पोखरा र प्रथम पर्यटन व्यवसायी योगेन्द्रबहादुर भट्टराई

आदर्श समाज सम्वाददाता
माघ २८, २०७१

पोखरा पर्यटकीय शहर। लोन्ली प्लानेटले समेत विश्वकै १० उत्कृष्ट पर्यटकीय गन्तव्यमा चुनेको ठाउँ। २ दर्जन तारे होटल। ५०० पर्यटकीय स्तरका र २०० जति सामान्य होटल। पर्यटनमा ७० अर्व लगानी भएको शहर। राजधानी काठमाडौंपछि दोस्रो गन्तव्य। आन्तरिक र बाहृय पर्यटकको प्रमुख आकर्षणको केन्द्र। हिमाल, जंगल र तालले सिँगारिएको एउटा सुन्दर मानव बस्ती।

३ लाख जनसंख्या भएको यो शहरमा प्रत्येक व्यक्ति पर्यटनसँग प्रत्यक्ष वा अप्रत्यक्ष जोडिएकै हुन्छ। पर्यटन आज हाम्रो संस्कृति, दैनन्दिनी, व्यवसाय र रोजीरोटीको आधार बन्दै गएको छ।

अहिले पर्यटनको राजधानी बनेको पोखरा आजभन्दा ५५ वर्ष अघिसम्म भने पूर्णतया ओझेलमा थियो। त्यसैले फेवाताल ‘बैदामे’ ताल र त्यस आसपासका क्षेत्र ‘बैदाम’ नामले चिनिन्थ्यो। तालको छेउमा रहेकाले त्यति किनबेच नहुने र दाम पनि नगण्य मात्रामा पाइने भएकाले ‘बेदाम’ बाट अपभ्रंश हुँदै ‘बैदाम’ भनिन थालिएको हो भन्ने ‘ठान्नेहरू’ अझै पनि भेटिन्छन्। हो त्यही बेदाम अर्थात् बैदामलई ‘लेकसाइड’ नामाकरण गरी गुल्जार गराउने श्रेय स्व. योगेन्द्रबहादुर भट्टराईलाई जान्छ। त्यसैले उनलाई पोखरेली पर्यटन क्षेत्रले प्रथम र्ँपर्यटन उद्यमीको’ रूपमा सम्मानका साथ सम्झने गर्दछन्।

को हुन् योगेन्द्रबहादुर भट्टराई ?

वि.सं. १९९६ असोज ४ गते जन्मिएका उनी पिता डिठ्ठा भक्तबहादुर भट्टराई र माता नन्दकला भट्टराईका साइँला सुपुत्र थिए। बुबा भक्तबहादुर राणाकालमै डिठ्ठा पदमा रहेकाले पारिवारिक स्थिति राम्रो थियो। प्रशस्त जग्गाजमिनका धनी परिवारका भएकाले उनकी आमालाई कृषि व्यवसायको सिलसिलामा प्रत्येक दिन डुंगाको माध्यमबाट फेवाताल वारिपारि गर्नुपर्दथ्यो। त्यही समयमा उनको जन्म तालपारिकै ‘कैनेपानी’ भन्ने ठाउँमा भएको बताइन्छ।

घरमै अक्षराम्भ गरेका भट्टराईले औपचारिक शिक्षा विन्ध्यवासिनी पाठशालामा लिए। ५ सम्म त्यहाँ पढेका उनले ६ र ७ काठमाडौंको लैनचौर हाइस्कूलबाट गरे। पछि फेरि फर्किएर मिडिल स्कूलबाट ८ कक्षा पास गरेपछि उनी वनारस गएर त्यहीँबाट म्याटि्रक पास गरे।

वि.सं. २०१७ सालमा पृथ्वीनारायण कलेज स्थापना भएपछि आई.ए. पढ्ने उनी पहिलो व्याचका विद्यार्थी हुन्। उनी वि.सं. २०३८ सालमा किसान संघ कास्कीको अध्यक्ष पनि भए।

जीवनमा उनले दुर्इ विवाह गरे। पहिलो २०१३ सालमा जगतकुमारी थापासँग। दोस्रो वि.सं. २०२४ सालमा सीता के.सी.सँग। जेठीबाट ५ छोरी १ छोरा -हरिदेवी कोइराला, संगीता बस्नेत, लक्ष्मी थापा, गोमा के.सी., चन्द्रा के.सी. र गेहेन्द्रबहादुर भट्टराई) र कान्छीबाट ३ छोरी १ छोरा -शान्ता विष्ट, सरिता के.सी., शर्मिला सापकोटा र महेश्वरबहादुर भट्टराई) भए।

स्व. भट्टराईका जेठा दाजु रामबहादुर भट्टराई, माइला रत्नबहादुर भट्टराई, ठूलोकान्छा रुद्रबहादुर भट्टराई र कान्छा रमेशबहादुर भट्टराई हुन्।

कसरी भयो त लेकसाइड ?

