पोखरेल गाउँ उन्नत गाई पालनमा

Avatar नवराज पहाडी
कार्तिक २०, २०७६

लमजुङको एक गाउँका पोखरेल बन्धु मिलेर उन्नत जातका गाई पालनमा जुट्दै स्वरोजगार प्रवद्र्धन कार्य गरेका छन्। उनीहरूले दैनिक सात सय लिटर दूध उत्पादन गरिरहेका छन् र अबको छ महिनाभित्र शतप्रतिशत उत्पादन बढाउने लक्ष्यका साथ लागि परेको उनीहरूले बताए।

सुन्दरबजार नगरपालिका–७ पाउँदी नजिकको पोखरेल फाँटका ४५ घर पोखरेलहरू प्रायः सबैले गाई पालन गरी उदाहरणीय कृषक बन्ने अभियानमा जुटेका छन्।

करिब आठ वर्षदेखि सो पेशा अंगाल्न शुरु गरेका उनीहरूले दुई वर्ष अघिसम्म दूधको बजार सुनिश्चित नभएका कारणले गर्दा यो पेशा छाड्ने मानसिकतामा थिए। तर यतिबेला भने गाई किन्न पाएमा २, ४ वटा थप गर्ने तयारीमा सबै बन्धु छन् सो कार्यमा अगुवाको भूमिका खेल्ने धु्रव पोखरेलले भने। आफू र गाउँले दाजुभाइका लागि प्रेरणाको स्रोत सोही वडाको पाउँदी निवासी धु्रव नै हुन्। उनले ‘कामधेनु गाई फार्म’ दर्ता गरेको गाई पालन कार्य सञ्चालनमा जुटेको बताए। उनले भने, ‘८ वर्ष अघि घरमा दूध खानका लागि किनेर ल्याएको एउटा गाईका माउबाच्छाबाट यस्तो कार्य सम्भव भएको हो। ’ त्यो गाईले दूध दिएको देखेपछि गाई पाल्दा हुने रहेछ भन्ने लाग्यो र गाई पालनलाई नै पेशा बनाएर व्यवसायिक रूपमा काम गर्न थालेको छ वर्ष भएको धु्रवले बताए।

उनका अनुसार आफ्नो कामधेनु गाई पालन फार्ममा यतिबेला साना ठूला गरेर ५१ वटा गाई र बाच्छीहरू छन्, तीमध्ये २५ वटा ठूला छन्। १७ वटाले दूध दिन्छन् बाँकी अबको एक डेढ महिनामा व्याउनेवाला छन्। उनले भने, ‘ती गाईको दानाका लागि ४२ रोपनी खेतमा बहुवर्षीय नेपियर, मलाटो, सिफोर, सिटेरिया आदि उन्नत जातका घाँस लगाएको छु, हिउँदको लागि जै घास लगाउने गरिएको छ। ’

उनको फार्ममा आफू, श्रीमती र तीन जना कामदार पुरै खट्ने गरेको उनले जानकारी दिए। मासिक आम्दानी र खर्चबारेमा जिज्ञासा राख्दा उनले भने, ‘यतिबेला त खासै आम्दानी छैन। किनकि, मेरो गोठमा धेरै बाच्छी र व्याउनेहरू छन, तिनलाई पनि दाना पानी उत्तिकै जस्तो दिनु पर्छ अबको एक डेढ महिनामा सबै ब्याउँछन् त्यसपछि भने खर्च कटाएर मासिक ५०–६० हजार बचत हुन्छ। ’

