको अवस्था छ। यस्तै अवस्था सृजना भएबाट भूपरिवेष्ठित मुलुक घेर्ने मुलुकहरूमा निर्भर गर्नुपर्ने स्थिति पैदा भइरहेको छ। किन चाहियो समुन्द्र मार्गको पहुँच- विश्व व्यापार प्रतिस्पर्धामा आधारित छ। संसारको सबैभन्दा सस्तो मूल्यमा प्राप्त गर्न सकिने अवस्थालाई ध्यानमा राख्दै एक मुलुकले अको मुलुकसँग किन्ने वा बेच्ने काम भइराखेको हुन्छ। व्यापारमा जति लागत कम गर्न सकियो त्यति नै प्रतिस्पर्धी बन्न सघाउँछ। व्यापारमा ढुवानी लागतको अंश महत्वपूर्ण हुन्छ। जति ढुवानी भाडा कम गर्न सकियो त्यति नै वस्तुको मूल्य कम हुन जान्छ। आज सबैभन्दा सस्तो ढुवानी माध्यम भरेको ठूलो ठूलो पानी जहाजमा सामान राखेर पठाउन सक्नु हो। समुन्द्रमा चल्ने ठूल्ठूला पानी जहाजले एकै पटक हजारौं टन सामग्री ल्याउन-लैजान सकिन्छ त्यो पनि जलमार्गको माध्यमबाट। पानीजहाजबाट धेरै सामान ल्याइने भएकाले नै यसको लागत कम हुन्छ। त्यसैले संसारका सबै मुलुकले पानीजहाजलाई नै व्यापार गर्ने प्रमुख साधन र माध्यमको रुपमा लिने गर्दछन्। यही सबैभन्दा सुविधाजनक ढुवानी माध्यम भूपरिवेष्ठित मुलुकहरूले निर्वाध रुपमा प्रयोग गर्न अप्ठेरो छ। छिमेक मुलुकले पहुँचको सुविधा त दिन्छन् तर बन्दरगाहमा सामान राख्ने, ल्याउने, लैजाने, भण्डारण गर्ने ठाउँ र क्षेत्र किटान गर्ने गर्दछन् र त्यही सिमित क्षेत्रबाट मात्र आफ्ना कार्य गर्नुपर्ने हुन्छ। धेरै टाढा समुद्र सिमाना भएमा यस्ता खालका सुविधा प्रयोग गर्न कठिन पनि महसुस गरेका छन् र त्यस्ता सुविधा प्रयोग गर्न सकिरहेका छैन। बेला बखत असमझदारी भइदियो भने, खटपट भइदियो भने सामान ल्याउने, लैजाने सुविधा -पारवहन सुविधा) रोकिदिन्छन् वा नाकाबन्दी गरिदिन्छन्। यसबाट भूपरिवेष्ठित मुलुकहरूले अभाव, तनाव, असमझदारी बेहोर्र्नु परिरहेको हुन्छ। यस्तो कठिनाइ बेहोर्र्नु परेको स्थिति नेपालले भोगेको छ, मंगोलियाले बेहोरेको छ, अफगानिस्तानले भोगेको छ, बोलिभिया, चाड र मालीले पनि व्यहोरेका छन्।

विभिन्न महादेशमा रहेका भूपरिवेष्ठित मुलुकहरूको अवस्था झन्डै उस्तै-उस्तै भए पनि युरोपमा रहेका त्यस्ता मुलुकको अवस्था अलि भिन्न छ। अष्ट्रिया, स्विजरल्याण्ड, हंगेरी, चेक, स्लोभाकिया आदि मुलुकले त्यो अकुण्ठित पारवहन सुविधा उपयोग गरिरहेका छन्। ती मुलकु सबै युरोपियन संघको सदस्य हुनुका नाताले पनि कुनै किसिमको अप्ठेरो नपरेको हुन सक्छ। दक्षिण अमेरिकी मुलुकहरू बोलिभिया, पाराग्वे, एसियाका नेपाललगायत अफगानिस्तान, मंगोलिया, लाओस, किर्गिस्तान, उज्वेकिस्तान, भुटान जस्ता देश छन्। अफ्रिकी महादेशका मध्ये अफ्रिका, नाइजर, चाड, माली, जाम्बिया, जिम्बाबे, कंगो, दक्षिण सुडान, लेसोथो आदि मुलुकले प्रभावित पार्न खोज्दछन्। जुन अत्यन्तै कठिन परिस्थितिबाट गुजार्नुपर्ने स्थितिहरू सिर्जना भई राखेका छन्। त्यसै कारणले यस्ता मुलुकको स्थिति राजनीकि र आर्थिक रुपमा पनि अस्थिर भइरहने, छिटो विकास गर्न नसकिने, अरुमाथि धेरै भर पर्नुपर्ने जस्ता कठिनाई व्यवहारिक रुपमा भोग्नु परिरहेको छ।