वि.सं. २०१९ सालको कुरा हो। फेवातालको किनारमा केही पर्यटकहरू पाल टाँगेर बसेका थिए। दुर्भाग्यवश भारी वषाका कारण प्रशस्त दुःख पाएछन्। हुरीबतासले पाल उडायो। पर्यटकहरू नजिकको ओत लाग्ने भरपदो ठाउँ खोज्दै जाँदा चिच्याउँदै भट्टराईको घरमा पुगेछन्। दयालु स्वभावका भट्टराईले ती पर्यटकलाई बैदाम ‘अम्बोट’ छेउको आफ्नो घरमा रात बिताउन दिएछन्। आरामदायी सुरक्षा पाएकोमा पर्यटक खुसी भए। त्यही खुशियालीमा उनीहरूले हिँड्ने बेलामा घरबेटी भट्टराईलाई केही पैसा ‘टोकन मनी’ को रूपमा दिए। पाहुना राख्दा पैसा पाउनु उनको लागि नयाँ कुरा थियो। त्यो पैसाले उनले अलि व्यवस्थित एक दुर्इ कोठे कटेज बनाउने सोच बनाए। त्यति बेला सो क्षेत्रमा होटल थिएन। उनको त्यो घरमा पर्यटकहरू ‘होम स्टे’ -घरबास) बस्न थाले। फाट्टफुट्ट पर्यटकहर्‍को आगमन हुँदै जाँदा बिस्तारै कोठा थपिँदै गयो । समयक्रममा पर्यटकले पनि त्रि्रो होटलको नाम के हो – भनेर सोध्न थालेपछि अलि पढालेखा र देशविदेश घुमेका उनले वि.सं. २०२६ सालमा नाम जुराए ‘होटल लेकसाइड’। त्यो बेला एयरपोर्ट अघि अम्मरसिंह थापाको ‘होटल अमर’ र कैसा·को अको होटल मात्र थियो भने ‘फिस्टेल’ लज भर्खर सञ्चालनमा आएको थियो।

समयक्रममा ‘लेकसाइड’ होटलको नाममा मात्र सीमति नरही, सो क्षेत्रको नाममै रूपान्तरण भयो। यसरी बैदाम, ‘होटल लेकसाइड’ -ताल छेउको होटल) कै कारण ‘लेकसाइड’ हुँदै पर्यटनको मुटुको रूपमा स्थापित भयो। यसको सम्पूर्ण श्रेय स्व. योगेन्द्रबहादुर भट्टराईलाई जान्छ। त्यसैले ‘होम स्टे’ प्रचनलाई व्यवसायीकरण गर्दै पर्यटन, व्यवसायको सूत्रधारको काम गरेकाले उनलाई प्रथम पर्यटन उद्यमीको रूपमा सम्मान व्यक्त गरिएको हो।

उसो त भट्टराईले २०१७ सालतिरै फेवा उड वर्क्स र २०१८ सालमा राइस मिल पनि स्थापना गरी आफूलाई उद्यमीको रूपमा चिनाइसकेका थिए। उच्च शिक्षा हासिल गर्न नसके पनि भट्टराईमा शिक्षातर्फ गाढा रुचि थियो। सोही कारण वि.सं. २०२९ सालदेखि २०३५ सालसम्म ६ वर्ष उनले तालबाराही माविको अध्यक्ष भएर सेवा गरे। फेवातालको पूर्वी किनारको जग्गा तालबाराही मा.वि. को नाममा दर्ता गराउने पहल पनि भट्टराइले नै गरेका थिए।

