पोखरा बजारदेखि उत्तरतर्फ रहेको मनमोहक हिमशिखर माछापुच्छ्रेको काख अनि एउटा चित्ताकर्षक हिमशृङ्खला अन्नपूर्ण गौरीशंकरको छाँयामा र सेती नदीको सेरोफेरोमा अति रमणीय उपत्यकामा भुर्जुङखोला भन्ने एउटा सानो गाउँ छ। त्यही सानो गाउँदेखि करिब छ किलोमिटर उत्तरतर्फको खोचमा रहेको खारापानी बजारमा हिउँदको मौसममा मूल फुट्ने तातोपानीकुण्ड एवम् त्यस वरपरका सुन्दर गाउँ र पाखापखेरीहरू छन्।
पोखरा बजारबाट भूमिगत भइ बग्ने सेती नदी खासगरी कास्कीको सार्दिखोला र माछापुच्छ्रे गाविसबीचबाट पुरन्चौर, लामाचौर, हेम्जाको याम्दीगाउँको तट क्षेत्र हुँदै पोखरातर्फ बग्ने गर्दछ। यसरी तातोपानीको मूल फुट्ने स्थान खारापानीसम्म यातायातको सुविधा उपलब्ध भएको हुनाले टाढा-टाढाबाट खासगरी हरेक माघे संक्रान्तिका दिनमा बिशेष मेला लाग्दछ भने धार्मिक आस्था राख्नेहरू मङ्सिरदेखि बैशाख महिनासम्म हिउँदभरि नै कुण्डमा नुहाउन, बाथका रोगीहरू तातोपानीमा डुब्न आउने गर्दथे।
प्रायः हरेक बिदाका दिनमा र शुक्रबार दिउँसो स्थानीय एवम् छिमकी गाउँले तथा स्वदेशी, विदेशी पर्यटक वनभोजका लागि खारापानीलाई नै छनौट गर्ने गर्दथे। सो बाढी आउनुभन्दा केही समय अघिसम्म त्यहाँ कोही तातोपानीको कुण्डमा डुबुल्की मारी आनन्द लिइरहेका हुन्थे भने कोही समूह-समूहमा रही वनभोजमा रमिरहेका हुन्थे। कोही नदी छेउका ठूला ठूला ढुङ्गामा र नदीको झोलुङगे पुलमा बसी आफ्नो अनुकूलताको दृष्यावलोकन गर्ने, ती दृष्य क्यामेरामा कैद गर्नमा नै व्यस्त देखिन्थे भने कोही सो सेती नदीको कलकल आवाजले मुक्त भइ नदीको तिरमा बसी चिसो पानी खेलाइरहेका हुन्थे। यसरी त्यहाँको वातावरण संगीत र उल्लासमय भएजस्तो भान हुन्थ्यो। आज त्यो थलो, त्यो सुन्दर पाखापखेरी अर्थात् सृष्टिको एउटा सुन्दर रचना हाम्रा लागि केवल सम्झनामा मात्र छ।
पर्यटकीय, रमणीय अनि धार्मिक आस्थाको धरोहर त्यो खारापानीमा आएको सेती नदीको उक्त बाढी बेमौसमी थियो। आकाशमा बादल छैन, हावामा पानी छैन। सुख्खा एवं टन्टलापुर घाम भएको दिन बाढी आउनु साँच्चै नै अनौठो थियो। जुन बाढी धेरैलाई अभिशाप सिद्ध भयो। त्यो दिन थियो, २०६९ साल बैशाख २३ गते शनिबार बिहान सवा नौ बजे। त्यो कालो दिन फेरि यो धर्तीमा कहिल्यै नदोहोरियोस्।
गाविसहरू तथा जिविस कास्कीबाट प्राप्त विवरण अनुसार कास्कीको उत्तरी भेगमा रहेका माछापुच्छ्रे गाविसअन्तर्गतका एवाङ, साँदल, करुवा, कुकुचे र सार्दी खोलाअन्तर्गत ध्रि्राङ गाउँ र सार्दिखोलाका पाँच दर्जन जति जनावर बगाएको, ७० भन्दा बढी मानिस हताहत भएकोमा तत्कालीन बाढी व्यवस्थापन समितिले ६५ जनालाई मृत घोषित गरेको, जसमध्ये ३० जनाको सिंगो शव, ४० जनाको हात, खुट्टा, टाउकोलगायतका अंगमात्र भेटिएको थियो। डेढ दर्जन घर सो गाँउका अलावा हेमजाको याम्दी फाँटलगायतमा करोडौंको भौतिक सम्पति क्षति भएको थियो।
