बाल दिवस : एक सन्दर्भ

श्रीकृष्ण पौडेल
भाद्र २९, २०७६

नेपालको १० वर्ष लामो सशस्त्रद्वन्द्वको स्थितिबाट आएको त्यो बेला बालबालिकामाथि भएको ज्यादति विरुद्ध आवाज उठाउने कोही थिएनन्। राज्यपक्ष र विद्रोहीपक्ष दुवैले बालबालिकाको प्रयोग गरी राज्य सत्तासम्म पुग्ने मिसन सफल बनाए तर यिनै बालबालिकाको हकअधिकारप्रति मूक दर्शक बनेर बसेको अवस्था छ। अबको समय बालबालिकाको समय हो उनीहरुको चौतर्फी विकासको समय हो। यसमा सरोकारवाला निकाय अझबढी सजग हुन आवश्यक छ।

बालबालिका देशका भविष्य हुन्। बालबालिकाको सर्वत्र विकास विना हामी सुन्दर देशको कल्पना गर्न सक्दैनौ। उचित संस्कारको विकास र क्षमता अभिवृद्धि गर्दै देशका हरेक निकायबाट बालबालिकालाई सम्मान गर्दै उनीहरुको हक अधिकारप्रति प्रतिबद्ध रहन जरुरी छ। आधुनिक युगले ल्याएको विभिन्न परिवर्तन र निम्त्याएको चुनौतीले आमा तथा बाबुले आफ्ना बालबच्चाहरुलाई पूर्णरुपमा माया र स्याहार दिन नसक्दा हाम्रो समाजले यसको नकरात्मक परिणाम व्यहोर्नु परेको छ।

भनिन्छ, बालक काँचो माटो हुन्, हामीले जस्तो बनाउने हो उनीहरु त्यस्तै हुन्छन्। परिवारका मान्यजनहरुको बानीव्यहोरा र समाजको परिस्थितिबाट नै बालकले सिको गर्ने हुँदा बालकको जीवनमा बाल्यावस्था र पारिवारिक वातावरणको निकट सम्बन्ध हुन्छ। बालकमा अन्य व्यक्तिको तुलनामा कम चेतना हुन्छ, उनीहरु चेतना अभिवृद्धिको चरणमा हुन्छन्। देशले प्रदान गरेका हकअधिकारप्रति उनीहरु अनभिज्ञ हुनु स्वभाविक हो। त्यसैले हामी आफैंले बुझेर राज्यले प्रदान गरेका सेवा सुविधासम्बन्धी हक र अधिकार सम्बन्धमा सचेतना विस्तार हरेक बालबालिकाको घरबाट सूचारु गर्न आवश्यक छ।

बालबालिकाप्रति हुने अत्याचार, दुव्र्यवहार र अपमानजनक व्यवहार विरुद्ध आवाजउठाई उनीहरुलाई सम्मानपूर्वक उनीहरुको क्षमता अभिवृद्धि गर्ने मौका दिनुपर्छ। नेपालको सन्दर्भमा पर्याप्त पारिवारिक ममता नपाउँदा बालकहरुमा आपराधिक मनोवृति बढ्न जान्छ। भविष्यका कर्णधार भनेर चिनिने त्यस्ता बालबालिकाहरुलाई सानो उमेरमा शिक्षादीक्षाको राम्रो व्यवस्था नहुँदा यिनीहरुमा नराम्रो चेतना पलाउन गई विभिन्न खाले दुराचार कार्यमा लाग्ने गर्दछन्।

नेपालको इतिहास हेर्दा १६वर्ष मुनिका बालबालिकाहरुलाई बालक भनिन्थ्यो भने कानूनी रुपमा १८ वर्ष पार नगरेका व्यक्तिलाई बालक भनी परिभाषित गरिएको छ। देशको मूलकानून संविधानले पनि बालबालिकाको हकअधिकारलाई व्यवस्था गरी विभिन्न समयमा बालबालिका सम्बन्धि अन्तराष्ट्रिय घोषणापत्र र सन्धि सम्झौतामा हस्ताक्षर गरिएका बुँदाहरुलाई सहर्ष पालना गरेको पाइन्छ।

