वर्षात् ऋतको समापनसँगै शरद् ऋतुको आगमनसँगैको पहारिलो घाममा नेपाली शिक्षकहरुले इतिहासकै ठूलो आन्दोलन गरे । दसैंको आगमनको पूर्व सन्ध्यामा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका हिमालदेखि तराईसम्मका सबै भूगोलका शिक्षक रात्रि बस चढेर नेपाल शिक्षक महासङ्घको आह्वानमा भएको सडक आन्दोलनका लागि काठमाडौं आए । असोज ३ गते काठमाडौंको माइतीघर मण्डलामा लाखौंको सङ्ख्यामा एकीकृत भए । एकातिर सरकार संविधान दिवस र शिक्षा दिवस मनाइरहेको थियो भने अर्काेतिर देशभरका सामुदायिक विद्यालय बन्द गरेर लाखौं शिक्षकहरु माइतीघर मण्डलाको तातो सडकमा गगनभेदी नारा घन्काइरहेका थिए ।
आन्दोलनको कारण थियो – हालै संसदमा दर्ता भएको प्रस्तावित सङ्घीय शिक्षा विधेयक २०८० मा व्यवस्था गरिएका विषयहरु । प्रस्तावित शिक्षा विधेयक विगतमा शिक्षक महासङ्घ लगायत शिक्षकका विभिन्न घटकहरुसँग विभिन्न चरणमा गरिएका सहमतिहरुभन्दा भिन्न प्रावधानसहित सरकारले संसदमा दर्ता गरेपछि विभिन्न दफा उपदफाहरुमा उल्लिखित विषयमा असहमति र असन्तुष्टि सहित शिक्षकहरु आन्दोलित भए ।
सहभागतिका दृष्टिले शिक्षक आन्दोलन सफल भयो । करिब ५० हजार भन्दा बढी शिक्षकहरुको आन्दोलन भएर पनि यो आफैमा अत्यन्त संयमित र सौम्य थियो । यति ठूलो सङ्ख्यामा उपस्थित शिक्षकहरुको भीड यदि अन्य कतिपय आन्दोलनकारी जस्तै उत्तेजित भइदिएको भए यो आन्दोलनको क्षति कति हुन्थ्यो होला ? वास्तवमा उपस्थितिका आधारमा हेर्दा विधेयक मात्र होइन, संविधाननै संशोधन गराउन पनि सक्ने तागत शिक्षक आन्दोलनमा थियो । तर शिक्षक गुरुहरुको त्यो आन्दोलन महासागर जस्तै शान्त र सौम्य अनि बौद्धिक थियो । शान्त, सौम्य र अनुशासित आन्दोलनले कतै पनि कमजोरी नदेखाएपछि काठमाडौंका मेयर बालेन शाहले आफ्नो फेसबुक स्टाटसमा ‘नचुड्नु हेर कोपिला…’ भन्ने महाकवि देवकोटाको बालकविता र शिक्षकहरु आन्दोलनका क्रममा बस्दा माइतीघर मण्डलाको घाँस लछारिएको भिडियो पोस्ट गर्दै शिक्षकप्रति आक्रोश पोखे ।
यो आन्दोलनमा पनि मेयर बालेन शाह पुन विवादमा तानिए । केही समय पहिले विदाका दिन श्रीमतीलाई सरकारी गाडी चढाएर अस्पताल पठाएका बेलामा ड्युटीमा रहेका प्रहरीले रोकिदिएपछि सिंहदरबारमा आगो लगाइदिने धम्कीसहित प्रस्तुत भएर पछि माफी माग्न बाध्य भएका शाह शिक्षकको आन्दोलनमा पनि नराम्रोसँग चिप्लिए ।
