भारत चुनावदेखि शपथसम्म

तिलक पराजुली तिलक पराजुली
जेठ १७, २०७६

भारतको लोकसभा निर्वाचन र भारतीय जनताको मतादेशको चर्चा सेलाएको छैन। नरेन्द्र मोदी नेतृत्वको गठबन्धन नै बहुमतमा आउने र उनी पुनः प्रधानमन्त्री बन्नेछन् भन्ने कुरा लगभग निश्चित थियो। भयो पनि त्यही अब यसमा कुनै विशेष विश्लेषण आम रुचिको विषय रहेन। मोदी सरकारको पुनरागमनले नेपाल – भारत संबन्धमा कस्तो प्रभाव पार्ला भन्ने कुरा चाहिं आफ्नो ठाउँमा छ। नेपाल –भारत संबन्ध पुनर्निर्माणको भाष्य संबन्धमा पनि विभिन्न कोणबाट छलफल गर्न सकिन्छ। तर, यो बाहेक गत निर्वाचनताका प्रकट केही रोचक पक्षहरु छन्। जसको विश्लेषण हुनु परम आवश्यक छ।

भारतीय निर्वाचनमा चाइनाकार्ड

भारतको यस निर्वाचनमा चीनीया भूमिका त्यो पनि नरेन्द्र मोदीको पक्षमा सक्रिय रहनु एउटा रोचक तर अर्थपूर्ण विषय हो। चीनीया कूटनीतिक बौद्धिक व्यक्तित्वका केही लेखहरु निर्वाचन चलिरहँदा प्रकाशित भएका छन् जसमा प्रष्टै भनिएको छ कि नरेन्द्र मोदी प्रधानमन्त्रीको रुपमा दिल्लीमा रहनु चीन भारत संबन्धको लागि रुचिकर विषय हुनेछ।

त्यति मात्रै होइन, चुनावकै बीचमा काश्मीरको आतङकवादी समूह जैस ए महम्मदका नेता मसुद अजहरलाई संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदबाट अन्तराष्ट्रिय आतङकवादी घोषणा गराउन मद्धत गरेर चीनीया राष्ट्रपति सी जिङगपिङगले मोदीलाई चुनाव जित्न ठूलै मद्दत गरे। यसलाई भारतीय मिडियाले मोदीको ठूलो कूटनीतिक सफलता भनी उनको पक्षमा ठूलो माहोल सृजना गरेका थिए। हुन पनि यस अगाडि मसुद अजहरलाई अन्तराष्ट्रिय आतंकावादी घोषित गरियोस् भनी भारतले राष्ट्रसंघमा धेरै पटक प्रस्ताव प्रस्तुत गरेको थियो। चीनले भिटो प्रयोग गरेर निरस्त गराएको हो। प्रस्ताव पास हुनबाट रोकेको थियो।

चीन र भुटानको सीमाना पर्ने डोकलाममा चीनले सडक निर्माण गर्न शुरु गरेकोमा त्यसलाई रोक्न भारतीय सेनाको एक डफ्फा त्यहाँ उतारिएको थियो। दुवै देशका सेना महिनौ आमने सामने रहेका थिए। सी र मोदीको समझदारीमा आआफ्ना सेना फिर्ता गरे। यस बेला नेपाल लगायत धेरै देशहरु दुई देशबीच युद्धभयो भने आफ्नो देशको पोजिशन के रहने भन्ने छलफलमा रहनु परेको संझिदा परिस्थिति पेंचिलो र संगीन पनि थियो भन्ने कुरा स्मरणमा आइरहन्छ।

डोकलाम विवाद अर्थात् आमनेसामाने सैनिकमशल (शक्ति) प्रदर्शनबाट पछि हटेको केही महिना पछि नै चीनको उहानमा सी जिङगपिङग र नरेन्द्रमोदीबीच दुई दिन वानटुवान (दुईजनाको एकान्त ) वार्ता भएपछि भारतले आफ्नो अन्तराष्ट्रिय सम्बन्ध खास गरेर अमेरिकासंगको सामरिक गठबन्धनबाट पछि हटेको प्रतीत हुन्छ। अन्यथा पूर्वी तथा दक्षिण पूर्वी एसिया एवं प्यासिफिक क्षेत्रलाई प्रभावमा राखिरहने अमेरिकी रणनीतिक पाशोमा इण्डो प्यासिफिकको साझेदार बन्न मोदीले खुट्टा उचालिसकेका थिए। कथंकदाचित भारत अमेरिकी गठबन्धनमा गएको भए चीनको भूमण्डलीय रणनीति आफ्नै छिमेकमा पराजय भएको मानिने थियो। यही गुन चीनीया राष्ट्रपति चुनावमा मद्धत गरेर चुकाएका हुन कि? सन् १९१४ मा प्रधानमन्त्री भएपछि विभिन्न अवसर पारेर नरेन्द्र मोदी पाँचपटक चीन भ्रमणमा गएका थिए। राष्ट्रपति सीले भारत भ्रमण गर्दा दिल्ली सिधै नगएर मोदीको गृहराज्य गुजरातबाट शुरु गरेका थिए। र, त्यो पनि मोदीको जन्मदिन पारेर। यसरी सबै विश्लेषणबाट के देखिन्छ भने चिनिया राष्ट्रपति सी र भारतीय प्रधानमन्त्रीकेा रसायन अर्थात मित्रताको क्यामेष्ट्री राम्रैसंग मिलेको छ। यो एक संतुलनमा आधारित पनि देखिन्छ। भन्नुको मतलव चीनले आफनो भूमण्डलीयप्र तिस्पर्धी अमेरिकालाई एसियामा निर्णायक भूमिका को शक्तिमा रहन नदिने हो। भारतको स्वार्थ पनि छ चिनिया आर्थिक समृद्धिबाट आँफूले बढीभन्दा बढी फाईदा लिने र विश्व मञ्चमा आफ्नो स्वतन्त्र भूमिका विस्तार गर्ने। यिनै परिस्थितिले मोदी विजयमा चीनप्रयोग भएको हो।

