पोखरा शोभा भगवती : एक समृद्ध एवम् भव्य शक्तिपीठ

आदर्श समाज सम्वाददाता
चैत्र २८, २०७१

नेवार समुदाय काठमाडौँ, भक्तपुर, ललितपुर, कीर्र्तिपुर तथा वरपरका ठाउँहरूबाट विभिन्न कारणले अन्यत्र बसाईं सराईं गरेको पाउँदछौँ। यसरी बसाइँ सराई गर्दा सो ठाउँहरूको भाषा, संस्कृति, भेष भूषा, रीति रिवाज, कलाकौशललाई पनि विभिन्न ठाउँमा स्थानान्तरण गरेको पाइन्छ। त्यसै अनुरूप स्व. नारायण दास रञ्जितकार पनि काठमाडौँ जैसी देवल चिकमुगलबाट बसाइँसराईको क्रममा पोखराको रानीपौवामा आइ बस्नु भएको पाइन्छ। उहाँ काठमाडौँको कला कौशल, देव देवालयहरूबाट ज्यादै नै प्रभावित हुनुहुन्थ्यो। आफ्नो बसाइको स्थायित्व भएपछि उहाँले हाल शोभा भगवतीको मन्दिर भएकै ठाउँमा शोभा भगवतीको मन्दिर स्थापना गर्नु भएको पाइन्छ। स्मरणीय रहोस् उहाँ जैसी देवलबाट नित्य शोभा भगवतीको दर्शन गर्न आउने गर्नु हुन्थ्यो । यो उहाँको दैनिकी थियो । उक्त मन्दिरको दाहिने तिरबाट क्रमशः पत्थरबाट निर्मित श्री गणेश, श्री शोभा भगवती तथा श्री भीमसेन महाराजका कलात्मक मूर्तिहरू स्थापित गरिएका छन्। शिखर शैलीमा निर्मित सो मन्दिर पहिला ढुङ्गा र बज्रलेपले बनेकोमा पछि सिमेन्ट तथा बालुवाबाट मर्मत गरिएको थियो। दाहिने र देब्रे तिर कलात्मक ढुङ्गाको खम्बामा काठको निदाल भएकोमा जीर्ण भएकोले हाल तिनसुरमा तिन वटा गजुर सहितका खम्बा बनाइएका छन्। गजुरको माथिल्लो भागमा सुनको जलप लगाइएको छ। शोभा भगवतीको मूर्ति साथै अन्य श्री गणेश तथा भीमसेनको मूर्तिको बिचमा ४ वटा पत्थरबाट निर्मित सिंहका साथै पित्तलबाट निर्मित १ फुट उचाइका ४ पित्तलका पानसहरू रहेका छन्। दाहिने खोपामा पत्थरबाट निर्मित पलान्चोक भगवतीका साथै देब्रे खोपामा सिंगमरमरबाट निर्मित शिवजीका मूर्तिहरू स्थापित छन्।

मन्दिरको नजिकै अगाडि बज्रलेपद्वारा निर्मित तुलसीको मोठ रहेकोमा पछि कलात्मक इटाद्वारा सजाइएको छ। मन्दिरको दाहिनेतिर करिब ५ फुट दुरीमा पहिला बज्रलेपबाट निर्मित मन्दिर रहेकोमा करिब १२-१५ वर्ष अगाडि कलात्मक इट्टाद्वारा कालो पहिलेकै पत्थरको महाकांल भगवान्को मूर्ति स्थापना गरिएको छ।

मन्दिरको मुल प्रवेशद्वार स्व. शिव शंकर रंजितकारका पिता स्व. भक्त बहादुर रंजितकारले निर्माण गर्नु भएको थियो । प्रवेशद्वार कलात्मक हुनुको साथै दाहिने देब्रे दुवै सुरमा सिंह र बिचमा कलात्मक गजुर रहेका छन्। सोद्वारको प्रवेश भाग कलात्मक काठबाट बनेकोमा पछि फलामको गेटबाट सुरक्षित पारिएको छ। बाहिर सडकतिर निक्लँदा प्रवेशद्वारको भित्रबाट देब्रेतिर बज्रबाट निर्मित बजरङ्गवली हनुमानका साथै दाहिने तिर माता सरस्वतीका मूर्तिहरू स्थापित गरिएका छन्।