गाईपालन कार्यमा के कसरी लाग्नु भयो? भन्ने जिज्ञासामा अर्का गाइपालक किसान टंकराज पोखरेलले बाँदरले सताएर खेतबारीमा केही खेती लगाएर पनि खान नदिने भयो, त्यसैले पनि गाई पालन गर्नु पर्ने बाध्यता आइलाग्यो भन्छन्। उनले भने, ‘तर यतिबेला भने हामी खुशी छौं। २/४ हजार सरसाट चाहिँदा पनि अन्यत्र गाउँमा धाउनु पर्दैन। आफ्नै वल्लोपल्लो घरका दाजुभाइसँग माग्दा पाइन्छ। ’ उनले थप भने, ‘आज मेरो मोवाइल हरायो, तर म पर्सीसम्म किनी हाल्छु। उनका अनुसार पाँच/सात वर्ष अघिसम्म हामीलाई यस्तो सुविधा तथा क्रयशक्ति गाउँघरमा थिएन। २०६८ सालमा ८० हजारमा तिरेर ल्याएको एउटा माउबाट अहिले ६ वटा भएका छन्। अहिले दिनमा दुई सय लिटर दूध बिक्री गर्ने गरेको छु उनले भने। ‘३/४ वर्ष अघिसम्म गाउँघरमा खसी काट्दा पैसा नभएका कारण प्रायः मासु नखाने छिमेकी दाजुभाइहरू अहिले त्यस्तो मौका कहिल्यै नचुकाउने भएका छन्’ अर्का किसान केशवप्रसाद पोखरेलले भने। उनले अर्को रहस्य खोदै भने, ‘गाई पालन नगर्दासम्म हामी लोग्नेमान्छे काम नपाएको हुनाले कोही पनि दिउँसोको समयमा घरमा भेटिदैनथ्यौं, सबै तलको पाउँदी बजारमा हुन्थ्यौं। गफ्फीएर बस्नु मात्र हाम्रो काम थियो, कोही कोही त ताल खेल्ने पनि भएका थिए तर ऐले बजारमा कोही भेटिदैनौं, सबै आ– आफ्नो घरमा व्यस्त छौं उनले गर्वका साथ भने।

नेपाली सेनाको निवृत्त सिपाहीसमेत रहेका उनले भने, ‘पैसा कमाउन भनेर म दुवईमा गएँ, एक वर्ष बसे पनि। लगातार ७२ घण्टा ड्युटीमा खट्नु पर्थ्यो, त्यो भन्दा त यो काम कति जाती कति !’ आफूले तीन वटा गाई पालिरहेको बताउँदै अन्य दुई वटा तुरुन्तै थप्ने योजनामा छु उनले सुनाए।

अर्का किसान तीर्थराज पोखरेलले आफूले ओभरसियरको जागिर छाडेर विगतको एक वर्षदेखि गाई पालन पेशामा लागेको बताए। ‘यो भन्दा त ओभरिसयकै जागिर ठीक थियो होला नि !’ भन्ने हाम्रो जिज्ञासामा उनले भने, ‘त्यो जागिर पनि अस्थायी थियो, कहिले कता कहिले कता जानु पर्ने, त्यो भन्दा आफ्नो गाउँघरमा परिवारका साथमा बसेर गर्न पाइने यही काम ठीक लागेको छ। छ वटा गाई पाल्न थालेको छु। त्यो जागिरबाट भन्दा यसै पेशाबाट बढी कमाई हुन्छ भन्ने विश्वास छ उनले भने। उक्त पोखरेल गाउँमा व्यवसायिक रूपमा गाईपालनको काम गर्ने २९ घर रहेका छन्। गाईको एउटा माउ वा बाच्छी पाल्नेहरू समेतको कुल संख्या ४५ रहेको धु्रव पोखरेलले जानकारी दिए। उनले भने– ‘अब हामी ३, ४ महिनाभित्र सहकारी स्थापना गदैर्छौं, त्यो मार्फत पनि काम गछौं। ’ उनी भन्छन्, ‘सहकारीमा जानु पर्ने कारण चाहिँ बजारको सुनिश्चित गर्नका लागि हो। ’

दुई वर्ष अघिसम्म दूध खरिद गरेको ‘किसान डेरी’ले समयमा पैसा दिएन, कति त अझै बाँकी छ। त्यसपछि आर्भा डेरीलाई २, ३ महिना दिइयो त्यसले पनि राम्रो गर्ने छाँट देखिएन। अनि बजारको समस्या सिर्जियो, त्यसपछि पोखराको एक डेरीसँग सम्झौता गरी दैनिक सात सय पचास लिटरको सम्झौता गरेका छौं। त्यसले दुई जना कर्मचारीसमेत राखेर यहाँ संकलन भएको दूधको चिज र पनिर बनाएर पोखरा लगेर बिक्री गर्दछ। हिजोआज यहाँ सरदर ७ सय लिटर दूध संकलन हुन्छ। अबको तीन चार महिनामा १२, १३ सय लिटर दूध संकलन हुने अनुमान छ। त्यसैले सातसय ५० लिटर माथिको दूधको बजार आवश्यक पर्ने भएको हुँदा हामीले सहकारी दर्ता गर्न खोजेका हौं धु्रवले भने। गाई पालन गर्दै आएका उनीहरूले ऐले पनि दशरथ गाई समूहका नाममा काम गरिरहेको जानकारी दिए।

