प्रसङ्ग बुध्द पूर्णिमाः चर्चा तिलकमान र उनका कीर्तिको

तिलक पराजुली तिलक पराजुली
जेठ ३, २०७६

भगवान बुद्धलाई छाडेर संसारका अरु सबै महापुरुषहरुको निःस्वार्थ कर्मप्रवृत्तिका पछाडि कुनै न कुनै बाह्य उद्देश्य अवश्य थियो। एक उनलाई छाडेर संसारका अन्य सबै महापुरुष दुई श्रेणीमा विभाजन गर्न सकिन्छ – एक जो आँफुलाई संसारमा भगवानको अवतारको रुपमा अवतीर्ण भएको बताउछन्, र अर्का जो आँफुलाई ईश्वरको दूत मान्छन्।

तिलकमान गुभाजू एक बुद्ध सचेतक हुन् – पोखराको मात्र होइन राष्ट्रकै संन्दर्भमा। प्रत्येक वर्ष बुद्ध पूर्णिमा आएको कुरा कमसेकम १५/२० दिन अगाडिनै सचेत गराउछँन्। बौद्ध सन्देश भन्न सुहाउने “धर्मचक्षु पत्रिकाको लागि लेख लेख्न अह्राउँछन्। यो अनुक्रम मेरो लागि दशकौ अगाडिदेखि चलि आएको छ। यसलाई उनको एक अनुग्रह भन्दा अत्युक्ति हुन सक्दैन। मलाई मात्रै होइन यथा शक्ति सबैलाई जगाउँछन्।

केही वर्ष अगाडि धर्मचक्षुमा प्रकाशन गर्न मैले वाल्मीकि ऋषि प्रणित सुप्रसिद्ध ग्रन्थ रामायणमा बुद्धप्रति नकारात्मक कुरा लेखिएको संबन्धमा केन्द्रित रहेर लेख लखेको थिएँ। खास गरेर त्रेता युगका पुरुषोत्तम रामको जीवन चरित्रमा आधारित रामायण वाल्मीकिजीले रामकै जीवनकालमा रचना गरिएको मानिन्छ। भनाइ के पनि छ भने, सीताजीले आफ्नो परित्यक्त जीवन वाल्मीकि आश्रममा विताइन्, त्यही आश्रममा लव, कुश छोरा जन्माइन। यिनीहरु ठूला भएपछि यो रामायणको गाथा रामको दरवाररमा उनीहरुले गाएका थिए।

यस्तो पुरानो रामायण ग्रन्थमा “यथा हि चोरः स तथा हि बुद्ध, तथागत नास्तिक मन्त्र विद्धि” आदि उल्लेख गरेर बुद्ध, त्यसमा पनि तथागत शाक्यमुनि बुद्धप्रति घृणाभाव बुझाउने गरी कसरी उल्लेख हुन गयो? यो रामायणको रचना शाक्य मुनि बुद्धकै कालमा लेखिएको त होइन? मेरो लेखको विषय यही रहेको थियो।

मेरो लेख तिलकमानजीकहाँ पुगेपछि उनले मलाई एउटा पुस्तिका उपलव्ध गराए। २०४६ सालमा नै एउटा पुस्तिका प्रकाशित भएको रहेछ – के बुद्ध धर्म हिन्दु धर्मको शाखा हो र? भन्ने तिलकमानजीको। यसमा वाल्मीकि स्वामीले बुद्धकोसम्बन्धमा नकारात्मक टिप्पणी गरेको विषय पनि परेको रहेछ। यसको भूमिका स्वनामधन्य विद्वान पं. मुक्तिनाथ तिमिल्सिनाले लेखेका रहेछन्। दिवंगत पण्डितजीले धेरै पटक वाल्मीकि रामायण पढेका तर जुन कुरा बुद्धको संबन्धमा लेखिएको छ, त्यो नजर अन्दाज हुन गएको स्वीकार गर्दै तिलकमानजीको सूक्ष्म अध्ययन गर्ने क्षमताप्रति आँफु नतमस्तक रहेको बताएका छन्।

तिलकमानजीको यो पुस्तिकाको पाँचौ संस्करण (२०७५ मा छापिएको) मेरा हातमा पर्न आएको र २५६३ औं बुद्धजयन्ती पनि सन्निकट रहेको सन्दर्भले यो “के बुद्ध धर्म हिन्दुधर्मको शाखा हो र”? पुस्तिकामा मेरो ध्यान गएको हो।

