फेलको फेहरिस्त

शेषराज भट्टराई
असाेज २२, २०८०

विद्वान्हरू भन्ने गर्छन् ‘विद्यार्थी र शिक्षक कहिल्यै फेल हुँदैन । फेल हुने भनेको सिकाइ विधि हो । सिकाइ विधि फेल भएपछि त्यसको असर विद्यार्थीमा पर्छ र विद्यार्थी फेलको दायरामा पर्ने गर्छन् । केही समय अगाडि न्यायाधीशका लागि परीक्षा दिने २९ जना न्यायाधीशहरू फेल भए त्यसमा एक जनामात्रै पास । तर सबैलाई न्यायाधीशमा नियुक्त गर्‍यो प्रचण्ड सरकारले । यो चाहिँ सिकाइ विधि नभएर सरकारको तजबिजी हो । त्यसैले पास फेल भन्ने कुरा सरकारको ठाडो आदेशमा पनि हुन्छ । अन्य देशमा असम्भव कुरा नेपालमा सम्भव हुन्छ ।

फेल हुनु एक किसिमको खतरहित दुर्घटना नै हो । फेल कसैको रहरमा पर्दैन । यो मात्र परिस्थितिको उपज हो । परिवेश, परिबन्ध र बाध्यताले पेल तत्वको सिर्जना हुन्छ । फेल कृत्रिम र प्राकृतिक हुन्छ । गुरुको खैरो खनेर विद्यार्थी फेल हुन्छ भने त्यसलाई कृत्रिम फेल भनिन्छ । जानाजान जुन फेलको उत्पत्ति हुन्छ त्यसलाई बनावटी फेल भन्नुपर्छ । कतिपय गुरुवर्गहरू ट्युसन पढाएर अतिरिक्त पैसा असुल्न पाइने लोभले सोझा सिदा विद्यार्थीलाई फेल बनाएर ढाड मस्काउन सिपालु हुन्छन् । त्यस्ता कृत्रिम फेल जोकसैबाट अचानक आइलाग्न सक्छन् । भात पकाइरहेको भान्सामा एउटा घुसीले गएर नुन, बेसार खोेत्याइ दियो भने भान्से स्वत: फेल हुन्छ । समयमा दबाइ उपचार नपाए बिरामी फेल हुन्छन् ।

प्राकृतिक फेल भन्नाले उमेर पुगेर जिब्रो टोक्नु र वर्षभरि भुँडी भर्न पुग्ने गरी अन्न बाली लगायो अनि उठाउने बेलामा हावाहुरी असिना पानीले सखाप पार्नुलाई प्राकृतिक फेल भन्नुपर्छ । फेल जस्तोसुकै होस् त्यो दर्दनाक र शर्मनाक नै हुन्छ । नौ महिनासम्म सुरक्षित राखेको भ्रुण तुहुनु, आपत्विपद्मा साथ सहयोग नहुनु, आफू ताक्छु मुढो बन्चरो ताक्छ घुँडोको अवस्था नै प्राकृतिक फेलको आधारभूत तत्वहरू हुन् ।

फेल जुनसुकै तह र वर्गमा होस् त्यो शर्मनाक र दर्दनाक नै हुन्छ । समाज व्यक्ति विभिन्न संघ संस्था, वित्तीय कारोबार गर्ने बैंक, राष्ट्रबैंक फेल हुँदा सिंगो राज्य नै फेल भएको मानिन्छ । सन् २०२३ मा श्रीलंकाका नेताहरूलाई त्यहाँका जनताले रामधुलाई गरेर फेल नेताको सूचीमा दर्ता गराए । दूरदर्शी नेता तथा अर्थविद् नहुँदा देशले फेलको अवस्था भोग्नुपर्छ । नेपालमा प्रदेश सरकार र केन्द्रीय सरकारका अचाक्ली सांसद र मन्त्रीका कारणले गर्दा सिंगो देश फेलको संघारमा उभिइरहेको छ । भड्खालामा कहिले जाकिन्छ पत्तो छैन तर फेलका पूर्व सङ्केतहरू नेपालगन्जको मुस्लिमले हिन्दु जुलुसमा ढुंगामुढा र धरानमा गाई गोरुको मांस भक्ष गरेर फेलका लक्षणहरू देखिसकेको छ ।

फेलसँग मान मर्यादा र प्रतिष्ठा जोडिएको हुन्छ । हेला, अपहेलना, अपमान हीनताबोध फेलसँगै लठारिएर आउने तत्व हुन्