यसैगरी उक्त बाढीका कारण नवोदित खारापानी बजार एवम् तातोपानी कुण्डको नाम नामेसी मेटिइ त्यो रमणीय स्थल उराठ एवम् उजाड बनेको छ। यो ढुङ्गे बगरमा परिणत भएको छ। बाढीको चपेटका कारण नदी छेउका एवाङ, करुवा र साँदल, भराभरी गाउँ र खारापानीका बासिन्दा विस्थापित भइ बेसाहारा हुन पुगेका थिए। दर्जनौं मजदूर र खारापानीमा सानोतिनो व्यापार, व्यवसाय गरी जीविकोपार्जन गर्दै आएका सयौं परिवार बिचल्लीमा परे। उनीहरूको भविष्य नै डामाडोल हुन पुगी उनीहरूको परीवारजनको भाग्य र खुशी दुबै नियतिले लुटेर लग्यो। त्यो सुन्दर बस्ती क्षणभरमा मरुभूमिमा परिणत भयो। कत्तिको सिउँदो पुछियो, काख रित्तियो, खुशी लुटियो, जीवन उजाडियो। मात्र पीडा, शोक, त्रास, भयभित मानसिकता साँचेर बाँच्नुपर्ने त्यो कस्तो नियति – सो बाढीलगत्तै राहत बोक्नेको नभई रमिता ठानी हेर्नेको हप्तासम्म भिड लाग्नुले मानवता सङ्कटमा परेको भान हुन्थ्यो।
यस प्रकार बाँचेका जति आफ्ना लालाबालाको अनिश्चित भविष्य, अभाव र पीडा साँचेर, हरेक दिनलाई सिंगो जीवन सम्झेर विवशताबस बाँच्नुपर्ने उनीहरूको यो कस्तो नियति – हुन त गत वर्ष देशमा गएको महाभूकम्पले पारेको असरको तुलनामा त्यो बाढीको असर सामान्य लाग्न सक्छ तर त्यो बाढीले पारेको पीडाबोध अहिले पनि पीडितजनलाई भइरहेकै छ। सो विपत्ति देख्ने र सुन्नेहरूको अहिले पनि आङ सिरिङ हुन्छ। प्रकृतिको लीला कति निष्ठुर, कति क्रूर ? त्यो अत्याशलाग्दो दिन, नदिछेउछाउका स्थानीयका लागि निस्सासिँदो क्षण, त्यो कहालीलाग्दो पल अनि झण्डै एक जना र तिनका परिवारको तीखो चित्कार बोकेर आएको त्यो विनाशकारी बाढी त्यो क्षेत्रका वासिन्दाले गुजारेको पनि चौथो वर्ष पुगेको छ।
उक्त बाढीको कारणबारे अनेक अड्कलबाजी गरिए। भूगोलविद्हरूको टोलीले गरेको स्थलगत अध्ययन अनुसार अन्नपूर्ण चौथो हिमालको सात हजार पाँच सय मिटरभन्दा माथिबाट हिँउ पहिरो आएर दुर्इ हजार मिटर तल जलाशय बनेर थुनियो। उक्त थुनिएको जलाशयमा ढुङ्गा, गेग्रान थुप्रिएर बस्यो। पछि पहिरोले उक्त बाँधजस्तो बनेर बसेको जलाशय फुटेर बाढीको रुप लिएको भन्ने डा. कृष्ण केसी संयोजक रहेको अध्ययन टोलीको निष्कर्ष थियो।
वास्तवमा त्यो क्षेत्रको सुन्दर सेरोफेरो र मनमोहक हिमाल अनि सेतै घरहरू रहेको सुन्दरताको महिमा यो सानो आलेखमा वर्णय गरी साध्य नै छैन। भुर्जुङखोला गाउँ -खारापानी बजारमा जुन हाल छैन) स्तरीय होटल, पसल, रेष्टुराँ खुल्नुका साथै नजिकको सैमराङ, घलेर्खर्क, काभ्रे र माछापुच्छ्रे भन्ने गाउँमा हामेस्टेसमेत खुलेका छन्। ती होमस्टेका स्थानीय आगन्तुकप्रति उत्तिकै मात्रामा हार्दिकता, सम्मान व्यक्त गर्दछन्। त्यस क्षेत्रमा ठूला-ठूला कृषि फारम, गाइपालन, केही रेन्बो ट्राउट माछापालन, ढुङ्गा, गिटी उद्योग, कृषिमा उन्नत प्रणालीको अवलम्बनसमेत गर्न थालिएको थियो। जसबाट त्यस क्षेत्रका दशौं हजार व्यक्तिले प्रत्यक्ष/अप्रत्यक्ष रुपमा रोजगार पाइरहेको अवस्थामा अकल्पनीय रुपमा आएको उक्त बाढीबाट उद्योग, व्यवसाय एवम् रोजगारका अवसर अझै पनि उत्तिकै प्रभावित हुन छन्।
