पोखरा, साहित्योत्सव र कुरा काट्ने कुरा

आदर्श समाज सम्वाददाता
माघ २३, २०७२

‘सत्य कुरा त भन्नै मिल्दैन, मिलाएर भन्नुपर्छ …!’, लिम्बु टोनमा, पूवेली शैलीमा उपेन्द्र सुब्बाले भने। उनी अभिनय जान्ने मान्छे। अभिनयजस्तो पनि नदेखिने, सोझोले सत्य कुरा ओकलेझैँ सुनियो। कागहरूले सुनुन्-कागहरूको गीत कर्कश सुनिएको थियो। आयोजकहरूका पिता-पितामहहरूकै नियत बाङ्गो भएपछि कसैको केही लाग्दैन। यति कुरा चाहिँ पक्का हो, बाङ्गो नियतकाहरू सुरम्य गन्तव्यमा कहिल्यै पुग्दैनन्। मेला हो, मेलामा थरिथरिका मान्छे आउने नै भए। ठालूहरूको भीडभाडमा पुगेका जनताका लागि पनि मनोरञ्जन मनग्गे थियो। आ-आफ्नो गच्छे अनुसारको ‘इन्ज्वाय’ हुने कुरा। यहाँ पोखरा, साहित्योत्सवको कुरा गरिदैँ छ। हामीले एउटा कुनामा कुरा काटेका थियौँ, ‘लोकतन्त्रमा खान पाइन्न, बोल्न पाइन्छ।’

हामी थियौँ १६ जीउ। जागिर भ्याएर असिनपसिन गर्दै आउने नै बढी थिए। सहिदपार्कभित्र साँझको चिसो छिप्पिँदै थियो। ‘साहित्य शृङ्खला’का संयोजक भीम रानाभाटले ‘गेट टुगेदर’को थिति मिलाएका थिए। उनले डा. कृष्णराज अधिकारीलाई साहित्योत्सवप्रति दृष्टिकोण राख्न अनुरोध गरे। ‘यो व्यापारीहरूको भेला हो, खासै कमेन्ट आवश्यक छैन। तापनि स्थानीय हर्ताकर्ताहरू साह्रै एकाङ्गी भएर नाङ्गिए। पोखराको साहित्योत्सवमा पोखराका वाङ्मयिक संगठनहरूलाई वेवास्ता गरियो। हामी प्रगतिशील साहित्यकारहरूलाई पूरै उपेक्षा गरियो।’

शालीन पाराका सज्जन डा. अधिकारीको चित्त दुखाइमा आधार थिए, कारण र प्रमाण थिए। प्रतिश्पर्धाबाट आफूले सीधै पाउने कृषि विकास बैंकको जागिर वैकल्पिकका साथीलाई छाड्ने छाती दुख्नु निकै नरमाइलो पक्ष हो। त्यसैले लडाइँ छ। समाजमा अन्तहीन जनयुद्ध जारी छ। एमाओवादीले १० वर्षे जनयुद्धको भारी बिसाउँदैमा सधैँका लागि स्र्वर्गको हालिमुहाली पाएको ठान्नेहरू भुलमा छन्।

‘अम्बे सिमेन्टको प्रचार शैलीमा पोयुसाँपको बढ्याइँलाई बेहद गरियो। ‘पोखरेली साहित्यको प्रभाव’ विषयमा हामी हौँ र हामीमात्रै छौं भन्नु खोर्सानीको माला लगाउनुजस्तै हो’-मैले मञ्चमै पूर्व पञ्चहरूलाई भनेँ-‘यो राम्रो भएन।’ सरिता तिवारी निकै आक्रामक देखिइन्। उनले युग पाठक र संगीत स्रोतालाई स्पष्टीकरण सोधिन्-‘केन्द्रमा तपाईंहरूसँग कस्तो सल्लाह गरियो -’

युग पाठकको आडैमा रहेका नारायण मरासिनीले साउतीको भाषामा बोले-‘हामीले प्रलेसबाट सुकुम्बासी वस्तीमा साहित्यिकसभा लैजाँदा भाँडहरू राजाका चाकरीमा पुगेका थिए। उनीहरू निकटकै पत्रिकाहरूका समाचार सुरक्षित छन्। सुत्दाका राजावादीहरू उठ्दा गणतन्त्रवादी बनिदिँदा लोकतन्त्रको खिल्ली उडिरहेको छ। हाम्रा राम्रा साथीहरूलाई स्वाभिमान तल पार्न बाध्य पारिँदै छ।’

