बधाई छ ! वामदेव सर

उपप्रा. रामप्रसाद सुवेदी उपप्रा. रामप्रसाद सुवेदी
असाेज २०, २०७७

नेपालको राजनीतिको गोल चक्करको सबैभन्दा चर्चित नाममा अब कसैको शङ्का छैन । राजनीतिका हरेक खेलहरुमा जहाँ जहिले र जतिखेर गार्‍हो साङ्ग्रो जुनसुकै वेलामा पनि वामदेव गौतम केन्द्रबिन्दुमा रहने गरेको कुरामा विमति नै छैन । यो पंक्तिकारले पनि धेरै पहिले विद्यार्थीकालदेखि नै वामदेव सरको नाम सुनेको थियो । पहिला कम्युनिष्टमा एक किसिमको शिष्टता र अरुलाई आदर, सम्मान गरेर बोल्ने चलन थियो । आफूभन्दा सानाठूला जो भएपनि ‘सर’ शब्दद्वारा सम्मान गरिन्थ्यो । अहिले जस्तो कम्युनिष्ट नेताहरुमा एकले अर्कालाई छिर्के हान्ने, अभद्र र अशिष्ट शब्दद्वारा अपमान गर्ने चलन थिएन । अहिले जस्तो एकजना कुनै पदमा पुगेको बेलामा उसलाई सहयोग गर्नुभन्दा छिर्के हानेर लडाउने चलन भएको भान हुँदैनथ्यो । हुनतः भूमिगतकालमा पनि एक जना पार्टी महासचिव हँुदा अर्काले लडाउने नगरेका त हैनन् तर अहिले जस्तो सतहमा नै आउने गरी छरपष्ट थिएन ।

यो पङ्तिmकारले नेपालको राजनीतिको र चिनेको र सुनेको वि.सं. २०३६ सालमा कक्षा ८ मा माध्यमिक तहमा पर्वतको त्रिभुवन मा.वि. शङ्कर पोखरीमा पढ्दादेखि हो । त्यतिवेला भर्खरै नयाँ स्कूलमा जाँदा त्यो विद्यालयका प्र.अ. ले तिमी यता लाऊ है भने । उनी नेपाली कांग्रेसका सक्रिय सदस्य नै थिए । विचार परिवर्तन भई हाल्यो, त्यसैले त्यो एक वर्ष ने.वि.संघ भई टोपलियो । त्यसपछि कक्षा ९ मा भवानी मा. वि. फलेवास गएपछि त राजनैतिक आस्थाको पारो १८० डिग्रीमा नै परिवर्तन भयो । २०३७ सालको भवानी मा.वि. फलेवासको स्ववियू चुनावमा सक्रिय सहभागिताका साथै त्यही वर्ष त्रिभुवन मा.वि.शङ्कर पोखरीमा भएको स्ववियू चुनावमा फलेवासबाट अखिलको पक्षमा ढुङ्गामुढा गर्न पनि गइयो । २०३९ सालमा एस.एल.सी पास गरेर पृथ्वीनारायण क्याम्पस आएपछि त्यहाँ कम्युनिष्ट माहौलको राजनैतिक अवस्था थियो । गाउँमा पञ्च र कट्टर काङ्गेसका छोराछोरी पनि अखिल भएर नारा घन्काउँदै हिँड्थे । त्यतिवेलाको विद्यार्थीकालमा दिनभरि पढे पनि रातभरि नेताले वालिङ् र पोष्टरिङ् गर्नका लागि हिँडाउँथे । होस्टेलमा बस्नेहरुको जिम्मा बगर हुन्थ्यो भने हामी नयाँबजारतिर बस्नेहरुलाई नेताहरुले पोखराको बसपार्क, एयरपोर्टतिर वालिङ र पोस्टरिङ् गर्न रातारात दौडाउँथे । त्यतिवेला यसरी हामीलाई दौडाउने अहिलेका राष्ट्रिय सभाका अध्यक्ष सर, प्रतिनिधि सभाका वर्तमान र भू. पू. सांसद सरहरु हुनुहुन्थ्यो ।

