पोखरासँग नबिर्सिने बिछोड

आदर्श समाज सम्वाददाता
असार १२, २०७२

पङ्तिकारको चारपाँच वर्षको उमेरदेखि नै पोखरासँग आध्यात्मिक निकटता थियो। तनहुँको भानु गाविसमा पर्ने चुँदी, रम्घाको डाँडाबाट देखिने माछापुच्छ्रे र अन्नपूर्ण हिमालले निकटतामा ल्याउने काम गरेका थिए। मान्यजनले पनि हरेक वर्ष मङ्सिर, पुस महिनाका चुँदी फाँटका खलाखलाका धानका राशबाट हातको चोर औँलाले अन्नपूर्ण र माछापुच्छ्रे  देखाउँदै यी हिमाल पोखरामा छन् भनी चिनाएका थिए। रम्घामा नै कक्षा ६ मा नेत्र बहादुर थापा लिखित भूगोल पढाउँदा गुरु ज्ञानहरि पण्डितले ‘फेवा ताल रूपा ताल, दिपाङ् ताल र मैदी ताल्। वेगनाश पनि ताल पोखरा बिच पाँच छन्’ भन्दै कवितामा पोखरालाई चिनाउनु भएको थियो। यी तालबाहेक वि.सं.२००६ चैत्र महिनामा बजारमा भएको भीषण आगलागी र बडा हाकिम धन शमशेरले बाँडेको जस्तापाता र बजार पुनर्निर्माणका कथा किम्वदन्ती बनेर बुढापाकाका मुखबाट मेरो कानसम्म पुगेको थियो। यस बाहेक चुँदीरम्घाको गाउँ र बेँसीको आकाशबाट आवतजावत गर्ने हवाइजहाजले पनि पोखरासँगको निकटतालाई ज्यादै अत्मीय बनाएको थियो।

आत्मीय पोखराबाट दूर हुँदै वि.सं. २०२१-०२२ तिर कक्षा ८ मा पढ्न म त काठमाडौँ पुगेछु। वि. सं २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षति भएको र भूकम्प जाँदाजाँदै मेरो आइफोनको क्यामरामा कैद गरिएको दरबार स्कुलको भुँइ तलामा कक्षा ८ देखि १० सम्म पढाइ पूरा गरिएछ। पढ्दापढ्दै त स्नातक पूरा भएछ। स्नातक हुने बित्तिकै काठमाडौँको कान्ति इश्वरी राज्यलक्ष्मी माध्यमिक विद्यालयमा स्थायी शिक्षक हुन पुगेछु। पछि वि.सं.२०३७ मा शिक्षाशास्त्र सङ्कायतर्फ त्रिभुवन विश्व विद्यालयको सेवा आयोग उत्तीर्ण भइएछ । मलाई कीर्तिपुर वा सानो ठिमीमा पढाउने नियुक्ति दिन लाग्दा मैले पोखरा सम्झन पुगेछु। दुर्इ, तीन जति वर्ष रुपन्देही र गोरखा हुँदै बाल निकटता र आत्मीयताले भित्रभित्रै बोलाएछ। त्यसैले म वि.संं.२०४० साउन २२ गते पृथ्वी नारायण क्याम्पसमा हाजिर हुने र शिक्षाशास्त्र सङ्कायमा शिक्षण गर्ने बनेर पोखरा पुगेछु। महाकवि कालीदास भन्छन् (‘राम्रोपन र मिठोपनको हेराइ, सुनाइ र भोगाइले मानिसहरू जन्म जन्मान्तरका सुन्दर भाव र अनुभवसँग रमाउँछन्।’ महाकविले भने जस्तै म वि.सं.२०७१ फागुन मासान्तसम्म लगभग ३१ वर्ष पोखरामा रमाएँ। बिछोड हुने बेलामा शिक्षाशास्त्रका एकजना मेरा प्राडा शिष्यले मेरो काठमाडौर्को गतिविधि बुझेपछि भने(सर, तपार्इँ त पोखरामा बसेर सड्नु पो भएछ।’ जन्म जन्मान्तरको भाव र सौर्न्दर्य पोखरासँग गाँसिएको रहेछ, सड्न त दिएन। म त त्यसैभित्र रमेँ, रमाएँ र आफूलाई खोएँ।