पुस्तिकामा प्रस्तुत गरिएका तथ्यहरु प्रमाणिक छन्। तिलकजीले शासक र शास्त्रीहरु दुबैको समन्वित प्रयासमा बुद्धधर्म र बौद्ध धर्मावलम्बीमाथि थिचोमिचो, हेय व्यवहार तथा धर्मप्रति असहिष्णुता प्रकट गरेका कुरा लेखेका छन्।

यी सबै कटु यथार्थ हुन्। अरु त कुरा छाडौं नेपालको इतिहाँसमा सामाजिक सुधारक, स्थिति –बन्देजका प्रणेता भनेर नाम लिने राजा जयस्थिति मल्लले पनि बुद्धधर्ममाथि प्रतिबन्ध लगाएको तर्फ विवेचना गर्दै उनले लेखेका छन् – राजा जयस्थिति मल्लले हिन्दुस्थानका पण्डितहरु झिकाएर पाँचजनाको परामर्श समिति बनाए, बुद्ध धर्ममाथि प्रतिबन्ध लगाए, भिक्षु भिक्षुणी हुन दिएनन्। पुस्तिकाको पृष्ट ३४, पाँचौ संस्करण।

बुद्धधर्म, हिन्दुधर्म कै शाखा हुँदो हो त आठौं शताब्दीका हिन्दुधर्मका एक उद्भट विद्वान, आठ वर्षको उमेरमै वेद लगायतका शास्त्रमा निष्णात, शास्त्रज्ञ आद्य शंकराचार्यले बुद्ध ग्रन्थहरु जलाउने, विनाश गर्ने उदण्ड अभियान गर्ने थिएनन् होला। भारतको केरला प्रान्तमा जन्मेका आदि शंकराचार्यलाई हिन्दुहरु धर्मावतार नै मान्दछन्। भनिन्छ, उनले बुद्धलाई नास्तिक भन्दै भारत भरीका बौद्ध ग्रन्थहरु जलाए। र, नेपाल पसे जलाउनकै लागि। नेपाल –तिव्वत सीमानामा उनलाई रोकियो, जलाउन पाएनन्। ३२ वर्षको युवा उमेरमा दिवंगत भएका शंकराचार्यले जलाउन नसकेका बौद्ध ग्रन्थहरुले पनि विश्वलाई ज्ञानको आलोक प्रदान गरिरहेकै छ।

बुद्ध र बुद्धधर्म हिन्दुधर्मको अवतार वा शाखा होइन भन्ने कुरा उद्वोधन हुनका लागि स्वामी विवेकानन्दको कथन मलाई सबै भन्दा प्रमाणिक लाग्छ। उनले कर्मयोग संबधमा एउटा पुस्तक लेखेका छन्। यस पुस्तकको एघारौ. संस्करण (प्रकाशक स्वामी व्योमरुपानन्द, अध्यक्ष, रामकृष्णमठ, नागपुर) पढने अवसर पाएँ। यस पुस्तक को अन्तर्यमा शाक्यमुनि बुद्ध संबन्धमा उनी भन्छन् – “भगवान बुद्धलाई छाडेर संसारका अरु सबै महापुरुषहरुको निःस्वार्थ कर्मप्रवृत्तिका पछाडि कुनै न कुनै बाÞय उद्देश्य अवश्य थियो। एक उनलाई छाडेर संसारका अन्य सबै महापुरुष दुई श्रेणीमा विभाजन गर्न सकिन्छ – एक जो आँफुलाई संसारमा भगवानको अवतारको रुपमा अवतीर्ण भएको बताउछन्, र अर्का जो आँफुलाई ईश्वरको दूत मान्छन्। यी दुवैले आफ्नो प्रेरणा शक्ति बाहिरबाट लिन्छन् चाहे उनीहरुको भाषा जति सुकै आध्यात्मिकता पूर्ण किन नहोस्।

परन्तु एकमात्र बुद्ध नै यस्ता महापुरुष हुन् जसले भन्दछन् “म ईश्वरका संबन्धमा तिमीहरुको मतमतान्तर जान्न चाहन्न। आत्माको संबन्धमा निरर्थक बहस गरेर के फाईदा? कल्याण गर कल्याणकारी बन। वस, यसैले तिमीलाई निरवाण तर्फ लैजान्छ, अर्थात सत्यको मार्गमा प्रवृत्त गराउछ”। विवेकानन्दले अवतारवाद, ईश्वरवाद र आत्मवाद भन्दा माथि बुद्धलाई राखेका छन्। संभवतः यो उनको लामो ज्ञानखोजको निष्कर्ष हो। वस्तुतः बुद्धलाई हिन्दुहरुले भन्ने गरेकेा अवतार–वादको विवेकानन्दले खण्डन गरेका छन्।