बालेन शाह काठमाडौंका मेयर भएर पनि नेपालकै युवाहरुका आशा र भरोसाका प्रतिनिधि शासक हुन् । उनीप्रति हजारौँ शिक्षकहरु सकारात्मक थिए र बालेनका समर्थक पनि । पुराना पार्टीमा समर्थन गर्ने शिक्षकहरुले पनि पछिल्लो समय उनका कामहरुका बारेमा धेरै प्रंशसा गरिरहेका सन्दर्भमा बालेनले शिक्षक आन्दोलनप्रति विषवमन गरे । उनले शिक्षकलाई चिनेनन् अझ भनौं शिक्षक आन्दोलनको शक्तिलाई उनले कमजोर आकलन गरे । पहिलो दिन नै उनले काठमाडौं महानगरका सम्पूर्ण शिक्षकहरुलाई निर्देशन दिँदै आन्दोलनमा गए नगर प्रहरीले विद्यालयमा गएर गयल शिक्षकको हाजिरीमा रातो लगाइदिने बताए । पहिला शिक्षा विभागलाई अनुगमन गर्न निर्देशन दिएका बालेन पछि गएर शिक्षकले निर्देशनको अवज्ञा गर्ने बुझेपछि निकै गले । इतिहासमै कसैले तह लगाउन नसकेको बालेन जस्तो ‘हिरो’ ठानिएको शक्तिशाली मेयरलाई शिक्षकले नै तह लगाइदिएका छन् । शिक्षकहरुले उनको निरङ्कुश आदेशको कडा प्रतिवाद गर्दै उनको निर्देशनलाई ठाडो चुनौती दिए । वास्तवमा बालेनले जति नै शिक्ष सुधारका चिल्ला कुरा गरे पनि उनले वास्तविक रुपमा शिक्षा र शिक्षकलाई बुझेका रहेनछन् भन्ने यो आन्दोलनबाट स्पष्ट भयो । उनले विद्यमान ऐन र व्यवस्थामा शिक्षकलाई सजाय गर्न सक्ने अधिकारी को को हुन् भन्नेसम्मको सामान्य ज्ञान पनि राखेका रहेनछन् भन्ने स्पष्ट भयो । वास्तवमा मैमत्त हात्ती जस्तो बनेका बालेनलाई इतिहासमै पहिलो पटक कडा चुनौती कसैले दियो भने त्यो हो शिक्षक ।
सडकमा शिक्षकले बालेन शाहहरुलाई पढाए । पुलिसलाई पढाए, कर्मचारीलाई पढाए । शिक्षकहरुले आन्दोलनलाई रचनात्मक बनाए । गीत गाए, नाचे । देउडा गाए । विधेयेकका सम्बन्धमा अनेक लयात्मक सङ्गीत र शब्द रचना भरे ।
नवलपूर पूर्व देवचुली नगरपालिकाका शिक्षक होमनाथ न्यौपाने सरको नारा लगाउने तरिका र च्यातिएको झोला समग्र शिक्षक वर्गको रुग्ण अवस्थाको बिम्ब बनेर किस्सा कहानी र समाचारका रुपमा सामाजिक सञ्जालहरुमा छाइरह्यो । टिकटक र फेसबुकका भित्ताहरु थरिथरि शिक्षकका कथा कहानी र आख्यानहरुले भरिए । राष्ट्रिय मिडियामा शिक्षकहरुको आन्दोलन छाइरह्यो ।
यो आन्दोलन किन भयो र के पाएर टुङ्गियो यसै भन्न सकिने अवस्था छैन । आन्दोलनको स्वरुप किन काठमाडौं केन्द्रित नै गरियो ? यो आन्दोलनको समय ठिक थियो कि थिएन ? आन्दोलनको तयारी र व्यवस्थापनमा महासङ्घको सोच र घटनाक्रम मिले वा मिलेनन् ? यावत् प्रश्नहरु आज शिक्षकहरुको मनमनमा उठिरहेका प्रश्नहरु हुन् । यद्यपि नेपाल शिक्षक महासङ्घले यो आन्दोलन एकैपटक काठमाडौं केन्द्रित गरेको भने होइन, यसभन्दा अगाडि नै पालिका, जिल्ला र प्रदेश स्तरमा विरोध कार्यक्रम सम्पन्न भइसकेपछि अन्तिममा राजधानी केन्द्रित आन्दोलन गर्ने पूर्व तयारी अनुसार नै गरेको हो ।
