कोरोना [कोभिड-१९] ताजा अपडेट
यहाँ क्लिक गर्नुहोस्

बिस्तारै गाउँ फेरिएछ, तर…

shreeramsubedi श्रीराम सुवेदी
वैशाख २३, २०७७

साच्चै हिजोको गाउँ आज प्रविधिमैत्री बनेपछि छिमेकीसँगको आत्मीयता र सामिप्यता हराएछ । संस्कार र संस्कृति हराएछ । सिक्ने सिकाउने पुस्ताको सङ्कट परेछ । साच्चै बिस्तारै गाउँ फेरिदै आएछ ।

जब स्कुलको सात आठ कक्षामा पढ्दै थिएँ, त्यतिबेला आयस्रोतको मुख्य पेशा किसानी थियो । जसोतसो घर व्यवहार धान्नुपर्ने अवस्था थियो । पढ्ने कापीकिताब, लगाउने लुगाफाटा या अन्य आवश्यक सामान किन्न व्यवहार चलाउने घरमुली आमासँग पैसा माग्दा भन्नुहुन्थ्यो, पर्खिन; कि यो बाख्रो पाठो, या वस्तुभाउ बेच्नु पर्छ, कि अलिअलि अन्नपात बेच्नुपर्छ । किन्ने मान्छे आएपछि त बेचेर पैसा त पाइहालिन्छ नि ! चाहिने बित्तिकै कहाँबाट दिनु पैसो ?

यता आफूलाई आवश्यकताले पिरोलिरहेको छ । कहिले बेच्ने र पाउने पैसो मनमा कौतुहलता उति नै । उता छरछिमेकीमा घरमा वर्षौ पुरानाधुरानो धान छ भन्थे । आँगन अगाडि मकैको सुली हुन्थ्यो । कतिपयले तीन चार वर्ष अघिको कोदो बिकेन भन्दै हुन्थे, सयौँ किलो अदुवा खेती हुन्थ्यो । खेती लगाएर पनि भनेको बेलामा पैसा पार्न नसक्ने समस्या उस्तै । काठका ठेकी र टिनका भाँडा भरेर घ्यू राखिएका हुन्थे, वर्षा र हिउँदलाई पुग्ने अन्न सञ्चय थियो । गोरस नखाई सकिँदैन भनी गोठमा लैना र बकेर्ना दुहुना भैँसी हुन्थे । एक हल गोरु, गाई र बाख्रा अनिवार्य । घरमा दूध मोही नहुँदा छिमेकीबाट अ‍ैँचोपैचो सजिलै थियो । मैले जान्दा खानेकुरामा नुन र चिनी बाहेक अन्य निर्वाह गाउँकै उत्पादनबाट सम्भव थियो ।

असार महिनाभर खेत, साउनमा कोदो रोप्ने । दशैं अगाडि धान र कोदो अर्मपर्म गरी गोडमेल सक्ने चलन थियो । दशैं चाड राम्रोसँग मनाएपछि तिहारको वरिपरि वा मंसिरमा धान स्याहार्ने र कोदो स्याहार्दै गहुँ छर्ने समय पुसको मध्यसम्म चल्थ्यो । त्यसपछि बारीको बाँझो जोत्ने, मल बोक्ने, खरबारीको खर काट्ने, वर्षभर पुग्ने दाउरा बन्दोबस्तीलगायतका काम गर्दै चैतको शुरुआतीबाट बारीमा मकै छर्ने र वैशाखदेखि असारसम्म मकै गोड्ने, धानको बिऊ राख्ने किसानी जिन्दगी कुमालेको चक्र जस्तै चलिरहन्थ्यो ।

कतिकति बाध्यता, समयको माग र उच्च शिक्षाका लागि शहर छिरेको आज दशक बढी भइसकेछ । शहरमा पेशा र यहाँको रहनसहनलाई आफ्नो बनाएर रहँदा समयानुकूल गाउँ गइरहन असम्भव नै थियो । तर गाउँको मायाले मुटु भतभत पोलिरहन्थ्यो र भड्किरहन्थ्यो छाती गाउँले जीवनका रुमानी यादमा तड्पेर ।

आज समय विषम बनेर आयो । मान्छे मान्छेसँग डराउनु पर्ने अवस्था सिर्जना भयो । कोरोना भाइरस (कोभिड–१९) ले सारा विश्वलाई तेस्रो विश्वयुद्धको झल्को हुने गरी कोरोना भाइरसको माहामारीले सन्त्रासमा पार्‍यो । त्यसैको प्रत्यक्ष असरले देश लकडाउनको अवस्थामा पर्‍यो। यही परिवेश मेरा लागि रस्तीवस्ती र थातथलो ओहरदोहरको बहाना बनिरह्यो ।

