बिरानो आँगन

gopalkhanal गोपाल खनाल
वैशाख १०, २०७६

आफैँ हुर्के बढेको आँगन कसरी बिरानो होला? तातेताते गर्दै, लड्दै खेलेको आफ्नै आँगन बिरानो बन्दाको नमीठो अनुभूति गर्न विवश छ आजको पुस्ता। हिजो लड्दै खेलेको, उफ्रिएको, साथीसङ्गी जम्मा भएर लुकामारी खेलेको त्यो सुखद स्मृति सजाउने मेरो आँगन साँच्चै आजकल बिरानो लाग्न थालेको छ। जीवनको सुरुआत जुन आँगनबाट भयो हो त्यही आँगन बिरानो बनिरहँदा मन चसक्क दुख्छ, मुटु भक्कानिन्छ अनायासै।

न गाउँ हिजोको जस्तै गाउँ छ न त्यो आँगन नै हिजोको जस्तो छ। गाउँहरु रित्तो छन् आँगनहरु सुनसान छन्। आजकल पर्दैनन् आँगनमा बाल पदचापहरु। आँगनमा झार उम्रिएको छ। बूढा बाबा आमाहरु पिँढीको डिलमा बसेर रहर पूरा गर्न शहर छिरेको सन्तान फर्कने झिनो आशा बोकेर बाँचेका छन्। हिजो सन्तानका लागि आफ्ना सबै रहरहरुलाई तिलाञ्जली दिएका बिचरा बाआमाहरु आज उनै सन्तानबाट अपहेलित छन् कति हो कति।

हिजो आमाले भनेको सम्झन्छु साना छउञ्जेल मर्छन् कि भन्ने डर ठूला भएपछि मार्छन् कि भन्ने डर। के भन्नु भा होला जस्तो लाग्थ्यो सानो छँदा आज देखिरहेछु, अनुभूत गरिरहेछु। आज गाउँमा बालबालिका र युवा युवतीको बोली सुन्न पनि मुस्किल छ। सुविधाका लागि शहर छिरेका अनि विदेश पसेकाहरु कति सुविधा भोगिरहेका होलान् तिनै जानून्। हिजो गाउँमा विजुली थिएन टुकीको धुमिल प्रकाशमा काम गर्नु पर्थ्यो, आज विजुली छ। हिजो खबरका निम्ति चिठी कुर्नु पर्थ्यो वा घण्टौँ हिडेर बजार पुग्नु पर्थ्यो फोन गर्न परदेशिएका लाई आज त्यो पनि पर्दैन घरका कुनामा बसेर संसार नियाल्न सकिन्छ।

पढ्नका निम्ति घाम पानी नओत्ने विद्यालय थियो आज लाखौँ खर्चिएर विद्यालय भवन बनेका छन् तर खै हिजो गाउँमा असुविधा थियो र पनि रमाइलो थियो। बाल सखा थिए, काम गर्ने युवा शतिm थियो जोश थियो जाँगर थियो उल्लास थियो। हिजो गाउँमा ठूला कच्चि घरहरु (हाम्रा लागि दरबार) थिए २०७२ सालको भूकम्पले भत्काइदिएपछि आज नामका घर बनेका छन् पक्की पनि छन् तर पनि किनकिन हिजोका जस्ता प्रिय छैनन् रमाइला छैनन्। साँच्चैभन्दा भूकम्पपछि गाउँमा मान्छेभन्दा धेरै घरहरु बनेका छन्।

सरकारले घर बनाउन ३ लाख अनुदान दिने भएपछि बजारमा महल भएका अर्थात् गाउँ छाडिसकेकाहरुले पनि गाउँमा नामको घर बनाएको भेटिन्छ। सगोलमा रहेकाहरुले पनि छुट्टिएको भन्दै छोरापिच्छे घर बनाएकाले पनि गाउँमा अहिले घरैघर बनेको पाइन्छ। आज गाउँमा बनेका एक कोठे घर छ त्यसमा चोटा छैनन् न आँटी छ न बार्ताली नै छ। विनाशकारी भूकम्पले घर, गोठ, बस्ती मात्र भत्काएन भत्कायो सम्बन्धहरु, तहसनहस गरायो स्मृतिहरु, सुकायो पानीका मूलहरु। हिजो हामीले लुकामारी खेलेजस्तो न घर छ न आँगन छ।

आज गाउँमा सँगै खेलेका/मेलापात गरेका बाल सखाहरु छैनन् जो एउटै आँगनमा जम्मा भएर खेल्थे, सँगै पढ्थे। उनीहरु भौँतारी रहेछन् अन्त कतै। घर पक्की बने तर सम्बन्धहरु कच्ची बन्दै गएको देख्छु। आफ्नैबाट असुरक्षित, आफ्नैबाट पीडित त्रस्त मनहरु देख्छु। करोड खर्चिएर गाउँमा विद्यालय भवन बन्यो तर त्यहाँ पढ्न जाने बालबालिका छैनन्। ज्यादै न्यून सङ्ख्या देख्छु विद्यार्थीको। न दक्ष जनशतिm छ, न पर्याप्त दरबन्दी नै । नेपाली विषयमा उच्च शिक्षा लिएकाहरु गणितमा सूत्र रटाइरहेका छन्, अंग्रेजी घोकाइरहेका छन्। योग्यता नै नपुगेकाहरु विज्ञान सिकाउँन तम्सन्छन्। अनि कहाँबाट आओस् गुणस्तर? कहाँबाट सिकून् बालबालिकाले।