मन्दिरलाई नियमित सञ्चालन तथा पूजा आजा गर्न सहयोग पुर्‍याउने उद्देश्यले शोभा भगवतीका संस्थापक स्व. नारायण दास रञ्जितकारका १० भाइ छोराहरू छुट्टभिन्न हुनु पूर्व कुँडहर फाँटमा पनि २० मुरी खेत देव गुठी कायम गरी -स्वामित्व हालसम्म निजकै छोरा नातिहरूका नाममा रहेको छ) दिनु भएको छ। धर्मशाला बनाउने उहाँको इच्छा बमोजिम वहाँकै वंशजबाट शोभा भगवती धार्मिक क्षेत्रमा आवश्यकता अनुसार हालसम्म पनि विकास निर्माणका कामहरू हुँदै आएका छन्। त्यहाँ स्व. नारायण दासको शेषपछि विभिन्न संरचनाहरू तयार भएका छन्। जसमा उहाँका नाति हर्षबहादुरले मन्दिरको सामुन्ने अगाडि दक्षिण पूर्वमा धर्मशाला निर्माण गर्नु भएको थियो। पछि सो धर्मशाला जीर्ण भएकोले सोही ठाउँमा वि.सं. २०५२ साल भाद्र १ गते श्री कृष्णाजन्माष्टमीको शुभ पर्वमा वहाँकै श्रीमती मानकुमारी रञ्जितकार छोरीहरू दुर्गादेवी, सुनदेवी, सतुदेवी, मैयादेवी, छलीदेवी -विवाहित), विष्णु देवी (विवाहित), छोरा राधेश्याम रञ्जितकार, बुहारी प्रेममाया रञ्जितकारद्वारा श्री हर्षबहादुर स्मृति धर्मशाला नामाकरण गरी आधुनिक धर्मशाला निर्माण भएको छ।

मिति २०४९ साल फाल्गुन ८ गते शुक्रबार महाशिवरात्रिको शुभ पर्वमा पिता श्री रामबहादुर तथा माता श्रीमती लक्ष्मी रञ्जितकारको इच्छा बमोजिम वहाँका छोराहरू शेरबहादुर, अरूणकुमार, टिकाबहादुर, गुञ्जबहादुर रञ्जितकार तथा बुहारीहरू तेजमाया, हरिदेवी, सुनन्त तथा रोशना रञ्जितकारबाट पत्थरबाट निर्मित कलात्मक राधाकृष्ण, पशुपति शिवलिङ्ग तथा शिवजीका मूर्तिहरू र दाहिनेबाट राम, लक्ष्मण, सीता साथै पत्थरकै हनुमानजीका कलात्मक मूर्तिहरू निर्माण गरिएका छन्। मन्दिरको ठिक अगाडि पत्थरबाट निर्मित नन्दी स्थापना गरिएको छ। मन्दिरको अगाडि ठूलो आधुनिक शैलीको सभाहल तयार गरी ढलानमाथि प्यागोडा शैलीमा निर्मित मन्दिरमा कलात्मक गजुर सहितको २ तले सिमेन्टबाट निर्मित छानाहरू छन् भने द्वारमा कलात्मक काठको ढोका तथा चेनलगेट सहितको भवन बनाइएको छ। भुइँमा मारबल विच्छाइएको छ। सो हलमा हाल भजन कीर्तन तथा धार्मिक प्रवचनहरू हुने गर्दछन्।

