पुस १० गते शुक्रबार विन्ध्यवासिनी मन्दिर परिसरको उत्तम आयल पम्पमा विजोडी नम्बरको स्कुटर र मोटरसाइकललाई पेट्रोल दिने खबर पाएर बाटुलेचौरबाट हस्याङफस्याङ गरी गइयो। दुर्इ पाङ्ग्रे सवारीको क्यु थियो, कोही त अघिल्लो राति नै, कोही सवेरै विहान ५ बजेबाट राखिसकेका रहेछन्। म आठ बजे पुग्दा पम्पबाट सुरु गरेको १-२ किलोमिटर जति लामो लाइनको अन्तिममा मोहरिया टोलमा परेँ। मेरो पछाडि पनि ५०-६० सवारी थपिए। सुरुमा त एक लाइनमात्रै थियो। आफ्नो स्कुटरलाई छोडेर १० कदम जति परको चियापसलमा चिया पिउन गएँ। फर्केर आउँदा त मेरो पछाडिको दुइटा सवारी मेरो पालो मिचेर अगाडि सरेका रहेछन्। मैले उनीहरूलाई ‘तपाईहरू त मेरोपछाडि हो, मलाईअघि सार्न दिनुस्’ भने। ‘तपाईले नसारेपछि हामीले सारेको हो। अब कहाँ छोड्न मिल्छ र, छोड्दैनौँ’-उनीहरूले भने। आफ्नो अधिकार-पालो) का लागि २-४ कुरा गरेँ। तर उनीहरूले मेरो कुरा पटक्कै बुझ्न नखोजेको देखियो। अन्तमा गल्फतीबाट दिक्क भएर उनीहरूको पछाडि स्कुटर घिसार्दै लाइनमा सर्दै गइयो।
तर कस्तो आर्श्चर्य, एकै छिनपछि त मेरोपछाडि रहेका र भर्खर आएका स्कुटर, मोटर साइकलहरूलाई अघि बढाउँदै भर्खरका ठिटा र बुज्रुक युवासमेत थप दुइलाइन बनाएर मेरो दाँया र बायाँबाट भीड गर्न थाले। मैले त्यो भीडलाई भने-‘हैन तपाईहरू किन यसरी अर्काको पालो मिचेरअगाडि आउनु हुन्छ – सिङ्गल लाइन थियो, तपाईहरूले थप दुर्इ लाइन बनाउनुभयो। यसरी सिस्टम बिगार्न हुन्छ र ?’ मेरो कुरालाई ध्यान दिने कोही देखिएन। तर मेरो लाइनमा बसेको एउटा १८-१९ वर्षको ठिटाले मेरो स्कुटरलाई पछाडिबाट ठेल्दै थिए। ‘तपाई अगाढि बढ्ने कि नबढ्ने – हैन भने म अघि लाग्छु भनेर आफ्नो मोटरसाइकल, टाइट भएर बसेको सवारीको भीडमा अगाडि सार्यो। मेरो अगाडिको स्कुटर अघि बढ्ला र म अघि जाउँला भनी सिस्टमलाई पर्खेर बसेको थिँए। मेरो दायाँपट्टि चक्कामात्र छिर्ने चार इन्च जति खाली ठाउँ थियो। जबर्जस्ती मेरो दायाँको चार इन्चको खुल्ला ठाउँबाट मोटरसाइकल छिराउन खोज्ने ठिटोलाई भने-‘मेरो अगाडिको मान्छे बढेकै छैन, म कसरी अगाडि सर्ने -’ मेरो कुरालाई वास्तै नगरी त्यो ठिटोले मोटरसाइकललाई त्यो चार इञ्चको खुल्ला ठाउँबाट छिराएर मलाई ठेल्दै मेरो स्कुटरको समानान्तरमा ल्यायो।
मैले भने-‘होइन, यो कस्तो जबर्जस्ती, अलिकति पनि लाजगाल र नैतिकताको ख्याल राख्नु पर्दैन र -’ त्यो ठिटोले रिसाएको साढेझैँ आँखा पल्टाएर मलाई हकार्दै भन्यो-‘तपाई बढ्ता कुरा नगर्नुस्। चुप लाएर बस्नुस्।’ त्यत्रो भीडमा बसेकालाई सामाजिक जीवन र वातावरणको केही मतलब थिएन। सबै त्यही ठिटोजस्तो मिचेर, घचेटेर, झगडा गरेर अगाडि बढ्नेमात्र धुनमा थिए। मेरो कुरा र मलाई ठिटोले दिएको जवाफ सुनेर कोही बोलेनन्। २-३ जना अल्लारे केटाहरू त ठिटोको कुरा सुनेर गलल्ल हाँसे। मेरो ढल्केको उमेर र बौद्धिक तर्कको खिल्ली उडाएको जस्तो मलाई अनुभव भयो।