बुद्धधर्मलाई हिन्दुधर्मको शाखा मान्ने वा बुद्धलाई ईश्वरीय अवतार भन्ने कुराको जोडदार खण्डन गर्नेमा उदभट दार्शनिक रजनीश (ओशो) का भनाई पनि तिलकमानजीकेा पुस्तिकाको सन्दर्भमा उद्धृत गर्नु वा चर्चा गर्नु आवश्यक छ। बुद्ध र बुद्धका उपदेश (धम्मपद) संबन्धमा बोल्दै ओशो भन्छन् – “तिमीहरु बुद्धलाई अरुको दाँजोमा नगन। हिन्दुहरु बुद्धलाई आफ्नो दश अवतार– मध्ये एकमा राखेका छन्। बौद्ध पनि हिन्दुले बुद्धप्रति धेरै सम्मान गरेका छन् भन्ने सोच्छन्। तर म त्यस्तो सोच्दिन। किनकि बुद्धलाई दश अवतारमा राख्नु बुद्धको ध्रुवतारामाथि प्रहार गर्नु हो। बाँकी हिन्दुका नौ ओटा अवतार छन्। तिनिहरुले कुनै नयाँ कुराको सूत्रपात गरेका छैनन्। कुनै पनि क्रान्ति उनीहरुबाट प्रारम्भ हुँदैन। उनीहरुले मात्र शाश्वत सत्यलाई दोहोर्याएका छन्। उनीहरु अवश्य पनि बहुमूल्य पुरुष थिए तर अनौठा थिएनन्। तिनीहरुबाट परम्परालाई बल प्राप्त भयो तर क्रान्तिको जन्म भएन। त्यसैले बुद्धलाई कुनै दशअवतारको साथमा जोड्नु वुद्धको अपमान हो, सम्मान होइन”।

खासमा तिलकमानजीले “के बुद्ध धर्म हिन्दुधर्मको शाखा हो र? ” पुस्तिकामा जुन कुरा उठाएका छन् ती महत्वपूर्ण छन्। कृतिको आकार सानो छ, विषय बस्तु भने ठूलो महत्वको छ पठनीय एवं मननीय छ।

धेरै पहिले एक पश्चिमा लेखक कोलिन रोसरको “नेवारको जातीय पद्धतिमा सामाजिक परिचालन (सोसियल मोविलिटी इन नेवार काष्ट सिस्टम)” भनेका छन्। पूजारी वा पुरेतको रुपमा गुभाजुका कर्महरुलाई परिपोषित गर्नु उचित छैन मेरो विचारमा तर, के कुरा यथार्थ हो भने गुभाजुहरु लगायत नेवारी केही थरहरु छन जो परंपरागत रुपमा नै बुद्धधर्मका उपासक उपासिका रहँदै आएका छन्। यस दृष्टिकोणबाट विचार गर्दा आफ्नो वंशपरंपरालाई उच्चरुपमा पालना गदैं आएकाहुन् पनि भन्न सकिन्छ तिलकमानजीलाई। तर कुरा वंशपरंपराको होइन। निष्ठा, प्रतिवद्धतापूर्ण अवलम्बन र अध्यवसाय तथा सतत् लगनशीलताको हो। तिलकमान निरन्तरका साधक हुन्। उनले आफ्नो अनवरत मेहनत र साधनाका माध्यमबाट धेरैलाई जगाए। जगाई रहेकै छन्। बुद्धधर्मको अनुशीलन र अनवरत प्रचार –प्रसारमा उनकेा योगदान स्तुत्य छ। त्यसैले, बुद्ध पूर्णिमाको पावन अवसरमा, समवेतस्वरमा भनौं – तिलकमान गुभाजू

तपाइको विचार व्यक्त गर्नुहोस्

अन्य शिर्षकहरू

अन्तराष्ट्रिय फौजदारी अदालत तथा रोम विधान

अमेरिकी रणनीति र नेपाल

थिलथिलिएको युवा मस्तिष्क

औपचारिक कार्यक्रमका झन्झट

हत्याकाण्डको जगमा स्थापित राजनीति

प्रमुख समाचार

परिवर्तन बिरोधीहरु राजतन्त्र फर्काउने कसरतमा छन्– नेपाल