दशक अगाडि र आजको गाउँमा धेरै फरक अनुभूति भयो । विकासोन्मुख गाउँको किसानी पेशा अहिले फेरिएर रेमिट्यान्समा निर्भर रहेछ । अर्मपर्म होइन निमेक चल्न थालेछ । अब गाउँघरमा अन्नको भकारी होइन, मित्रराष्ट्रको चामलको बोरा मझेरीमा पछारिन्छ । गोठमा भैँसी, बाख्रा गाईवस्तु भेट्टिदैनन् । घरको मझेरीमा महिनेखामो, त्यसछेऊका ठेकी मदानी, कुँडे भेटिदा रहेन्छन् किनकि आजकल दूध डेरीबाट लिटरमा किनिन्छ । जोत्ने गोरु, हलो, जुवाको झण्झट हराएर हाते ट्याक्टर फेसन बनेपछि उत्पादनयोग्य खेतबारी बाँझिदैछ ।

चाडबाड वा पूजापाठका लागि दिदीबहिनी मजेत्रोमा साल र कटुसका पात टिपेर ल्याउँथे । दुनाटपरी बनाउँथे आज पेपर प्लेटको प्रयोग बढ्न थालेछ । साच्चै गाउँ त धेरै फेरिएको रहेछ । हाम्रो हिजोको क्रम, पेशा र व्यवहार फेरिएको रहेछ । आज कुटानी पिसानी गर्ने गाउँको मिलमा अन्न छैन । भान्छाको भुटुन, समय-समयमा खाने मीठो मसिनोका लागि गाउँका आमा दिदीबहिनीका खल्तीका गोजीफोनले रेमिट्यान्सको सेक्युरेटी नम्बर कुरेर बसेका छन् । साच्चै हिजोको गाउँ आज प्रविधिमैत्री बनेपछि छिमेकीसँगको आत्मियता र सामिप्यता हराएछ । संस्कार र संस्कृति हराएछ । सिक्ने सिकाउने पुस्ताको सङ्कट परेछ । साच्चै बिस्तारै गाउँ फेरिदै आएछ ।

कर्मथलोको मायामा भुलेकाहरूले जननी र जन्मभूमिको ऋण तीर्नै बाँकी छ । विकासमुखी गाउँको स्वरुपसँगै ठूलो सम्भावना बोकेर फेरिदै गएको गाउँलाई शहरकै जस्तो दुःख गरे शहर नै बन्छ भन्ने विश्वासका साथ क्षमतावान् पछिल्ला पुस्ताको मन फेर्न जरुरी छ ।

हिजो दैनिकीको गुजाराका लागि बालखैदेखि पसिनाको खोला बगाएर ८० वर्ष कटेकी हजुरआमा टीकामाया सुवेदी पछ्यौरीको सप्को मिलाउँदै गुनासो गर्नुहुन्छ– ‘उतिबेला जति नै दुःख परे पनि सबै घरमै हुन्थ्यौं । मागेर काम चलाउन कमै पर्दथ्यो, घरमा हुने विवाह, ब्रतबन्ध जस्ता कार्जेलाई केही किन्न पर्दैनथ्यो । दुःखबिमार भए जडिबुटी घोटेर खाए सन्चो हुन्थ्यो । आजभोलि सबै किन्नी भन्छन् । कसैले केही गर्दैनन् कहाँबाट आउँछ ? तिमीहरूले देखौला जसरी कोरोना कि के–के जातीको माहाव्याधी आयो उसैगरी भोकमरीले मान्छे मर्न सक्छन् । उतिबेला महिनौ लगाएर बटौलीबाट नुन किनेर खानु पर्दथ्यो, खुसी नै थिए, बाँचेकै थिए । अहिले घरघरै गाडीले सामान ल्याउँछ तर मान्छे दुःखै सम्झन्छन् । गरे यहाँ के हुँदैन ? सबैलाई सुखै चाहिएको छ अनि शहरको भूत चडिरहेको छ ।’ साच्चै आफ्नो विगत सम्झदा सुवेदी आमा जस्ता कैयौं आमाबाबुका आँखाका डिल डल्फलाउँछन् ।

आमाका यस्ता कुरा सुनेर मन बेचैन हुन्छ । साच्चै विस्तारै कोरोनाको कहरले मान्छे भित्रको आत्माभिमुखीपनलाई कम गरिदिएको छ कि ? जस्तो लाग्यो । प्रायः शहरमै भेट हुने गाउँले माधप्रसाद सुवेदी पनि कोभिड–१९ नै कारण गाउँमा भेटिए । उनी यो, त्यो गर्न सकिएन भन्ने विषयमा आफ्नो कुटुरो फुकाउँदै थिए,– ‘केही समय खाडीमा बिताए, अहिले गाउँशहर दोहोरै किसानी र जागिरे पेशा धानी रहेको छु । गाउँको जीविकाका नाउँमा मौरी, बाख्रा, भैँसी पालन र समय अनुसारको खेतीपाती गरेरै वर्षमा दुईचार लाख आम्दानी गर्न समस्या छैन । लाग्छ हामीले नगरेर, कुनै कुरा नदेखेर वा गर्न नचाहेर गाउँमा केही गर्न सकिएन भनेर पछि परेका छौँ । सबै कुरा इच्छा र जाँगर भयो भने असम्भव केही लाग्दैन । हामी भित्रको महत्वाकाङ्क्षाले आफैँलाई अभाव र दयाको खाडलमा धकेलिरहेको छ ।’