आफूले आफैलाई बिर्सिएर बस्दा पनि पोखराले धेरै ममता र शिक्षा दिएछ। उत्पादन मात्र गरिएन उत्पादित पनि भइयो। स्नातक मात्र योग्यता भएको मानिसले पोखरामा नै बसेर विद्यावारिधि गर्‍यो, बहुभाषिक देश नेपालको दोस्रो भाषा सिकाइमा। पोखराकै कर्मभूमिले प्राध्यापक पनि बनायो। प्राध्यापकसम्मको शिक्षणले आफ्नै शरीरबाट निस्केका रहर लाग्दा ज्योति जस्तै बनेर विद्यार्थीहरू यत्रतत्र छरिएका छन्। शिक्षक छन्, प्रशासक छन्, सचिव छन्, मन्त्री छन्, राजनीतिक नेता छन्, व्याङ्कर, उद्योगपति, व्यापारी, व्यवसायी, पत्रकार, डाक्टर, वकिल, प्राध्यापक बनेर समाजका विभिन्न क्षेत्रमा पुगेका छन्। पोखरामा पदापण गर्नासाथ नेपाली काङ्ग्रेसलाई चिनाउने सामग्री निर्माणमा संलग्न भइयो। मलाई तत्कालीन प्रनेकाले पोखराबाट प्रकाशित हुने पर्यवेक्षक साप्ताहिक र जनमत दैनिकमा लेख्न लगाउँथ्यो। तत्कालीन पार्टीसभापति करुणानिधि कोइराला, सचिव केशवराज रेग्मी, सदस्यहरू तारानाथ रानभाट, भोला थापा, शुक्रराज शर्माहरू हुनुहुन्थ्यो। पार्टोको काममा मात्र होइन, विभिन्न साहित्यिक संस्था र व्यक्तिहरूको पनि सद्भाव र स्नेह रह्यो। लामो समयसम्म बस्दा शिक्षक, प्राध्यापक, विद्यार्थी, सामाज सेवी, राजनीतिज्ञ, साहित्यिक, साहित्यानुरागी, औषधी तथा पर्यटन व्यवसायी, डाक्टर, पसले, फोटोग्राफर, पत्रकार र जन साधारणसँग आत्मीयता बढ्यो। पोखराका ताल, हिमाल, पहाड र प्रकृतिसँग निकटता रह्यो। त्यसैले बगर, महेन्द्र पुल, महेन्द्र गुफा, सराङ्कोट, भलाम, फेवाताल, रूपाताल, वेगनास ताल, माछापुच्छ्रे, अन्नपूर्ण, अनदु, चमेरे गुफा, डेभिल फल्स, पार्दी, सेती नदी, काली खोलाहरू सुन्दर मानचित्र बनेर मेरा आँखा र अन्तहृदयमा सल्बलाएका छन्। आज आत्मीय र निकट यहाँका सुन्दर मानचित्रहरू भौतिक रूपमा बिछोडिएका छन्।

