हाम्रा संस्कृतिका स्पन्दनहरू, हाम्रा भौतिक आत्माका धरोहरहरू त्यस्तै हाम्रा जीवनका अन्तिम आश्रयस्थलहरू प्रत्येक सचेत मानवका लागि आफ्नो सुन्दर जीवनसमान ममता र स्नेह हुन्छ। मानिस संस्कृतिको सुखद पिण्ड हो भने उसबाट निर्मित उसको धार्मिक आस्थाका धरोहरहरू जीवनका सबैभन्दा सामिप्य र गौरवका विषयहरू हुन्। एउटा मानिसले आफ्नो नाक त्यतिबेला उचालिएको देख्छ, जब उसले आफ्नो हरेक धार्मिक आस्थाका स्वरूपहरूलाई ताजमहलको रूपमा प्रत्यक्ष देख्न, छुन र बोध गर्न पाउँछ। प्रत्येक मानिसका सुन्दर, शान्त र विशाल हृदयहरू त्यतिबेला हाँस्छन् जब उसले भगवानका विविधस्वरूपहरूको आश्रयस्थलका भित्ताहरू मजबुत भएको महसुस गर्छ। त्यै चट्टानयुक्त भित्ताको स्र्पर्सबाट आफूले जीवनका अग्रगामी पाइलाहरूमा एउटा दर्विलो उर्जा पाएको महसुस गर्छ। त्यै भित्ताका हरेक स्र्पर्सबाट उसले आफू र आफ्नो सान विश्व समक्ष फैलिएको अनुभव गर्छ। तर अफसोस झ् जब भित्ताहरूले प्रकृतिक रूपमा आफ्नो काम गर्न असमर्थता व्यक्त गर्छन् तब हाम्रा मनमा उठ्ने हजारौं हजार अनेकन भावनाले स्वभावत एकाएक हरेस खान थाल्छन्।
धर्म मानिसहरूको अनुशासनको केन्द्र हो भने धार्मिकस्थलहरू त्यसलाई डोर्याउने एउटा माध्यम।जब माध्यममा खिया लाग्छ तब केन्द्रको पहिचानमा दरार उत्पन्न हुन्छ। जब आममानिससँग गासिएको माध्यममा भ्वाङ् पर्छ तब उसमाथिको निकायसँग बेलाबेलामा पटक-पटक हार गुहार गर्छ। किनभने उसलाई लाज लाग्छ र उसले जीउँदो अनुभूति महशुस गर्छ। (मन्दिर, मस्जिदभित्र बस्नेको।) तर अफसोस झ् विविध विकास र सुविधाको चरम आनन्द खोज्ने सिलसिलामा विस्तापित भइरहेको हाम्रो आजको समाज दिनानुदिन चिरा पर्दै, टुक्रिदै गइरहेको कुरा त नाङ्गो आकाशजस्तै र्छलङ्ग छ। यै चिरापर्ने सिलसिलामा पर्न गएको स्थानीय समाजका अन्तरनिहित धार्मिक एवं सांस्कृतिक विरासतलाई जोगाइराख्न समाजलाई गलपासो भएको छ।
वर्तमानमा त्यस्ता खण्डहर हुन गैरहेका आस्थाका केन्द्रहरूलाई सामान्य मानवहरूले नत नजर अन्दाज गरेर बस्न सक्छन् न त कुनै उपायले त्यसको संरक्षणका लागि कतैबाट केही जुटाउन सक्छन्।(तर उनीहरू केही न केही गर्न त चाहिरहेका हुन्छन्) यस्तै एक प्रकारले निरीह तर जिउँदा मानिसहरूको अगाडि हाकाहाकी खण्डहर बनिरहेको धार्मिक आस्थाको अटुट स्नेहको एउटा उदाहरण हो जिल्ला तनहुँ, किहूँ गाविस वडा नं ५ मा पर्ने एउटा विशाल मस्जिद। यस मस्जिदको वास्तविक नाम ‘सजन जामे मस्जिद’ हो। ‘सजन’ नाम राखिनुको कारण हो-यो जामे मस्जिदको निर्माण कर्ता रहेछन् ‘सजन’ नाम गरेका एक मुसलमान। आजभन्दा करिब ७ सय वर्ष पहिले निर्माण भएको यो दुर्गम ठाउँको मस्जिद यति ठूलो र भव्य छ कि साधारण मानिसलाई यसको बारेमा पत्याउन सजिलो छैन।
