बेगनास तालमा हँस्यौली गीत

विश्व हाँसो दिवसको पूर्व सन्धयामा

प्रा.डा.कुसुमाकर न्यौपाने
वैशाख १९, २०७६

१. वेगनासताल

नेपालको पोखरा शहर प्रकृतिको सुन्दर उपहार हो। यहाँ स्थित सात तालमध्येको प्रसिद्ध एउटा ताल बेगनास ताल हो। चारैतिर डाँडाकाँडाले घेरिएको सुन्दर यस विशाल तालकै सौन्दर्यका कारण यहाँ पर्यटकहरू आउँछन्। ती पर्यटकले यस ताललाई चारैतिरबाट नियाल्छन्; तालक्षेत्रको आसपासमा बनेका विभिन्न स्तरका होटेल तथा रेस्टुरेण्टहरूमा बसेर पनि यस तालको सौन्दर्यको आनन्द लिन्छन्। यस्तै तालको छेउछेउमा पैदलयात्रा गर्दै तालको शीतल पवनको आस्वादन गर्दछन्। यतिले मात्र नपुगेर तालमाथि नौकाविहार गर्दछन्। यसरी यस ताल र आसपासका क्षेत्रमा आनन्द लिने स्वदेशी तथा विदेशी पर्यटकहरूले नेपाली लोकसङ्गीतको आस्वादन गर्न पनि पाउँछन्। यहाँ प्रदर्शन गरिने लोकसङ्गीत विशेष गरी गन्धर्वकै लोकसङ्गीत हो।

पोखराको अघौर्ं, बडहरे र तल्लो गगनगौंडामा बसोवास गरेका केही गन्धर्वले यस ठाउँमा बिहान आई साँझसम्म सारङ्गी बजाएर नाना प्रकारका नेपाली लोकगीत तथा लोकगाथा गाएर पर्यटकहरूलाई आनन्दमग्न तुल्याउँछन्। विदेशीहरूलाई विशेष गरी रेशम फिरिरी बोलको गीत सुनाउँछन् भने स्वदेशीलाई नेपाली लोकगीत र लोकगाथा सुनाउँछन्। कतिपयले हाँस्यव्यङ्गय सुन्न मन पराउने हुँदा गन्धर्वले हँस्यौली नामको लोकगीत गाएर पर्यटकहरूको मनोरञ्जन गर्दछन्। शक्तिशाली त्यो हँस्यौली गीत के हो त?

२. हँस्यौली गीत

गन्धर्वले गाउने विभिन्न लोकगीतमध्येको एउटा गीतको नाम हँस्यौली गीत हो। बाह्रै महिना जति बेला पनि गाइने भएकाले यो गीत बाह्रमासे गीतअन्तर्गत पर्दछ। लिखित् साहित्यको हास्यव्यङ्गय विधा जस्तै लोकगीत भित्रको हास्यव्यङ्गय विधा हँस्यौली गीत हो। यो गीत गन्धर्वले सारङ्गी बजाउँदै गाउँछन्। यस गीतमा समाजमा देखिएका विकृतिलाई विषय बनाइएको हुन्छ। सारङ्गीको धुनमा ती विकृतिलाई गाएर प्रस्तुत गर्दा श्रोताहरू रमाउँछन् अनि हाँस्छन्। श्रोताहरू यही गीतले रमाइरहेका बेला गन्धर्वले विकृतितिर नलाग्न अनि सुधारको मार्गमा लाग्न सन्देश दिन्छन्। यसरी हँस्यौली गीतले समाजको विकृतिलाई देखाउँछ अनि श्रोताहरुलाई हसाँउछ अनि सुधारको बाटो हिँड्न उत्प्रेरित गर्दछ।

यही २०७६ बैसाख १५ र १६ गते बेगनासताल क्षेत्रमा भ्रमण गर्दा बेगनास तालको छेउमा पोखराको तल्लो गगनगौंडा निवासी ५७ वर्षीय राम गन्धर्व भेटिए। कालो टोपी, कालै इस्टकोट, कालो पाइन्ट अनि सेतो कमेज लगाएका यी गन्धर्वले नयाँ सारङ्गी भिरेका थिए। पहिल्यैदेखि चिनजान भएका यी गन्धर्वले प्रत्येक दिन बिहान बेगनासताल क्षेत्रमा आई पर्यटकको रुचिअनुसारका नाना प्रकारका लोकगीत गाएर अर्थोपार्जन गर्दा रहेछन्। यसै बेला बेगनास तालको किनारमा काँक्रो खाँदै गरेका पाण्डे थरका पर्यटकले यी गन्धर्वका गलाबाट हँस्यौली गीत सुन्ने इच्छा राखे।