फेस्टिबलको कुरा काटिँदै गर्दा कुनामा साँझ छिप्पिएर रात हुन थाल्यो। लक्ष्मी थापा र कल्पना चिलुवालको आतस अँध्यारैमा पनि देखिन्थ्यो। फेस्टिबलमा सीमा आभासले भनेकी थिइन्, ‘पूँजीपतिहरू यौनलाई अत्यधिक उचाल्छन्। पुरुषहरू यौनसम्बन्धपछि प्रायः सकिन्छन्। हामी महिलाहरू त्यहाँबाट फेरि सुरु हुन्छौं।’ घरमा बिरामी, सर्र्टिफिर्केट नबिकिरहेको अवस्था, बस बन्द हुँदै थियो। कसरी घर जाने – लक्ष्मी र कल्पनाको आतस अस्वभाविक थिएन। यहाँ यस्तै छ। ‘कतै मातैमात, कतै पुर्पुरोमा हात !’

पसलमा सामान कसरी सजाउने र बाना मिलाउन के-के राख्ने, व्यापारीहरू जान्दछन्। फेस्टिबलमा बानाको सजावट आकर्षक थियो। पहिलो चरण, माघ १५ का दिन ‘कस्तो नयाँ शक्ति -’ विषयमा बोल्न डा. बाबुराम भट्टराई, योगेश भट्टराई र सुधीर शर्मा डाकिएका थिए। योगेश भट्टराईले स्वर उचालेर भने, ‘नेपालमा भाँडहरू बढी छन्। जोडा मिलाइदिने लमी साइकिल चढ्छ। जोडा फुटाइदिने वकिल कार चढ्छ।’

‘एमाले कस्तो भूमिकामा छ -’ प्रश्न सोधियो। ‘हामी लमीको भूमिकामा छौं।’ योगेशले जवाफ दिए। एउटा प्रायोजित ताली बज्यो।

डा. भट्टराईको पालोमा भनियो, ‘मलाई पनि धेरै लमीहरूबाट प्रस्ताव आएको थियो तर मैले लभ म्यारिज नै गरेँ। लमीहरू जोडाको होइन, आफ्नोमात्र भविष्य हेरेर काम गर्दछन्।’ २/४ जनाले ताली पिटे। भोलिपल्ट स्वणिर्म वाग्लेले आफ्नो डम्फु यसरी बजाए-‘नयाँ शक्ति शब्द हाइज्याकिङ्मा परेको छ। यसको सुरुवात रवीन्द्र मिश्रले गर्नु भएको थियो।’ डा. बाबुराम त्यहाँ थिएनन्। मिश्र मञ्चमै वक्ताका रुपमा दोहोरिँदै थिए। मिश्रले जोड दिए, ‘नेपाल बनाउन माथि होइन, तलै सुधार्नुपर्छ। परिवारलाई पहिले असल बनाउनुपर्छ।’ दर्शकदीर्घामा खस्याकखुसुक चल्यो, ‘सबैका बाबु रवीन्द्र मिश्रका जस्तै प्रतिभाशाली हुँदैनन्। मूल सङ्लो नभई तल सङ्लो बग्दैन।’ पिताम्बर शर्माको ‘विद्वत प्रवचन’ पण्डितको पुराण वाचनजस्तै सुनिन्थ्यो। दर्शक-स्रोता दीर्घाका विद्वानहरू पुराण सुन्ने विधवा ब्राह्मणीजस्तै देखिन्थे।

फेस्टिबलको तेस्रो चरणको साँझ कुरा काट्ने कुनामा युग पाठक र सङ्गीतस्रोता स्पष्टीकरण दिन बाध्य पारिए। ‘पुँजीपन्थी पाजीहरूको ढर्रामा प्रगतिवादी शिविरकाहरू उपस्थित नभए के हुने ?’-स्ट्रगल रानाको सोधनीमा जोस थियो, आक्रोश थियो।

‘त्यो सोँच केन्द्रमा पनि उठेकै हो’-स्पष्टीकरण आयो। ‘नजाने र जाने जिम्मा आत्मनिर्णयको अधिकार बन्यो। उनीहरू हामीलाई प्रयोग गरेर आफ्नो चिज बेच्छन्। हामी पनि उनीहरूको मञ्चमा आफ्नै विचार राख्छौं’। खगेन्द्र दाइलाई स्वाङ्गेहरूले आकाशमाथि उचाले। उनको बोलीको ठूलो इज्जत देखाइयो। लेखाइलाई कमसल ठहर्‍याउन खोजियो। यही कुटिलतालाई हामीले चिर्न सक्नुपर्छ। आहुति सम्पूर्ण रुपमा खुले। ‘जातको कथा र वहिष्करणको दलन’लाई उनको सशक्त अभिव्यक्तिले राम्रो प्रकाश पार्‍यो। पण्डितहरूले शास्त्रार्थमा हार स्वीकार गरेका छन्।’