आठ वटा गाई पाल्नु भएकी सिर्जना पोखरेलले भनिन्, एउटा व्याउने भएको छ। सात वटाले दूध दिन्छन्। उनले थप भनिन्, ‘गाई पाल्न थालेपछि राम्रो भएको छ। गाउँको वरपर नेपियर घाँस लगाएको हुँदा त्यसको जंगल छिचोलेर बाँदर आउन सक्ने रहेनछ। मकै आदि केही पनि लगाउन दिँदैनथ्यो बाँदरले। मकै लगाउँदा एक सिजनमात्र हुन्थ्यो भने बुहवर्षीय घाँस लगाउँदा पोषिलो भएर गाईले दूधसमेत धेरै दिन थालेको उनले बताइन्।

आफ्नो संकलन केन्द्रमार्फत दैनिक ६० लिटर दुध प्रति लिटर ८० रुपैयामा बिक्री हुने गरेको धु्रव पोखरेलकी सहधर्मिणी जानुका तिवारीले बताइन्। उनका अनुसार हामी श्रीमान् श्रीमती खट्छौ र तीन जनालाई जागिर दिएका छौं। गाईलाई खुवाउने घाँस मेसिनले टुक्रा पारेर पानीमा भिजाएर केही दानासमेत मिसाएर दिँदा स्वस्थ्यकर हुनुका साथै थोरैले पनि पुग्ने हुन्छ। त्यसैले घास टुक्र्याउने मेसिननै राखेका छौं उनले भनिन्। यो काम के कसरी थाल्नु भएको हो? भन्ने जिज्ञासामा जानुकाले भनिन्, ‘गाई पालन गर्नुभन्दा अघि कुखुरा पालेका थियौं, त्यसमा हैरानी बढी भयो, कहिले त कुखुरा सबै मर्ने भए, त्यो भन्दा यो काम सजिलो लागेको छ। ’ डेरीले किन्ने दूध ल्याक्टोका आधारमा प्रतिलिटर ६२ रुपैयाँदेखि ६८ रुपैयाँसम्म पर्छ उनले भनिन्।

यो पेशामा समस्या पनि त होलान् नि? भन्ने जिज्ञासामा टंकराज पोखरेलले भने, ‘यो सासको खेती, अरू पसल चलाएको जस्तो आज बन्द गरौं र यता उता घुमौं भन्ने मौका चाहिँ यसमा हुन्न। ’ उनले थप भने, ‘हामीलाई फुर्सद भनेको बिहानको खाना खाएपछि दश साडे दश बजेदेखि साडे दुई बजेसम्म हो, आराम गर्ने, तीन बजे त गाईलाई कुडो, पानी धाँस दिनै पर्छ नत्र बेलुका दूध घटी भइहाल्छ। ’ यौटा समस्या चाहिँ २, ४ दिन इष्टमित्रकोमा जाऔं वा घुम्न जाऔं भन्न पाइन्न अरू ठीक छ उनले उल्लेख गरे। यतिबेलाको मूल समस्या भनेको गाईका लागि खुवाउन र नुहाउनका लागि आवश्यकता अनुसार पानी नपाउनु रहेको छ। त्यसको समाधानका लागि वडा समितिको लगानीमा पाउँदी खोलाबाट पम्पिङ गरी पानी तानेर ल्याउने र वितरण गर्ने गरी गाउँको शिरानमा २४ हजार लिटर क्षमता भएको टंकी निर्माण गरिएको छ। यो काम गत आवमा गरिएको हो। चालु आवमा अब त्यो पानी टंकीबाट घरघरमा पाइपमार्फत् लगेर धारा जडान गर्नु बाँकी छ धु्रवले बताए। टंकीको निर्माण कार्यमा गाउँलेहरूले समेत श्रमदान गरी सहयोग गरेको उनको भनाइ छ।

