पोखरा अन्तर्राष्ट्रिय विमानस्थल: एक परिदृश्य

ananda raj mulmi आनन्दराज मुल्मी
पौष २०, २०७६

पोखरा उपत्यकामा उत्पादन हुने जेठोबूढो, पँहेले, मसिनो जातका धानले ख्याति कमाएको छ तर विडम्वना यस्ता मलिला खेतीयोग्य जमिन माथि अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नुपर्ने वाध्यात्मक स्थिति आइपरेको छ किनभने विमानस्थलको लागि पर्याप्त जग्गा कतै पाउन सकिँदैन ।

१. पोखरा धेरै पहिलेदेखि नै घुम्नुपर्ने ठाउँको रूपमा नाम कहलिएको छ। पोखरा पाइला टेक्नेहरूको वर्णन त अलौकिक छ नै, यहाँ नआएकाहरू तर नाम सुनेकाहरूको पनि कौतूहलपूर्ण जिज्ञासा रहेको सुन्न पाउँछौ, पढ्न पाउँछौ यही विशेषता, यही सुन्दरता, यही रमणीयपन यही सफाई निरन्तर कायम राख्ने जिम्मेवारी अब पोखरामा बसोबास गर्ने सम्पूर्ण नागरिकको काँधमाथि आएको छ। आदिवासीका रूपमा रहेका नागरिक, यहीं जन्मेका हुर्केका जनताहरू, पोखरालाई कर्मथलो बनाएर अझ उन्नत बनाउन तम्सिएका नागरिकहरूले नै अब पोखराको प्रसिद्धिलाई आउने कैयन वर्षसम्म स्थापित गर्ने दायित्व बोक्नुपर्नेछ ।

पोखरा फैलिँदै छ–पोखरा स्थापना भएको २६ कुरियाबाट हो– यो शहर बिस्तृत हुँदै आज महानगरपालिका र मेगा सिटीको रूपमा विकसित हुने क्रममा छ । भोलिको पोखरा ‘शहरहरू भित्रको शहर’को रूपमा रहने निश्चित देखिन्छ । तर भोलिका चुनौतीलाई आज हामीले देख्न सक्नुपर्दछ। सन् १८९९ मा जापानी विद्वान् भिक्षु इकाइ कावागुचीले देखेको र वर्णन गरेको पोखरालाई त्यही रूपमा स्थापित गर्ने हाम्रो प्रयत्न हुनुपर्दछ । सन् १८८० मा ओल्डफिल्ड भन्ने बेलायती विद्वानले पोखराको उद्यमशीलता र व्यवसायिकताबारे गरेको वर्णनलाई कायम राख्ने प्रयास हुनुपर्दछ । प्रख्यात इटालियन पदयात्री गुसेप टुसीले सन् १९५२ मा पोखराको संभावित वृस्तृतीकरण सोच आज पूरा हुने क्रममा देखिएको छ ।

पर्वतारोही मोरिश हर्जोग अन्नपूर्ण हिमाल आरोहण गर्न १९५० मा पोखरा आइसकेपछि धौलागिरि, अन्नपूर्ण हिमश्रृङ्खला नीलगिरि, लमजुङ मनासुलु आरोहण गर्न पोखरा भएर जानुपर्ने स्थितिले पर्वतारोहीहरूले पोखरालाई विदेशमा चिनाएका छन्। अनि टोनी हेगेन स्वीस भूगोलविद् र जापानी फोटोग्राफर काजमीले जब चित्रमय नेपालका सयौं फोटोहरूसहित १९६० मा प्रकाशित गरे त्यसबेलादेखि पोखराको सौन्दर्य, रमणीय, प्राकृतिक दृष्यको चर्चा परिचर्चा भएको पाउछौं ।

यसरी ख्याति कमाएको पोखरा फेरि एउटा नयाँ आयाम तर्फ लम्कदै छ । विश्वका अन्तर्राष्ट्रिय शहरहरूसँग प्रत्यक्ष सम्पर्क कायम राख्ने दिशातर्फ लम्कंदै छ । पहाडी उपत्यकामा रहेको पोखरामा समथर भूमिको कमी हुनु स्वभाविकै हो त्यसमाथि शहरको बीच भागबाट नै सेतीनदी र विजयपुर नदी निरन्तर बहिरहनुले पनि समथर भूमि धेरै नहुनु हो तैपनि उपत्यका भित्रका जति समथर जग्गाहरू थिए सबै मलिला, खेतीयोग्य त्यसमाथि धान वालीका लागि उसाध्यै उपयुक्त जग्गा हो त्यसैकारण पोखरेली मसिनो चामलको एउटा व्राण्ड रहन गएको छ ।