‘अग्रीम शुभकामना, भोलिको सत्रमा तपाईँ पनि, ‘के लेख्ने, किन लेख्ने ?’ मा सम्पूर्ण सञ्चाँइ राख्नुहोला।’ अँध्यारोमै सरिताका सेता दाँत देखिए।

‘थ्याङ्क्यु, म कोसिस गरौंला’-युग पाठकले भने।

यादवचन्द्र भुर्तेलले ज्येष्ठ नागरिकको हैसियत दर्शाए-‘कुराले माछा मर्दैन। काम गर्नुपर्छ।’ पीथे साहु काम गर्छ, पैसा तिरेरै खादाको भारी ओढ्नु उसको सोख हो। भाइहरू काम गरौँ, कुरो छोट्याऊँ।’

कुरा काट्ने कुनाबाट हामी उठ्यौं। ‘महाभारतका प्रमुख पात्र’बारे प्रदीप गिरीले के भन्लान्’  मनमा जिज्ञासा उठ्यो। फेस्टिबलका भीमार्जुन को-को होलान् ? ठूलो संख्यामा शकुनीहरू नै देखा परेका छन्। कागहरूले मुखको रोटी फुत्किन्जेल गीत गाए। केही चिबेहरू पनि चिरर्र्बिराएकै हुन्।

फेरि दोहोर्‍याऊ ः यहाँ सत्य बोलिँदैन। ‘सत्यम् वद’मा भनिन्छ, ‘सत्य भए पनि अप्रिय नबोल ! ’ हो, हामीहरू मीठो बोल्ने रहरमा सधैँ असत्य बोल्छौँ, आत्मघात गर्छौ। आत्माघातीका लागि राष्ट्रघात उति ठूलो विषय नहोला। विद्वानहरूको मत अनुसार अबको दुर्इ वर्षभित्रैमा मधेस भारतमा गाभ्ने योजना छ। जोगाउनेहरूको भूमिका शून्य छ। गाभ्नेहरू लगातार आफ्नो योजनामा सफल देखिदैँछन्। प्रधानमन्त्रीको भारत भ्रमणबाट कति आशा गर्ने ? आशाका आधारहरू छैनन्। विद्वान-बुद्धीजीवीहरू काँ-काँ गरिरहेकै छन्। मौसम निकै उदास छ। उत्सवमा रमाउनेहरू थोरै छन्। चिल्लीबिल्लीमा रुनेहरूको संख्या दिनदिनै र छिनछिनै बढाइँदै छ।

Related News

सम्बन्धित समाचार

  • मेरो ओलम्पिक यात्रा संस्मरण

    आदर्श समाज सम्वाददाता असाेज ९, २०८१
    -तेजबहादुर गुरुङ ओलम्पिक सहभागिता जुनसुकै खेलाडीको लागि अन्तिम लक्ष्य हो । लामो समय खेल क्षेत्रमै जीवन समर्पण भएकाले मेरो निम्ति…
  • ‘स्व’ को खोजीमा प्रतीक्षा

    कृष्णप्रसाद बस्ताकोटी श्रावण ८, २०८१
    मूलतः मानिस धनको लालचले या त प्रख्यातिको भोकले तानिन्छ र यावत् कर्महरूमा यसरी जोगिन पुग्छ –कृष्णप्रसाद बस्ताकोटी चर्चित साहित्यकार सरस्वती…
  • गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण

    हरिबन्धु अर्याल जेठ २९, २०८१
    मुलुकको संवैधानिक प्रावधान र संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको काम हुँदै आएको छ…
  • नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)

    शेषराज भट्टराई जेठ १२, २०८१
    नमच्चिने पिङले झड्का मात्रै दिन्छ । चाहे लभका मामलामा होस् या जबका मामलामा अर्थात् सबका मामलामा काम नगर्ने मान्छेले गफ…
  • बालकथा : मौकाको साटो

    दिनेश बस्नेत जेठ १२, २०८१
    नेपालको पश्चिम भेगमा सुन्दा पनि अचम्म लाग्ने दुईओटा गाउँ थिए । एउटा लिखापुर र अर्काे भुसुनापुर । दुई गाउँको बिचमा…

hero news full width