गाउँको सबैभन्दा माथिल्लो भागमा धेरै सुकासुर्कीलाई समेटेर तलैदेखि ठूलै जग राखेर निर्माण गरिएको (करिब २० मिटर अग्लो) यो मस्जिदको वरिपरि तत्कालीन समयमा १ सय घर धुरीहरू थियो रे (खुदा बक्स मियाँ, भिमाद, तनहुँ।) यहाँ निर्माण भएका घरहरू आपस आपसमा जोडिएर बनाइएका थिए र यद्यपि छन् पनि। यदि कुनै कारणबस नराम्रो घटना घट्यो भने पूरै गाउँ नै प्रभावित हुने डर त्रासले जीवन गुजरा गरिरहेका उनीहरूको वस्तीका प्रायःजसो घरहरू खरले छाइएका छन्। समयको परिवर्तनसँगै मानवीय सेवा र सुविधामा आएको परिवर्तनले यिनीहरूलाई पनि अछूतो रहन दिएन। अनि यिनीहरू पनि त्यहाँबाट विस्थापित हुने क्रममा पाल्पा रामपुरमा १२ घर, ‘सजन जामे मस्जिद’ मा गएँ।हामीले मोटर गुड्ने कच्चीबाटो को छेऊछाउमा उभिएर विभिन्न कोणबाट फटाफट फोटो खिच्दै गर्दा २ जना मुस्लिम मस्जिदबाट बाहिर निस्किए। मस्जिदको दक्षिण, पश्चिमपट्टकिो ढु·ा र माटोले बनेको गाह्रो २०७० सालको श्रावण महिनाको ठूलो वर्षाको कारणले जरैदेखि हृवात्तै पहिरिएर विजोक बनाएको रहेछ। तलको गाह्रो पहिरिएपछि त्यै माथिको आधा टिनको छानोको भाग हावामा झुण्डिइरहेको थियो भने त्यो अग्लो डाँडोमा आएको सिरिसिरि हावाले छानाको टीनलाई नचाइरहेको थियो। हामीले त्यो अनौठो, विभत्स र दुःखलाग्दो अवस्थालाई केही बेर हेर्यौं। त्यसपछिहामीहरू उनीहरूसँग अनुमति लिएर मस्जिदको दोश्रो तल्लाको छेउमा साघुरो काठको भर्याङ्को आडमै बसेर उनीहरूसँग व्यापक सोधपुछ गर्यौँ। ती दुर्इमध्ये एक त त्यहीका पुजारी रहेछन्।
पचास वर्षको उमेरसम्म कुनै पनि मस्जिद, गुम्वा वा गुरुद्वारमा नपसेको मानिस आज एकजना पत्रकार महोदयको साथ लागेर मस्जिद पस्दा मलाई कताकता काउकुती लागेर आएको थियो। उनीहरूको सम्मनका लागि हामीले हाम्रा जुत्ता बाहिरै खोल्दा सायद उनीहरू स्वयंले सोचेहोलान् ‘यिनीहरूले पनि हाम्रो अल्लाहको सम्मान गर्दारहेछन्’। हिन्दूहरूको मन्दिरमा जस्तो पत्थरको देउता मस्जिदभित्र नदेख्दा मलाई कसोकसो खल्लो लागेर आयो। हाम्रो पत्रकार महोदयको सोधाइ थियो। ‘यहाँ मूति सुर्ति केही हुँदैन -’ तत्कालै अर्का एकजनाले उत्तर दिए-‘हुँदैन हजुर, हजुरहरूको मन्दिरमाजस्तो मूर्ति।’ ‘यहाँ के हो त हुनि -’ पत्रकार महोदयको प्रश्नको उत्तर दिँदै मुस्लिम पुजारीले घाँटी सफा गर्दै मसिनो स्वरमा भने-‘यहाँ त प्रार्थनामात्र हुन्छ, हजुर’। टुनीको काठले बनेको एकसय वर्षभन्दा पुरानो लाग्ने बाकस एकथान, हृवाङ्ग मुख खुला भएको सामान्यभन्दा पनि सामान्य प्रकारको भित्ताको सहयोगमा उभ्याइएको तीन तल्ले बुकर्याक एकथान, पुराना धुलैधुलोले छोपिएजस्तो लाग्ने ८, १० थान परालले बनेका गुन्द्री, खस्न ठीक्क परेर बसेको एकापट्टकिो टिनको पाखो र २ वटा कुरानका किताब त्यहाँको प्रमुख सम्पत्ति रहेछन्। ‘यो खस्न ठीक्क परेर डरलाग्दो अवस्थामा रहेको मस्जिदमा हजुरहरू ५० औं जनाले बिहान, बेलुकी नवाज पढ्न डर लाग्दैन ? भन्ने हाम्रो प्रश्नमा ‘डर लागेर के गर्नु, मर्न परे नि हामी सबै एकैसाथ मर्ने हो, अन्त जाने त कुरै भएन नि।’ भन्ने उत्तर पायौं। पत्रकार महोदयले तपाइँहरूको यस विषयमा अन्य समस्या के, के छ नि भनेर प्रश्न गर्दा पण्डितले शिर लोझाउँदै ‘समस्याको कुरा कति गर्ने हजुर, मानिसहरूले खेती गर्न छाडेदेखि परालको अभावले यहाँ ओछ्याउनको लागि गुन्द्रीको समस्या परिरहेको छ। देख्नु भो गुन्द्रीको हालत (गुन्द्रीतिर देखाउँदै) बीचबीचमा प्वाल परिसकेको छ।’
