प्रजातन्त्रको मूल्य र मान्यता

सन्दर्भ ६९ औं प्रजातन्त्र दिवस

शिवप्रसाद गौतम
फागुन ७, २०७५

राजनीतिका क्षेत्रमा प्रजातन्त्रको अर्थ कुनै शासन व्यवस्था वा पद्धति हो । जस्तै राजतन्त्र, प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र आदि । प्रजा वा जनताद्वारा निर्वाचित, जनप्रतिनिधिद्वारा चलाइने शासन व्यवस्था, जनप्रतिनिधिहरुका हातमा शासन सत्ता भएको राज्य व्यवस्था, जनताद्वारा जनताका लागि जनताकै राय सल्लाहाबाट चलाइने शासन प्रजातन्त्र हो ।

नेपालमा निरङ्कुश राणा शासनको अन्त्य भएर २००७ सालमा प्रजातन्त्र आएको उपलक्ष्यमा बर्सेनी फागुन ७ गते मनाइने राष्ट्रिय उत्सव राष्ट्रिय प्रजातन्त्र दिवस हो । आज हामी नेपालीले ६९ औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाइरहेका छौँ । अर्थात् नेपालमा शासन व्यवस्थमा प्रजातान्त्रीकरण भएको ६८ वर्ष पूरा भएर ६९ औँ वर्ष प्रारम्भ भएको छ । यो अवधिमा मुलुकमा धेरै राजनीतिक उतारचढावहरु भए ।

देशमा राजा सहितको प्रजातन्त्र चल्यो तथापि जनचाहनाहरु पूरा भएनन् । वंश परम्पराको शासन चल्यो । प्रजातन्त्र भएर पनि जनताले आफ्नो चाहना अनुसारको शासन चलाउन पाएनन् । प्रजातन्त्र भए पनि राजा नै शासनका सर्वोच्च बिन्दु थिए । सर्वोच्च अदालतबाट दोषी प्रमाणित भएका विषयमा राजाको हुकुम प्रमाङ्गीबाट दोषमुक्ति पाउने शासन प्रणाली थिए । अर्थात् शासन प्रणालीमा प्रजातन्त्रको पुच्छर जोडिएको थियो, शिर राजतन्त्र नै थियो । वि.सं. २०१५ सालमा संसदको निर्वाचन भयो । यो निर्वाचनमा नेपाली काँग्रेसले संसदमा दुई तिहाइ भन्दा बढी सिट ल्यायो । नेपाली काँग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको नेतृत्वमा मन्त्रिमण्डल गठन भयो । उनी नेपालका जननिर्वाचित सरकारको पहिलो प्रधानमन्त्री थिए ।

विक्रम संवत् २०१७ साल पौष १ गते तत्कालीन राजा महेन्द्रले प्रजातन्त्रको हत्या गरेर निर्दलीय पञ्चायती प्रजातन्त्र नामक शासन प्रणाली देशमा लादे । जबकि शासन व्यवस्थाको सर्वोत्कृष्ठ प्रणाली प्रजातन्त्र हो भनेर विश्वले मानेको अवस्था थियो। पञ्चायती प्रजातन्त्रमा निरङ्कुश राजतन्त्र चलेको थियो । पञ्चायती व्यवस्था तीस वर्ष चल्यो । यो समयमा पनि प्रजातन्त्र दिवस मनाइन्थ्यो । राजाका आसेपासे गासेहरूले राजाकै स्तुति गान गरेर दिवस मनाउँथे । पञ्चायत विरोधी प्रजातन्त्र प्रेमी नेतालाई पञ्चहरुले अराष्ट्रिय तत्व नामाकरण गरेका थिए । प्रजातन्त्र प्रेमीले राजभक्तलाई मण्डलेको उपाधि दिएका थिए ।