आन्दोलनको तेस्रो दिन साँझ नेपाल सरकार र शिक्षक महासङघ तथा अन्य शिक्षक सम्बद्ध सङ्घ सङ्गठनका नेताहरुका बिचमा १८ बुँदे सहमति भयो । सहमतिमा अस्थायी शिक्षकलाई ७५ प्रतिशत दरबन्दीमा स्थायी गर्ने, शिक्षकको सरुवा व्यवस्थापन समितिको सहमतिमा गर्ने, विभागीय कारबाहीको प्रस्तावित व्यवस्था पुनरावलोकन गर्ने, विशिष्ट श्रेणीका लागि माध्यमिक तह प्रथम श्रेणीमा ५ वर्ष अवधि पुग्नुपर्ने लगायतका विषयमा सम्झौता भएको छ । शिक्षकको दस वर्षमा आवधिक बढुवा हुने, दुर्गम भत्ता र महङ्गी भत्ताको व्यवस्था गरिने लगायतका विषयहरु सहमतिका बुँदामा समेटिएका छन् । त्यस्तै निजी विद्यालयका शिक्षकको अभिलेख सरकारी निकायमा राख्ने, शिक्षक कर्मचारीलाई न्यूनतम पारिश्रमिक तोक्ने र सुरक्षा कोषमा आबद्ध गर्ने लगायतका सहमतिहरु भएका छन् ।
जेहोस् शिक्षकहरुका अधिकांश माग सम्बोधन भएका छन् । उच्च माध्यमिक विद्यालय र राहत शिक्षकहरुका मागहरु पनि सम्बोधन भएका छन् । करिब करिब स्वत: स्थायी नजिक हुने गरी ७५ प्रतिशतको सुरक्षा गरिनु उनीहरुका लागि पनि ठूलो उपलब्धि हो । प्रस्तावित विधेयकमा उच्च माविका शिक्षकको सम्बन्धमा कुनै व्यवस्था नगरिएकोमा आन्दोलनले उनीहरुलाई पनि सुरक्षित गराएको छ । स्थायी शिक्षकका हकमा पनि दस वर्षमा आवधिक बढुवाको व्यवस्था फलदायी हुने छ । ग्रेडमा भएको विभेद र ग्रेड समायोजनको सन्दर्भ नियमावलीमा व्यवस्था गरेर हटाइने उल्लेख गरिएकाले यसलाई पनि सकारात्मक रुपमा लिनुपर्छ । बाल विकास र विद्यालय कर्मचारीका विषयमा न्यूनतम पारिश्रमिक र सुरक्षा कोष ठूलो उपलब्धि मान्नुपर्छ । निजामतीमा जस्तै विशिष्ट श्रेणीको व्यवस्था हुनु र प्रथम श्रेणीमा १० वर्ष पुग्नुपर्ने प्रस्तावित विधेयकको व्यवस्थालाई सुधारेर ५ वर्ष पुगे हुने भन्ने बनाइने भएको छ ।
तर यति भएर पनि १३ हजार मासिक पारिश्रमिक लिएर ससाना बालबालिकाको जटिल व्यवस्थापनमा दिनरात खट्ने बालविकासका शिक्षकहरुको सम्बन्धमा स्पष्ट नलेखिनु दु:खद् छ । विद्यालय कर्मचारीको दरबन्दी व्यवस्था गरेर आयोगमा लैजाने भनिए तापनि हाल थोरै तलबमा काम गर्न बाध्य उनीहरुका सम्बन्धमा सहमतिमा स्पष्ट व्यवस्था भएन । अर्कोतर्फ शिक्षकको तहगत बढुवाको मागलाई यो सहमतिले कतै सम्बोधन गरेन । स्नातकोत्तर गरेर प्राथमिक तहमा वा निम्न माध्यमिक तहमा पढाइरहेका शिक्षकहरु बढुवा हुँदा श्रेणीमात्र बढुवा हुने तर माथिल्लो तहमा जान नपाउने व्यवस्थाको अन्त्य जरुरी थियो, त्यो पनि हुन सकेन । आन्दोलनले प्राथमिक तहको शिक्षक कहिल्यै निम्नमाध्यमिक वा माध्यमिक तहको शिक्षक नभई मर्नुपर्ने स्थितिको अन्त्य गर्न सकेन । महसङ्घले सामुदायिक विद्यालयका प्रअहरुको मासिक २०० र ५०० भत्ताको विद्यमान व्यवस्थालाई नियमावलीतिर सोझाएर छल्न खोजेको देखिन्छ । प्रधानाध्यापकका सम्बन्धमा पनि ठोस केही निर्णय गर्न सकेन ।
