भारतीय निर्वाचनको सन्देश

आदर्श समाज सम्वाददाता
जेठ ९, २०७१

भारतीय लोकसभाको लागि भएको पछिल्लो निर्वाचनमा भारतीय जनता पार्टोको शानदार विजय भएको छ भने भारत स्वतन्त्र भएदेखि नै अधिकांश समय सत्तामा बसेको काङ्ग्रेसको शर्मनाक पराजय भएको छ। चुनावमा भारतीय जनता पार्टी्रति जुन लहर देखिएको छ त्यो भाजपाप्रति भन्दा पनि मोदीप्रतिको जनलहरको आँकलन गरिएको छ। त्यसैले यतिबेला भारतमा जित भाजपाको भन्दा पनि मोदीको जीत हो भन्ने ढ·ले विजयोत्सव मनाउने काम भइरहेको छ।

कास्मिरदेखि कन्याकुमारीसम्म सम्पूर्ण भारत मोदीमय भएको त छ नै। विश्वको ध्यान समेत कुनै न कुनै रूपमा मोदीमाथि केन्द्रित छ। वासिङ्टनले चुनावी परिणाम घोषणा हुनुअगावै नाम नलिइकन मोदीसँग काम गर्न आतुर रहेको संकेत दिइसकेको छ भने पाकिस्तानी प्रधानमन्त्रीले पनि मोदी प्रधानमन्त्रीको कुर्सीमा बस्नु त कहिले हो कहिले मत गणनाका प्रारम्भिक परिणाम आउन लाग्नासाथ मोदीमाथि बधाइ बसाइसकेका छन्। अमेरिका र पाकिस्तानले मात्र होइन पछिल्लो समय विश्वका धेरै शक्तिशाली मुलुकहरूले मोदीमाथि तँछाडमछाड बधाइ बर्साइरहेका छन्।

भारतीय निर्वाचन परिणामलाई हेर्दा यो निर्वाचनले केही मननयोग्य सन्देशहरू दिइरहेको छ। पहिलो कुरा त जित मोदीको कि भारतीय जनता पार्टोको भन्ने प्रश्न उब्जाएको छ। अनि हार सोनिया-राहुलको कि काङ्ग्रेसको ? चुनावका दौरान समाचार माध्यममा भाजपा र काङ्ग्रेसभन्दा पनि मोदी र राहुल छाए। जयजयकार भाजपाको होइन मोदीको भयो, पराजयको सहानुभूति काङ्ग्रेसभन्दा पनि राहुलमाथि गरियो। चुनावमा नेतृत्वको महत्त्वपूर्ण भूमिका हुने भएकाले कुनै न कुनै रूपमा अरु नेताभन्दा चुनावी कमाण्ड गर्ने व्यक्ति चर्चामा रहनु स्वभाविक हो तर पार्टीन्दा पनि बढी चर्चा भने नहुनुपर्ने हो। तर भयो। यो चर्चा व्यक्तिकेन्द्रित भारतीय राजनीतिको प्रतिबिम्ब पनि हो।

राजनीतिमा न सधैँ हार हुन्छ न जीत। जनता जहिले पनि विकल्पको खोजीमा हुन्छन्। त्यसैले राजनीतिमा हारजित सामान्य र स्वाभाविक कुरा हो। तर पछिल्लो समय निरन्तर १० वर्ष सत्ता सम्हालेको काङ्ग्रेसलाई सत्ताबाहिर पुर्‍याएर भाजपालाई सत्तामा पुर्‍याउनु जति स्वभाविक हो काङ्ग्रेसलाई एकैपटक त्यति सानो साइजमा सीमित गर्नु त्यत्तिकै अस्वभाविक पनि हो। सशक्त प्रतिपक्षको भूमिका समेत निर्वाह गर्न नसक्ने गरी काङ्ग्रेसलाई पाखा लगाउँदा भोलि मोदी सत्ता निरंकुश हुँदा कसले खबरदारी गर्ने – इतिहासको कुनै कालखण्डमा ४०० भन्दा बढी सिट जितेको काङ्ग्रेसले ४३ सिटमा खुम्चिएर बस्नुपर्ने स्थिति आउनु भनेको त्यो काङ्ग्रेसको लागि मात्र होइन भारतीय लोकतन्त्रकै लागि पनि सुखद स्थिति होइन। किन कि लोकतन्त्रमा जहिले पनि प्रतिपक्ष कमजोर होइन सशक्त चाहिन्छ। जब कि काङ्ग्रेसले ५४३ सिट भएको लोकसभामा जम्मा ४३ सिट मात्र हात पारेको छ। सम्पूर्ण सिटको १० प्रतिशतभन्दा कम सिट जित्ने दलले अब लोकसभामामा सशक्त प्रतिपक्षको भूमिका कसरी निर्वाह गर्ला?

