बेलायती बहिर्गमनको राजनीतिक प्रभाव

आदर्श समाज सम्वाददाता
असार २४, २०७३

युरोपियन युनियनबाट बेलायतको बहिर्गमनको चर्चा सेलाएको छैन र चाँडै सेलाउने पनि छैन। कारण, यसको विश्वव्यापी प्रभाव रहनेमात्र होइन त्यो बहुआयामिक पनि छ। अहिले तत्काल यसले आर्थिक प्रभाव पारेको हुँदा त्यसै परिप्रेक्ष्यमा टीका-टिप्पणी र विश्लेषण बढी हुनु स्वभाविक नै हो। तर दीर्घकालीन प्रभाव भने राजनीतिक क्षेत्रमा रहन्छ। न्यूयोर्क टाइम्सले यसलाई सन् १९९० को सुरु वर्षमा सोभियत युनियनको पतनसँग तुलना गरेको छ भने चीनको प्रमुख अंग्रेजी दैनिक चाइना डेलीले बेलायती बहिर्गमनलाई युरोपमा गएको राजनीतिक भुइँचालो भनेको छ। दक्षिण कोरियाबाट प्रकाशित हुने प्रसिद्ध अंग्रेजी दैनिक ‘द कोरियन हेराल्ड’ ले जनमत संग्रहको परिणाम प्रकाशित भएको दिनलाई ‘युरोपको दुर्भाग्यको दिन’ शीर्षकमा सम्पादकीय प्रकाशित गरेकोबाट कोरियन जनमत बुझ्न सकिन्छ। स्वयं बेलायती पत्रिकाले ‘राष्ट्रलाई मुर्छित पार्ने घटना’ भनेका छन्।  अतः बहिर्गमनले बेलायत, युरोप, नेपाल र भूमण्डलाई नै पार्ने राजनीतिक प्रभावको मिमांसा हुनु आवश्यक छ।

बेलायतमा पर्ने प्रभाव :

बेलायतको शासक दल, प्रधानमन्त्री क्यामरुनसहित सबै शीर्ष नेतृत्व बेलायतले युनियन छाड्न हुँदैन भन्ने पक्षमा थिए-अपवाद कानुनमन्त्री मात्रै हुन्। पूर्वप्रधानमन्त्रीहरु जोनमेयर, टोनिव्लेयर र प्रतिपक्ष दला नेता समेत कायम रहने पक्षमा हुँदाहुँदै खसेको मतमध्ये ५२ प्रतिशतले छाड्ने निर्णय आउनु जनता र राजनीतिक नेतृत्वबीच समझदारीको खाडल चाक्लो छ भन्ने बुझिन्छ। फेरि मत सर्भे अनुसार युवा मतदाता कायम रहने पक्षमा मतदान गर्ने र वयस्क तथा बृद्धले छाड्ने पक्षमा मतदान गर्ने प्रवृत्तिले बेलायत दक्षिणपन्थी रुढीवादी राजनीतिक धारको प्रवलता तर्फ अरु प्रवल हुँदै गएको देखाएको छ। मध्यमार्गी कमजोर हुनु दीर्घकालको लागि चिन्ताको विषय हो। युनियनमा रहादा आप्रवासीहरुलाई बेलायतमा बस्न दिन परेको हुँदा युनियन त्याग्नाको मूलकारण बताइएको छ। यही हो भने बेलायतीहरु विदेशप्रति असहिष्णु रहेको एक ज्वलन्त उदाहरण हो। भूमण्डलीकरण र उदारिकरणको मूल प्रवेता तत्कालीन प्रधानमन्त्री मार्गेरेट थ्याचर हुन्। उनकै देशमा जनता अहिले एकलकाटे नीति (आइसोलेसन) का पक्षधर हुनु भुमण्डीकरणको विरोधमा रहनु धेरैले बिडम्वनाको रुपमा लिएका छन्।

