प्रेम रस र प्रणय दिवस

Avatar कमला शर्मा
फागुन २, २०७५

पूर्वीय दर्शनका व्याख्याता खप्तड स्वामीका शब्दमा“प्रेम त्यस्तो दिव्य रसायन हो, जुन आफु भित्र दबेर रहेको हुन्छ, जब जाग्छ यसको उर्जा प्रवाहित हुन्छ । यसलाई रोक्ने सामथ्र्य व्यक्ति आफैसँग पनि हुदैन ।” जब आफु भित्र प्रेम जाग्छ, घृणा बिलाएर जान्छ । तब यत्रतत्र सर्वत्र वातावरण नै प्रेममय बन्छ । प्रेम बाहिरी आँखाले देख्न सकिन्न यो त हृदयको आँखामा हुन्छ र हृदय कै आँखाबाट यसलाई भेट्न सकिन्छ, देख्न सकिन्छ । प्रेमरस रस मध्यको पनि उत्तम रस हो । हामी प्रेमकै रसमा मिसिएर जन्मन्छौं र विदा हुन्छौं। प्रेमको नदी अनादि कालदेखि अनन्त बग्दै आएको छ ।

जीवनका पलपलमा यो जुन सम्बन्धसँग प्रकट हुन्छ, त्यही रुपमा त्यसरी नै रसयुक्त बन्छ । आमा र सन्तानमा मिसिदा वात्सल्य बन्छ, प्रेमी प्रेमिकासँग मिसिँदा आकर्षणबन्छ, गुरु शिष्यसँग मिसिदा श्रद्धा बन्छ, भक्त र भगवानमा मिसिदा भक्ति बन्छ । त्यस्तै सम्बन्ध अनुसार कतै आदर सम्मान, कतै कर्तव्य, करुणा,दया,कतै आत्मीयता, कतै हार्दिकता भएर आउँछ । शब्दले भनिदा माया, प्रेम, स्नेह, लभ, प्यार, आकर्षण जे सुकै भनियोस् यसलाई कुनै शब्दमा वा एउटै अर्थमा सीमित पार्न सकिदैन । यो आआफ्नै भावनात्मक अनुभूति हो, भावनामा हुने मिठासपना हो,जसलाई जसरी अनुभूति हुन्छ, त्यसै अनुसारको अभिव्यक्ति हुन्छ ।

“प्रियस्य भावः प्रेम”अर्थात प्रेम अत्यन्त पवित्र भाव हो । जसलाई यो शब्दले छुन्छ आफैतिर तानिहाल्छ र पुलकित पारिदिन्छ । व्यवहारमा पनि जसलाई प्रेम गरिन्छ पूर्णतः उसैमा समाहित भइन्छ । त्यति वेला आँफू र आफ्नो परिचयसँग जोडिएका पद प्रतिष्ठा मान सम्मानसँग जोडिने विषयवस्तु र त्यसमा हुने अहंता सबै प्रेममा जल्छन् र खरानी बन्छन्। त्यस पछि केवल प्रेम मात्र बाँच्दछ । भनिन्छकि आफू भित्रको अहं पूरै हराएको अवस्थामा मात्रै प्रेमको सुन्दरतम अनुभूति सम्भव हुन्छ। यसैमा भौतिक संसार र आध्यात्मिक जगत अडेको छ । चाहे क्षणिक सुख प्राप्तिका लागि होस् वा अनन्त आनन्दका लागि केवल प्रेम नै चाहिन्छ।

मनोवैज्ञानिकहरु प्रेमलाई प्रकृतिसँग जोडछन र यौन ऊर्जालाई पनि प्रेमकै  रस मान्दछन । आध्यात्मवादीहरु प्रेमलाई शाश्वत सत्यसँग जोड्छन र ईश्वरसँगको योग मान्दछन् । बुद्धले प्रेमको सुखलाई सुखको महानतम् स्रोत मानेका छन् । खप्तड स्वामीले प्रेम रसलाई दिव्य रसायन मान्दै जीवनको सुन्दरतम अवस्था हो भनी चित्रण गरेका छन्। साँच्चै जीवनको सुन्दर क्षण भनेकै प्रेममा जागेको क्षण हो । यसरी आँफू भित्रको स्वार्थ, अहंकार पूरै हराएको अवस्थामा मात्रै त्यस्तो पवित्र प्रेम रसको अनुभूति हुन्छ।