राजनीतिक दलहरूका लागि चुनावपश्चातको परिणाम जे होला तर चुनावअघि नै हार स्वीकार गर्नु भनेको कुनै पनि राजनीतिक दललाई सुहाउने कुरा होइन। भोट मोदीसँग पनि थिएन राहुलसँग पनि थिएन। उनीहरूसँग थियो त मात्र आफ्नो एक/एक भोट थियो। मोदी र राहुल दुवैले बाँकी सबै भोट जनतालाई फकाएर आफ्नो पोल्टामा पार्नुपथ्यो। त्यो भोट आफ्नो पक्षमा पार्न दल, दलको नेतृत्व र उम्मेदवारलाई आत्मबल चाहिन्थ्यो। तर यस पटकको निर्वाचनमा निर्वाचनपूर्व नै भाजपाले उत्साहपूर्वक प्रधानमन्त्रीको उम्मेदवारको रूपमा नरेन्द्र मोदीलाई अगाडि सार्‍यो भने काङ्ग्रेसले चुनावी कमाण्ड राहुल गान्धीले सम्हाल्ने भने पनि प्रधानमन्त्रीको रूपमा राहुललाई अगाडि सार्न सकेन। काङ्ग्रेसको यो लाचारिपनले जनताबीच काङ्ग्रेसले चुनाव अगाडि नै एक प्रकारले हार स्वीकार गरिसकेको सन्देश गइसकेको थियो। त्यसैले त मत परिणाम  त परै जाओस् मतदान हुनुभन्दा धेरै दिन पहिलेदेखि नै मोदी भारतको नयाँ प्रधानमन्त्री हुने अड्कलबाजी आइसकेको थियो। मोदी एकप्रकारले चुनाव अगाडि नै प्रधानमन्त्री भइसकेका थिए भने राहुलले हार स्वीकार गरिसकेका थिए। चुनावी परिणामले त राहुलको चुनावपूर्वको हार स्वीकारोक्ति र मोदीको चुनाव अगाडि नै भइसकेको प्रधानमन्त्री पदलाई वैधानिकता मात्र दिएको थियो।

अहिले भारत मोदीमय भएको छ। कुनै समय दिल्लीमा अप्रत्याशित रूपमा उदायका अरविन्द केजरीवालले पनि दिल्लीलाई मात्र नभएर सिङ्गो भारतलाई केजरीवालमय बनाएका थिए। तर तिनै केजरीवाल अहिलेको लोकसभा निर्वाचनमा कता हराए कता ? सम्भवत ४९ दिने सत्ताबाट पलायन नै उनको यो हविगतको कारण बन्यो। राजनीति अरुलाई फोहोर गाली गरेर आफूलाई सफा देखाउने विषय होइन बरु फोहोर पोखरीमा हाम फालेर पोखरीलाई सफा पार्ने काम हो। दिल्लीको मुख्यमन्त्री भएर केजरीवाल फोहोर पोखरीमा हाम त फाले तर फोहोर पोखरी सफा नगरी ४९ दिनमै नाक थुनेर भागे। त्यसैले त दिल्ली विधानसभामा दोस्रो स्थान हासिल गरेको उनको आमआदमी पार्टीले लोकसभाको निर्वाचनमा ४ सिटमा चित्त बुझाउनुपर्‍यो।

भारतीय राजनीतिमा परिवारवादको धेरै लामो शृङ्खला छ। भारत स्वतन्त्र भएयता काङ्ग्रेसमा गान्धी-नेहरू परिवारको निर्णायक भूमिका मात्र होइन नेतृत्व सधैँ उनीहरूको हातमा रह्यो। बाहिर देखिनेमा यदाकदा काङ्ग्रेसबाट कुनै नेता प्रधानमन्त्री भए तापनि त्यसको मुख्य साँचो गान्धी परिवारमै रह्यो। भद्र मानिएका पछिल्ला प्रधानमन्त्री मनमोहन सिंहको आलोचना हुन्थ्यो भने सबैभन्दा बढी आलोचना उनी सोनियाबाट परिचालित छन् भन्ने कुरामा हुन्थ्यो। वास्तविक प्रधानमन्त्री सोनिया हुन् र मनमोहन सिंह त मोहरा मात्र हुन् भन्ने कटु आलोचना विपक्षीहरूले सिंहमाथि गर्ने गथे।

भारत स्वतन्त्र भएपछि भारतमा नेहरूले १४ वर्ष एकछत्र शासन गरे। नेहरूबाट इन्दिरा गान्धी, राजीव गान्धी हुँदै अहिले चौथो पुस्ताका राहुल गान्धीसम्म आउँदा पनि अझै काङ्ग्रेसमा परिवारवादलाई स्थापित गर्ने प्रयास भइरहेको छ। इतिहासका धैरे कालखण्डमा परिवारवादलाई पटक-पटक अनुमोदन गरेका भारतीय जनताले यसपटक भने परिवारवादलाई रुचाएनन्। योग्यता भनेको इतिहासको विरासत होइन बरु वर्तमानलाई मूल्यांकन गरेर भविष्यको लक्ष्य तय गर्न सक्नु चाहिँ योग्यता हो भन्ने पाठ भारतीय पछिल्लो निर्वाचनले दिएको अर्को सन्देश हो।

