२०४६ सालको राजनीतिक परिवर्तनपछि नेपालमा केही क्षेत्रमा आमूल परिवर्तन देखा पर्यो। तीमध्ये पत्रकारिता, गैरसरकारी संस्था, ब्याङ्िकङ क्षेत्र आदि प्रमुख छन्। यस लेखमा विशेष गरेर पत्रकारिताअन्तर्गत एफएम रेडियोहरूको अवस्थाबारे लेखाजोखा गर्न खोजिएको छ।
पत्रकारिता जोखिमपूर्ण उद्यम हो। अन्य उद्योगसँग मिडिया उद्योगको तुलना गर्न मिल्दैन। किनभने यो एउटा उद्योग मात्रै नभएर यसले संवेदनशील जिम्मेवारी बोकेको हुन्छ। अनि तुलनात्मक रूपमा पत्रिका चलाउनभन्दा रेडियो खोल्न र चलाउन झन् कठिन छ। त्यसको कारण के हो भने लगानीको हिसावले पत्रिकामा भन्दा धेरै पूँजी रेडियो स्टेसनको स्थापनामा नै लाग्छ। त्यसबाहेक सञ्चालनका लागि पनि धेरै बढी स्रोत साधन आवश्यक पर्छ। त्यसैले रेडियोमा लगानी गर्नका लागि ठूलै आँट चाहिन्छ। उसो त रेडियो आफैमा झन्झटिलो माध्यम पनि हो किनभने यसमा प्रविधिको भूमिका धेरै हुन्छ। एउटा साधारण रेडियो स्टेसन खोल्नको लागि पनि कम्तीमा पच्चीस लाखको हाराहारीमा खर्च लाग्दछ।
काठमाडौँमा रेडियो खोलिएपछि नै त्यसलाई सिको गर्दै काठमाडौँबाहिर पनि रेडियो खोल्ने प्रतिस्पर्धा चल्यो। फलस्वरूप पोखरामा २०५७ सालको आखिरी र २०५८ सालको प्रारम्भमा एकैचोटि चार ओटा रेडियो पोखरामा खोलिए। त्यस बेला नै आवश्यकताभन्दा बढी रेडियो भनिएको थियो। तर नयाँ रेडियो आउने त्यो क्रम अझै रोकिएको छैन र अहिले दुर्इ दर्जनको हाराहारीमा यहाँ एफएम रेडियोको प्रसारण उपलब्ध छ।
पोखरा उद्योग धन्दा कलकारखाना अत्यधिक भएको शहर होइन। यहाँको जनसंख्या र बजारलाई आँकलन गर्ने हो भने यी एफएम रेडियोको संख्या नै आवश्यकता भन्दा धेरै भएका छन्। प्रतिस्पर्धा तीब्र भएकाले यिनको सञ्चालनबाट आर्थिक प्रतिफल पाउन निकै कठिन छ। यस्तो अवस्थामा यो क्षेत्रमा यति धेरै लगानी गर्नु ठूलै जोखिम मोल्नु हो।
एफएमको फ्रिक्वेन्सी सीमित भएको र पोखरामा धेरै स्टेसन भएकाले फ्रिक्वेन्सी जुधेर स्पष्ट सुन्न नसकिने पनि भएको छ। एकचोटि फ्रिक्वेन्सी पाएपछि सधैँ उसको हुन नहुने नत्र अरूले पछि फ्रिक्वेन्सी नै नपाउने भन्ने आवाज पनि अचेल सुनिन थालेका छन्। उसो त नेपालमा रेडियो स्टेसन खोल्न र चलाउनका लागि स्पष्ट नीति र कानुन नभएकाले पनि यो अवस्था सिर्जना भएको हो। अकोर्तर्फ कुनै अध्ययन तथा अनुसन्धान समेत नभएकाले एउटा शहरमा कति रेडियो आवश्यक पर्छ भन्ने अन्यौल पनि छ। अध्ययन र ज्ञानको अभावमा एफएम रेडियोहरूले उल्लेख्य प्रगति गर्न नसकेका हुन्। सानो लगानीका पत्रिकाहरू नै चल्न कठिन भएको अवस्थामा ठूलो लगानीमा सञ्चालित यी एफएम रेडियोहरूको यात्रा निष्कण्टक छैन। बजारको आकार र आयतनको अवलोकनतर्फ भन्दा अरूको चलेको छ हाम्रो पनि चलिहाल्छ नि भन्ने मान्यता र मानसिकताका आधारमा यी एफएम रेडियो उभिएका छन्।