पोखरा उपत्यकामा उत्पादन हुने जेठोबूढो, पँहेले, मसिनो जातका धानले ख्याति कमाएको छ तर विडम्वना यस्ता मलिला खेतीयोग्य जमिन माथि अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नुपर्ने वाध्यात्मक स्थिति आइपरेको छ किनभने विमानस्थलको लागि पर्याप्त जग्गा कतै पाउन सकिँदैन । तर पोखराको शान मान बढाउन यस्तै मलिलो खेतीयोग्य जमिन पनि प्रयोग गर्नुपर्ने स्थितिले गर्दा आज हामी विमानस्थल प्राप्ति हुनेतर्फ उन्मुख छौंत। निश्चित रूपमा यो अन्तर्राष्ट्रिय विमान अड्डाले सम्पूर्ण नेपाली अर्थतन्त्रलाई मजबुत बनाउन एउटा ठूलो भूमिका खेल्ने हुनाले यसप्रति हाम्रो ठूलो जिम्मेवारी रहनुपर्दछ र रहनेछ ।

२. यो विमानस्थल पोखराको लागि मात्र हैन । नेपालको अर्थतन्त्रको मेरुदण्ड त हुने नै छ तर पनि प्रत्यक्ष रूपमा पूर्व मुग्लिनसम्म पश्चिम रुकुमसम्म, उत्तर चीन सिमानासम्म र दक्षिण रामपुर , नवलपुर यति चार दिशा भित्र रहेका सबै शहरहरू व्यापारिक केन्द्रहरू र बसोबास गर्नेहरूलाई प्रभावित पार्नेछ । गोर्खा आरुघाट, तिव्बत सिमाना सानागाउँ, पालुङटार, भोटेओडार, वेंशीशहर, ताल बाहुनडाँडा, भोर्लेटार, शिशाघाट, सुन्दरबजार दमौली, राइनासटार, खैरेनी, भिमाद ढोर, चित्रे भञ्ज्याङ, केलादीघाट, गल्याङ पुर्तिघाट, हुवास, फलेवास, कुस्मा, वलेवा, वागलुङ, गलकोट, वेनी,वबेगखोला पाउदुर, घान्द्रुक, सिक्लेस, गिलुङ, भुजुङ, दुराडाँडा जस्ता इलाकाले घेरिएका सबै क्षेत्रका आर्थिक गतिविधीहरूमा प्रत्यक्ष प्रभाव पार्नेछ ।

तसर्थ यी इलाका भित्र पर्यटकका लागि नयाँ वस्तुहरू पस्कन सकिने, कमसेकम १÷२ रात बिताउन सकिने, हेर्दा नै लोभलाग्दो प्राकृतिक बस्ती, ठाउँको खोजी र विकास साथै मानवनिर्मित संरचना तयार गर्न सक्नु पर्दछ । हाम्रो उद्देश्य विदेशका शहरहरूबाट सिधै पोखरा आउने पर्यटकका लागि दिन बिताउने, गतिविधिमा अल्झाउनेलगायत स्वदेशका अन्य ठाउँहरूबाट आउने पर्यटकलाई पुग्नुपर्ने र हेर्नुपर्ने ठाउँको रूपमा विकसित गर्नुपर्ने खाँचो आजको अवश्यकता हो र आजैदेखि योजना र कल्पनाशील कार्यहरूको थालनी गर्न प्रयत्नशील रहनुपर्दछ ।

३. वर्तमान परिप्रेक्षमा ठूलो संख्यामा घुम्न जाने ठाउँहरूमासमेत नयाँ मानव निर्मित अनौठा रोचकलाग्दा निर्माणहरू गरिरहेको पाउछौँ। कैयन शहरहरूमा यस्तो पूरा भएको पनि पाउछौं । पर्यटकहरू ओइरो लागेका छन् त्यसैकारण थप सुविधाहरू बढाउन सरकार र निजी क्षेत्र लागेको छ । निजी क्षेत्रले निर्माण गर्न खोजेको यस्ता नयाँ वस्तुका लागि सरकारले सहयोगी भूमिकासँगै पूर्वाधार विकासमा सघाउन सके छिटो विकास हुन सम्भव हुन्छ । उदाहरणको लागिः