यी राम गन्धर्वले उनीहरूकै आडमा बसेर हँस्यौली गीत गाउन थाले। सारङ्गीको धुन र यिनको कला अनि गलाको प्रभावका कारण बाटोमा ओहोरदोहोर गर्ने पर्यटकहरु पनि रोकिएर यिनले गाएको हँस्यौली गीत सुन्न थाले। यस्तै अगिल्लो दिन तल्लो गगनगौँडा निवासी ठकुरी गन्धर्वले पनि राम गन्धर्वले जस्तै हँस्यौली गीत गाएर पर्यटकलाई रमाउने गराएका थिए। जानकारीका निम्ति यस ठाउँमा गन्धर्वले गाएका हँस्यौली गीतका केही चरन यहाँ प्रस्तुत गरिएको छ :

सुन्नुहोला बुवामुमा, सुन्नुस् दाजुभाइ
दस औंलीको बिन्ती गर्चु, तपाईंहरुलाई
यो कलीको नयाँ चलन देख्दै छक्क पर्चु
समाजलाई हेरिकन दुईचार कुरा गर्चु
आयो कली धपक्कै बली
आजभोलिको चलन छ नक्कली

गन्धर्वले गाएको उक्त हँस्यौली गीतको पहिलो चरनमाहँस्यौली गीत सुनिदिनका निम्ति त्यहाँ उपस्थित व्यक्तिहरुलाई साइनो लगाई सम्बोधन गरेका छन्। कली युग चरम अवस्थामा पुग्न लागेकाले समाजमा विकृति बढेको कुरा व्यक्त गरेका छन्।

खाए पनि झ्याम्म हजुर नखाए नि झ्याम्म
रक्सी खानी बानी बस्यो बुढो हुन्जेलसम्म
एक बत्तलले तिल्के तिल्के, दुई बत्तलले झिल्के
तिन बत्तल खाए पछि नालीतिर मिल्के।
नेपालीको चालचलन देखेर
साद्धे छैन झ्याउरे गीत लेखेर

उक्त दोस्रो चरनले रक्सीको असर र रक्सी खाने व्यक्तिको अवस्थालाई उजागर गरेको छ। रक्सी खान थाले पछि छाड्न सकिँदैन। धेरै खाने लत बस्छ। धेरै खानासाथ मान्छे नालीतिर मिल्किन्छ। त्यस्ता जड्याहाँलाई सबैले घृणा गर्दछन्। यस्ता नसालु पदार्थ खानेहरूले नेपालीको चालचलनमाथि आँच पुर्याएका छन्। यस्ता कुलतमा लाग्न हुँदैन भनेर उक्त हँस्यौली गीतको चरनले अप्रत्यक्ष सन्देश दिएको छ।

आजभोलिका केटीहोरले बिगारेर मती
हिप्पीटाइट बेलीबटम् कम्मरमा पेटी
फिलिम हेर्न जान पर्दा केटा साथी खोज्चन्
केटाहोरलाई कुमले हानी आई एम सोरी भन्चन्
बाउले छोरी घरैमा हाइबरा
केटो रैच टेक्टरको डाइबर

उक्त तेस्रो चरनले वर्तमान युवतीहरूमा देखिएका विकृतिका केही पाटाहरूलाई उजागर गरेको छ। अहिलेको कतिपय युवतीले पटुकी लाउने कम्मरमा पेटी बाँधेका छन्। शरीरमा कसिला पाइन्ट तथा कमेज लगाएका छन्। कर्तव्य बिर्सेर उत्ताउली बनी युवकसित हिँड्ने अनि जिस्किने गरेका छन्। बाआमाले घरमै बसेकी छ भनेकी छोरी लुकीलुकी यस्तै अगतिला गतिविधि गरेर पोइला गएको खबर सुन्न परेको छ। छोरी मान्छेले यस्ता गतिविधिमा आफूलाई क्रियाशील गराउँदा आफन्तजनको समेत इजेत जान्छ अनि आफ्नो जीवन पनि बर्बाद हुन्छ भन्ने अप्रत्यक्ष सन्देश उक्त हँस्यौली गीतले दिएको छ।

आचकालका विद्यार्थी त इस्कुलमा जानी
गुन्डासित पछि लागी मिठोमिठो खानी
होटेलमा खान पर्नी खुर्सानीको पिरो
आई ए, बि ए पढे पनि रिजल्टमा जिरो
थुइय येस्तो के रटन आको आई
चुरोट रक्सी बसेर खाको खाई