नेपालमा रेडियोलाई सामुदायिक र व्यापारिक भनेर वर्गीकरण गर्ने गरेको पाइन्छ। लगानीकर्ता गाविस वा सहकारी वा सामाजिक संस्था भएको रेडियोलाई सामुदायिक र अन्यलाई व्यापारिक भन्ने यो परिभाषा आधिकारिक भने होइन। सरकारी दस्तावेजमा कतै यस्तो वर्गीकरण पाइँदैन। पोखरामा पनि रेडियो स्टेसनलाई यसै गरी दुर्इ कित्तामा राख्ने गरेको पाइन्छ। तर श्रोताको दृष्टिकोणबाट पनि यी दुर्इ थरीका रेडियो कार्यक्रममा खासै भिन्नता पाइँदैन।
एक दशकअघि पोखराका रेडियो स्टेसनले जे समस्या र चुनौती झेलेका थिए, तिनमा अहिले पनि उस्तो परिवर्तन आएको छैन। बरु केही नयाँ समस्या र चुनौती थपिएका होलान्। एक दशकको यस अवधिमा नेपालमा ठूला परिवर्तनहरू भए। राज्य व्यवस्था फेरियो। मुलुक संविधानसभामार्फत राजतन्त्रबाट लोकतन्त्र हुँदै गणतन्त्रमा गयो। तर रेडियोका समस्या ज्यूँका त्यूँ छन्।
रेडियोहरूले पत्रिकाको सहारा लिएरै आफ्नो बिहानी किरण र्छछन् समाचारमार्फत। हुन त यो चलन पोखरामा मात्र नभएर काठमाडौँका रेडियोमा पनि व्याप्त नै छ। एफएम रेडियोले आफूलाई सुधार्ने ठाउँ प्रशस्त हुँदाहुँदै पनि उनीहरू यो जोखिम लिन तयार भएको देखिँदैन। रेडियो खोलियो भैहाल्यो नि भन्ने मालिकको मानसिकताले प्रगतिमा बाधा पुर्याएको छ। नयाँ ठाउँ वा क्षेत्र बनाउने जोखिम किन मोल्ने भन्ने उनीहरूको धारणा छ। जनशक्तिमा थप लगानी गर्न पनि उनीहरू तयार छैनन्। त्यसैले वृत्तिविकासका कुनै अवसर जनशक्तिलाई उपलब्ध छैन। अधिकांश लगानीकर्ता सबैका आ-आफ्ना मूल व्यवसाय छन्। ती व्यवसायबाट तिनको घर परिवार चलेकै छ। ‘साइड बिजनेस’ बनेका यी रेडियो स्टेसनका कारण ती मालिकहरूलाई समाजले रेडियोका सञ्चालक भनेर थप मान दिएकै छ। यसैमा ती खुसी छन्।
सफल र व्यवसायिक रेडियो हो भनेर चिनाउनका लािग नयाँ बाटाहरू बनाउन प्रयत्न गर्ने हो भने त्यस्ता सम्भावनाहरू प्रशस्तै देखिन्छ। तर त्यसका लागि अहिलेको यथास्थितिवादी सोचमा परिवर्तन ल्याउनै पर्छ। केही रेडियो स्टेसनले यस तथ्यलाई मनन गरेर प्रयास गरेका पनि छन् र त्यसमा केही सफलता समेत हासिल गरेको प्रस्टै देख्न सकिन्छ। केही रेडियोले आफूलाई बालबालिका केन्द्रित बनाएका छन् भने केहीले महिला केन्द्रित। त्यस्तै आशलाग्दा प्रयासमध्ये विकास पत्रकारितालाई प्राथमिकतामा राख्नु एक अभ्यास हुन सक्नेछ। यसमा स्थानीय विकास, पर्यटन पूर्वाधार, जैविक विविधता आदि जस्ता विषयलाई केन्द्रमा राखी कार्यक्रम उत्पादन र प्रसारण गरिन्छ। यी क्षेत्रलाई पनि रेडियोसँग साक्षात्कार गर्न सकियो भने प्रस्तुतिको विषयवस्तु र शैली नवीन हुन सक्थ्यो। यस्तो कार्यक्रमका विज्ञापनदाता र प्रायोजक पनि अरूभन्दा फरक हुन सक्थे। यस्ता अरू पनि विषय छन् जसबाट केही नयाँ काम गर्न सकिन्छ। तर यसमा ध्यान नदिई धेरैजसो रेडियो उस्तै प्रकृतिका कार्यक्रम उत्पादन गर्ने, प्रायजसो शहरी क्षेत्रका उस्तै छोटोमोटा विज्ञापनका लागि मरिहत्ते गर्ने अनि अस्वस्थ प्रतिस्पर्धा गरेर कम दरमा विज्ञापन लिने काममा तल्लीन भएको पाइन्छ। यस्तो अभ्यास स्वयं रेडियो सञ्चालकहरूका लागि समेत गौरवपूर्ण र इज्जतिलो मान्न सकिँदैन।