विश्वको इतिहास हेर्दा पनि बालबालिकाको अवस्था चिन्ताजनक छ। विश्वयुद्ध प्रथम र द्वितीयबाट सृजित चिन्ताजनक अवस्थाले बालबालिकाको अवस्था नाजुक रहेको थियो। अन्तराष्ट्रिय क्षेत्रमा गरिएका प्रयासले कानून निर्माण गर्न हरेक देशलाई सहज बनाएको छ। बालबचाऊ संस्था कि संस्थापिका ‘एगलेन्टाइन’ जेवल’ प्रथम विश्वयुद्धले गरेको धनजनको क्षति पछि बालबालिकाको विचल्ली देख्न नसकी बालअधिकारको लागि आवाज उठाइन्। सन् १९४८ मा संयुक्त राष्ट्रसंघबाट १० बुँदे बालअधिकार सम्बन्धी विश्व घोषणापत्र जारी भएको थियो। त्यसैगरी सन् १९८९नोभेम्बर २० का दिन संयुक्त राष्ट्रसंघको महासभाबाट बालअधिकार सम्बन्धी महासन्धी पारित्त भएको थियो। महासन्धिले १८ वर्ष भन्दा कम उमेरका सबै मानिसलाई बालबालिका मान्नुपर्छ भनी परिभाषित गरेको छ र उनीहरुको संरक्षण र सम्बर्धन गर्ने दायित्व राज्यको हो भन्ने कुरा स्पष्ट उल्लेख गरेको छ। प्रत्येक बालबालिकालाई बिना कुनै भेदभाव नागरिक राजनैतिक आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकार पाउनुपर्ने र ती सबै अधिकार र अविभाज्य रहनु पर्ने कुरालाई स्थापित गरेको छ।

नेपालले प्रत्येक वर्ष भाद्र २९ लाई राष्ट्रिय बालदिवसको रुपमा मनाउने गरेको छ। नेपालले १९९०, सेटटेम्बर १४ मा बालअधिकार सम्बन्धी महासन्धि अनुमोदन गरेको थियो भने वि.स २०६३ पछि भाद्र २९ गते मनाउन सुरु गरियो। प्रत्येक वर्ष महत्वपूर्ण नारा सहित महत्वपूर्ण सन्देश दिने र बालअधिकार संरक्षण गर्न प्रतिबद्ध रहने घोषणा गरिन्छ।

यस वर्षको नारा ‘सुनिश्चित बालअधिकार समृद्ध नेपालको आधार’ भनी घोषणा गरिएको छ। यो नाराबाट पनि सरकार बालअधिकार संरक्षण गर्न अलि लचक रहेको कुरा पुष्टिहुन्छ। नेपाल संघीय गणतन्त्रात्मक प्रणालीमा प्रवेश गरेसँगै आएका ठूला–ठूलाचुनौती र विकास निर्माण कार्यले बालबालिकाको हकअधिकार संरक्षण गर्ने कार्य ओझेलमा परेको जस्तो महसुस भएको छ।

महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय स्थापना भए पनि देशको दुर्गम भेगमा रहेका बालबालिकाहरु अझै पनि शिक्षाको ज्योतिबाट बञ्चित भएका छन्। विकाससंगै बालबालिकाको हकअधिकार तर्फ पनि विचार गर्न सम्बन्धित निकाय चुकेको अवस्था छ। बालबालिकाको समृद्ध विकास नभए सम्म हामीले कल्पना गरेको समृद्ध नेपाल असम्भव छ।

नेपालको १० वर्ष लामो सशस्त्रद्वन्द्वको स्थितिबाट आएको त्यो बेला बालबालिकामाथि भएको ज्यादति विरुद्ध आवाज उठाउने कोही थिएनन्। राज्यपक्ष र विद्रोहीपक्ष दुवैले बालबालिकाको प्रयोग गरी राज्य सत्तासम्म पुग्ने मिसन सफल बनाए तर यिनै बालबालिकाको हकअधिकारप्रति मूक दर्शक बनेर बसेको अवस्था छ। अबको समय बालबालिकाको समय हो उनीहरुको चौतर्फी विकासको समय हो। यसमा सरोकारवाला निकाय अझबढी सजग हुन आवश्यक छ।