मन्दिर परिसरमा २०५५ साल माघ १५ गते जितबहादुर रञ्जितकारले आफ्नो स्व. धर्मपत्नी लक्ष्मी कुमार रञ्जितकारको पुण्य स्मृतिमा शोभा भगवती मन्दिरको ठिक पछाडि उत्तर पश्चिम महेन्द्रपुलतर्फ एक धर्मशाला निर्माण गर्नु भएको छ। साथै सडक खण्डतिर व्यावसायिक सटरहरू निर्माण गरिदिनु भएको छ । उक्त सटरहरूबाट उठेको रकम शोभा भगवतीकै विकास निर्माणमा खर्च हुने गर्दछ ।

मिति २०६० साल माघ १ गते रोज ५ का दिन छोरा राधेश्याम रञ्जितकार बुहारी प्रेममाया तथा छोरी सन्तदेवी र मैया देवी रञ्जितकारले आमा स्व. मान कुमारी रञ्जितकारको पुण्य स्मृतिमा पशुपति मन्दिरको पछाडि एक बहुउद्देश्यीय भवन निर्माण गरी दिनु भएको छ। सोही भवनको माथि शोभा भगवती व्यवस्थापन समितिले रेलिङ सहितको सिंढी तयार गरेको छ। सो मध्ये १ कोठामा पुजारीको लागि आवासका साथ अर्काेमा भजन कीर्तन, नाचगान गर्ने सामानहरू राख्ने व्यवस्था मिलाइएको छ। मन्दिर परिसरमा भोज भतेरको लागि प्रयोग गर्ने उपयुक्त ठाउँ बनेको छ, तल पानी टंकी, पानी तान्ने मोटर तथा भोज भतेर हातमुख धुनका लागि टायलद्वारा निर्मित वास बेसिन साथै मन्दिर परिक्रमा गर्ने बाटोमा सिमेन्टको टायल बिछ्याइएको छ। जगत्बहादुर रञ्जितकारका पिता बुद्धि बहादुर रञ्जितकारले ढलौटद्वारा निर्मित आकर्षक गरुडजीको मूर्ति समपण गर्नु भएको छ।

मिति २०६९ साल श्रावण २५ गते बिहीबार श्री हरिकृष्ण रंजितकारले आफ्ना स्व. पिता जितबहादुर तथा माता स्व. लक्ष्मी देवी रंजितकारको पुण्य स्मृतिमा पशुपति मन्दिर अगाडि दायाँ बायाँ दुर्इ धलौटका घण्टहरू साथै सो घण्ट अड्याउनका लागि ३ कलात्मक गजुर सहितका सिमेन्टको पिल्लर निर्माण गर्नु भएको छ ।

२०६९ असोज ३० गते लोकबहादुर रञ्जितकारले शोभा भगवती मन्दिर वरपर मात्र इट्टा आकारको ढुङ्गा विच्छाउने, स्ट्याण्ड सहित १०८ ढलौटका पालाहरू, घण्टी, पिलर साथै प्रवेशद्वारमा दुवैतिर पत्थरबाट निर्मित सिंहहरू स्थापना गर्नु भएको छ। शोभा भगवती मन्दिरको देब्रे घण्ट मन्दिरका संस्थापक स्व. नारायण दास रञ्जितकारले १९७३ साल माघ १५ गते निर्माण गर्नु भएको हो तथा दाहिने घण्ट जीर्ण भई पछि समितिले चढाएको हो।

त्यसरी नै मिति २०६९ साल कार्तिक ९ गते बिहीबार एकादसी शुभ दिनमा बुबाहरूले बनाउनु भएको पशुपति मन्दिर प्राङ्गणमा पूजनीय आमा स्व. तेजमाया रञ्जितकारको पुण्य स्मृतिमा काठमाडौँ बालाजु माछापोखरी निवासी -हाल लसएन्जलस अमेरिका बस्ने) छोरी रत्नदेवी रञ्जित, ज्वाईं मनोज कुमार रञ्जित, नातिनीहरू सिमरन तथा मनिस्का रञ्जितले प्राङ्गणको अगाडि बत्ती पाला ५६ थान र त्यसको स्ट्याण्ड समेत र प्राङ्गणदेखि भित्र श्री भगवान्हरूको मूर्तिहरूको समिपसम्म मार्बल बिच्छाउने कार्य सम्पन्न गर्नु भएको छ।

