बालबालिकामा दण्ड र सजायको प्रयोग

युवराज पौडेल
वैशाख २०, २०७६

मलाई मेरी आमाले पिठ्युँमा बोकेर पहिलो पटक कक्षा एकमा पढाउन लैजानुभएको मलाई आज पनि सम्झना छ। विद्यालय गएको दोस्रो दिन पनि आमाले मलाई विद्यालयमा छाडेर फर्किनुभएको थियो। आमा फर्किएपछि गुरुले मलाई वर्णमालामा भएका क, ख, ग पढ्न लगाउनुभएको थियो। विद्यालय जान सुरु गरेकै भोलिपल्ट मैले ती अक्षर पढ्न जान्ने कुरै थिएन। मैले ती अक्षर पढ्न नजानेपछि गुरुले मलाई बाँसको लठ्ठीले हातमा पिट्नुभएको थियो। गुरुको पिटाइले मेरो दिमाग तिलमिलाएको थियो। डर र त्रासका कारण पिसाबले मेरो कट्टु भिजेको थियो। विद्यालय सुरु गरेकै दोस्रो दिनमा भएको यस घटनाले विद्यालय र गुरुहरूप्रतिको मेरो पूर्ववर्ती धारणामा ठूलो परिवर्तन ल्याइदिएको थियो। मेरी आमाले भनेजस्तो विद्यालय मेरा लागि रमाइलो र सुखद मैले महसुस गरिरहेको थिइन। आमाले विद्यालय जानुभन्दा अगाडि विद्यालयका बारेमा जेजति सुन्दर तस्विरहरू मेरो दिमागमा भर्नुभएको थियो, ती सबै तस्विरहरू त्यहाँ गल्र्यामगुर्लुम ढलिरहेका थिए, खण्डहर बनिरहेका थिए। बरु गुरुहरू मलाई बाघजस्ता डरलाग्दा लाग्न थालेका थिए। विद्यालय बाघ बस्ने गुफाजस्तो लागिरहेको थियो। सिकाउने मानिस नै बाघजस्ता लाग्न थालेपछि त्यहाँ सिक्नेभन्दा पनि कसरी भाग्ने भन्ने समस्या खडा भइरहेको थियो। त्यो घटनापछि म कयौँ दिन विद्यालय जान सकेको थिइन। मलाई सामान्य र सहज अवस्थामा फर्किन धेरै समय लागेको थियो। हेर्दा सामान्य जस्तो देखिए पनि यो घटनाले मेरो सिकाइ यात्रामा निकै गम्भीर र दीर्घकालीन प्रभाव पारेको छ। आज पनि मलाई त्यो घटनाले बेलाबेलामा चिमोटिरहन्छ। आज आएर त्यो समय सन्दर्भ, परिवेश र चेतना फेरिएको छ। हिजो मलाई सजाय दिने गुरुको भूमिकामा आज म आफै पुगेको छु। त्यो घटनाको समयभन्दा तिन दशक पछाडिको चेतना बोकेर आएका बालबालिकालाई आज मैले विद्यालयमा दिनहुँ साक्षात्कार गरिरहेको छु। सिकाइको प्रारम्भिक यात्रामै घटेको त्यो घटनाको एक मूल पात्रको भूमिकामा आज म उभिँदै गर्दा मैले यस बिषयमा केही कुरा राख्नैपर्ने महसुस गरेको छु।

