वि.सं. १९८७ सालमा तनहूँ जिल्लाको राईपुर गाउँमा जन्मिएर वि.सं २०१८ सालमा झापाको घैलाडुवामा दिवङ्गत हुन पुगेका कवि गोकुलप्रसाद जोशी पुग नपुग ३१ वर्षको आयु बाँच्न पाएका रहेछन्, तैपनि नेपाली साहित्यिक जगत्मा यिनी जनकविका रूपमा प्रख्यात भइसकेका छन्। नेपाली जनज्रि्रामा र नेपाली साहित्यमा उनी जनकवि गोकुल जोशी नामबाट चिनिएका छन्। उनी वि.सं २००७ सालको वरपरको समयदेखि मात्र नेपाली साहित्यिक क्षेत्रमा चिनिँदै आएका हुन्। उनका रचनाहरू उनकै जीवनकालमा छापिँदै आएका हुन्। उनको जीवन अवधिमा जे जति रचनाहरू छापिन सम्भव भए, तीमध्ये केही रचना अन्य साहित्यप्रेमी महानुभावको आत्मिक सहयोगबाट पनि प्रकाशित भएका छन्। परन्तु ती प्रकाशित कृतिहरूमा उनको वास्तविक फोटो छापिन नपाएको स्थितिलाई भने विडम्बना नै भन्नुपर्ने हुन्छ। हालसम्म उनको एक प्रकारको मात्र फोटो उपलब्ध छ। जाडो मौसममा लगाइने टोपीसहितको त्यस फोटोमा अध्यावधि माल्यार्पण गरिन्छ, यसै अनुरूप प्रत्येक वर्षका उनका जन्मोत्सवका कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन्।
वि.सं. २०६९ को चैत्र महिनाको सुरुमै विशेष कामको सिलसिलामा यो पंक्तिकार तानसेन पाल्पाको बाटो हुँदै बुटवल पुग्नुपरेको थियो। यसपटक लामो समयपछि साहित्यकार दिल साहनीसँग भएको व्यक्तिगत भेटघाट पनि स्मरणीय हुन पुगेको छ। साहनी गल्कोट बागलुङमा जन्मिएका र शिलाङ् आसाममा बसेर अङ्रग्रेजीमा एम.ए. र कानूनमा स्तानक शिक्षा आर्जन गरेपछि नेपाल फर्किआएका व्यक्ति हुन्। हाल बुटवल निवासी गल्कोटे साहनी त्रिभुवन विश्वविद्यालयको सेवाअन्तर्गत अङ्ग्रेजी विषयको सह-प्राध्यापक पदबाट निवृत्त भइसकेका छन्। आसाममा अध्ययन गर्दै जाँदा उनी वामपन्थी नेता पुष्पलालसँग परिचित हुन पाएका रहेछन्। वामपन्थी विचारधारको सैद्धान्तिक आस्था समान भएकै कारण पनि पुष्पलाल श्रेष्ठ र दिल साहनीका बीचमा अङ्ग्रेजी र नेपाली दुवै भाषामा पत्राचार हुने गरेको यथार्थलाई साहनीले कुनै बखत पत्रपत्रिकाकै माध्यमबाट जानकारी गराएका पनि थिए।
यसपटक मैले थाहा पाएँ : दिल साहनीले धनकुटा जिल्ला निवासी सत्रबहादुर गुरुङ र पर्वत जिल्ला फलामखानी गाविसका शेरबहादुर गुरुङसँगको आपसी चिनजान र स्वदेश/विदेशको भेटघाटको आधारमा जनकवि गोकुल जोशीको फोटो फेला पारेछन्। उक्त फोटो प्राप्त गरेपछि उनले ‘शब्द-दूत’ भन्ने साहित्यप्रधान अर्धवाषिर्क पत्रिकामा ‘जनकवि गोकुल जोशीलाई खोज्दै जाँदा’ शीष्ाकको लेख छपाएका रहेछन्। त्यस साहित्यिक पत्रिकाको आवरण पृष्ठमा गोकुल जोशीको फोटो पनि सजाएका रहेछन्। त्यो फोटो देहरादुन -भारत) मा वि.सं. २०११ सालतिर खिचिएको रहेछ।