पशुपति अगाडि माथि सिलिङमा झुण्डिएको ढलौट निर्मित घण्ट शेरबहादुर रंजितकारले तथा द्वारबाट पस्ने बित्तिकैको घण्ट जितबहादुर रञ्जितकारद्वारा प्रदान गरिएको हो।

श्रीकृष्ण जन्माष्टमी पर्वमा रथमा राखी नगर परिक्रमा गराउने संस्थापक स्व. नारायणदासले चढाउनु भएको श्री कृष्ण राधिकाका मूर्तिहरू जीर्ण भएपछि श्री राधेश्याम रञ्जितकारले ढलौटद्वारा निर्मित श्री कृष्णको मूर्तिहरू साथै राधिकाका मूर्ति श्री हरि गोपाल रञ्जितकारले चढाउनु भएको हो।

शोभा भगवती मन्दिरको देब्रे भागमा हाल सालै श्री लोकबहादुर रञ्जितकारका छोरा निरन्जर रञ्जितकारले नरिबल बली चढाउने औजार चढाउनु भएको छ। परम्परागत ढुङ्गाद्वारा निर्मित मौलो मन्दिर सामने रहेकोमा हाल सो ठाउँबाट हटाइ देब्रेतिर काठको मौलो स्थापना गरिएको छ।

यसरी नै लोकबहादुर रञ्जितकारले आफ्ना स्व. पिता गणेश बहादुर रञ्जितकारको पुण्य स्मृतिमा उत्तरतर्फ भित्री भागमा बहुउद्देश्यीय भवन निर्माण गर्नु भएको छ। सो भवनमा साधु सन्त महन्तहरू बस्ने प्रबन्ध मिलाइएको छ। साथै वहाँबाटै पशुपति नाथको हलको दक्षिण पूर्र्वी भागमा सामानहरू राख्नका लागि काठको दराज समेत निर्माण गरिएको छ।

समितिबाट पनि सो भवनका पूर्व शिव मन्दिरको पश्चिम एक ट्रष्ट निर्माण भएको छ। शोभा भगवतीको हाताभित्र रहेका सम्पूर्ण प्राङ्गणमा पोखरेलीपन झल्कने इँट्टा आकारको छपनि ढुङगा बिछ्याउने कार्य समेत समितिले व्यवस्था मिलाएको छ।

पेसा व्यवसायसँग सम्बन्धित व्यापारका देवता भीमसेनको मूर्ति तयार गरी प्रत्येक भीम द्वादशीको दिन भक्ति भावले पूजा आजा साथै बोका बली दिई सम्पूर्ण रञ्जितकार परिवार सामेल भई भावभक्तिसँग पूजा आजा पश्चात् समयबजी खाने प्रचलन अद्यापि छँदैछ।

प्रत्येक वर्षको बाला चुतर्दशीको दिनमा गुठीबाट आर्जन भएको धान प्राप्त भएपछि मन्दिरमा धार्मिक अनुष्ठान सहित होमन गर्ने प्रथा कायम छ। महाशिवरात्रिको पर्वमा शिव पूजा रुद्री पूजा, हवन सहित रात्री धुनि बालेर भजन कीर्तन गर्ने चलनले निरन्तरता पाइराखेकै छ। रामनवमी पर्वमा राम सीताको पूजा आरधना गरी रात्रीमा भजन कीर्तन गर्ने चलन समेत कायमै छ।