यहाँ चर्चा गर्न खोजिएको विषय सिकाइका क्रममा हुने दण्ड र सजायको हो। सिकाइमा दण्ड र सजायको प्रयोगको अवस्था तथा यसले सिकाइमा पार्ने नकारात्मक प्रभावका सम्बन्धमा केही विषयहरू राख्नु सान्दर्भिक देखिएको छ। सामान्यतः वयस्कले बालबालिकाको व्यवहार परिवर्तन गर्न गरेको कुनै शारीरिक र मानसिक कष्टको अनुभूति गराउने क्रियाकलाप नै दण्ड वा सजाय हो। दण्ड वा सजाय मूलतः शारीरिक र मानसिक सजाय र प्रत्यक्ष वा अप्रत्यक्ष सजाय गरी दुई प्रकारका देखिन्छन्। प्रत्यक्ष सजाय भन्नाले देखिने खालका शारीरिक यातना जस्तैः पिट्ने, कपाल तान्ने, चिमोट्ने, उठबस गराउने, कुखुरा/भ्यागुता बनाउने आदिलाई बुझिन्छ भने अप्रत्यक्ष सजाय भन्नाले प्रत्यक्ष चोटपटक नदेखिने खालका मानसिक यातनासँग जोडिएका सजायहरू जस्तैः धेरै गृहकार्य दिने, गाली बेइज्जती गर्ने, अपमानजनक शब्दबाट सम्बोधन गर्ने आदिलाई बुझिन्छ। बालबालिकाले आफूले भनेको कुरा जानेनन् वा मानेनन् भनेर शिक्षक वा अभिभावकले दण्ड सजाय दिने प्रवृत्ति पाइन्छ। दण्ड र सजाय दिने परम्परागत विधि, स्वरूप र तौरतरिकामा अहिले आएर ठूलो परिवर्तन आएको छ। बालबालिकालाई दण्ड दिनुहुँदैन भन्ने मान्यता पनि विकसित हुँदै गइरहेको छ। बालमैत्री विद्यालय र बालमैत्री विद्यार्थीका अवधारणाहरू पनि हुर्किँदै गइरहेका छन्। यस क्षेत्रमा धेरै सकारात्मक प्रयासहरू भएका छन् तापनि अझै निदाएर बस्ने अवस्था भने छैन। एउटा अध्ययनका अनुसार नेपालमा करिब सत्तरी प्रतिशत बिद्यालय अझै बालमैत्री छैनन् (आचार्य, २०७६ : ७)। दण्ड र सजायका कारण हुने शारीरिक क्षतिभन्दा मानसिक क्षति बढी गम्भीर प्रकृतिको हुने गर्दछ। बाहिर हेर्दा सामान्य जस्तो देखिए पनि यसले बालबालिकाको मानसिकतामा गहिरो र दीर्घकालीन प्रभाव वा असर पारेको हुन्छ। बालबालिकामा दण्ड र सजाय पाउने डरले गर्दा विभिन्न मनोसामाजिक समस्याहरू, जस्तैः तनाव, एन्जाइटी, डिप्रेसन, घरबाट भाग्ने, कुनै विषयमा ध्यान केन्द्रित गर्न नसक्ने आदि समस्याहरू उत्पन्न हुने खतरा रहन्छ। यसले बालबालिकामा सिकाइप्रति नै नकारात्मक धारणा पैदा गराउँछ। शिक्षक वा बाबुआमाप्रति स्नेह वा ममताको भावका सट्टामा बदला वा प्रतिशोधको भावना पैदा गराउँछ। डर वा त्रासको जगमा सिकाएको कुनै पनि ज्ञान, सीप वा धारणा दिगो हुन सक्दैन। यसले सिकाइबाट सिकारुलाई निरुत्साहित बनाउने भएकाले दण्ड पाएका बालबालिकाले प्रगति गर्न सक्दैनन्। दण्ड वा सजायले बालबालिकाभित्रको प्रतिभा वा सिर्जनालाई समाप्त पारिदिन्छ। ती कहिल्यै रचनात्मक बन्नै सक्दैनन्। तिनीहरूले प्रकृतिबाट जन्मजात् रूपमा लिएर आएको क्षमता पनि फल्न फूल्न पाउँदैन।

दण्ड र सजायको मूल सम्बन्ध हाम्रो सिकाइ पद्धतिसँग जोडिएको छ। घोक्ने र घोकाउने परम्परासँग यसको गहिरो साइनो छ। शिक्षकले निश्चित पाठ घोक्न दिने अनि नजाने वा घोक्न नसके शारीरिक वा मानसिक यातना दिने प्रवृत्तिका जगमा नै यसको विकास भएको देखिन्छ। यस्तो प्रवृत्तिले आजसम्म पनि हाम्रा शिक्षण संस्थाहरूलाई छाडेको छैन। घर परिवारमा पनि दण्ड वा सजायको प्रवृत्तिमा केही कमी आए पनि पूर्ण सुधार भइसकेको छैन। एकदमै बालमैत्री भनिएका विद्यालय वा शिक्षित वातावरण उपलब्ध गराएका भनिएका घर परिवारमा पनि कुनै न कुनै किसिमको दण्ड वा सजायको प्रयोग बालबालिकामाथि भइरहेको यथार्थलाई विभिन्न अध्ययनहरूले देखाइरहेका छन्। शिक्षण संस्थाहरूमा अहिले ‘होमवर्क आतङ्क’ एउटा भयङ्कर त्रासदी बनिरहेको छ। भनेको नटेर्ने बालबालिकालाई उसले गर्नै असम्भव हुने खालका होमवर्क क्रियाकलाप दिने प्रवृत्ति बढिरहेको छ। कतिपय अभिभावकहरूले नै आफ्ना छोराछोरीलाई गृहकार्य थोरै भयो भनेर विद्यालयका शिक्षकहरूसँग गुनासो गरिरहेको हामीले सुनिरहेका वा देखिरहेका छौँ। यो पनि एउटा आधुनिक दण्ड वा सजायको स्वरूप हो। आमाको काखमा दूध चुस्दै रमाउनुपर्ने बालबालिकालाई सात/आठ वटा किताबसहितको गह्ङ्गो झोलाको भारी बोकाउँदै गधाजस्तो बनाएर नर्सरी वा मन्टेश्वरीका नाममा पठाउने प्रवृत्तिभित्र पनि दण्ड र सजायको नौलो प्रयोग देख्न सकिन्छ। अझ खासगरी निजी विद्यालयहरूमा यो प्रवृत्ति बढी फस्टाएको पाइन्छ।