अन्तत: नेपाल शिक्षक महासङ्घले गरेको आन्दोलनले सामुदायिक विद्यालयसँग जोडिएका धेरै विषयहरु सतहमा ल्याउन सफल भयो । नेपालमा कति थरि शिक्षक रहेछन् र शिक्षकका पीडाहरु के के रहेछन् भन्ने विषयमा आम समुदायले पहिलो पटक जान्ने अवसर प्राप्त गर्यो । आम सञ्चार माध्यम शिक्षकका विषयले ढपक्कै ढाकिए । ऋषि धमला र पुण्य गौतम जस्ता सेलिब्रेटीहरुले शिक्षकको पक्षमा माइतीघरमै पुगेर भाषण ठोके । सामुदायिक विद्यालयमा पढाउने शिक्षकहरुको वास्तविक तस्वीर यो आन्दोलनले सतहमा मात्र ल्याइदिएन, शिक्षकहरुको अभूतपूर्व एकता र पेसाप्रतिको प्रतिबद्धतालाई पनि छताछुल्ल पारिदियो ।
नेपालमा यति ठुलो सङ्ख्यामा आन्दोलनकारीहरु उपस्थित भएर यति शान्त आन्दोलन गरेको सायद इतिहासमै पहिलो पटक होला । एक जना पनि घाइते भएन, एउटा सानो पनि घटना भएन । यति ठुलो आन्दोलन यति सौम्य र शालिन तरिकाले भयो कि त्यो अरु आन्दोलनकारीहरुले पनि गुरुहरुबाट सिक्न लायक छ । कविता, गीत, सङ्गीत, नाच र साङ्गीतिक प्रस्तुतिहरुसहित शिक्षकले सडकमा आफ्ना आवाजहरु बुलन्द बनाए । सार्वजनिक शिक्षालाई ध्वस्त पार्नेहरुप्रति कटाक्ष गरे । शिक्षामन्त्रीको नियतमा पनि प्रश्न उठाए ।
शिक्षकहरु सबैभन्दा आक्रोशित विधेयक ल्याउने सरकारी पक्षसँग र त्यसमा जोडिएका घटकहरुसँग नै थिए । आम शिक्षकहरुमा निजामती सेवाका उपल्लो स्तरका सचिवहरु तथा अधिकृतहरुको शिक्षक हेर्ने दृष्टिकोण सकारात्मक नभएको बुझाइ रहँदै आएको छ । राज्यले पनि शिक्षकहरुलाई निजामती सेवा सरह सेवा सुविधा दिने कुरामा कहिल्यै रुचि देखाएन । यो आन्दोलनले निजामती सेवामा रहेर शिक्षकलाई हेप्ने कथित सेवकहरुलाई शिक्षक हेर्ने आफ्नो दृष्टिकोणलाई पुर्नविचार गर्नुपर्ने ठाउँमा पु्याइदिएको छ । यसपालि शिक्षकहरुले स्थानीय तहले अधिकार पाउँदा राजनैतिक प्रतिशोधका आधारमा सरुवा गरेर दु:ख दिने प्रवृत्ति बढेकोमा चिन्ता व्यक्त गर्दै बालेन शाहहरु जस्ता छोटे राजाहरुप्रति गम्भीर आपत्ति र आक्रोश प्रकट गरे ।
शिक्षकको आन्दोलनपछि सामाजिक सञ्जाल तथा मिडियाहरुमा दुई थरि दृष्टिकोणहरु छताछुल्ल देखिए । एक थरि शिक्षक आन्दोलन सही भएको भन्दै समर्थनमा उत्रिए भने अर्को थरिले विद्यालय बन्द गरेर आन्दोलनमा जानु नाजायज भएको भन्दै विपक्षमा तर्क प्रस्तुत गरे । कतिपय स्थानीय तहका नेता, व्यवस्थापन समितिका अध्यक्ष, सांसद, पार्टीका पदाधिकारीहरु पहिलो दिन चुपचाप बसे पनि दोस्रो दिन माहोल शिक्षकको पक्षमा देखेपछि एकाएक समर्थन जनाउन तछाडमछाड पनि गरे । शिक्षकलाई समर्थन गर्नेहरुमा काङ्ग्रेसका युवा नेता विश्वप्रकाश शर्मा र चन्द्र भण्डारी, मधेशी नेता सिके राउत, एमाले अध्यक्ष केपी ओली, पत्रकार ऋषि धमला, पुण्य गौतम अग्र मोर्चामा थिए भने विरोध गर्नेमा एमाले नेता योगेश भट्टराई, मेयर बालेन शाह, स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, सांसद सुमना श्रेष्ठ, पत्रकार समा थापा लगायतका व्यक्तिहरु अगाडि देखिए । धेरैजसो पर्ख र हेरको रणनीतिमा देखिए ।