आज हामी नेपाल र मंगोलियाको अवस्था हेरौं। केही समयअगाडि मंगोलियाका विदेश मन्त्री नेपालको भ्रमण र कुराकानी गर्न आइपुगे। भूपरिवेष्ठित मुलुकको हैसियतले नेपाल, भारत र चीनद्वारा घेरिएको छ भने मंगोलिया चीन र रुसद्वारा घेरिएको मुलुक हो। केही समयअगाडि नेपालमा भारतद्वारा नाकाबन्दी गरेपछि यहाँका आर्थिक क्रियाकलापमा ह्रास भई आर्थिक वृद्धि र विकासमा नकारात्मक प्रभाव पर्न गयो। त्यस्तै मंगोलियामाथि चीनद्वारा नाकाबन्दी भयो। फलस्वरुप मंगोलियाका जनताहरुका लागि चाहिने अत्यावश्यक सामग्री अभाव हुनुको साथै आर्थिक विकासमा अत्यन्तै नकारात्मक प्रभाव पर्न गयो। यस्ता स्थिति सृजना भइसकेपछि दुवै देशले सामाना गर्नु परेको परिस्थितिबारे विचारविमर्श गर्न मंगोलियाका विदेशमन्त्री छलफलका लागि नेपाल आएका थिए। दुवै मुलुक संयुक्त राष्ट्र संघका सदस्य हुन् र दुवै विकासशील देश हुन्। अंसलग्न राष्ट्र समूहका सदस्यहरू हुन्। विश्वका विकासोन्मुख मुलुकले यस्ता परिस्थिति भोग्नु परेको कारणले पनि छिटो आर्थिक विकास गर्ने प्रयासमा अवरोधहरू खडा भइराखेका छन्।

आखिरमा किन भयो त नाकाबन्दी – नेपालमा भएको नाकाबन्दीको कारण त अब आम नागरिकले बुझिसकेका छन्। महसुस गरिसकेका छन् तर भविष्यमा पुनः हुन सक्ने अवस्थाबारे नेपाली अझै धेरै चिन्ता र चासो नलिएको अवस्था छ। परनिर्भरताले मुलुकलाई कुन स्थितिमा पुर्‍याउँछ भन्ने चेतना त जागृत भयो तर भविष्यका योजनाबारे अझै हामी सुनिश्चित गर्न सकिरहेका छैनौं। तर मंगोलियामा किन नाकाबन्दी भयो त, यो हाम्रो लागि पनि मननीय र सिक्नुपर्ने कुरा भएको छ। मंगोलिया पूर्व मध्य एशियामा अवस्थित उत्तरमा रुस र पूर्व, पश्चिम र दक्षिणमा चीनले घेरिएको पहाडी र मरुभूमि युक्त उच्च ठाउँमा रहेको मुलुक हो। विश्वका पुरातन मुलुकमध्ये एक मंगोलियाले एक जमानामा चीनमाथि विजय प्राप्त गरी हाल युरोपको पोल्याण्डसम्म राज्य विस्तार गरेको थियो। यो कालान्तरमा चीनको एउटा प्रान्त बन्यो र रुसको समर्थन प्राप्त गरेरपछि एउटा स्वतन्त्र मुलुक बनेको हो। परम्परागत रुपमा तिब्बतका बौद्ध धर्मावलम्बीसँगको सम्बन्ध्ाका कारणले दलाइ लामालाई स्थापित गर्न मंगोलियाका शासक अल्टान खानले सुरु गरेका थिए। १५ औं शताब्दीतिर तिब्बत बौद्धमार्गीका गेलुग प्रमुख जब मंगोलिया गए, त्यस बेला त्यहाँका राजा अल्टान खानले गेलुग प्रमुखलाई आध्यात्मिक गुरुको रुपमा दलाई लामा पदवी दिएको इतिहासमा लेखिएको पढ्न पाउँछौ। त्यस बेलादेखि नै मंगोलिया र तिब्बतको घनिष्ठ सम्बन्ध छ। जब तेस्रो दलाई लामाको देहावसान भयो तब चौथो दलाइ लामा मंगोलियाबाट छानिएको थियो। अहिलेका दलाई लामा चौधौं दलाइ लामा हुन्। केही समयअगाडि दलाई लामाले मंगोलियाको भ्रमण गरे। यो भ्रमणलाई लिएर चीनले आपत्ति जनायो। त्यो विरोध अन्ततः गएर नाकाबन्दीको रुपमा परिणत गर्‍यो। चीनले गरेको यो नाकाबन्दीले मंगोलिया जस्तो भूपरिवेष्ठित मुलुकको लागि अत्यन्तै कठिन अवस्था सृजना गर्‍यो।