भाजपामा अहिले पनि लालकृष्ण अड्वाणीदेखि राजनाथ सिंहसम्मका एकसे एक नेता छन्। उनीहरू मोदीभन्दा वरिष्ठ मात्र होइनन् मोदीका राजनीतिक गुरु पनि हुन्। यस्ता वरिष्ठलाई पछि पार्दै प्रधानमन्त्रीको उम्मेदार बनेका मोदीले चुनावी लहर पनि त्यसरी ल्याए कि मानौँ कि उनी भारतका लागि विधाता बन्नेवाला छन्। लालकृष्ण अड्वाणीहरू मोदीका अगाडि फिक्का देखिएका छन्। वाकपटुता मात्र नभएर विकासका नयाँ नयाँ मोडेल ल्याउन र त्यसलाई कार्यान्वयन गराउन सक्ने क्षमताका कारण पनि मोदी भारतीय जनताका आसका केन्द्र बनेका हुन्।

चुनावमा जनताले कुनै व्यक्तिलाई पनि हराउँदैनन् र कुनै व्यक्तिलाई पनि जिताउँदैनन्। बरु कुनै व्यक्तिका नीति, नेतृत्व र योगदानलाई जिताउँछन्। कसैले नीति, नेतृत्वको माध्यमबाट योगदान गरिसकेको गरिसकेको रहेनछ भने आफूले छानेको उम्मेदारले भविष्यमा आफ्नो आसाअनुरूप काम गर्ला भन्ने आसामा चुनाव जिताउँछन्। भारतीय निर्वाचनमा पनि भाजपा वा मोदीलाई जिताएको भन्दा पनि उनले गुजरातको मुख्यमन्त्री भएपश्चात् गुजरातमा गरेको परिवर्तन देखेर जिताएका हुन्। जसरी उनले छोटो समयमा गुजरातको अकल्पनीय परिवर्तन गरे भोलि सिङ्गो भारतलाई त्यही परिवर्तन देलान् भन्ने आसलाई जिताएका हुन्। जनताको सरोकार मोदीको काम हो, मोदी होइनन्। मोदी त निमित्त मात्र हुन्। चुनाव मोदीले जितेको होइन उनीप्रतिको आसाले जितेको हो। त्यो आसालाई मोदीले विश्वासमा परिणत गर्छन् कि निराशामा बदलेर स्वयं केजरीवाल बन्छन् त्यो भने हेर्न केही वर्ष पर्खनुपर्ने छ।

Related News

सम्बन्धित समाचार

  • मनोसामाजिक अपांगता के हो ?

    सुदीप घिमिरे मंसिर १७, २०८०
    राइनास नगरपालिका लमजुङका एक वडा अध्यक्षले अपांगताको अधिकार वकालत गर्न सुरु गरेका छन् । गत महिना आयोजित एक कार्यक्रममा मनोसामाजिक…
  • तिलकदाइको सम्झनामा

    हरि अधिकारी मंसिर १३, २०८०
    विख्यात लोकतन्त्रवादी नेता तथा पूर्वी नवलपुर, गैंडाकोट क्षेत्रका अग्रणी सामाजिक अभियन्ता तिलकप्रसाद सापकोटा कीर्तिशेष हुनुभएको एक वर्ष पूरा भएको छ…
  • अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध

    राजेन्द्र भण्डारी कार्तिक ३, २०८०
    अभिभावकज्यूहरू, मौसम बिस्तारै उष्णबाट शीतोष्णमा परिवर्तन हँुदै छ । अर्कातर्फ हाम्रा संस्कृतिका अभिन्न धरोहरहरू हाम्रा घरआँगनमा प्रवेश गरिसकेका छन्; कतिपय…
  • फेलको फेहरिस्त

    शेषराज भट्टराई असाेज २२, २०८०
    विद्वान्हरू भन्ने गर्छन् ‘विद्यार्थी र शिक्षक कहिल्यै फेल हुँदैन । फेल हुने भनेको सिकाइ विधि हो । सिकाइ विधि फेल…
  • नागरिकको समय नै देश विकासको आधारशिला

    डा. दीपकप्रसाद बास्तोला असाेज २२, २०८०
    नेपाल संसारकै एक पुरानो देश हो । यस कुरामा हामी सबै नेपालीहरूले गर्व गरेका छौं । देश विकासको लागि एक…

hero news full width