चौमास सुरु भएको हरिसयनी एकादशीदेखि चौमासभर भजन गरी हरिबोधनी एकादशीको दिनमा चौमास समाप्त हुने र वैकुण्ठ पूणिर्माको दिनमा भाव भक्तिसँग साङ्गे गरी ३ फन्के सेलरोटी प्रसादको रूपमा सम्पूर्ण भजनीया भाइहरूले प्रसादको रूपमा ग्रहण गर्ने रोचक चलन समेत कायमै छ। सो पूणिर्माको लगत्तै शनिबारको दिनमा भजन पूजा सम्पन्न हुन्छ। पूजामा भजनीया भाइको घरमा पुत्र जन्मेको छ भने खुसियालीमा वहावली पोका १ सहित आफ्नो गच्छे अनुसार पुत्र बधाई प्रसाद चढाउने चलन कायम छ।

सोको लगत्तै जेष्ठ महिनामा रोग व्याधीको प्रकोप नपरोस् भनी सम्पूर्ण भजनीया भाइहरूले शीतलादेवी मन्दिरमा बोका १, महामाई (पुरानो धारा) नेर बोका १ तथा शोभा भगवतीमा बोका १ बलि दिएर पूजा आजा आराधना गरी देश पूजा सम्पन्न गर्ने चलन छ।

सोह्र श्राद्धपछि नवदुर्गा घटस्थापनाको दिन देखि पूणिर्मासम्म बिहान भजन कीर्तन गरी ब्राहृमण पण्डितहरूद्वारा दुर्गा पूजा पाठ हुने गर्दछ। कृष्ण जन्माष्टमी पर्वमा भगवान् श्री कृष्णको आरधना गरी दिनभर ब्रत बसी रात्रिमा जागरण बस्ने क्रममा श्री कृष्ण लिला लगायत अन्य आधुनिक नृत्यहरू नचाई राति ठिक १२ बजेपछि वैदिक विधि अनुसार श्री कृष्णजी जन्माउने कार्य सम्पन्न हुन्छ। भोलिपल्ट नवमी पर्वमा बाल कृष्णको रूप रथमा बिराजमान गराई शीतलादेवी मन्दिर अगाडि पुगेपछि दही लिला नृत्य प्रस्तुत गरी मन्दिर परिवारमा र्फके पश्चात् पुनः शोभा भगवती मन्दिर परिसरमा दहिलिला आरती साथ प्रसाद ग्रहण गरी जन्माष्टमी पर्व समापन हुन्छ। सो कृष्ण लिला अवलोकन गर्न टाढा टाढाबाट समेत दर्शनार्थी आउने गर्दछन् ।

यस शोभा भगवती मन्दिरमा सर्वसाधारण समेत सबैलाई पूजा आजा तथा बलि चढाउन खुला हुन्छ। चैत्र नवमी तथा महानवमीमा फूलबारी व्यारेकले बलि सहित श्रद्धापूर्वक पूजा अर्चना गर्ने प्रथा यद्यापि कायम छ।

समितिद्वारा मन्दिरमा रहेका सबै देवी देवताहरूका लागि कलात्मक इँट्टाको मन्दिर तयार गरी प्रत्येकमा कलात्मक गजुरहरू साथै शिव मन्दिर परिसरमा स्थापित सबै देवी देवताहरूका लागि चाँदकिा मनोहर छाताहरूको व्यवस्था गरिएको छ। त्यसरी नै आधुनिक पङ्खा, बत्ती, माइक आदिको समेत व्यवस्थापन गरिएको छ।

नन्द कुमार रञ्जितकारका नाति देवबहादुर रञ्जितकारका छोरा ध्रुव रञ्जितकारले चाँदीका असफिर्का मालाहरू चढाउनु भएको छ।

यस धार्मिक क्षेत्र परिसरमा समितिद्वारा चौमास, एकादशी, शिवरात्रि साथै अन्य धार्मिक पर्वहरूमा भजन कीर्तन साथै विद्वान् पण्डितहरूबाट महाभारत, देवी भागवत तथा अन्य धार्मिक प्रवचन गर्ने व्यवस्था लिमाइएको छ। त्यसरी नै मन्दिरमा पुजारी साथै रञ्जितकार परिवारका महिला सदस्यहरूले साथै अन्य टोलबासी भक्त भक्तिनीहरूले समेत बिहान बेलुकी नित्य पूजा आजा गर्ने परम्परालाई आफ्नो दैनिकी कर्तव्य बहनका रूपमा लिएका छन्।