नेपालको सन्दर्भमा चीन – भारत अर्थात मोदी र सीको मित्रताबाट के प्रभाव पर्ने हो भन्ने कुरा नै अर्थपूर्ण हुन्छ। निश्चित के हो भने दुई विशाल छिमेकीको लडाई र शत्रुताभन्दा यिनीहरुको बीच शान्ति र मित्रता हाम्रालागि धेरै अर्थमा श्रेयस्कर र लाभदायक पनि छ। चनाखो हुनुपर्ने के हो भने कतै यी दुई बलवान मित्रहरुले हाम्रा राष्ट्रिय स्वार्थलाई बटवारा गर्ने, भागबण्डा लगाउने त होइनन्? यसमा हाम्रो कूटनीतिक चातुर्यता र कलाप्रदर्शन गर्न सक्नु पर्दछ? सतत होशियार हुनै पर्दछ।

कश्मीरी जनताको मौन विद्रोह

भारी संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको जम्भु कश्मीर राज्यमा केवल १० देखी १५ प्रतिशत मात्रै मतदान हुनु मोदीको मात्रै होइन समग्र भारतीय संस्थापन पक्षको पराजय हो। हुनत यसैलाई मान्यता दिएर भारतीय जनतापार्टीका उम्मेदवारलाई निर्वाचन आयोगले विजयी घोषणा गर्यो तर यो नाम मात्रैको हो। आम रुपमा जनताले बहिष्कार गरे र यसलाई त्यहाँका जनताको स्वाधीनता वा स्वशासनको अनवरत संघर्षसंग जोडेर हेर्नु पर्ने हुन्छ। यो एक मौन तर सशक्त विद्रोह हो काश्मीरी जनताको।

भारतीय सरकारले कश्मीर समस्यालाई फगत पाकिस्तानी घुषपैठियाहरुले सृजना गरेको अर्थात सीमा पारीबाट आतंकवाद पैठारी गरेर सृजित भएको अर्थमा व्यवहार गरी आएको छ। तर, यो निर्वाचनमा जनता सहभागी हुन अस्वीकार गर्नुले काश्मीरी समस्या सीमापारीको भन्दा सीमाना भित्रको हो भन्ने यथार्थ तथ्यलाई पुनःपुष्टि गरेको छ। मोदीले निर्वाचनताका पनि यही व्यापक पर्चार गरे की पाकिस्तानलाई ठीक गरेपछि कश्मीरको सवै समस्या ठीक हुन्छ अनि यो पनि प्रभाव दिए कि पाकिस्तानलाई ठीक गर्ने भनेकेा सर्जिकल स्ट्राइक हो, सैनिक आक्रमण हो। उनले यो पनि व्यापक प्रचार गरेर मत बटुल्न सफल भए कि त्यस्तो सैनिक आक्रमण गर्न वलियो व्यक्ति चाहिन्छ, त्यो भनेको म हुँ। अर्थात नरेन्द्र दामोदर दास मोदीवाहेक अरु कोही माइकालाल भारतमा छैन।

काश्मीरमा पराजय यस मानेमा भनिएको हो कि जम्मु क्षेत्रका डोगरा क्षेत्री र केही बुद्धिष्ट वाहेक करिव ७५ प्रतिशत मुसलमान कश्मिरका वासिन्दा छन्। आम मुसलमान मतदानमा गएनन्, मौन वहिष्कार गरे यसले मोदीको काश्मिर समस्याको भाष्य नै गलत छ भन्ने प्रमाणित गरेको छ। सत्तामा पुनःआए पछि उनको काश्मीर भाष्य के हुन्छ, प्रतीक्षाको विषय हो।

काश्मीरको कुरा भारत –पाक संबन्धको विषयमात्र नरहेर यसले समग्र दक्षिण एशियालाई नै पिरलेको छ। यसैले गर्दा सार्क सम्मेलन हुन सकेन। दक्षिण एसियाको अफगानिस्तान पछिको सवै भन्दाठूलो द्वन्द्वको विन्दुनै काश्मीर हो। अव त मोदीले शपथग्रहण गरेर दोश्रो कार्यकाल शुरु गरेका छन्। के कश्मीरी जनताको भावना कदर गरेर एउटा स्थायी समाधान उनले आफ्नो यो दोस्रो कार्यकालमा खोज्लान? उनले धरातलीय यथार्थ बोध गरेर एउटा समाधान दिएभने स्मरणीय भइरहनेछन्। आशा गरौं अंहकारी हिन्दु होइन शान्तिका प्रवर्तक बन्ने बाटो रोज्ने छन्।