एउटा गाईलाई एक दिनमा पाँच सय लिटर पानी चाहिन्छ तर हामीले यो पानी आउनु अघि एउटा गाईका लागि सरदर तीन सय लिटर पनि पानी खर्चिन मुस्किल थियो अर्का किसान प्रदीप पोखरेलले बताए। उनले भने, ‘गाईलाई नुहाउने हो भने दिनमा एक लिटर दूध बढी दिन्छ। तर पानी नभएको कारणले गर्दा हामी तीन चार दिनमा मात्र गाईलाई नहाउने गरेका थियौं। ’

‘यस्तो काम गर्दा यहाँहरूलाई सरकारी सुविधा, अनुदान आदि पनि प्राप्त भएको होला नि ! के कति पाउनु भएको छ? ’ भन्ने जिज्ञासामा धु्रवले हाँस्दै भने, ‘त्यो त (यो प्रतिनिधिलाई संकेत गर्दै) सरलाई थाहा छ नि ! यो देशमा नेताहरूको चाकडी नगरी केही झर्दैन। हामी त फेरि खराब कामका विद्रोही परियो। कस्ले के दिने हामीलाई? ’ भन्दै प्रति प्रश्न गरे। उनले थप सुनाए, ‘हामीले आशा गरेका पनि छैनौं हामीले, ऐले वडा अध्यक्ष जयराम रेग्मीले आफै आएर म केही सहयोग गर्छु भनेर सदासयता देखाएको हुँदा हामीले गाईहरूलाई आवश्यक पानीको योजना चाहिएको भन्यौं, त्यो ल्याउन सहयोग पाइयो। ’ उनले थप भने ‘सबै दलका नेताहरूलाई थाहा छ, ६, ७ वर्षदेखि हाम्रो यो गाउँमा यस्तो काम भइरहेको छ भन्ने। हामीले अबर जाने सपनालाई यही गाउँघरमा विच्छ्याएका छौं, हामी सहयोग पाएमा डेरी सञ्चालनको तयारीमा छौं। राज्यले सहयोग गर्न चाहेमा सक्छ। तर हामी हजुर ! भन्दै भिख माग्न जाने पक्षमा छैनौं। ’ धु्रवको अभिव्यक्तिमा स्वाभिमान, कुण्ठा, आग्रह, आक्रोश एक साथ झल्किन्थ्यो।

‘उन्नत जातका गाई पाल्न हुन्छ। ’ भन्ने सन्देश दिन चाहन्छौं हामी केशवप्रसाद पोखरेलले भन्नुभयो। उनका अनुसार तर गाई पाल्न थाल्दा कोरली बाच्छी भन्दा लैनो गाईबाट शुरू गर्दा नै फाइदा हुने रहेछ। त्यस्तो गाईले दिने दूध आधा उसैलाई स्याहार गर्दा खर्च हुन्छ आधा दूध बचत हुन्छ भनेको दिनहुँ बेच्न पाइयो, अनि त त्यो गाईको मूल्य घट्दै जाने भो नि ! कोरली ल्याएर त पाल्दा पाल्दा हैरान बाली गएर बहिले व्याउने हो? शुरुका दिनमा कोरलीले जित्छ भन्ने लाग्थो त्यो होइन रहेछ दूध दिने माउले नै जित्दो रहेछ उनले गर्वका साथ सुनाए।

तपाइको विचार व्यक्त गर्नुहोस्

अन्य शिर्षकहरू

नेपालको राजनीति र जनताको अवस्था

सार्कलाई पुनर्जीवन दिने चिन्ता

पर्यटकीय सम्पदा व्यवस्थापन एवं प्रवद्र्धन

हाम्रो परिचय क्षेत्र हिमवत्खण्ड नेपाल

जनता र नेता बीच अन्तर

प्रमुख समाचार

पीपीएलमा पोखराको सुखद सुरुवात

थप प्रमुख समाचार