यस्तो घम्साघम्सीमा कछुवाको चालभन्दा एक सय गुणा घटी चालमा एक फुट, दुर्इ फुट गरी अगाढि बढ्दै गइयो। बिहानको ११ बजिसक्यो बल्लबल्ल ५० कदम जतिमात्र अगाडि सर्न पाइयो। पेट्रोल नपाइने हो कि भन्ने शड्ढा पनि उठ्न थाल्यो। बीचबीचमा घुसपैठ गर्नेहरू अझै पनि सक्रिय भइरहेका थिए। २ बजेपछि सिङ्गल लाइन बस्ने भनेर उपभोक्ताहरूकै सक्रियतामा व्यवस्था भयो। त्यस बेला लाइनमा बसेकाहरूलाई नम्बर दिने व्यवस्था हुनुपर्ने भनेर आवाज उठाएँ। तर कसैले पनि वास्ता गरेन। पेट्रोल पम्पअगाडि बसिरहेका ६-७ जना पुलिसमध्ये ४-५ पुलिस लाइनमा घुसपैँठ गर्न नदिन ठाउँठाउँमा बसेको भए पनि एउटा व्यवस्था हुन्थ्यो। पहिला आएकाले सहजरुपमा पेट्रोल पाउने थिए अथवा नम्बर बाड्दै गरेको भए पनि सिस्टम बस्थ्यो। यो बौद्धिक व्यवस्था त प्रशासन (जिल्ला कार्यालय) ले एक जना कर्मचारी वा पुलिस नै खटाएर गरेको भए घुसपैठ गरी दोहरो, तेहरो पेट्रोल भर्नेहरूलाई रोक्न सकिन्थ्यो। प्रत्येक पम्पमा चार हजार लिटर बाड्ने र पाउनेलाई बढीमा पाँच लिटरका दरले बाड्दा आठ सय जनालाई पुग्छ। आठ सय नम्बर बाँडेपछि बन्द गरेको भए, पछि आउनेहरू खुसीसाथ फर्केर जान्थे। तर त्यो भीडमा त्यस्तो व्यवस्था कसले गर्ने – प्रशासनलाई नाममात्रको औपचारिकता देखाएर, सर्वसाधारणलाई फलाना पम्पमा जोर र बिजोर नम्बरले पेट्रोल प्राप्त गर्न सक्छ भनेरमात्र मुखमा बुजो हाल्ने काम भएको देखियो। वास्तवमा सिस्टम लागू गरेको भए सबैको समय बच्थ्यो। जसको बल छ, जो चिच्याउन, कराउन र झगडा गर्न सक्छ, तिनीहरूले मात्र पेट्रोल पाए। तीन बजेपछि पेट्रोल सकियो भनेर बाँड्न रोकियो। बिहान म लाइनमा बस्दा मेरो अगाडि चार पाँच सय सवारीमात्र थिए। भोक, प्यास र हिर्डाई, उभ्याइले थकित भएर निराश हुँदै रित्तै हात घर र्फकनुपर्यो।
मान्छेले यस्तो कुरा गरेको पनि सुनियो ‘पुलिसले नै आफ्ना मान्छेलाई पेट्रोल पम्पनेरै घुसपैठ गराएर लाइनमा राखेको रे। पम्प मालिकले पनि पाँच लिटरको ठाउँमा कसैलाई १० लिटर पनि दियो रे। भ्रष्टाचार पनि भयो रे आदिआदि।’ यस्तो सुन्दा र देख्दा यो देशको समाज कतातिर जाने होला भनी संवेदनशील, समाज सुधारक, राष्ट्रप्रेमीहरूलाई पीर पर्नु स्वाभाविकै हो। प्रशासनले पहिला आउनेलाई पहिलो नम्बर दिएर राखेको भए न्यायपूर्ण ढ·ले उपभोक्ताले पेट्रोल पाउँथ्यो। यस्तो सामान्य बुद्धि पनि निकाल्न नसक्नु प्रशासनको बौद्धिक खडेरी हो कि नियतै त्यस्तो हो – लापरवाही ढ·ले काम गरेको भन्ने स्पष्ट देखियो। यसको जवाफ के कसैले खोज्छ वा चाहन्छ ?