फेलको विपरीतार्थक शब्द पास हो । मुटु, कलेजो, मिर्गौला, फोक्सो चल्दा चल्दै फेल हुन्छ भने औषधी र डाक्टरको खबरदारीले पास पनि हुन्छ । चिकित्सकले जिउँदो प्राणीलाई काटकुट टालटुल, तुनतान, तानतुन गरेर फेरि जस्ताको तस्तै हुबहु ठड्याउन सके पास अनि चिरफारमा हेल्चेक्राइँ भए स्वर्ग पठाएमा यस्तो विपत्तिग्रस्त अवस्थालाई डाक्टर आफैंले स्वीकार्दै भन्छन्, ‘सरी बचाउन सकिएन’ । यहाँ आफूले आफैंलाई फेल भन्न लजाउने भएको हुनाले बिरामी र डाक्टरमा द्वन्द्व सिर्जना हुन्छ । यसरी नानाभाँतीका प्राविधिक गडबढीले फेल हुनेहरू पृथ्वीमा धेरै छन् । यसरी नै फेलको चक्र चलिरहन्छ । यस्तै क्रम उपक्रममा स्वर्ग जानेको लर्काे देखेपछि बिरामीका आफन्तले झर्काे मान्छन् र डाक्टरलाई कुक्का कुक्का हुने गरी मुक्का हान्छन् । धड्कन चल्ने गरेर चड्कन लगाएपछि डाक्टरहरू झसंग हुन्छन् र आन्दोलन गर्छन् । विचराहरू घर, स्कुलमा पटक्कै पिटाइ नखाइनखाई टाइ लगाएर हिँडेकाहरू आज कसैले पाई गर्दा क्वाँक्वाँ र ड्वाँड्वाँ । साँढेको जुधाइ बाच्छाको मिचाइ सिर्जना हुनुमा पास भएका डाक्टरको आफ्नै अस्पताललाई फेल बनाउने उत्तम आइडियाको रूपमा लिन सकिन्छ ।

ब्रेक फेल भएर जिब्रो टोक्नेहरू त नेपालमा धेरै छन् । सबै गुरुजीले ब्रेक फेलको सार्थक अनुभव सम्हाल्नु भएकै छ । यसका साथै आकाशमा कावा खाँदै हुइकिएको हावाजहाजको इन्जिन फेल हुने बित्तिकै त्यसभित्रका सारा प्राणीहरूको होसहवास फेल हुन्छ । जुन कम्पनीले त्यो टिलो उत्पादन गरेको हो ढिलो चाँडो फिलो गल्ने गरी त्यो कम्पनीको मालिक पनि फेल हुन्छ र बनाउने इन्जिनियर पनि फेलको दर्जामा दरिन्छ । यस्तो किसिमको फेललाई लहरे फेल भन्नुपर्छ । लहरे फेल खहरे फेल जस्तो क्षणिक र छोटो हुँदैन । अलिकति एक पित्को नम्बर नपुगेर परीक्षार्थी फेल हुन्छ भने त्यो खहरे फेल हो । फेरि अर्काे जाँचमा त्यस्ता फेलजिवीहरूले टाउकोले टेकेर तंग्रिन सक्छन् अनि यस्ता फेल पिपासुहरूको दीर्घकालीन असर पनि हुँदैन । फेरि फेल समूहगत र एकल पनि हुन्छ । समूह फेल भए तापनि फेलको रनमा चाहिँ एकल नै पर्ने गर्छ । समूह पनि त्यसको भागीदार बन्छन् । परिवारमा छोराछोरी फेल भए भने फेलवाहक त त्यसै पनि होसमा हुँदैन र सिंगो परिवार पनि मन्द ज्वरोको मारमा हुन्छ । फेल असरदार र घातक पनि हुन सक्छ । फेलका कारण डिप्रेसनमा जानु, तातो चिसो नखानु र पासो लागेर प्राण पखेरु उडाउनु यसका उदाहरणहरू हुन् ।

फेलसँग मान मर्यादा र प्रतिष्ठा जोडिएको हुन्छ । हेला, अपहेलना, अपमान हीनताबोध फेलसँगसँगै लठारिएर आउने तत्व हुन् । विवाह गर्न ठिक्क पारेकी दुलही उम्किएर लगन गाँठो फेल हुन्छ । पारपाचुकेले दाम्पत्य जीवन फेल हुन्छ । त्यसैले जगत्मा भएका सचेत प्राणीहरू फेल हुनु नपरोस् भनेर तर्किंदा तर्किंदै ज्वानोको झोल खाँदाखाँदै ज्यान जान्छ । मान्छे फेल हुनु नपरोस् भनेर मरिहत्ते गर्दा गर्दै फेल हुन्छ । त्यसैले फेल श्वासप्रश्वास जत्तिकै अनिवार्य छ र यसको वरण अक्सिजन जत्तिकै अपरिहार्य पनि ।