सादा जीवन दूरगामी विचारका धनी

सम्भ्रान्त भट्टराई परिवारमा जन्मिएर पनि उनमा आडम्बर र तडक्भडक् थिएन। उनी सधैं जिज्ञासु र केही गरिरहने स्वभावका भएको पर्यटनविद् झलक थापाको सम्झना छ। पर्यटनको प्रशस्त सम्भावना भएको क्षेत्र हो पोखरा, समाजसेवी निरज थापा भन्छन्- “पोखरालाई सफा, स्वच्छ, शान्त, हराभरा बनाउने पर्ने र पर्यटक अनुकूल सिंगानुपर्छ भन्ने कुरामा उहाँ सधैं जोड दिनुहुन्थ्यो।” शिक्षासेवी नीलकण्ठ शर्माको बुझाइमा भट्टराई आफू धेरै नबोल्ने परन्तु अरूलाई बोल्ने वातावरण सिर्जना गर्न माहिर व्यक्ति थिए। उनमा यो विविधताले भरिएको सुन्दर देशका बारेमा राम्रो भिजन थियो। पर्यटन उद्योग उनको पहिलो प्राथमिकतामा थियो। पर्यटनकर्मी वासु त्रिपाठी उनलाई सरल स्वभावका धनीको रूपमा चित्रण गर्छन्। भट्टराई समाजसेवी र विकासप्रेमी थिए। फेवाताल संरक्षणका लागि तत्कालीन मेयर कृष्ण थापाको अग्रसरतामा फेवा ट्रस्ट स्थापना भयो। भनिन्छ सल्लाह भट्टराईकै थियो। उनी होटल लेकसाइडमा मात्र सीमति नरही ‘लेक भ्यु रिसोर्ट मार्फत पर्यटन प्रवर्द्धनमा पनि लागे।

धेरैले उनलाई धार्मिक, सामाजिक, शैक्षिक, विकासप्रेमी व्यक्तित्वको रूपमा अहिले पनि सम्झन्छन्। उनी अग्रजलाी सम्मान र अनुज पुस्तालाई माया गर्ने स्वभावका थिए। पोखरामा एट्याच बाथरुम भएको होटल निर्माण गर्ने पहिलो व्यक्ति भट्टराई भएको अग्रज पत्रकार केशवराज भण्डारी दावी गर्छन्। अर्का अग्रज पत्रकार कृष्णप्रसाद बास्तोलाको विचारमा उनी दूरदर्शी व्यक्तित्व थिए। अहिले चर्चित ‘अर्गानिक खेती’ उनको त्यतिबेलैको सोच थियो। उनी खेतीमा रासायनिक मल र विषादी हाल्नु हुँदैन भन्थे। राजनीतिमा निकै नै अभिरुचि राख्ने भट्टराईको घरमा राजनीतिक गफगाफ धेरै हुने गरेको वरिष्ठ पत्रकार नारायण कार्कीको अनुभव छ। साइकलमा सहर घुम्नु भट्टराईको शोख थियो। अग्रज पत्रकार बद्रीविनोद प्रतीकको सम्झनामा- “घोडा रोजी रोजी चढ्ने डिठ्ठासाबको छोरामा कुनै दम्भ थिएन।”

उनी सोधीखोजी गर्नुपर्ने स्वभावको व्यक्तित्व भएको वरिष्ठ पत्रकार माधव शर्माको अनुभव छ। बाटोमा कहिले नदेखेका अपरिचित मान्छे देखे यो को मान्छे रहेछ – के गर्न पोखरा आएको रहेछ – कुनै अफिसको नयाँ कर्मचारी हो कि – जिज्ञासा प्रकट गर्ने उनको बानी थियो। यसबाट हामी के अनुमान लगाउन सक्छौं भने त्यस बेला पोखरामा कोही नयाँ मानिस आए पनि थाहा पाइहाल्ने परिवेश थियो। माथि बाटुलेचौरदेखि तल छोरेपाटनसम्मका मानिस चिन्ने जमाना थियो तर अहिलो हेर्दाहेर्दै पोखराको जनघनत्व मात्रै बढेन कंक्रिटको जंगल पनि बनिसकेको छ। उनी पर्यटकलाई राम्रो सेवा दिएर उनको देशका बारेमा धेरै कुरा खोतली, आफ्नो व्यवसायलाई अझ सुधार गर्न खप्पिस थिए। भट्टराई आत्मीय व्यवहारले पर्यटकलाई फेरि फेरि आउने बनाउनुपर्छ भन्ने गथे। ‘कम पैसामा गुणस्तरीय सेवा’ प्रदान उनको मूलमन्त्र थियो।

विधिको क्रुर विधान

भनिन्छ जन्मपछि मृत्यु अवश्यंभावी छ। यो प्रकृतिको नियम हो। तर कसै कसैको मृत्यु यति कहालीलाग्दो र पीडादायी हुन्छ कि त्यो चाहेर पनि बिर्सन सकिँदैन। त्यस्तै मृत्युवरण गर्नेमा पर्छन्- योगेन्द्रबहादुर भट्टराई र सीता भट्टराई। जीवनमा अक्सर प्लेन चढ्न डराउने भट्टराई दम्पती चढेकै नेकोन एअरको प्लेन, वि.सं. २०५६ भदौ २० गते पोखराबाट काठमाडौं जाने क्रममा दुर्घटनाग्रस्त भयो र प्रथम पर्यटन उद्यमी योगेन्द्रबहादुर भट्टराई र उनकी धर्मपत्नी सीतालाई हामीले सधैंका लागि गुमायौं।