लाग्थ्यो, पोखरा साहित्यको दोस्रो राजधानी थियो। त्यसैले सेती छोडी वाग्मती जान्न आमा भन्दै कवि मुकुन्दशरण उपाध्याय कवितामा कुर्लिएका थिए। कवि तीर्थ श्रेष्ठले सुन्दर पोखराको गीत लेखेर कहिल्यै थाकेनन्। स्वर्गीय कवि भूपी शेरचनका कवितामा पोखरेली बिम्व र प्रतीक छन्। कवि तथा नाटकार सरुभक्त काठमाडौँले बोलाए पनि पोखराका साधक हुन्। कवि तेजनाथ घिमिरेले पोखरामा बसेर आफ्ना कवितामा नेपालको तस्िवर कोरेका छन्। व्यङ्ग्यकार तथा चित्रकार वात्सायन र  रमेश श्रेष्ठले पनि पोखरालाई साधना भूमि बनाए। सानै उमेरमा बालकवि पुष्प आचार्यले पोखराबाट ‘छायाँकाल’ देखे। पर्यवेक्षकका सम्पादक तिलमान गुभाजू, जनमतका सम्पादक केशवराज पराजुली र आदर्श समाज दैनिकका सम्पादक कृष्णप्रसाद बास्तोलाले यसैलाई पत्रकारिताको कर्मस्थल बनाए। उद्योगपति, होटल व्यवसायी र लाहुरेहरूले पोखरालाई दुलही जस्तै सिँगारे, सफा, सुग्घर र शान्त बनाए। शिरमा हिमालले सेतै र लाली गुराँसले रातै बनेर हरियाली डाँडामा ३१ वर्षसम्म बसाउने दुलही जस्ती पोखराको काखबाट म त लुसुक्क पो हिँडेछु।  हिँडेर अनुहारभरि धुलो र शरीरभरि दुर्गन्ध टाँसिएको काठमाडौमा पुगेछु, त्यसैले म स्नातक हुँदाको जस्तो छैन, काठमाडौँ। अहिले लाग्छ, काठमाडौँभन्दा गरिबै भए पनि हँसिलो र सुकिलो छ, पोखरा, धनी भए पनि अशान्त, बेखुसी र फोहरी छ काठमाडौँ। उता मर्दी खोलाको पानी पिएर बसेको छ पोखरा, यता मेलाम्चीको पानी हेरेर काकाकुल बनेको छ, काठमाडौँ। फेरि ढल्कँदो उमेरतिर दोस्रो राजधानी छोडेर पहिलो राजधानी काठमाडौँमा टेकियो। टेक्ने बित्तिकै मैले उपनिषद् वाक्यलाई रिमिक्स गरेर सम्झिन पुगेँ, ज्यतिर्मा तमसो गमय पो भएछ। अर्थात् उज्यालोबाट अन्धकारतर्फ पो गइएछ। उसले त जीवनलाई भनेको थियो अन्धकारबाट उज्यालोतर्फ जाऊ तर उल्टो भयो। त्यसैले त गहमा आँसु र मुटुमा पुनर्मिलनको कामना लिएर पोखरासँग बिसनै नसकिने बिछोड भयो। यस बिछोडको घडीमा आत्मीयता प्रदर्शन गर्ने सम्पूर्ण पोखरेली जन जनमा सुख, समृद्धि, समुन्नति, सुस्वस्थ्य र दीर्घायुको शुभकामना !

Related News

सम्बन्धित समाचार

  • मनोसामाजिक अपांगता के हो ?

    सुदीप घिमिरे मंसिर १७, २०८०
    राइनास नगरपालिका लमजुङका एक वडा अध्यक्षले अपांगताको अधिकार वकालत गर्न सुरु गरेका छन् । गत महिना आयोजित एक कार्यक्रममा मनोसामाजिक…
  • तिलकदाइको सम्झनामा

    हरि अधिकारी मंसिर १३, २०८०
    विख्यात लोकतन्त्रवादी नेता तथा पूर्वी नवलपुर, गैंडाकोट क्षेत्रका अग्रणी सामाजिक अभियन्ता तिलकप्रसाद सापकोटा कीर्तिशेष हुनुभएको एक वर्ष पूरा भएको छ…
  • अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध

    राजेन्द्र भण्डारी कार्तिक ३, २०८०
    अभिभावकज्यूहरू, मौसम बिस्तारै उष्णबाट शीतोष्णमा परिवर्तन हँुदै छ । अर्कातर्फ हाम्रा संस्कृतिका अभिन्न धरोहरहरू हाम्रा घरआँगनमा प्रवेश गरिसकेका छन्; कतिपय…
  • फेलको फेहरिस्त

    शेषराज भट्टराई असाेज २२, २०८०
    विद्वान्हरू भन्ने गर्छन् ‘विद्यार्थी र शिक्षक कहिल्यै फेल हुँदैन । फेल हुने भनेको सिकाइ विधि हो । सिकाइ विधि फेल…
  • नागरिकको समय नै देश विकासको आधारशिला

    डा. दीपकप्रसाद बास्तोला असाेज २२, २०८०
    नेपाल संसारकै एक पुरानो देश हो । यस कुरामा हामी सबै नेपालीहरूले गर्व गरेका छौं । देश विकासको लागि एक…

hero news full width