विशेष गरी पश्चिमा संस्कृतिमा मनाइने यो प्रणय दिवस वा भ्यालेन्टाइन डे को प्रभावले हाम्रो समाजका अझ विशेषता युवा पुस्तालाई सर्लक्कै छोपेको छ । प्रेमको प्रतीकको स्वरुप गुलाफका फूलको बिक्रीमा व्यापक र बृद्धि भएको छ । सामाजिक सन्जालका स्टाटस देखि फेसबुकका भित्ताहरु रङ्गिएका छन् । यद्यपि प्रणय दिवसलाई पूर्वीय संस्कृतिमा पनि अक्षय तृतीयाका दिनमा शिव र पार्वतीको प्रेम प्रसंगलाई लिएर मानिएको पाइन्छ । “अनुशासनको दायरा भित्र हुने प्रेम र आकर्षणमा ईश्वर पनि खुशी हुन्छन्ुु भन्ने भ्यालेन्टाइनको सम्झनामा मनाइने प्रणय दिवस वा भ्यालेन्टाइन डे को सन्दर्भ भने अलि रोचक र फरक रहेको छ । भनिन्छ, तत्कालीन रोमन सम्राटले युवाहरु प्रेम र विवाहतर्फ आकर्षित भए भने सैनिक सेवा प्रभावित हुन्छ भनी प्रेम र विवाहलाई प्रतिबन्ध लगाएका थिए । सोही अवस्थामा त्यँहाका पादरी भ्यालेन्टाइनले यस नियमको अवज्ञा गरी थुप्रै प्रेम जोडीहरुको सामूहिक विवाह गराइदिएका थिए । यसैकारण १४ फेब्रुअरीका दिन उनलाई मृत्युदण्ड दिइएको थियो ।तत्पश्चात उनकै सम्झना स्वरूप यस दिनलाई पवित्रप्रेम पर्वका रुपमा मनाउँदै आएको पाईन्छ ।आफु स्वयं प्रेममय बन्ने, जीवनलाई सुखद बनाउने, प्रेमलाई खुल्न दिने दिवसका रुपमा पनि यसलाई लिइन्छ । यस अर्थमा पवित्र प्रेमको कदर गरिएको दिन भनौं या प्रेमका लागि वा धेरैका खुशीका लागि कसैले जीवन उत्सर्ग गरेको दिन हो प्रणयदिवस ।

पवित्र प्रेम सत्यसँग नजिक हुन्छ, सत्यता धर्मसँग रहन्छ चाहे पश्चिमी संस्कार कै प्रणयदिवस किन नहोस वा पूर्वीय मूल्य मान्यतामा आधारित।पाश्चात्य दर्शनमा पनि प्रेमको पवित्रतालाई धर्मसँग जोडिएको छ । त्यसो त हाम्रा पूर्वीय दर्शन वेद, उपनिषद, रामायण, महाभारत देखि पश्चिमको वाइबलसम्ममा प्रेमको महिमा र भजन उस्तै छ । प्रेमको सन्दर्भ सम्बन्धको आधार र आयतन फरक होला तर प्रेमको पवित्रता उही हो । जीवनलाई रसमय बनाउने रस भनौं या ऊर्जाशील बनाउने ऊर्जा त्यो प्रेम नै हो । अध्यात्ममा वाह्य वस्तु र व्यक्तिबाट पाइने रस क्षणिक हुन्छ भन्दै आफै भित्रको रसायनलाई जगाउनु पर्छ, वगाउनु पर्छ र आफैमापूर्ण हुनु पर्छ भनिन्छ । तर पनि भौतिक संसारमा सहज र सुखद जीवन यापनका लागि हरेक सम्बन्धमा प्रेम अपरिहार्य छ । प्रत्यक्षवा परोक्ष रुपमा हामी प्रेमरस भित्रै अुनुबन्धित छौँ । यसरी नै प्रेमले जीवन्तता पाउँदै आएको छ ।