त्यसैले धेरै गाउँबस्ती बाबुनानी पढाउनकै लागि सुनसान बनेको देख्छु। विद्यालय भवन बनाइदिएर मात्र हुँदैन त्यहाँ नियमित दक्ष शिक्षक शिक्षिकाको व्यवस्था सरकारले गर्नुपर्छ। शिक्षक राखेर मात्र पनि हुँदैन तिनले पूरा समय विद्यालयमा बसेर पढाउन जरुरी छ, राजनीतिको झोला फालेर। सरकारी विद्यालयमा अंग्रेजी माध्यम नभएर विद्यार्थी नभएका होइनन् व्यवस्था नभएर हो। अंग्रेजी भाषा हो भाषा सबै चिज होइन। भाषा सिक्न एउटै पिरियड पनि पर्याप्त हुन्छ यदि विषय शिक्षकले मन लगाएर पढाउने हो भने।

अंग्रेजी माध्यम बनाउँदैमा विद्यार्थीको ओइरो लाग्छ भन्ने मूर्ख मानसिकता छोडेर आधारभूत तहदेखि विषयगत शिक्षकको व्यवस्था गर्ने हो भने शिक्षामा रहेको असमानता स्वतः हट्न गई गुणस्तर कायम हुन सक्छ। शिक्षाको गुणस्तर कायम हुन नसक्नुको कारण नै आधारभूत तह देखि नै विषयगत शिक्षकको व्यवस्था नगरिनु हो भन्ने बुझ्न जरुरी छ नत्र सरकारको लगानी बालुवामा पानी बराबर हुने निश्चित छ। यसरी शिक्षामा उस किसिमको सुधार गर्न सके गाउँ रित्तने क्रम रोकिने थियो कि।

‘तिमीहरु जस्ता पढेलेखेकाहरु गाउँ फर्कँदैनौ, मरियो भने लाश पनि नउठ्ने भो बाबु गाउँमा।’ एक जना बूढा बाले भनेको सम्झन्छु मन नराम्ररी पिरोलिन्छ। हिजो पढाइका निम्ति शहर छिरेको मलाई पनि त्यो बिरानो बनेको आँगन आफ्नो बनाउने मन छ गाउँ सिँगार्ने मन छ। आमाको आँखाबाट बगेका आँसु पुछ्ने मन छ म जस्ता धेरै युवामा त्यो रहर छ र पनि सडकको उचित सुधार र विकास नहुँदा त्यसो हुन सकिरहेको छैन।

गाउँमै गएर कुनै व्यवसाय गरौँ नियमित यातायातको सुविधा छैन। गाउँ फर्किएका केही साथीहरुको पनि त्यही गुनासो छ। आफ्नै आँगनमा रमाउने चाहना कसलाई हुँदैन र? मान्छे जहाँ पुगेर जति नै उन्नति गरोस् उसले आफ्नो आँगन कदापि भुल्न सक्दैन। बाध्यताले शहर छिरेका र परदेशिएकाहरु आफ्नै आँगनमा फर्कन चाहन्छन् तर खै राज्यले त्यस किसिमको वातावरण कायम गर्न सकेको? गाउँमा जथाभावी बाटो खनिएको छ। हिजोका गोरेटा आज गाउँमा पाइँदैन तर स्मृतिमा गोरेटा र डहरहरु छन्। गोठालो जाने गरेको पाखो पूरै सडक खन्ने नाउँमा ध्वस्त भएको छ, हरियाली हराएको छ। उजाड र निरस बनेको छ पाखा पखेराहरु। योजना बिना जथाभावी खनिएका बाटोका कारण पहिरोको डर छ जताततै। गाउँ छ, बाटाहरु फराकिला बनेका छन् तर त्यहाँ बस्नेहरुको सोच साँघुरै छ।

पहिले भन्दा उल्लिखित धेरै कुराहरु भएर पनि केही नभएजस्तो बनेको छ गाउँ शून्य छ बस्ती अनि उस्तै बिरानो आँगन पनि। हुन त विग खोजेर पाइँदैन। विगतमा जे थियो त्यो आज छैन र आज जे छ त्यो भोलि रहँदैन यो परिवर्तन को नियम नै हो। तर हिजो भएका केही कुराहरु जो आज पनि रहन जरुरी भएर पनि हामीले गुमाएका छौँ सुख खोज्ने बाहनामा। भएको सुख र खुसी बिर्सिएर नभएकामा वा नपाएकामा हामी दुःखी बनिरहेका छौँ। यस्तै आदतको विकास हुँदैछ हामीमा। जे होस् आफैँदेखि बिरानो बनेको आफ्नो आँगनलाई आफू चिनाउनु छ। ब्युँझाउनु छ गाउँलाई। खुसी फिर्ता गराउनुछ डाँडामाथिका घाम बनेका बाबाआमाहरुको मुहारमा। बूढो भयो सब रङ गयो। आँगन भयो परदेश भन्ने उहाँहरुको आशय बुझेर अनि आफ्नो भोलि सम्झेर …….।

तपाइको विचार व्यक्त गर्नुहोस्

अन्य शिर्षकहरू

अन्तराष्ट्रिय फौजदारी अदालत तथा रोम विधान

अमेरिकी रणनीति र नेपाल

थिलथिलिएको युवा मस्तिष्क

औपचारिक कार्यक्रमका झन्झट

हत्याकाण्डको जगमा स्थापित राजनीति

प्रमुख समाचार

परिवर्तन बिरोधीहरु राजतन्त्र फर्काउने कसरतमा छन्– नेपाल