केही सञ्चालकमा रेडियोको गुणस्तर उकास्ने भनेको यसको प्राविधिक गुणस्तरमा सुधार ल्याउने हो भन्ने मान्यता भएको पाइन्छ। त्यसैले ती गुणस्तर उकास्न थप लगानीका लागि तयार भैहाले भने पनि ट्रान्सिमिटरको वाट थप्छन्, एन्टेना लिएर डाँडा उक्लिन्छन्। तर जनशक्तिमा लगानी गर्न तयार हुँदैनन्। रेडियो पत्रकारिता प्रविधिमा धेरै भर पर्छ र राम्रा उपकरण हुनु राम्रो हो। तर आखिर ती उपकरणलाई जनशक्तिले नै सञ्चालन गर्ने भएकाले तिनको दक्षता पनि नभई नहुने आवश्यकता हो।
थोरै जनशक्तिबाट धेरै काम लिन खोज्छन् लगानीकर्ताहरू। त्यसैले रेडियोका जनशक्तिमाथि धेरै बोझ छ र त्यसलाई सम्पन्न गर्न सजिलो बाटो खोज्छन् उनीहरू। एउटा टेलिफोनका भरमा अवस्था बुझेर देशका बारेमा ठूला नेताले जस्तो गफ गरेर रेडियोप्रति मोह घटाउने काम भइरहेको छ। रेडियोलाई प्रयोगमुखी बनाउने हो भने गाउँ गाउँका कुरा, शहरका कुनाकुनाका समाचार वा विचार र भावनाहरूलाई समेट्नु पर्छ। रेडियोहरूले आफ्नो अवस्था कस्तो छ भनेर बुझ्नका लागि समेत श्रोतामाझ बेलाबेलामा पुग्न जरुरी छ र श्रोता सवेक्षण यसको एक उपाय हो। यस्ता सवेक्षणमार्फत रेडियोहरूले आफ्ना राम्रा वा नराम्रा कुरा र कमजोरीबारे थाहा पाउन सक्छन्।
रेडियोलाई व्यावहारिक माध्यम मानेर यहीँ भएका स्रोत साधनलाई उपयोग गर्न सके रेडियोहरू फस्टाउने सक्ने सम्भावना प्रशस्त छन्। आशा गरौँ झण्डै डेढ दशक लामो यात्रा पार गरिसकेका पोखरेली रेडियोले आगामी दिनमा आफ्नो कार्यक्रमको प्राविधिक मात्रै होइन, सर्वपक्षीय गुणस्तरमा समय सापेक्ष सुधार गर्नमा आफ्नो ध्यान लगाउने छन्। स्टेसनलाई अझ व्यावसायिक बनाउन बाटो पहिल्याउने छन् र श्रोताहरूलाई सन्तुष्ट बनाउन कुनै कन्जुस्याइँ गर्ने छैनन् भन्ने कामना पनि गरौँ। आगे उनीहरूकै मर्जी।
(लेखक स्थानीय सुशासन र मिडियामा रुचि राख्ने अनुसन्धाता हुन्।)
Related News
सम्बन्धित समाचार
मेरो ओलम्पिक यात्रा संस्मरण
‘स्व’ को खोजीमा प्रतीक्षा
गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण
नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)
बालकथा : मौकाको साटो
hero news full width
मुख्य समाचार
क्षतिग्रस्त पुल र सडक निर्माणमा २५ अर्ब लाग्ने
बाढीपहिरो प्रभावितलाई गण्डकी सरकारको ५० लाख
असाेज १७, २०८१विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव सुरु, नवदुर्गाले खिच्यो ध्यान
असाेज १७, २०८१गोरखा दरबारमा विधिपूर्वक जमरा राखियो
असाेज १७, २०८१सर्वोच्चले भन्यो–जोशीलाई हिरासतमुक्त गर्न सकिने
असाेज १७, २०८१स्वास्थ्य मन्त्रालय परिसरमै लामखुट्टेको बासस्थान !
असाेज १६, २०८१