संसदमा गेरुवस्त्रको बाहुल्यता

सत्रौ लोकसभा निर्वाचनको अर्को रोचक दृश्य के देखियो भने लोकसभामा मनग्य संख्यामा गेरुवा वस्त्रधारी निर्वाचित भएर आएका छन् र, यी सवै मोदीको पार्टी भाजपाका हुन्। सिने कलाकार त पहिलै देखि निर्वाचनमा सवै दलले उम्मेदवार बनाएर उनीहरुको सेलिब्रिटी (लोकप्रियता)क्यास गर्ने, चुनावमा भजाउने गरेकै थिए। यस पटक भने हिन्दुत्वको विजय प्रतीक गेरु वस्त्रधारी आएका छन्। उत्तर प्रदेशका योगी आदित्यनाथ जस्तै हिन्दु लडाका (फायर ब्राण्ड)हरुको संख्या निकै देखियो लोकसभामा। गेरु प्रसंगमा सवै भन्दा आश्चर्य मध्यप्रदेशको भोपाल निर्वाचन क्षेत्रमा देखियो। यहाँ भारतीय राष्ट्रिय कांग्रेसले पूर्व मुख्यमन्त्रि तथा दिग्गज राजनीतिज्ञ दिग्विजय सिंहलाई उठाएको थियो। सिंहसंग लड्न मोदीले साध्वी प्रज्ञा ठाकुरलाई उठाए। यी साध्वी धार्मिक असहिष्णुता फैलाएको आरोपमा जेल परेर केही अगाडि मात्रै रिहा भएकी थिइन्।

उनले चुनाव प्रचारकै क्रममा महात्मा गान्धी भारतको होइन बरु पाकिस्तानका राष्ट्रपिता हुन् भनिन्। र, यो पनि भन्न छाडिनन् कि गान्धीको हत्या गर्ने नाथुराम गोडसे हुन् – महान् देश भक्त। हुनत व्यापक विरोध र निर्वाचन आयोगले पनि चेतावनी दिएपछि उनले माफी मागिन्। तर यो उनको वास्तविक धारणा हो भन्ने कुरा उनको विगत ट्रयाक रेकर्ड र वर्तमानको संकथनले सबैले वुझेकै कुरा हो। भोपालमा दिग्विजय सिंहलाई पराजय गरेर यी गेरु वस्त्रधारी साध्वी सांसद निर्वाचित भएकी छन्। प्रश्न छ –भारतीय मतदाताले गान्धी सम्वन्धी साध्वी प्रज्ञाको धारणा अनुमोदन गरेकै हुन त? राजघाटमा वापु अर्थात गान्धीप्रति मोदीले देखाएको भक्ति फगत जनखपतको लागि हो? त्यसो हो भने भारत एउटा ठूलो सांप्रदायिक भासमा गड्नेछ।

शपथका कुरा

भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीले दोश्रो कार्यकालको शपथ लिई सकेका छन्। उनले सन् १९१४ मा शपथ ग्रहणमा सार्क राष्ट्रका सरकार प्रमुखहरु पाहुना बनाएका थिए। अहिले बिमस्टेककालाई बोलाए। अर्थात्, शपथ समारोह पनि पाकिस्तानलाई एक्ल्याउने मञ्चका रुपमा प्रयोग गर्ने संकीर्णताको परिचायक हो। दक्षिण एसियाली सहयोग संगठनलाई अन्त्य गर्ने चाल हो। र, मुस्लीम विरोधी कुरा पनि हो। प्रकारन्तरमा मोदी विरुद्ध बंगलादेश पनि खडा हुने छ भन्ने बुझ्न सकिन्छ। किनभने बंगाली मुस्लीम भारतमा विशेष दमनमा छन्।

नेपालबाट प्रधानमन्त्री ओली – शपथ समारोहमा पुगेका छन्। शुक्रावार मोदीसंग कुरा हुने भन्ने पनि छ । के ओलीले नेपाल –भारत प्रबुद्ध समूहको प्रतिवेदन चाँडै वुझ्न मोदीलाई सहमत गराउनेछन्? नेपाल –भारत सम्बन्धको व्यारोमिटर यसैले तय गर्छ।

तपाइको विचार व्यक्त गर्नुहोस्

अन्य शिर्षकहरू

नेपालमा संवैधानिक विकास–स्थायित्व र चुनौती

संविधान दिवस भित्रका कुरा

संविधानको वरिपरि विचरण गर्दा

नेपाली काँग्रेसको दोस्रो जनजागरण अभियान

शिक्षा दिवस, निजामती दिवस र पुरस्कार

प्रमुख समाचार

विधिको शासन नचल्दा राष्ट्र नै समाप्त हुन्छ- प्रदेश प्रमुख

थप प्रमुख समाचार