उक्त चौथो चरनले कतिपय विद्यार्थीको आनिबानी र शैक्षिक स्थितिका बारेमा उजागर गरेको छ। अहिलेका कतिपय विद्यार्थी विद्यालय जाने भनेर घरबाट जान्छन् अनि लफुङ्गा केटाहरूसँग लागेर होटेलतिर पस्छन्। होटेलमा बसेर रक्सी, चुरोट खान्छन्। परीक्षामा उत्तीर्ण हुन सक्दैनन्। कुस·तले विद्यार्थीको जीवन बर्बाद भएकाले त्यस्तोमा नलाग्न उक्त गीतले सड्ढेत गरेको छ।

बौता हजुर केलाई बौता? अचार साँध्नी बौता
म त गर्चु सबै काम, नबेसाइदेऊ सौता
ढुङ्गामुनि गुँड लायो, माछा बुदुनाले
जेठीमाथि कान्छी ल्याए, तेरै थुतुनाले
कालाकाला बाखरीको, मासु मिठो कनकन
यौटा पोइको दुइटी स्वास्नी, भुत्ले काम्लो तानतान
सौतासौती भएको बिलौना
गाविसले सकेन मिलाउन

पाँचौँ चरनमा सौता नलेइदिनका निम्ति जेठी श्रीमतीले सबै काम गर्छु भनेर श्रीमान्लाई भनेकी छन्। श्रीमान्ले तेरै मुखाले बानी र व्यवहारले गर्दा कान्छी ल्याएँ भनेर गाली गरेका छन्। दुईओटी श्रीमती बेहोर्नु गाह्रो भएको र तिनको झगडा गाविसले पनि मिलाउन नसकेको हुँदा यस्तो गर्न हुँदैन भनेर उक्त हँस्यौली गीतको चरनले सन्देश दिएको छ।

छिटोछिटो हिँडम भने, उत्ताउलीमा गन्चन्
अली ढिलो हिँडम् भने अल्छी रैचे भन्चन्
धेरै बोल्दा पनि हेर, यो बतौरी भैचे
थोरै बोल्दा पनि हेर, कस्ती घोसे रैचे
माइतबाट घरमा जाँदा, कोसेलीको भारी
लानुपर्ने जाहानपिच्छे, बेग्लै पोको पारी
नलगे त सरापेर, बस्नखान हुन्न
झोक्किएर भन्छिन् सासु, गोडा छुन दिन्न
रातिराति बुहारीले सुल्के कुरा लाउँचे
तिम्री आमा पापिनीले खान नदिई मार्चे
भो भो मलाई छुट्याई राख्दे भिन्दै पकाई खान्चु
होइनभने तिम्लाई छोडी डाइबरसित जान्चु
आफू आउँच, कामकाजले थाकेर
स्वास्नी हिँड्चे, डाइबरलाई ताकेर

छैटौँ चरनले सगोलमा बसेकी बुहारीको असजिलो अवस्थालाई वर्णन गरेको छ। छिटो हिँड्दा उत्ताउली, ढिलो हिँड्दा अल्छी, धेरै बोल्दा बतौरी र थोरै बोल्दा घोसे भन्छन्। माइतबाट घर जाँदा कोसेली नलगे हेलाँ गर्छन्। श्रीमान्ले दुःख बुझिदिँदैनन्। यस्तो भए पछि ती बुहारीले पोइला जाने योजना बनाउँछिन्। त्यसैले बुहारी अनि श्रीमतीलाई हेलाँ गर्न हुन्न भन्ने सन्देश यस चरनले दिएको छ।

३. निष्कर्ष

नेपालको सुन्दर पर्यटकीय स्थल कास्की पोखरामा सुशोभित बेगनासतालकोअवलोकन गर्न र आनन्द लिन यस ठाउँमा आन्तरिक र बाह्य दुबै खालका पर्यटकहरु आउँछन्। ती पर्यटकलाई साङ्गीतिक आनन्द दिने व्यक्ति यही पोखराकै गन्धर्व हुन्। त्यस ठाउँमा गन्धर्वले विभिन्न प्रकारका लोकगीत तथा लोकगाथा गाउँछन्। तीमध्येको एउटा महत्त्वपूर्ण लोकगीत हँस्यौली गीत हो। गन्धर्वले यस गीतको गायनबाट पर्यटकहरूलाई हँसाउछन्। समाजमा फैलिएका विकृति उजागर गरी त्यो विकृति र त्यसको परिणामको बोध गराउँछन्। त्यसैले यस्ता गीत गाउने गन्धर्वलाई प्रोत्साहित गर्न सके गन्धर्वको जीवनमा परिवर्तन आउँछ, हँस्यौली गीतको विकास हुन्छ साथै बेगनास ताल क्षेत्रको पर्यटनको विकासमा पनि टेवा पुग्छ। त्यसैले सम्बन्धित निकायले यसतर्पm ध्यान दिनुपर्ने स्थिति देखापरेको छ।

Related News

सम्बन्धित समाचार

hero news full width