कवि जोशीसहित पाँच जना साथी उभिएर खिचिएको संयुक्त फोटो भित्री पृष्ठमा रहेछ। त्यस फोटोमा बायाँबाट क्रमशः गोकुल जोशी, टेकबहादुर थापा, कलानिधि अधिकारी, शेरबहादुर गुरुङ र मोहनसिंह थापा उभिएका देखिन्छन्। तेस्रो स्थानमा उभिएका शेरबहादुर गुरुङ (१९८६-) हाल ८४ वर्षको हाराहारीमा छन्। साहनीको भनाइअनुसार उनी रूपन्देही बुटवलका स्थायी निवासी भइसकेका छन्। युवा अवस्थामा उनले गोकुल जोशीको ‘एसियाको फूलबारी’ नामक कविता सङ्ग्रहको प्रकाशन कार्यमा पनि सहयोग पुर्याएका रहेछन्। यस्ता महत्त्वपूर्ण कवि र साहित्यसेवीहरूको फोटोको संरक्षण शेरबहादुर गुरुङले नै गरेका रहेछन्। ‘उनीसँग यो फोटो हालसम्म मौजूद छ’ दिल साहनी भन्दछन्। उनी अझै भन्छन्-
‘मैले र मसँगै गएका मेरा मित्र दुर्गाप्रसाद अधिकारीले शेरबहादुर गुरुङका देहरादूनका विद्यार्थीकालका फोटा, उनले लेखेका पुस्तक आदि वल्र्टाई-पल्र्टाई हेर्यौं। तर पनि हाम्रो रुचिको प्रमुख विषय गोकुल जोशीको फोटो नै थियो। फोटो सामूहिक थियो। हामीले यस फोटोलाई आँखा गाडी गाडी हेर्यौं। मैले गोकुल जोशी बारेको लेख छापेर फोटो फर्काउने सर्तमा त्यसलाई प्राप्त गरेँ। मलाई थाहा छैन? गोकुल जोशीको उक्त फोटो कतै प्रकाशित भएको छ/छैन। यदि कतै प्रकाशित छ भने पनि यस फोटोलाई हामीले एउटा उपलब्धि नै ठान्नुपर्दछ।’
दिल साहनीले त्यस मौलिक फोटोबाट अर्को फोटो खिचाएर राखेका रहेछन्। उनले त्यस संयुक्त फोटोबाट गोकुल जोशीको मात्र छुट्टै फोटो बनाउन लगाएका पनि रहेछन्। साहनीको साथमा उक्त संरक्षित फोटो देखेर यस पंक्तिकारले पनि त्यसै फोटोबाट अर्को दुर्इप्रति खिचाएर आफ्नै साथमा ल्याएको छ। एकप्रति फोटो पोखराका प्रसिद्ध कलाकार यादव भुर्तेलका हातमा सौगातस्वरूप दिइएको छ। दुर्लभ फोटाहरू संरक्षण गर्न रुचि राख्ने देश विदेशका जनुसुकै व्यक्तिलाई उनले यस्ता फोटाहरू उपलब्ध गराउन सक्दछन्। तसर्थ नै गोकुल जोशीको फोटो पनि भावी पुस्ताका लागि संरक्षित रूपमा रहन सकोस् भन्ने सद्भावका साथ कलाकार भुर्तेलजीका नजरमा पुर्याइएको हो। अकोर्प्रति फोटो ‘गण्डकी साहित्य संगम’ नामक साहित्यिक संस्थालाई संरक्षणार्थ जिम्मा लगाउने सोच रहिरहेको छ।
दुर्लभ ठानिएका वस्तुलाई संरक्षणको आवश्यकता पर्दछ। संरक्षणको अभावमा असाधारण चिजहरूको छोटो समयमै ह्रास हुन सक्दछ। असावधानीका कारण कहिलेकाहीँ तिनको अस्तित्व समेत मेटिएर जान सक्दछ। हाम्रा सामान्य विवेकले पनि कहिलेकाहीँ संरक्षणका सवालमा महत्त्वपूर्ण दायित्व वहन गरिरहेको हुन सक्दछ। हाम्रो विवेकले हामीलाई लुकेछिपेको वस्तुलाई उजागर गराउन प्रेरित गर्दछ। अहिलेको प्रस·मा तीनजना व्यक्तिको विवेकपूर्ण व्यवहारलाई उदाहरणस्वरूप लिन सकिन्छ। पहिलो व्यक्तिका रूपमा नेपालको पूर्वी भाग धनकुटाबाट ओह्रालो लाग्दै मेघालय, शिलाङ् पुगेर जीविका चलाइरहेका सत्रबहादुर गुरुङलाई लिन सकिन्छ। यिनले दिल साहनीलाई बुटवलमा बसोबास गर्ने शेरबहादुर गुरुङको सम्झना सुनाइरहँदा रहेछन्। उनीसँग नाता सम्बन्ध रहेको कुरा पनि प्रत्येक पटकको भेटमा उनले सम्झाउँदा रहेछन्। यसैकारण शेरबहादुर