क. दुवई हामी सबैले नाम सुनेको ठाउँ :एउटा भरुभूमि प्रदेश थियो ५० वर्ष पहिले, त्यही मरुभूमिमा जहाज ओराल्न र उडाउनका लागि हवाई अड्डा निर्माण भयो । टिनले छाएको भवनबाट सबै कामहरू हुन्थ्यो । अज त्यही दुवइको एअरपोर्ट विश्वका ेव्यस्त हवाई अड्डामध्ये एक हुनपुगेको छ, मरुभूमिलाई हरियाली शहरको रूपमा परिणत गरेको छ, विश्वको सवैभन्दा अग्लो टावर वुर्ज खलिफा निर्माण गरेको छ । पूर्व र पश्चिम गोलार्धको केन्द्रबिन्दु बनेको छ ।

त्यस्तो शहरमा फेरि एउटा थप नयाँ आकर्षण थपे । दुवई सरदर ५०ं सेन्टीग्रेड बाहिरको तापक्रम हुने शहर हो । त्यस्तो शहरमा एउटा रमाइलो हेर्न योग्य डिज्नील्याण्ड जस्तो थेमपार्क निर्माण गरिएको छ । २८ वटा फुटबल मैदान जत्रो करिव साढे १ लाख वर्गफिटमा २५ं से. तामक्रमसहितको एयरकण्डिशन भएको विश्वको सबैभन्दा ठूलो इन्डोर पार्क निर्माण गरेर सञ्चालनमा ल्याएको छ । लक्ष्य राखिएको छ दुवईमा बाह«ै महिना पर्यटकले भरिभराऊ होस् भन्ने रहेको छ ।

ख. चीन निर्माण जगत्मा अचम्मका वस्तुहरू निर्माण गर्न सक्षम मुलुक भएको हामी सबैले थाहा पाएका छौं । त्यहाँका रोचक ठाउँहरूको वर्णन गर्न धेरै पन्नाहरूमा लेखिनुपर्ने हुन्छ तर पनि नयाँ कामहरूको निर्माण गर्न रोकिएको छैन । हालसालै जमिनबाट १८०० उचाइमा २३०० फिट लामो दुईतले पुलको निर्माण गरिएको छ, माथिल्लोबाट गाडीहरू आवतजावत गर्न र तल्लो तलामा शिसै शिसाले छाएको पुल जहाँबाट हिँड्दा नै कहालीलाग्दो हुन्छ त्यस्तो पुल निर्माण गरेर पर्यटकलाई आकर्षणको केन्द्र बनाएको छ । चीनले वेइजिङ नजिक न्यूग्लोवल सेन्टर नाम दिएर १७ लाख ६० हजार वर्ग मिटर भएको विशाल कार्य सिटी सेन्टर निर्माण पूरा गर्ने क्रममा लागेको छ जहाँ हजारौँ पसलसहित मनोरञ्जन, वित्तीय सुविधाहरू उपलव्ध हुनेछन् ।

ग. स्वीट्जरलैण्डको ग्रान्डवुडेनम १९७० मिटरको उचाइमा वसन्त ऋतुसम्म छ महिनाका लागि, कुनैपनि छाना, पर्खाल र बार नभएको खुला आकाश मुनि होटल सञ्चालन गरिएको छ । प्रतिदिन २६० डलर प्रतिकोटा तिर्नुपर्ने यस होटलमा शौचालय र नुहाउनका लागि १० मिनेट पैदल अन्यत्र जानुपर्ने गरी निर्माण गरिएको छ।

घ. बेलायतमा हालसालै एउटा नयाँ होटल खोलिएको छ– दी वुनियादी नाम रहेको होटलमा खान र बस्न चाहनेहरूले कुनै पनि लुगा नलगाइकन (निर्वस्त्र) मात्र प्रवेश पाउँछन्, हाम्रो लागि अच्चमको विषय हैन र ? तर पर्यटकको आकर्षण केन्द्र बन्न पुगेको छ।