स्मृत्रि्रन्थ प्रकाशन

उनीहरूको निधन भएको १५ वर्षपछि उनकी छोरी शान्ता भट्टराई विष्ट तथा सुपुत्रद्वय गेहेन्द्रबहादुर भट्टराई र महेशबहादुर भट्टराईको प्रकाशनमा हालै मात्र ‘पोखराका प्रथम पर्यटन उद्यमी, योगेन्द्र-सीता भट्टराईको स्मृत्रि्रन्थ’ आएको छ। सहप्राध्यापक डा. यामबहादुर पौडेल क्षत्रीको सम्पादन र स्व. भट्टराइकै जेठा ज्वाइँ रामबहादुर कोइरालाको सहसम्पादनमा आएको यो ग्रन्थले भौतिक रूपमा देहावसान भएका योगेन्द्रबहादुर भट्टराईलाई पुनः पोखरेली स्मृतिमा ‘बचाउने’ काम गरेको छ। ४८० पृष्ठको यो पुस्तकमा १७३ जना विविध क्षेत्रका व्यक्तित्वले स्व. भट्टराई दम्पतीलाई विभिन्न आयामबाट सम्झिएका छन्। यो पुस्तक ल्याउन समाजसेवी रामबहादुर कोइराला (प्राज्ञ तथा वरिष्ठ गायिका हरिदेवी कोइरालाका श्रीमान्) ले कति धेरै पापड बेल्नुपर्‍यो होला हामी सहजै अनुमान गर्न सक्छौं। यो पुस्तकले नयाँ पुस्तालाई र्ँपर्यटनका बा’ योगेन्द्रबहादुर भट्टराईलाई चिनाउन र बुझाउन महत्वपूर्ण योगदान दिनेमा कुनै शंका छैन।

उनले शुरु गरेको पर्यटन व्यवसाय आज ५० वर्षपछि कहाँ छ, कस्तो अवस्थामा छ – हामीले एक पटक गम्भीर भएर सोच्नै पर्छ । के हाम्रो पर्यटन परिभाषित, व्यवस्थित र दीगो छ त – मनन गरौं । ‘सेल्फ किलि· इन्डस्ट्री’ भनिने पर्यटन व्यवसायले ‘लेकसाइड र फेवाताल’ लाई केही वर्षमै ‘किन’ नगरोस् । यसतर्फ मात्र पर्यटन व्यवसाय र लेकसाइडवासीले सोचिदिएर ‘हार्दिकता र वातावरणमैत्री’ पर्यटन बनाउन सके स्व. योगेन्द्रबहादुर भट्टराईप्रति सच्चा श्रद्धाञ्जली हुनेछ । जय होस् ।

Related News

सम्बन्धित समाचार

  • मनोसामाजिक अपांगता के हो ?

    सुदीप घिमिरे मंसिर १७, २०८०
    राइनास नगरपालिका लमजुङका एक वडा अध्यक्षले अपांगताको अधिकार वकालत गर्न सुरु गरेका छन् । गत महिना आयोजित एक कार्यक्रममा मनोसामाजिक…
  • तिलकदाइको सम्झनामा

    हरि अधिकारी मंसिर १३, २०८०
    विख्यात लोकतन्त्रवादी नेता तथा पूर्वी नवलपुर, गैंडाकोट क्षेत्रका अग्रणी सामाजिक अभियन्ता तिलकप्रसाद सापकोटा कीर्तिशेष हुनुभएको एक वर्ष पूरा भएको छ…
  • अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध

    राजेन्द्र भण्डारी कार्तिक ३, २०८०
    अभिभावकज्यूहरू, मौसम बिस्तारै उष्णबाट शीतोष्णमा परिवर्तन हँुदै छ । अर्कातर्फ हाम्रा संस्कृतिका अभिन्न धरोहरहरू हाम्रा घरआँगनमा प्रवेश गरिसकेका छन्; कतिपय…
  • फेलको फेहरिस्त

    शेषराज भट्टराई असाेज २२, २०८०
    विद्वान्हरू भन्ने गर्छन् ‘विद्यार्थी र शिक्षक कहिल्यै फेल हुँदैन । फेल हुने भनेको सिकाइ विधि हो । सिकाइ विधि फेल…
  • नागरिकको समय नै देश विकासको आधारशिला

    डा. दीपकप्रसाद बास्तोला असाेज २२, २०८०
    नेपाल संसारकै एक पुरानो देश हो । यस कुरामा हामी सबै नेपालीहरूले गर्व गरेका छौं । देश विकासको लागि एक…

hero news full width