गूरङको सम्झना दिल साहनीको मुटु र मस्तिष्कमा गाढा रूपमा खेल्दोरहेछ। सत्रबहादुर गुरुङको व्यवहार र बोली वचनका कारण बुटवल आइपुग्दा साहनीको विवेकले पनि उनीसँग भेटघाट हुनपाए हुन्थ्यो भन्ने अवसरको खोजी गदोर्रहेछ। संयोगवश एक दिन दुवैका बीच परिचय हुने अवसर जुटेछ। अनि चर्चा चलेछ, धर्मको, राजनीतिको, गोकुल जोशीको र उनका फोटाहरूको। यस्तो परिवेशका कारण शेरबहादुर गुरुङको कोठामा सीमित रहेको गोकुल जोशीको थप विवरण र फोटो बाहिर आउन सम्भव भएको रहेछ। धन्यवाद छ परिचयका खातिर दिल साहनीलाई घच्घच्याइरहने सत्रबहादुर गुरुङलाई, धन्यवाद छ प्रगतिशील भावनालाई सजीव राख्न सहयोग पुर्याउने र जनकविको फोटो संरक्षण गर्ने शेरबहादुर गुरुङलाई र अन्त्यमा धन्यवाद छ नेपाली जनजीवनका मर्मस्पर्शी व्यक्ति दिल साहनीलाई, जसले भ्रमपूर्ण शैलीबाट संप्रेषण गरिएका समसामयिक विषयवस्तुलाई नेपाली जनज्रि्रोको भाषा र शैलीका माध्यमबाट जनता समक्ष स्पष्ट पारिरहन्छन्।
अन्तमा हामीले बुझ्नुपर्दछ, गोकुल जोशीको फोटोको मात्र संरक्षण भएर पुग्दैन, गोकुल जोशीका साहित्यिक रचनाहरूको पनि संरक्षण गरिनुपर्दछ। हामीले बुझ्नुपर्दछ प्रत्येक युगमा लेखन कलाको महत्त्व रहिरहन्छ, प्रत्येक युगमा साहित्यको महत्त्व रहिरहन्छ। साहित्यको माध्यमबाट हामीहरू परस्पर आदानप्रदान गरिरहन्छौं। ‘गहन साहित्य सागर जत्तिकै गहिरो हुन्छ’ भन्ने गर्दछौं। गहन एवं ग्रहणयोग्य अन्य भाषाका कृतिलाई हामी हाम्रो भाषामा अनुवाद गर्न/गराउन चाहन्छौं। अनि हाम्रो भाषाअन्तर्गत गहन ठानिएको कृतिलाई पनि अन्य भाषामा अनूदित भइदेओस् भन्ने आकांक्षा राख्दछौं। गोकुल जोशीका कृतिहरूलाई पनि नेपाली समाजमा अरू बढी व्यापक गराउँदै अन्य भाषिक समुदायमा समेत अनूदित गराउन सक्नुपर्दछ। यस्तो कार्यबाट मात्र महत्त्वपूर्ण साहित्यिक कृतिहरूको संरक्षण भइरहन्छ। यसप्रकार हामी साहित्यको माध्यमबाट एक किनारबाट अर्को किनारमा पुग्ने गर्दछौं। हामी वारिका मान्छेहरू पारि पुग्छौं। वर्तमानका हामीजस्तै हाम्रा भावी पुस्ताहरू पनि यसरी नै पारिबाट वारि र वारिबाट पारि गरिनै रहनेछन्। पुराना पुलहरू भत्किएर ह्रास हुँदै जाँदा नयाँ पुलहरू बन्ने छन्। अनि परस्पर सम्बन्धका (मानवीय सम्बन्धका) नदीहरू बगिरहनेछन्।
Related News
सम्बन्धित समाचार
मेरो ओलम्पिक यात्रा संस्मरण
‘स्व’ को खोजीमा प्रतीक्षा
गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण
नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)
बालकथा : मौकाको साटो
hero news full width
मुख्य समाचार
शिक्षामन्त्री कोटिहोममा
प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग
मंसिर २०, २०८१आज पोखराको विशेष नगर सभा
मंसिर २०, २०८१खेलकुद मन्त्रीसँग काँग्रेसको कार्यकर्ता भेटघाट
मंसिर १९, २०८१‘नगर सभाको एजेण्डा संविधानविपरीत’
मंसिर १९, २०८१