वि.सं. २०४३ सालमा हिमालय मा.वि. गोर्जेमा पढाउन थालेदेखि बाट भूमिगत कम्युनिष्ट पार्टीका कार्यकर्ता र पार्टीका गतिविधिसँग हिमचिम हुनथाल्यो । जुन घरमा डेरा थियो त्यही घरमा उनीहरू सेल्टर बनाउँथे । अनि घरबेटीले नचाहँदानचाहँदै कमरेडहरुलाई खुवाउने, सुताउने र स्याहारसुसार गर्नु पर्ने हुन्थ्यो । कोहीकोही कमरेडको आचरण समायोजित हुन्थ्यो, घरको व्यवहार र चाल चलनअनुसार मिल्ने खालको थियो भने कसैमा ठालुपन देखिन्थ्यो । जसले सेल्टर दिएको छ उसैले भरपुर स्याहार सुसार गर्नुपर्ने हुन्थ्यो । अनि कसैको यताउति आँखा सन्काउने बानी पनि नभएको हैन । आफू भने त्यतिवेलाका नेता र पार्टीका कार्यकर्ता भनेपछि मरिमेट्ने र उनीहरुका लागि जे गर्नपनि पछि परिँदैनथ्योे । वि.सं. २०४३ सालमा तत्कालीन मालेले जनपक्षीय उम्मेदवारका रुपमा केही कमरेडहरुलाई बाहिर ल्याएपछि देशमा कम्युनिष्ट माहौल बढ्यो । पञ्चायती व्यवस्थाका विरुद्धको आन्दोलनले संस्थागत रुप लिन थाल्यो र वि.सं. २०४६ सालमा पञ्चायती व्यवस्था ढलेपछि पार्टीगत गतिविधिले मूर्तरुप धारण गर्‍यो। तत्कालीन माले र माक्र्सवादी एकीकरण भएर ने.क.पा. एमाले बन्यो । मदन भण्डारीले बहुदलीय व्यवस्थापछिको एमालेको चुनावी रथ हाँके । काठमाडौलगायत केही चर्चित ठाउँहरुमा एमालेले चुनाव जितेर विश्वमा नेपाल देश र स्वयं कम्युनिष्ट पार्टीको चर्चा हुन गयो । त्यो चुनावमा नेपाली काङ्ग्रेसले प्रचण्ड बहुमत प्राप्त गर्‍यो भने एमाले बलियो प्रतिपक्षमा रह्यो । मदन भण्डारी रहुन्जेल कम्युनिष्ट पार्टीमा अरूको त्यति चर्चा थिएन । २०५० सालमा उनको दासढुङ्गा दुर्घटनामा देहान्त भएपछि अरू गुमराहमा रहेका कमरेडहरु पनि बाहिर देखिन थाले । वि.सं. २०५१ सालमा काङ्गे्रसले आफूलाई ततेर्न सकेन र प्रचण्ड बहुमत हुँदाहुँदै मध्यावधि निर्वाचनको घोषणा ग¥यो र मनमोहन अधिकारीको नेतृत्वमा एमालेले संसदमा ठूलो पार्टीका रुपमा आफूलाई उपस्थित गराई अल्पमतको सरकार बनाउने अवसर पायो । उक्त अल्पमतको सरकार धेरै समय नटिके पनि धेरै जनपक्षीय कामहरु गरेकाले कम्युनिष्ट सरकार र पार्टीको साख विश्वभरि फैलाउन सफल भयो ।

वि.सं. २०५१ सालमा बनेको अल्पमतको सरकारमा धेरै जसो कमरेडहरु मन्त्री हुन हानिए । मन्त्रीमण्डलबाट बाहिर ठूला नेतामा वामदेवमात्र रहन गए । वामदेवलाई पार्टीको जिम्मा दिन संरचनामा नभएको उपमहासचिवको पद सृजना गरियो र त्यहाँबाट बामदेव कमरेडको चर्चा आउन थाल्यो । एमालेको सरकार ढलेपछि संसद विघटन र पुनस्र्थापनाका खेल हुन थाले । केही समय शेरबहादुर देउवा नेतृत्वको सरकार बन्यो, त्यो पनि ढलेपछि लोकेन्द्रबहादुर चन्दको नेतृत्वको सरकार बन्यो, २०५१ सालमा सरकारमा जान नपाएका वामदेव एमालेको तर्फबाट उपप्रधान तथा गृहमन्त्री भएर सरकारमा गए । त्यतिवेला स्थानीय चुनाव सम्पन्न भयो उक्त स्थानीय चुनाव वामदेव कमरेड्कै नेतृत्वमा थियो र त्यतिवेला एमालेले करामत नै देखायो । जे जस्तो चुनावको प्रतिफल आएपनि यो वि.सं. २०५१ सालमा एमालेमा मनमोहनले रोपेको बीउको प्रतिफल दिएको मात्र थियो ।

वि.सं. २०५४ सालपछि एमालेमा व्यक्तित्वको टकराव चरम विन्दुमा पुग्यो । कुनै सैद्धान्तिक बहसविना नै पद र नेताले को ठूलो भनेर आफूआफू मूल्याङ्कन गर्न थाले जसले गर्दा वि.सं. २०५६ सालमा एमाले दुई चिरामा विभाजन भयो । त्यसपछिका हरेक पार्टीगत राजनैतिक कृयाकलापमा एमाले रक्षात्मक अवस्थामा गुज्रियो । केही वर्षपछि एमाले र वामदेवको नेतृत्वको मालेबीच एकीकरण त भयो तर माओवादीप्रति तल्लो तहमा आकर्षण बढेकाले पूर्वमालेका तल्ला स्तरका कार्यकर्ता र समर्थकहरु सवै माओवादीमा पसे जसले गर्दा माओवादीपार्टी मजबुत भयो र जिल्ला सदरमुकाम भोजपुर, अर्घाखाची, म्याग्दी र स्याङ्जामा सफलतापूर्वक आक्रमण गरे । राज्यको ठूलो क्षति भयो र माओवादी तिर झन कम्युनिष्टको आकर्षण बढ्यो। पार्टीहरुबीच भएको कार्यगत एकताले दोस्रो जनआन्दोलन सफल भई नेपालमा गणतन्त्रको स्थापना भयो त्यसपछि दुईवटा संविधान सभाका चुनावमा एमाले रक्षात्मक अवस्थामा भएपनि २०७४ सालको स्थानीय र संसदीय चुनावमा एमाले र माओवादीको एकीकरणपछि नेकपाले सफलता प्राप्त गर्‍यो र अहिले उसैकोे नेतृत्वको सरकार छ । अहिले वामदेव कमरेडलाई सरकारले राष्ट्रिय सभामा रहेको खाली ठाउँमा मनोनित गरेको छ । बर्दियाबाट वि.सं. २०७४ सालको संसदीय चुनाव हारेका वामदेवलाई राष्ट्रिय सभाको त्यो सिटको लोभले पनि छोडेन ।