अभिभावक वा शिक्षकले बालबालिकाहरूलाई दण्ड वा सजाय दिएर उनीहरूको व्यवहारमा सकारात्मक परिवर्तन ल्याउन खोज्नु केवल मूर्खतामात्र हो। यसबाट बालबालिकामा सकारात्मक परिवर्तन आउँदैन। बरु यसबाट बालबालिकाहरू झन उदण्ड, मूर्ख र अटेरी स्वभावका हुँन्छन्। यसबाट उनीहरूमा सकारात्मक परिवर्तन आउँदैन बरु उल्टो नकारात्मक भावना पैदा हुन्छ। उनीहरूमा शिक्षक र अभिभावकप्रति प्रतिशोधी भावना उत्पन्न हुन्छ। त्यसैले अब सिकाइका क्रममा हुने दण्ड र सजायलाई पूर्ण रूपमा निरुत्साहित गरिनुपर्छ। दण्ड र सजायबाट बालबालिकाको व्यवहार परिवर्तन गराउन खोज्ने प्रवृत्तिका सट्टामा यसका अन्य वैकल्पिक उपायहरूका बारेमा जनमानसमा व्यापक छलफल चलाइनुपर्छ। मूलतः अभिभावकहरूलाई दण्ड र सजायका वैकल्पिक उपायहरूका सम्बन्धमा प्रशिक्षण दिइनुपर्छ। विद्यालयमा मात्र यस प्रवृत्तिलाई सुधारेर नहुने भएकाले घरपरिवारमा अभिभावकलाई पनि यस सम्बन्धी सचेतना अभिवृद्धि गर्नु आवश्यक देखिएको छ। वर्तमान सन्दर्भमा धेरै मानिसहरूलाई बालबालिकालाई दण्ड सजाय दिनुहुँदैन भन्ने कुरा थाहा त छ, तर यसका अन्य वैकल्पिक उपायहरूको बारेमा पर्याप्त ज्ञान छैन। बालबालिकाको व्यवहारमा सकारात्मक परिवर्तन ल्याउनका लागि दण्ड र सजायका विकल्पमा गर्न सकिने उत्प्रेरणा वा सम्बलन सम्बन्धी क्रियाकलापहरूको पर्याप्त जानकारी नहुँदा उनीहरू समस्यामा परिरहेको हामीले अनुभव गरेका छौँ।

त्यसैले, बालबालिकालाई पीडा दिएर होइन, खुशी दिएर सिकाउन खोजौँ। गीत गाएर, रमाइलो वातावरण बनाएर, हौसला तथा प्रेरणा दिएर, उनीहरूलाई आदर गरेर सिकाउने प्रयास गरौँ। आदरसूचक शब्दहरूः तपाईँ, ज्यू, हजुर भनेर सम्बोधन गरौँ, जसले गर्दा उनीहरू सम्मानित भएको महसुस गरून्। उनीहरूलाई आफै सिक्न, प्रयोग गर्न दिऔँ। उनीहरूलाई मनपर्ने खेल खेलाउँदै सिकाऔँ, सकारात्मक सन्देश दिने लोककथाहरू भनौ। उनीहरूको उमेर र रुचिलाई ख्याल गरौँ। उनीहरूलाई हाम्रो कुरा नलादाँै। हामीजस्ता बनून् वा फलाना जस्ता बनून् भनेर अपेक्षा नराखौँ। बालबालिकालाई तुलना गरेर अपमानित गर्ने काम पनि नगरौँ। कमजोर विद्यार्थीलाई ‘यसको काम छैन’ नभनौँ बरु ‘यसले गर्न सक्छ’ भनेर उत्साहित बनाऔँ। सिकाइमा गल्ती गर्नु स्वभाविक हो, गल्तीबाटै सिक्दै जाने हो, गल्ती नगरी दुनियाँमा कसैले सिक्नै सक्दैन भन्ने कुरा बुझौँ र बुझाऔ।

(लेखक काजीमान हरिटीका मावि स्याङ्जाका शिक्षक हुन्। सं.)

Related News

सम्बन्धित समाचार

hero news full width