कानूनले प्रत्येक मानिसलाई निश्चित घेरामा बाँधेको हुन्छ। मानवीय क्रियाकलाप जसले समाजमा प्रतिकूल असर पार्छ, त्यस्तो कार्यको नियन्त्रण कानूनले गर्दछ। बालबालिकामाथि हुने अत्याचार, हेलाँ, अभद्र व्यवहारमाथि कानूनले बन्देज लगाएको छ। बालश्रम शोषण विरुद्ध कानून उपयुक्त छन् यसमा निगरानी र नियमनको खाँचो छ। बालबालिकामाथि हुने यौन हिंसा साथै अन्य दुव्र्यवहार बढेसँगै सडक बालबालिकाको संख्या पनि बढेको छ। सरकारले सडक बालबालिकाको पुनस्र्थापनासँगै पारिवारिक हिंसा पनि रोक्न जरुरी छ। घरपरिवारबाट माया, हेरचाह गरी विना भेदभाव, दुव्र्यवहार रहित समाजको स्थापना गर्न जरुरत छ।

एकदिन मात्र मनाउने बालदिवसको सार्थकता र औचित्यमाथि प्रश्न तब उठ्छ जब बालदिवसलाई औपचारिकतामा मात्र सीमित राखिन्छ। अझै पनि बालबालिकाले उनीहरुको हकअधिकारको प्रत्याभूति अनुभव गर्न पाएका छैनन्। घर–घर, समाज–समाजबाट अपहेलित भई बालबालिको अवस्था नाजुक रहेको स्थिति पनि छ। त्यसैले हरेक दिन बालदिवस मनाई बालअधिकारलाई हरेक बालबालिकासम्म पु¥याई उनीहरुको सम्मानपूर्वक बाँच्न पाउँने जन्मसिद्ध अधिकारको प्रत्याभूति गराउन जरुरी छ। यो भन्दा ठूलो सन्देश त जिम्मेवार अभिभावकसँग छ जसले आफ्नो सन्तानको लालन–पालना र शिक्षा दीक्षा प्रदान गर्दछन्। अवको समय शिक्षा–दीक्षा सँगै उचित संस्कार दिनपनि जरुरी छ। बालबालिकाको मानसिकतामा असर पार्ने त्यस्तो कुनै चिजको विस्तार नगर्ने र घरमा सबै परिवारका सदस्य बीच मित्रवत् व्यवहार गर्ने हो भने बालबालिका माथि विश्वास स्थापना हुन्छ जसले उनीहरुको भविष्य स्वर्णिम हुन्छ। सँगै देशले पनि एउटा होनहार र लगानशील व्यक्तित्व पाउँछ। बालबालिका साथै अभिभवक र विद्यालयसँग सम्बन्धित हुने हुनाले संविधानले निर्दिष्ट गरेको हक अधिकारबारे सचेत गराई उनीहरुको चौतर्फी विकासमा सहयोग पु¥याउन आवश्यक छ। बालबालीकाको हरेक गतिविधिमाथि निगरानी गरी गलत कार्यबाट हुने नोक्सानीको बारेमा सचेत गराउनु पर्छ। आफ्ना बालबच्चाको संगत कस्तो मान्छेसँग छ भन्ने कुराले पनि बालमनोविज्ञानमा असर पार्दछ। अभिभावकले आफ्ना बालबच्चालाई समय दिनुपर्छ। राम्रो संस्कार र बानीव्यहोराबाट र पारिवारिक वातावरणबाट बालबालिकाले आफ्नो व्यवहार सञ्चालित गर्ने हुनाले सर्वप्रथम अभिभावक र विद्यालयबाट बालबालिकाको मानसिकतामा असल कुराहरु स्थापित गर्ने कार्यको थालनी आजैबाट शुरुआत गर्न जरुरी छ।

Related News

सम्बन्धित समाचार

hero news full width