यस्तो बौद्धिक खडेरी राज्य चलाउने पार्टीका नेताहरूमा पनि ठूलै मात्रामा देखिन्छ। जस्तै तराई/ मधेस आन्दोलनलाई समाधान गर्नुपर्छ, नाकाबन्दीका कारणले अभाव र पूर्ण सकसमा जीवन बिताइरहेका जनताको कहरलाई हटाउनुपर्छ भन्ने तर निकास यस्तो हुनुपर्छ भनी बाटो नदेखाउने उत्तरदायित्व हीन सोच हो। पेट्रोल लिन लाइनमा बस्ने हुल्याहाहरू जस्तै सत्ताको लागिमात्र अगाडि बढ्ने, देश र समाजको व्यवस्था ब्रि्रेला भनी नसोच्ने, यस्तो व्यवहार कि त बौद्धिकताको खडेरी परेको हो कि त नियतै त्यस्तो हुल्याहा भएको हो। कसले यसको जवाफ खोज्ने –
सबैभन्दा जल्दोबल्दो विषय पहिचानसहितको सङ्घीयता र प्रदेशको सिमाङ्कनको विवाद हो। यसलाई समाधान गर्न मैले मिडियामार्फत धेरै ठाउँमा आइडिया प्रस्तुत गरेँ। तर उपरोक्त पेट्रोल पम्पको भीडमा आवाज हराएजस्तै मेरो आवाजलाई कसैले पनि नेताको कानमा पुर्याउने विषय बनाएन। मेरो प्रस्ताव थियो, ‘पाँच विकास क्षेत्रलाई नै पाँच प्रदेश बनाउने र विगतको संविधानसभाले बनाएको राज्य पुनर्संरचना समितिको खाकाअनुसार भूगोल, इतिहास, भाषा, सांस्कृतिको विकास गर्न प्रत्येक १० प्रदेशको सट्टा एक-एक जातिको ‘मुख्य पहिचान क्षेत्र’ भनी संवैधानिक मान्यता दिने र त्यस्तो पहिचानलाई संरक्षण, सर्म्बर्धन गर्न स्वायत्त अधिकार पनि दिने। त्यसमा मधेस प्रदेशको सट्टा ‘मिथिला मुख्य पहिचान क्षेत्र’ भनी जनकपुरलाई घोषित गर्ने, तथा भविष्यमा अन्य जातिले पनि पहिचानको क्षेत्र प्रस्तुत गर्यो भने त्यसलाई पनि पहिचानको स्वायत्त अधिकार दिने भन्ने मेरो प्रस्ताव थियो। यस सर्न्दर्भमा मैले थुप्रै तर्क र जिकिर पनि मिडियामार्फत प्रस्तुत गरेको छु तर कसैले वास्ता राखेनन्। ‘सुन्छ कल्ले न्याउली त्रि्रो पुकारलाई, गुन्छ कल्ले न्याउली त्रि्रो विचारलाई’ भनेजस्तै भयो मेरो प्रयत्न। यस सर्न्दर्भमा पार्टीर नागरिक समाजका नेताहरूमा बौद्धिक खडेरी परेको हो कि नियतै त्यस्तो हो, मैले केही भन्न सकिनँ।
(लेखक पृथ्वीनारायण क्याम्पसको इतिहास विभागका पूर्व उपप्राध्यापक हुन्।)
Related News
सम्बन्धित समाचार
मनोसामाजिक अपांगता के हो ?
तिलकदाइको सम्झनामा
अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध
फेलको फेहरिस्त
नागरिकको समय नै देश विकासको आधारशिला
hero news full width
मुख्य समाचार
ठगी अभियोगमा वडा सदस्यसहित ४ पक्राउ
पोखरामा अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव सुरु, हिमाल जोगाउन एकमत
मंसिर २२, २०८०मनाङमा जलवायु परिवर्तनको असर : हराए हिमालको हिउँ र ताल
मंसिर २२, २०८०चिहानमा पुगिसकेको राजतन्त्र फर्किँदैन: ओली
मंसिर २१, २०८०पोखराको नयाँबजारमा व्यापार मेला सुरु
मंसिर २१, २०८०म टुहुरो भएँ: १४ वर्षमा बुबा बितेर, अहिले छोराछोरी विदेशिएर…
मंसिर २१, २०८०