माथिका कुरा त खुद्रा-मुद्रा कुरा हुन्। मूल चिन्ता त के छ भने यो जनमत संग्रह परिणामले कतै बेलायत राष्ट्रको भूखण्डताको जगनै हल्लिने त होइन भन्ने चिन्ता गरिएको छ। स्कटल्याण्ड र उत्तरी आयरल्याण्डबासीहरुको बहुजनमत कायम रहने अर्थात् युरोपियन युनियन छाड्नु हुँदैन भन्ने पक्षमा रहेको हो। तथापि मूल बेलायतबासी निर्णायक बहुमत छाड्ने पक्षमा रह्यो। अब, स्कटल्याण्ड र आयरल्याण्डले बेलायतमा रहने कि छाड्ने भन्ने जनमतबाट निर्णय गर्न पाउनुपर्छ भन्ने माग चलन थालेको छ र यस मागले प्रवल रुप लिनेछ। नैतिकरुपमा पनि यसलाई अस्वीकार गर्न मिल्दैन। अतः यो जनमत संग्रह बेलायती ब्रि्रहको प्रस्थान विन्दु बन्न सक्छ।

युरोपमा पर्ने प्रभाव :

पहिलो र प्रत्यक्ष प्रभाव भनेको युरोपियन एकता खण्डित हुनु हो। यो त एक किसिमले भै नै सकेको छ। विश्वशक्ति केन्द्रको आँकलन गर्दा अमेरिका, चीन र युरोपियन युनियन भन्ने गरिन्थ्यो, अब त्यो रहेन। सुरक्षा परिषद्का पाँच स्थायी सदस्य देशमध्ये दुर्इ युरोपका छन्-बेलायत र फ्रान्स। यद्यपि, फ्रान्स युनियनमै कायम छ। तथापि, बेलायतको बहिर्गमनले युनियनको ओजन धेरै घटाउँछ। बेलायत बाहिर निस्केपछि युनियनको नेतृत्वकर्ता जर्मन देखिएको छ, यसका चान्सलर मार्केले देखिएकी छन्। तर, उनले युनियनकै सदस्य ‘ग्रिस’ को ऋणको मामिलामा लिएको दक्षिणपन्थी अडान अरु धेरैले मन नपाएका हुन्। द्वितीय विश्वयुद्धमा जर्मनीको ज्यादति सम्झने अन्य युरोपियनहरुले चान्सलर मार्केलको चुरीफुरी धेरै दिन सहने छैनन्। अतः नेतृत्व संकट छ, युनियनभित्र।

अब बेलायतभित्र पर्ने प्रभावमा जुनमाथि संक्षिप्त विश्लेषण गरियो, त्यो एकतर्फी दृष्टिकोण हुन सक्छ। यदि बेलायतीहरु बहिर्गमनका घाउ चाँडै निको पारेर तन्दुरुस्त भए उनीहरुको आर्थिक स्थिति अरु मजबुद भयो, राजनीतिक स्थिरता र राष्ट्रिय एकतालाई बलियो बनाएर विश्व रंगमंचमा थप प्रभावकारी देखिए भने युनियनका अरु देशभित्र पनि ‘छाड्ने’ जनमत प्रवल हुनेछ। र, बेलायती जनमतको यो परिभाषा अन्ततः युरोपियन युनियनको पूर्ण विघटनको प्रस्थान विन्दु बन्ने पनि हुन सक्छ। यसको लागि एक दशक पनि कुर्नुपर्ने छैन।

भूमण्डलीय असर :