समय फरक छ, परिवेश फरक छ, चाहनाहरु फरक छन्, समाज फरक छ । हिजो सुनिने पवित्र प्रेमका कथाहरु जस्तो कि राधा कृष्णका कथा, सावित्री सत्यवानका कथा, मुनामदनका कथा, रोमियो जुलिएटका कथा, लैला मज्नुका कथा, आज सुनिँदैनन् । सम्पूर्ण साहित्यको केन्द्रीय रस मानिने प्रेम रसमा लेखिने कविता, कथा, उपन्यासहरुमा जस्तो प्रेमभाव वर्तमानमा देखिँदैन । यहाँ त एकै दिनको लागि गुलाफका फूलसँगै प्रेमको भावना प्रकट गरिन्छ्र । आम रुपमा पनि प्रेमको बुझाइ सतही रहेकोछ, हृदयको गहिराइसम्म पुग्न सकेको छैन । यस्तो प्रेमको घोडा दौडमा स्वार्थ र शर्तमा दौडिने प्रेम कति वेला दुर्घटनामा पर्छ भन्न सकिँदैन । फगतबाह्य रुप र गुणका आधारमै आकर्षण हुन्छ । केवल एकले अकोर्लाई प्राप्त गर्नु, उपभोग गर्नु अनि अधिकार जमाउनुतर्फ प्रेमको अभिनय गरिन्छ । गुलाफ साटिन्छन् प्रेम साटिन्छ अनि एकै दिनमा ओइलाउँछ । क्षणभरमै नजिकिएर सँगै मर्ने बाँच्ने कसम खाएका जोडीहरु पनि थोरै स्वार्थ बाझिएपछि अलग हुन्छन् । एकले अर्कालाई घृणायुक्त व्यवहार गरिहाल्छन् ।जीवनका यौवन अवस्थामा मात्रै यस्ता घटना सीमित छैनन् । पारिवारिक जीवनमा बाँधिएका आफ्नै कर्तव्य र दायित्व फरक रहेकाहरूमा पनि प्रेमका फरक कुरा सुनिन्छन् । आफुलाई संयमित राख्न नसक्दा कतिपय परिवारमा भैराखेको राम्रो सम्बन्धमा पनि दुर्घटना भएको छ । विश्वासको आधार भत्किएको छ । जे प्राप्त छ त्यसमा ऊ खुशीहुन सक्दैन जे प्राप्त छैन र त्यो आफ्नो हुन सक्दैन त्यसैमा उसको मन दौडिन्छ । त्यसैमा खुशी खोज्छ , सुख खोज्छ । यस्तो प्रेम जुन रुप र आकारको प्राप्यतालाई भनेर दौडिएको छ, त्यो सँधै सुखद बन्न सक्दैन । दुईआत्माको मिलन, दुईदिलको मिलन, भावनाको मिलन, शरीरको मिलन जे भनौं उमेरको बिशेष अवस्थामा यो सार्थक हुन्छ । समाजले स्वीकार्छ तर कहिलेकाँही यो समाजभन्दा बाहिर दौडिन्छ त्यतिबेला पीडादायी हुन्छ । त्यसैले यस्तो रुपको प्रेमलाई क्षणिक वासना, मोह, आकर्षण र अन्धो मानिएको छ । यो आकर्षणीय प्रेम कहाँ हुन्छ, कहिले हुन्छ, को सँग हुन्छ भन्न सकिंदैन । बुद्धि र विवेकलाई पनि यसले कमजोर बनाइदिन्छ। जति नै बलियो छु भन्ने विद्वान, राजामहाराजा, धार्मिक गुरुहरुलाई पनि राम्रैसँग धरमराएको पाईन्छ्र । मानव जीवनमा भावना भन्दा बलियो पक्ष अरु केही छैन । जसले मौका पाउँनासाथ बुद्धि र विवेकलाई पनि जितिदिन्छ।

उमेरको जुनसुकै अवस्थामा होस् प्रेमको रुप सुखद हुनु पर्छ । प्रेमले खुशील्याउन सक्नु पर्छ । यदि कसै प्रति प्रेम गरिएको छ भने पनि त्यसमा शर्त र इच्छाका सीमाहरु राख्नु हुँदैन । प्रेमलाई स्वार्थको विनिमय गर्ने माध्यममा लिनु हुँदैन । आफ्ना चाहनाहरु सबैसँग मिल्छन भन्ने हुँदैन । पे्रम गर्नु भनेको उसका नराम्रा पक्ष पनि सहर्ष स्वीकार गर्न सक्नु हो । जसरी हामीले आफ्ना कमजोरी लुकाएर छाँयामा राख्छौ त्यसै गरी प्रेमीका कमजोरी छाँयामा पर्छन भने प्रेम अगाडि हुन्छ । यस्तो सम्बन्ध राख्न सकियो भने प्रेमी प्रेमिकाको बीचको प्रेम मात्र होइन परिवारका हरेक सम्बन्धहरु सुमधुर बन्छन् ।

अतः प्रेम त्यस्तो उर्जा वा रस हो जुन हृदयको न्यायिक सत्तामा रहन्छ । त्यहाँ कुनै स्वार्थको जाल प्रपञ्च हुँदैन । मानिस जब आफै प्रेममय बन्छ, सबैमा प्रेमपूर्वक हेर्न सक्छ । पूर्वीया संस्कृतिहोस् या पश्चिमी संस्कृतिदेखि वग्दै आएको यो प्रेम उत्सवमा आदन प्रदान गरिने प्रेमले सबैलाई दिगो खुशी दिन सकोस । प्रेमिल बनाउन सकोस । प्रेम सार्थक बनोस,जीवन सुखमय होस् ।

तपाइको विचार व्यक्त गर्नुहोस्

अन्य शिर्षकहरू

रामभक्त हनुमानजीको पराक्रम

संस्कृत भाषाबाट बनेको बागलुङ

प्राथमिकतामा नपरेका शिक्षा शाखाहरु

प्राज्ञिक युवालाई स्वदेशमै रोजगार सिर्जना गरौं

प्रमुख समाचार

राखेप नियम र कानून विपरीत चल्यो –महालेखा