नाथुराम गोड्से नभएको भए महात्मा गान्धी फेल हुने थिएनन् । अमेरिका नभएको भए इराकी राष्ट्रपति सद्धाम हुसेन फेल हुने थिएन । युवराज दीपेन्द्र नभएको भए राजपरिवार फेल हुने थिएन । पञ्चायती राजतन्त्र नभएको भए राणा शासन फेल हुने थिएन । विश्वमा धेरै नेताहरू प्रधानमन्त्री वा मन्त्रीका आकांक्षी हुन्छन् तर त्यसमा केहीबाहेक सबै उम्मेदवार फेल हुन्छन् । आफू आफ्ना मान्छे र दलको दाउ मिलाउनलाई पनि एकले अर्कालाई फेलको खेलमा झेल गरेर रमाउने परम्परा पुरानै हो ।

शिक्षालयमा गुरु र शिष्यको केमेस्ट्री मिलेन भने पनि विद्यार्थीहरू फेलको भार बोकेर हार खाइरहेका हुन्छन् तापनि गुरूप्रति आभार प्रकट गर्ने गर्छन् । नेताहरू दलको दलदलमा फस्न केन्द्रीय सदस्य पड्काउन हरतरहले मरिहत्ते गर्नेहरू पद हात नलाग्दा नराम्रोसँग फेल हुन्छन् । कुनै कैदी थुनामुक्त हुने आशमा रात बिताएकाहरू नेताको कृपा दृष्टि नमिल्दा सृष्टि नै बेकार अर्थात् फेल ठान्छन् । ताकेर हानेको बल गोलपोस्टमा नछिर्दा खेलाडी फेल हुन्छ । आफूले चाहेको वरबधु आफ्नो पुर्पुरोमा नपर्दा बंैसालुहरू फेल भएको आभाषमा रन्थनिएका हुन्छन् । पर्वतारोहीहरू हिमालको थाप्लामा टेक्न नसकेर फेल हुन्छन् । दर्जीको छोरो पेटिकोट सिलाउन नजान्दा फेल हुन्छ । ब्राह्मण पुत्र सञ्जे मन्त्र जप्न नजान्दा फेल हुन्छ । उत्कृष्ट कृषक बोकाले दाइ गर्दा फेल हुन्छ । नेताहरू देशको अर्थतन्त्रमा राइँदाइँ गर्न नजान्दा फेल हुन्छन् । केही महिलाहरू जुनीभरि बाँझै बस्नुपर्दा फेलानुभव गर्छन् । एवं रीतले खोला तर्न नजाने पनि फेल भइन्छ र गर्न नजाने पनि फेल भइन्छ । पुरस्कार, जागिरमा दाबी गर्‍यो त्यतै फेल भइन्छ । मानवहरू हरकिसिमले हरपल पल फेल भइराखेका हुन्छन् भने तपाईं हामीले व्यवहारमा फेल भैयो भनेर अधर अँध्यारो किन बनाउने ? फेल त हाम्रो नित्य कर्म र धर्मभित्र फल हो ।

Related News

सम्बन्धित समाचार

  • ‘स्व’ को खोजीमा प्रतीक्षा

    कृष्णप्रसाद बस्ताकोटी श्रावण ८, २०८१
    मूलतः मानिस धनको लालचले या त प्रख्यातिको भोकले तानिन्छ र यावत् कर्महरूमा यसरी जोगिन पुग्छ –कृष्णप्रसाद बस्ताकोटी चर्चित साहित्यकार सरस्वती…
  • गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण

    हरिबन्धु अर्याल जेठ २९, २०८१
    मुलुकको संवैधानिक प्रावधान र संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको काम हुँदै आएको छ…
  • नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)

    शेषराज भट्टराई जेठ १२, २०८१
    नमच्चिने पिङले झड्का मात्रै दिन्छ । चाहे लभका मामलामा होस् या जबका मामलामा अर्थात् सबका मामलामा काम नगर्ने मान्छेले गफ…
  • बालकथा : मौकाको साटो

    दिनेश बस्नेत जेठ १२, २०८१
    नेपालको पश्चिम भेगमा सुन्दा पनि अचम्म लाग्ने दुईओटा गाउँ थिए । एउटा लिखापुर र अर्काे भुसुनापुर । दुई गाउँको बिचमा…
  • बुद्ध जयन्ती – एक चर्चा बुद्धशिक्षाको

    आनन्दराज मुल्मी जेठ १०, २०८१
    आज २५६८ औं बुद्ध जयन्ती मनाउँदै छौं । अन्तर्राष्ट्रिय रूपमा अजको दिन शान्ति दिवसको रूपमा मनाइन्छ । इसापूर्व ५६३ मा…

hero news full width