अनेकन समस्याबाट गुज्रिरहेका किहूँ गाविस वडा नं ५ का मुस्लिमहरूको सबैभन्दा ठूलो समस्या भनेको त्यो मस्जिदलाई कसरी बचाउने भन्ने रहेछ। मस्जिदको वर्तमान् स्वरूपको अध्ययनगर्दा सामान्य किसिमले त्यसलाई पहिलेकै स्वरूपमा लान सकिने अवस्था छैन। सयौ वर्ष पहिले सामान्य किसिमले बनाएको त्यो मस्जिदको पूरै काठहरू मक्किएका छन् भने हिँड्दा तल्लो हल्लने गर्छ। माथिल्लो तल्लामा नवाज पढिन्छ भने तल्लोमा मदरसाको रूपमा काम चलाइएको रहेछ। माथिका मानिसहरूले नवाज पढिरहेको बेलामा तलका बालबालिकालाई कति डरलाग्छ होला सहजै अनुमान लगाउन सकिन्छ। सुरुमा खरको छानो र तीन तल्ला भएको यो मस्जिद बहुदलको बिहानीसँगै टिनको छानो र दुर्इ तल्लामा सीमित बनाइएको रहेछ।
निन्याउरो मुख लगाएर टुक्रुक्क बसेका पुजारीले कसैको सहयोग पाएमा यो जिर्ण मस्जिदको स्वरूप फेर्न पाए राम्रो हुनेथियो। हामीलाई कसैले पनि हेर्दैनन्। भोट माग्न आएका थिए। भोट दियौं जितेर गए र्फकेर आएका छैनन्। खाली हात आएर पनि भएन। यो भनेको राष्ट्रको सम्पति हो कुनै एक धर्मको मात्र होइन। दिनहूँ दशौं मानिस आउँछन्।फोटा खिच्छन्।अनेकन प्रश्न सोध्छन्। तर सहयोग कतैबाट नपाइएकोले कतिपय मुस्लिमहरूले आफूलाई पायक पर्ने ठाउँमा ससाना २ वटा मस्जिद बनाइसकेका छन्। अब उनीहरू यहाँ र्फकेर आउँदैनन्। हामी अहिले ३५,४० घरमात्र भएका छौ। सबैले आ-आफ्नो सुर गरिसके हाम्रो अवस्था दिनानुदिन नाजुक बन्दै छ। यो मस्जिदलाई बनाउन थोरै भनेको पनि ५०,६० लाख रुपैयाँ लाग्छ होला। कतैबाट आउने आशा छैन भन्दै निरासाजनक गुनासो पोखे। हामी सुनिरह्यौं। त्योभन्दा हामीसँग अरु के उपाय थियो र ?
म दाबीका साथ भन्छु कि यो र यस्तै अरु धरोहर राष्ट्रका अहं गहना हुन्। ऐतिहासिक धरोहरको कुनै जात, लि·, धर्म र भाषा हुँदैन। यस्ता गहनाको क्रमशै नष्ट हुँदै जाने र हामीले टुलुटुलु हेर्दै बस्ने हो भने हाम्रो आजसम्मको अस्तित्वको चिनारी कसरी बच्ला र ? हामीले महत्त्वपूर्ण हाम्रा धरोहरको संरक्षणको लागि आजैदेखि शारीरिक रूपले पाइला नचाल्ने र मानसिक रूपले नचेत्ने हो भने केही वर्षपछि ‘अस्तित्वहीन नेपालीको अस्तित्वको कथा’ भन्ने रचनाहरू पढ्न पाउनेछौ। जो आम स्वाभिमानी नेपालीहरूको लागि दर्दनाक पीडा हुनेछ।
Related News
सम्बन्धित समाचार
मनोसामाजिक अपांगता के हो ?
तिलकदाइको सम्झनामा
अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध
फेलको फेहरिस्त
नागरिकको समय नै देश विकासको आधारशिला
hero news full width
मुख्य समाचार
फेवा किनारका जलारीको गुनासो : आजसम्म थाहा छैन हामी को हौं ?
मुग्लिन-पोखरा सडक : नौ किलोमिटर खण्डमा एकतर्फी कालोपत्र सकियो
मंसिर १९, २०८०पर्वतमा औँसेकीराले ३० प्रतिशत सुन्तला नष्ट, किसान चिन्तित
मंसिर १९, २०८०मदरल्याण्डद्वारा विद्यार्थीलाई २ लाखसहित सम्मान
मंसिर १९, २०८०पर्यटन बसपार्क जिम्मा ए वानलाई
मंसिर १९, २०८०१९ औं लेखनाथ महोत्सवमा ९० लाख आम्दानी लक्ष्य
मंसिर १८, २०८०