बेलायती बहिर्गमनले विश्वमा पार्ने राजनीतिक असरको यो छोटो टिप्पणीमा समेट्न स्पेसले पनि पुग्दैन। तथापि, विश्व महाशक्ति अमेरिका र युरोप बीचको सम्बन्धमा यसले परिवर्तन ल्याउँछ। जनमत संग्रह भन्दा पहिले अमेरिकालाई यूनियनसँग डिल गर्न सजिलो थियो। अब बेलायतसँग अलग डिल गर्नुपर्नेछ। फेरि छाड्ने पक्षका नेताले जनमतको परिणामलाई बेलायती राष्ट्रवादको विजय भनेका छन्। द्वितीय विश्वयुद्ध अगाडिसम्म साम्राज्य चलाएका बेलायतीको यो घमण्डले अमेरिकी संस्थापन पक्ष चिन्तित छ। राष्ट्रपति ओवामा र उनको दलका राष्ट्रपति उम्मेदवार श्रीमती क्लिन्टनको प्रतिक्रियालाई यसै परिप्रेक्ष्यमा हेरिएको छ। रिपब्लिकन उम्मेदवार ट्रम्प भने बेलायती जनमतबाट उत्साहित छन्। यसलाई अमेरिकी दक्षिणपन्थी शक्ति र बेलायती दक्षिणपन्थी रुढीवादी शक्ति गठजोडको रुपमा हेरिएको छ। अतः विश्व राजनीति बेलायती यो निर्णयको प्रभावबाट अछुतो रहने छैन।

नेपाललाई पार्ने प्रभाव : बेलायतसँग दौत्य सम्बन्ध कायम गर्ने दक्षिण एशियामै नेपाल पहिलो मुलुक हो, नेपाल। अंग्रेजले भारतमा शासन गर्दा नेपालले स्वतन्त्र राज्यको रुपमा बेलायतसँग दौत्य सम्बन्ध राखेको हो। बेलायत र भारत यस्ता देश हुन्, जसको लागि धेरै नेपालीले ज्यान दिएका छन्। उल्टै नेपालीलाई ऋणी देखाउन चाहन्छन्। यो छुट्टै विश्लेषणको विषय हो। अहिले बेलायती जनमत संग्रहको सिधा नेपालमा पर्ने राजनीतिक प्रभाव भनेको यहाँ राजतन्त्र र हिन्दूराष्ट्रको भविष्य जनमत संग्रहमार्फत निर्णय हुनुपर्छ भन्ने पक्षको मनोवल बढाउनुमा रहनेछ।

अन्त्यमा, जनता नै सवोपरी हो र जनमतमा नै सार्वभौमशक्ति रहेको हुन्छ भन्ने सन्देश पुनः बेलायती जनताले विश्वलाई दिएर तेह्रौं शदीको म्याग्नाकार्टााो धरोहर कायम गरेका छन्। जनमतले ल्याएको परिवर्तन सकारात्मक र सुखद रहोस्।

Related News

सम्बन्धित समाचार

  • ‘स्व’ को खोजीमा प्रतीक्षा

    कृष्णप्रसाद बस्ताकोटी श्रावण ८, २०८१
    मूलतः मानिस धनको लालचले या त प्रख्यातिको भोकले तानिन्छ र यावत् कर्महरूमा यसरी जोगिन पुग्छ –कृष्णप्रसाद बस्ताकोटी चर्चित साहित्यकार सरस्वती…
  • गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण

    हरिबन्धु अर्याल जेठ २९, २०८१
    मुलुकको संवैधानिक प्रावधान र संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको काम हुँदै आएको छ…
  • नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)

    शेषराज भट्टराई जेठ १२, २०८१
    नमच्चिने पिङले झड्का मात्रै दिन्छ । चाहे लभका मामलामा होस् या जबका मामलामा अर्थात् सबका मामलामा काम नगर्ने मान्छेले गफ…
  • बालकथा : मौकाको साटो

    दिनेश बस्नेत जेठ १२, २०८१
    नेपालको पश्चिम भेगमा सुन्दा पनि अचम्म लाग्ने दुईओटा गाउँ थिए । एउटा लिखापुर र अर्काे भुसुनापुर । दुई गाउँको बिचमा…
  • बुद्ध जयन्ती – एक चर्चा बुद्धशिक्षाको

    आनन्दराज मुल्मी जेठ १०, २०८१
    आज २५६८ औं बुद्ध जयन्ती मनाउँदै छौं । अन्तर्राष्ट्रिय रूपमा अजको दिन शान्ति दिवसको रूपमा मनाइन्छ । इसापूर्व ५६३ मा…

hero news full width