यथार्थमा यातायात भनेको सर्वाङ्गीण विकासको मेरुदण्ड मात्र नभएर संसारका मानवको सम्बन्ध जोड्ने माध्यम वा कडी पनि हो। आजभन्दा करिब आठ वर्ष वर्षअघि दातृ संस्था बिश्व बैंकको अनुदान सहयोगमा निर्माण भएको पोखरादेखि खारापानीसम्म करिब २० किमी पिच सडक यतिखेर अत्यन्त जीण्ा भइसकेको छ। विकासको मेरुदण्ड मानिएको उक्त सडकको लामाचौरदेखि खारापानीसम्मका लागि नालीसहितको २५ फिट चौडाइको सडकको निर्माण विस्तार, मर्मत, सम्भार गर्नु अपरिहार्य भएको छ। सुनिन्छ, यस सडकको पुनर्निर्माण छिट्टै सुरु हुँदै छ।
उक्त बाढीबाट प्रभावितमध्ये मृतकका आफन्तलाई तत्कालीन सरकारको तर्फबाट जनही एक लाख क्षतिपूर्र्ति तथा घरबार बिहीनलाई जनही २५ हजारमात्र वितरण गरिएको थियो। जुन रकम क्षतिको तुलनामा नगन्य रकम हो। पोखराको रेडियो अन्नपूर्णको अग्रसरता एवम् सक्रियतामा सङ्ककलित ६५ लाखमध्येबाट केही पीडित परिवारलाई पुनर्बासको व्यवस्था गरिएको थियो। स्थानीय गाउँका समाजसेवी एवं यातायात व्यवसायी वमबहादुर गुरुङसमेतको पहलमा हाल उक्त बाढी प्रभावित खारापानीमा मृतकहरूको स्मृतिमा पार्क बनाउने, तातोपानीको व्यवस्थित कुण्ड बनाउनेलगायतका काम भइरहेका छन्।
जब प्राकृतिक विपत्ति आर्इपर्छ, त्यस बखत सर्व प्रथमतः सम्बन्धित प्रभावित क्षेत्रमा खासगरी तत्कालीन उद्दार तथा राहत वितरण, घाइतेको उपचार, मृतक पक्षलाई उचित क्षतिपूर्र्ति, विस्थापितहरूको पुनःस्थापना एवम् भत्केका, नासिएका भौतिक संरचनाको पुनःनिर्माण गर्नेजस्ता दीघकालीन एवम अल्पकालीन योजनाको तयारी एवम् कार्यान्वयन गर्ने, गराउने मूल दायित्व सरकारकै हो। हुन त कुनै पनि विपत्तिलगत्तै व्यवस्थापन गर्नु आफैंमा चुनौतीपूर्ण कार्य हो।
गत वर्षको बैशाख १२ गते देशमा आएको बिनाशकारी महाभूकम्पबाट देश अझै संकटमै छ। सारा देशबासी पिरोलिएका छन्, उत्तिकै आकुल र व्याकुल छन्। भूकम्पकै कारण हजारौं जनताले अनायासै ज्यान गुमाउन पुगे भने हजारौ बालबालिका टुहुरा र बेसाहारा हुन पुगे। यसैगरी, लाखौं घाइते एवम घरबार विहीन हुन पुगेका छन्। देशका ऐतिहासिक, धार्मिक एवम् सांस्कृतिक महत्व बोकेका धरोहरहरू क्षणभरमै माटोमा विलिन भए। यसरी नेपाल र नेपालीको पहिचान धरोहरहरू नामनमेशी हुनपुग्दा कुन नेपालीको मन चिरिएको छैन होला र ?
देशमा विपद् पर्दा देश-विदेशमा रहेका सम्पूर्ण नेपाली जे, जति सहयोग गर्न सकिन्छ, खुला दिलले उद्धार तथा सहयोगमा जुट्नुपर्छ। भनिन्छ, ‘सयौं हातले कमाऔं, हजारौं हातले बाँडौं।’
(लेखक जिल्ला अदालत मोरङका न्यायाधीश हुन्।)
Related News
सम्बन्धित समाचार
मेरो ओलम्पिक यात्रा संस्मरण
‘स्व’ को खोजीमा प्रतीक्षा
गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण
नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)
बालकथा : मौकाको साटो
hero news full width
मुख्य समाचार
बन्दीपुरमा पर्यटकको चहलपहल
गुप्तेश्वर गुफाको आम्दानीको स्रोत कामधेनु गाई
असाेज २७, २०८१बन्दीपुर घुम्न आएका विदेशीलाई दसैंको टीका
असाेज २७, २०८१बाहिरियो नेपालबाट मनसुन
असाेज २६, २०८१कामकै लागि दसैँ बिर्सिएका ‘पर्यटक भरिया’
असाेज २६, २०८१दसैँको अघिल्लो दिन बाध्यतामा मुलुक छाड्नेहरु
असाेज २६, २०८१