यसरी स्व. नारायणदास रञ्जितकारबाट स्थापित शोभा भगवतीको मन्दिरलाई वहाँका वंशज रञ्जितकार परिवारले यस धार्मिक क्षेत्रलाई समृद्ध तुल्याउनका साथै श्रीबृद्धि गर्न कुनै कसर नराखेको देखिन्छ। स्व. नारायणदास रञ्जितकार लगायत वहाँका वंशजहरूले पोखरामा एक अमूल्य धार्मिक एवम् पर्यटकीय धरोहर निर्माणमा निरन्तर लागि राख्नु भएको छ। यस किसिमको योगदानको हामी मुक्त कण्ठले प्रशंसा गर्दै शुभकामना, बधाई, धन्यवाद तथा अभिनन्दन चढाउँदछौँ। तपाईहरूलाई यस क्षेत्रको बृहत्तर विकासको लागि अझ बढी सक्रिय हुने ऊर्जा भगवतीले प्रदान गरुन् यही हाम्रो शुभ कामना छ।

पर्यटकीय नगरी पोखराको मुटु महेन्द्रपुलबाट करिब ५०-६० मिटरको मात्र दुरीमा रहेको सो अमूल्य धरोहरले विशाल गरिमा उजागर गरिरहेको अवस्थामा समेत नेपाल सरकार र सम्बन्धित निकायले यसको संरक्षण प्रबद्धन तथा प्रचार प्रसारमा ध्यान नदिनु ज्यादै दुःख लाग्दो विषय भएको छ। यस लेखमार्फत सम्बन्धित सबैलाई यसको संरक्षण सम्बद्धन, प्रबद्धन साथै यस धार्मिक एवम् पर्यटकीय क्षेत्रको विकासमा ध्यान केन्द्रित होस् भन्ने मनोकामना राख्दछु।

Related News

सम्बन्धित समाचार

  • मनोसामाजिक अपांगता के हो ?

    सुदीप घिमिरे मंसिर १७, २०८०
    राइनास नगरपालिका लमजुङका एक वडा अध्यक्षले अपांगताको अधिकार वकालत गर्न सुरु गरेका छन् । गत महिना आयोजित एक कार्यक्रममा मनोसामाजिक…
  • तिलकदाइको सम्झनामा

    हरि अधिकारी मंसिर १३, २०८०
    विख्यात लोकतन्त्रवादी नेता तथा पूर्वी नवलपुर, गैंडाकोट क्षेत्रका अग्रणी सामाजिक अभियन्ता तिलकप्रसाद सापकोटा कीर्तिशेष हुनुभएको एक वर्ष पूरा भएको छ…
  • अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध

    राजेन्द्र भण्डारी कार्तिक ३, २०८०
    अभिभावकज्यूहरू, मौसम बिस्तारै उष्णबाट शीतोष्णमा परिवर्तन हँुदै छ । अर्कातर्फ हाम्रा संस्कृतिका अभिन्न धरोहरहरू हाम्रा घरआँगनमा प्रवेश गरिसकेका छन्; कतिपय…
  • फेलको फेहरिस्त

    शेषराज भट्टराई असाेज २२, २०८०
    विद्वान्हरू भन्ने गर्छन् ‘विद्यार्थी र शिक्षक कहिल्यै फेल हुँदैन । फेल हुने भनेको सिकाइ विधि हो । सिकाइ विधि फेल…
  • नागरिकको समय नै देश विकासको आधारशिला

    डा. दीपकप्रसाद बास्तोला असाेज २२, २०८०
    नेपाल संसारकै एक पुरानो देश हो । यस कुरामा हामी सबै नेपालीहरूले गर्व गरेका छौं । देश विकासको लागि एक…

hero news full width