प्रतिपक्षी पार्टीहरुमा पनि कतै वामदेवबाट वि.सं. २०५४ सालको स्थानीय चुनावको नियति खेप्नु पर्ने हो कि भन्ने छटपटाहट सुरु भइसकेको छ । प्रतिपक्षी पार्टीहरु यसरी हायलकायल हुनुभन्दा त बरू चुनावको निष्पक्षता र शुद्धतातिर ध्यान दिएमा राम्रो हुने देखिन्छ । अबको चुनावमा पनि जो सत्तामा छ उसैको मात्र हो भनेर सोच्नु सान्दर्भिक हुँदैन । हिजो राष्ट्रिय पंचायतको चुनावमा धादिङ्का बुद्धिमान तामाङ, काभ्रेका सत्यमान लामा, धनुषाका हेमबहादुर मल्ल, कपिलवस्तुका मिर्जा दिलसादवेगले एउटा कुनामा बसेर बाकस भरेर सबैका अगाडि लगेर गनेको जस्तो चुनावको कल्पना गर्नुभन्दा मतदाता परिचयपत्र र भोटिङ्ग मेसीनको चुनावी विधि लागू गरेर चुनावलाई सुधार्नु उपर्युक्त हुन्छ । फेरि पार्टीहरुलाई जनताको समर्थन नभई जतिसुकै धाँदली गरेपनि चुनाव जित्न गार्‍हो हुन्छ भन्नेकुरा बुझ्नु उपयुक्त हुन्छ किनकि वि.सं. २०५१ सालको संसदीय चुनाव काङ्गेस पार्टी सरकारमा हँुदा भएको थियो तर एमाले संसदमा ठूलो पार्टी बन्न सफल भएको थियो ।

अहिले नेकपाको राजनैतिक गोल्चक्करको केन्द्रबिन्दुमा वामदेव रहेको कुरामा शङ्का रहेन । नेकपाका सुरमुनिदेखि भुसुनासम्म सबैलाई टुप्पीमा समातेर फनफनी रिँगाउन सफल हुनु उनको व्यक्तित्वको करामत हो । बर्दियाबाट चुनाव हराउने जनतालाई तिमीले मलाई हरायौ म पनि गरेर देखाइदिन्छु भनेर हो कि युवराज लखेट अभियानमा भूमिगत समूहको प्रलोभनमा परे यो त उनलाई नै थाहा होला । बाध्यात्मक अवस्थामा राष्ट्रिय सभामा मनोनित गराई गरिमामय राष्ट्रिय सभालाई थिलथिल्याएर डम्पिङ्साइड बनाउन सफल हुनु नै ठूलो कुरा थियो । यसले अब देशमा कसले के चाहन्छ भन्दापनि वामदेवको चाहना के छ भन्ने जस्तो हुन लागिसक्यो । अबको करिब दुई वर्षको कुराइको धैर्यता गरेका भए फेरि बर्दियाबाट चुनाव लडेर आगामी प्रधानमन्त्रीको दावेदारको हैसियत गुमाउन पुगेकामा केही दुःख शुभचिन्तकलाई लाग्नु स्वाभाविक हो तर त्यसका लागि बर्दियामा गएर त्यहाँका जनतासंँग हिमचिम बढाउनु पर्‍यो। योे काठमाडौमा बसेर गोलचक्करमा घुम्ने बानी परेकालाई सम्भव भएन होला । अन्त्यमा अब मालदार मन्त्रालयमा गएर मोजमस्ती र एयरपोर्टतिर दौडनुभन्दा जनताको सुखदुःखमा साथदिएर आफूलाई स्थापित नेताका रुपमा परिणत गरेर देखाउनका लागि शुभकामनासहित भोली अदालतको फैसला जे भएपनि वामदेव सरलाई फेरि पनि धेरै–धेरै बधाई छ ।

लेखक पृथ्वीनारायण क्याम्पस पोखराका उपप्राध्यापक हुन् ।

हाम्रो सुझाव