शिक्षक मुलुकको बौद्धिक वर्ग हो । ऊसँग तागत छ । आज देश चलाउनेहरुलाई पनि गुरुहरुले नै पढाएका हुन् । गुरुहरुलाई समस्या पर्दा नेता भने दुलोभित्र छिरेर बसे । आखिर शिक्षककै कारण ती सत्तामा पुगेका थिए तर शिक्षकको समस्यामा बोल्नु तिनले आफ्नो धर्म सम्झिएनन् । शिक्षकका नाजायज मागमा बोल्नु आवश्यक थिएन तर जायज माग पूरा गर्न तिनीहरुले कुनै सानो प्रयास पनि गरेनन् ।
अब शिक्षकहरुको पनि अग्निपरीक्षा सुरु भएको छ । अब शिक्षकले आफूलाई आवश्यक पर्दा साथ नदिने राजनैतिक दलका झोला बोक्न बन्द गर्ने कि नगर्ने ? जुनसुकै दलमा आस्था राखे पनि शिक्षकको यत्रो आन्दोलनमा साथ नदिने तिनका माउ पार्टीका नेताप्रति फेरि पनि विश्वास गर्ने कि नगर्ने ? अब पनि राजनैतिक दलका नेताको गुणगान गाउने हो कि होइन ? चुनावमा वा महाधिवेशनमा नेतालाई जिताउने काम बन्द गर्ने हो कि होइन ? यी प्रश्नहरु शिक्षकका लागि आगामी दिनका यक्ष प्रश्नहरु हुनेछन् । आम मान्छेहरुले शिक्षकहरुप्रति लगाएका यस्तै केही आक्षेपहरु छन्, जसलाई चिर्ने प्रयास स्वयम् शिक्षकले नै गर्नुपर्ने छ ।
‘शिक्षकले राजनीति गर्छन्, पढाउँदैनन’, ‘शिक्षकहरु पार्टीका झोले कार्यकर्ता भए’ ‘शिक्षकहरुले आफ्ना छोराछोरी सरकारीमा पढाएनन्’ जस्ता आरोपलाई भने शिक्षकले आगामी दिनमा जुनसुकै हालतमा चिर्नुपर्ने छ । सरकारी विद्यालयको नतिजा उत्कृष्ट बनाउनुपर्ने छ । गुणस्तरको विषयमा शिक्षकको भूमिका अझै महत्वपूर्ण हुनु जरुरी भएको छ । आम समाजले शिक्षकमाथि जुनजुन विषयमा औँला उठाए, ती विषयमा समग्र शिक्षक वर्ग संवेदनशील हुनु जरुरी छ । शिक्षाको रुपान्तरणको पहिलो खुट्किलो शिक्षककै रुपान्तरण पनि हो भन्ने शिक्षकहरुले पनि बुझ्नुपर्ने छ ।
Related News
सम्बन्धित समाचार
मेरो ओलम्पिक यात्रा संस्मरण
‘स्व’ को खोजीमा प्रतीक्षा
गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण
नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)
बालकथा : मौकाको साटो
hero news full width
मुख्य समाचार
बन्दीपुरमा पर्यटकको चहलपहल
गुप्तेश्वर गुफाको आम्दानीको स्रोत कामधेनु गाई
असाेज २७, २०८१बन्दीपुर घुम्न आएका विदेशीलाई दसैंको टीका
असाेज २७, २०८१बाहिरियो नेपालबाट मनसुन
असाेज २६, २०८१कामकै लागि दसैँ बिर्सिएका ‘पर्यटक भरिया’
असाेज २६, २०८१दसैँको अघिल्लो दिन बाध्यतामा मुलुक छाड्नेहरु
असाेज २६, २०८१