आर्थिक समस्यासँग सामना गर्न चीनसँग आर्थिक सहयोग र ऋण लिइराखेको मुलुक अर्थतन्त्रलाई गतिशील बनाउन प्रयासरत रहेको मुलुकलाई यस्तो नाकाबन्दीले यति धेरै असर पार्‍यो कि मंगोलिया सरकारले बाध्य भएर यो सरकार हुन्जेल दलाई लामाको भ्रमण अब मंगोलियामा हुने छैन भनेर घोषणा गर्नु पर्‍यो। यसले के देखाउँछ भने भूपरिवेष्ठित मुलुकहरूले आफ्नो देशलाई घेरिराखेका मुलुकहरूको स्वार्थ, इच्छा, रुचि, हेरेरमात्र आफ्नो काम गर्नुपर्ने स्थिति पैदा हुन गएको छ। ती देशको प्रतिकूलता भयो भने कुनै पनि बखत आर्थिक रुपमा प्रभावित गर्ने कदमहरू चाल्न सक्ने परिस्थिति जन्मन्छ भन्ने संकेत यसले दिइराखेको छ। त्यसैले हाम्रो जस्तो भूपरिवेष्ठित मुलुकले भोग्नु परिरहेको यस्तो परिस्थितिबारे संवेदनशील हुन जरुरी देखिएको छ। विश्वका मुलुकहरू संलग्न भएका ठूला संस्थामा यस्ता मुलुकका परिस्थितिबारे छलफल हुने गरेको भए तापनि समस्या आइ परेको बेलामा, असहज अवस्थाबारे अन्य कुनै पनि मुलुकले केही पनि नगर्ने अवस्था हामी भोगिरहेका छौं। त्यसैले भूपरिवेष्ठित मुलुकहरू आफ्नो हितका लागि, आफ्नो स्वार्थका लागि आफ्ना देशका जनतालाई ध्यानमा राखेर आफ्ना छिमेकी देशसँगको सम्बन्ध नै प्रगाढ बनाउनुपर्ने अवस्थो छ। यसबारेमा आफ्नो मुलुकको आर्थिक स्थि बिलियो बनाउन लागि पर्नुपर्ने कुरामा बढी ध्यान पुर्‍याउन जरुरी छ। माथि उल्लेख गरिएका भूपरिवेष्ठित मुलुकहरू प्रायशः सबै आर्थिक रुपमापछि परेका विकासोन्मुख मुलुक छन्। नेपाललाई अब यस्ता परिस्थितिसँग सामाना गर्न सक्ने मुलुकको रुपमा स्थापित गर्न जरुरी छ। यसतर्फ हामी सबैको ध्यान जाओस्। हालै हामीले प्रजातन्त्र दिवस मनायौं। यही राजनीतिक स्वतन्त्रताले हामीलाई आर्थिक सबलता र सक्षमता तिर उन्मुख गराउन सकोस्। सबैमा शुभकामना !

Related News

सम्बन्धित समाचार

hero news full width