कोभिड–१९ ले गाउँमै किसानी र भेटेनरी जेटिए पेशा अगाली गुजारा चलाइरहेको कमल सुवेदीलाई भेट गराइदियो । उनको पौरख गौरव गर्न लायकको देखें । साच्चै उनी आफ्नो पौरखमा गौरव गर्ने पात्र हुन् । व्यवसायिक रूपमै मौरीपालन गरेका उनले मह र घारसहितका मौरी पनि बेच्ने गरेका रहेछन् । २८ घार मौरीबाट वार्षिक तीन लाख ४० हजार आम्दानी गरेको उनको भनाइ थियो । साथै बाख्रापालन, माछापालन, फलफूल र अन्य नगदेबालीबाट पनि समय अनुसार पैसा परेकै रहेछ । निरन्तर जुनै पेशामा लागे सफलता हात पार्न सकिन्छ भन्नेमा ढुक्क रहेका उनी आफ्नो उत्पादनले बजार माग धान्न नसकेको र हामीले निर्वाहमुखी पेशा अगालेकामा गुनासो पोख्थे ।

कोभिड–१९ ले भेट गराइदिएका यी प्रतिनिधि पात्र मात्र हुन् । उनीहरूले भनेजस्तै गर्न सकियो भने विकासमा फेरिदै गरेको गाउँ व्यवसायिक रूपमा फेरिन समय लाग्दैन । दशक अगाडि किलोको २ सय पर्ने खसीको मासु अहिले ७ सय पुगेको छ । घ्यू, मह र अमिलोको मूल्य एक मानाको एक हजार पुगेको छ । भान्छामा अत्यावश्यक मसलाका रूपमा प्रयोग हुने अदुवा गाउँमै किलोको ७० रूपैयाँ पर्दछ भने बेसार, खुर्सानी त झनै महंगो छ । उतिबेला उत्पादन गर्दा बिक्री गर्ने कहिले ? पाउने कति ? भन्ने पिरलो अहिले चाहेकै बेला बिक्री गर्न सकिने अवस्थाले गाउँमा सन्तोष छाएको रहेछ । तर काम गर्ने क्षमतावान युवा पलायनको समस्याले साच्चै फेरिँदै गएको गाउँ आज संकटमा परेको छ । प्रायः डाँडामाथिको घाम हुन लागेका बुबाआमा कुरुवा बनेर बसेका गाउँका रित्ता घरहरूमा अब युवाको जोस र जाँगरको लगानी गर्न आवश्यक छ ।

साच्चै यथार्थमा, फेरिएको गाउँलाई आत्मसात् गर्न सकिरहेका छैनौँ । अघिल्लो पुस्ताले देखेका गाउँ विकासक्रमको फड्कोलाई हामी आफैले कम ठान्यौँ । हिजो सेवासुविधा थिएन । आज धेरै परिवर्तन भएको छ । गाउँमा विकास निर्माणका पूर्वाधार बन्दै छन् । गाउँ, टोल र घरै पिच्छे मोटरबाटोको सुविधा पुगेको छ । पुगेका सडक पीच हुँदैछन् । बजारको झल्को दिने बङ्गाला र कोलोनीहरू बन्ने तरखरमा छन् । २०७२ सालको भूकम्प, भारतीय नाकाबन्दी र अहिले कोभिड–१९ ले शहर र विदेश भाँस्सिएकाहरूलाई परिस्थितिले गाउँ फर्काइदिएको छ । यद्यपि पछिल्लो पुस्ता आफ्नो स्वार्थमा भुलेर गाउँ बिर्से पनि गाउँले बिर्सेको छैन । आफ्नै पधेँराको पानी अनि बिसौनीको शितलताले बिर्सेको छैन । हिजो जस्तै मुलको मीठो पानी र सरसर बग्ने बतासले आज पनि शहर भाँसिएका पछिल्लो पुस्तालाई उही रूपमा स्वागत गरिरहेको छ । कर्मथलोको मायामा भुलेकाहरूले जननी र जन्मभूमिको ऋण तीर्नै बाँकी छ । विकासमुखी गाउँको स्वरुपसँगै ठूलो सम्भावना बोकेर फेरिदै गएको गाउँलाई शहरकै जस्तो दुःख गरे शहर नै बन्छ भन्ने विश्वासका साथ क्षमतावान् पछिल्ला पुस्ताको मन फेर्न जरुरी छ ।

(तनहुँ, भिमाद नगरपालिका–२ का लेखक सुवेदी हाल पोखरामा कार्यरत छन् । सं.)

हाम्रो सुझाव