ङ. हार्मोनि अफ द सि नाम भएको एउटा ठूलो पानी जहाज निर्माण सम्पन्न भई व्यवसायिक यात्रा शुरु भएको छ । युरोपको समुद्रमा ७० मिटर अग्लो, ३६० मिटर लामो, २० वटा रेष्टुरा, २३ स्वीमिङपुलसहित ५५०० यात्रुलाई कोठा पुग्ने गरी सञ्चालनमा आएको त्यस पानीजहाज निरन्तर रूपमा पर्यटकहरू विभिन्न शहरहरूमा घुमाउने, विविध कार्यक्रमहरू गर्ने कन्सर्ट र सांस्कृतिक कार्यक्रमहरू आयोजना गर्नेबाट आकर्षण गरिरहेका छन् ।

४. माथि उल्लिखित यस्ता आकर्षण केन्द्रहरूले पर्यटकहरू लोभ्याउने, आकर्षण गर्ने, एकपटक पुगौं भन्ने भावना पैदा गर्दछ र अहिले प्रत्येक शहरहरू, प्रत्येक मुलुकहरू आफ्नो देशमा, आफ्नो शहरमा पर्यटकको संख्या कसरी बढाउन सकिन्छ कसरी पर्यटकलाई खर्च गराउन सकिन्छ, कसरी आर्थिक क्रियाकलाप बढाउन सकिन्छ भनेर चिन्तन गरिरहेको परिपे्रक्षमा यस्ता नयाँ–नयाँ सोच, विचारहरूले प्रेरित गरेको सन्दर्भमात्र उल्लेख गरेको हुँ । हामीले अझै यस्ता नयाँ अनौठो आकर्षक संरचनाहरू कति बन्दैछन्, बनिरहेका छन् भन्नेबारे पनि हेक्का राख्न सक्नुपर्दछ र यस्तै नयाँ सिर्जनात्मक कुराहरू हामीले हाम्रो ठाउँमा अनुकरण गर्न सक्छौं सक्दैनौ यसबारे हामीले चिन्तन गर्न जरुरी छ । अन्तर्राष्ट्रिय विमानस्थल निर्माणपछि यस शहरमा लाखौं पर्यटक आउने छन् भन्ने कुरामा विश्वास छ ।

लाखौं मानिसहरूले भ्रमण गर्ने यस शहरलाई हेर्नलायकको शहर, बस्नलायकको शहर, घुम्नलायकको शहर बनाउन प्रतिबद्ध हुन जरुरी छ । विमानस्थल बन्ने तर पर्यटक आगमनलाई थेग्न सकेनौं भने, सेवा प्रवाह गर्न सकेनौं भने, घुमाउने हेर्ने ठाउँहरू तय गर्न सकेनौं भने विमानस्थलको दिगोपनमा प्रश्न उठ्न सक्दछ, त्यसैले पनि हाम्रो आर्थिक विकासलाई दिगो बनाउने यस अन्तर्राष्ट्रिय विमानस्थललाई सकेसम्म धेरै यात्रुहरू आवतजावत गर्नसक्ने, थुप्रै विदेशका पाहुनाहरूलाई स्वागत गर्न सक्ने, धेरै मानिसहरूले कामको अवसर पाउन सक्ने, धेरै पूर्वाधारहरू बन्न सक्ने आधारको रूपमा लिनुपर्दछ ।

यो समग्र गण्डकी प्रदेशको लागि पोखरा एउटा मेरुदण्डको रूपमा रहेको छ । जसले जीवनलाई चलायमान बनाउने सामथ्र्य राखेको छ । यो समग्र क्षेत्रको जीवनाधार हो जसले सधैँ जीवनलाई जीवन्त बनाउछ । हामी यो विमानस्थल बनिसकेपछि सिर्जना हुने नयाँ तरंगबारे अनुमान गर्न सक्दछौं । त्यसैले गण्डकी प्रदेशलाई वृहत् सुधार निर्माण लगानी गर्नेतर्फ हामी सबैको ध्यान जान जरुरी छ । यही नै हो समृद्धिको चाहनालाई मूर्तरूप दिने पहिलो शुरुवात ।

हाम्रो सुझाव