प्रजातन्त्रमा विश्वास राख्ने प्रजातन्त्रको अनुयायी प्रजातन्त्रवादीहरुलाई निरङ्कुश पञ्चायती व्यवस्था हटाएर देशमा शुद्ध प्रजातन्त्र स्थापना गर्ने राजनीतिक परिपाटी कायम गर्ने अभिलाषा जागरुक नै थियो । यसैको परिणाममा २०४७ सालमा तीस वर्षको अन्तराल पछि पञ्चायती प्रजातन्त्रकेा अन्त्य भई देशमा संसदीय प्रजातन्त्र प्रारम्भ भयो । जननिर्वाचित प्रतिनिधिहरुबाट देशको शासन चल्न थाल्यो । राजा संवैधानिक राजा भए । यहाँसम्म आइपुग्दा पनि प्रजातन्त्र हिङ होइन हिङ बाँधेको टालोको रूपमा रह्यो ।

वि.सं. २०५१ साल फागुन १ गतेबाट नेपालमा माओवादीहरुको दस वर्षे जनयुद्ध प्रारम्भ भयो । २०५९ साल जेष्ठ १९ गते दरबार हत्या काण्ड भयो । राजा वीरेन्द्रको वंश नाश भयो । उनका भाइ ज्ञानेन्द्र राजा भए । उनले पनि आफ्ना पिताका झैँ शासन चलाउने धृष्टता राखे । जसको परिणाम उन्नाइस दिने जनआन्दोलन भयो । यो आन्दोलनले देशमा राजतन्त्रको अस्तित्व लोप भयो ।

मुलुकको शासन व्यवस्था लोकतान्त्रिक पद्धति तर्फ मोडियो । बहुसङ्ख्यक जनताद्वारा छानिएका जनप्रतिनिधिहरुको सम्मति अनुसार देशको शासन व्यवस्था चलाउने र नीति निर्धारण आदि हुने शासन प्रणाली; प्रजातन्त्र लोकतन्त्र हो । लोकतन्त्र र प्रजातन्त्र एउटै अर्थ भएका पर्यायवाची शब्द हुन् । बाबुराम भट्टराईको प्रधानमन्त्रीत्व कालमा राज्यले प्रजातन्त्र दिवस मनाएन । प्रजातन्त्र विनाको लोकतन्त्र हुनै सक्तैन । लोकतन्त्रको शासनपद्धति वा सिद्धान्त लोकतन्त्रवाद हो भने लोकतन्त्रवादको अनुयायी वा सिद्धान्त मान्ने लोकतन्त्रवादी हुन् भनिन्छ तर नेपालमा सिद्धान्तमा लोकतन्त्र आएको छ । व्यवहारमा लोकतन्त्रवादी नेताको अझै पनि अभाव छ । देशको शासन पद्धतिलाई लोकतन्त्रको रूप दिने वा त्यस अनुसार चलाउने; प्रजातान्त्रीकरण लोकतान्त्रीकरण व्यहवारमा कार्यान्वयन भएको अवस्था छैन । नेपालमा विश्वका प्रायः सबै राजनीतिक व्यवस्था अनुसरण भइसकेको छ तर कुनैले पनि सार्थकता नपाएको अवस्था छ । विश्वको सर्वोत्कृष्ट शासन प्रणाली प्रजातन्त्रलाई मानिएको छ । कुनै पनि शासन प्रणाली देश र जनताको हितमा सञ्चालन भएको छैन भने त्यसलाई सफल शासन प्रणाली मान्न सकिन्न । मुलुकमा अहिले पनि राजनीतिक अनुशासनको खाँचो छ ।

आज हामी नेपालीले प्रजातन्त्र दिवस मनाइरहेका छौँ । प्रजातन्त्र शासन सञ्चालनको एउटा पद्धति हो । यो साध्य होइन । प्रजातन्त्र, लोकतन्त्र, संघीय लोकतान्त्रिक गणतन्त्र शासन व्यवस्था त्यतिबेला सार्थक हुन्छ जुन बेला जनप्रतिनिधिहरुले आफ्नोव्यक्तिगत स्वार्थलाई त्यागेर देश र जनताको हितमा काम गरेर जनतालाई चित्त बुझाउँछन् । प्रजातन्त्र शासन सञ्चालनको सकारात्मक पक्ष हो तर व्यवहारमा यसलाई नकारात्मक रूपमा चित्रण गरिएको छ । यो मुलुक र मुलुकवासीको चिन्ताको विषय भएको छ । यसमा शासकहरुले ध्यान दिउन भन्ने जन अपेक्षा छ । जय मातृभूमि नेपाल आमा ।

Related News

सम्बन्धित समाचार

hero news full width