पृथ्वीनारायण शाह र एकीकरण अभियान

दीपकबहादुर केसी
पौष २६, २०७६

हाम्रो राष्ट्रिय एकताका प्रतीक पृथ्वीनारायण शाहको जन्मदिन विसं. १७७९ पुस २७ गतेलाई हाम्रो देशमा राष्ट्रिय एकता दिवसका रुपमा मनाउँदै आएका छौं । वर्तमान समय हामी उनको २९८ औं जन्मजयन्ती मनाउँदै छौं । १७९९ चैत २५ गते आफ्ना बुवा गोरखाका राजा नरभूपाल शाहको देहान्तपछि युवराज पृथ्वीनारायण शाह विधिवत् गोरखा राज्यको राजसिंहासनमा राज्यारोहण गरेका थिए ।
विगतमा पृथ्वीनारायण शाह र अन्य शाहवंशीय राजाहरुले इतिहासमा निर्वाह गरेको भूमिकालाई जनआन्दोलनको क्रममा अतिरञ्जित तरीकाले व्याख्या गर्ने प्रयास गरिएको थियो, उनलाई बाईसे चौबीसे राजा रजौटाहरुको साना साना राज्य समाजलाई एकताबद्ध बनाएको एउटा ऐतिहासिक राष्ट्रपिताका रुपमा स्थापित गरिएन, उनलाई इतिहासमा आफ्नो भूमिका निर्वाह गरेको एउटा सीमा सहितको शासकका रुपमा हेर्ने गरियो र पृथ्वीनारायण शाह पछिका शासकहरुले पनि नेपाली मुद्रामा राष्ट्र निर्माताको नभै आ–आफ्नै तस्वीर देशको मुद्रामा अंकित गरे ।
जबकि अन्य मुलुकमा जस्तै भारतका महात्मा गान्धी पाकिस्तानका मोहम्मद जीन्ना, बंगलादेशका शेख मुजिबुर्रहमान, अमेरिकाका अब्राहम लिंकन जस्तै हाम्रा राष्ट्रनिर्माताको तस्वीर अंकित गरिएन । अन्य राजा महाराजाकै पंक्तिमा राखेर ती देशका सबै सालिक स्तम्भहरु ढालिँदा पोखराको पृथ्वीचोकमा रहेको पृथ्वीनारायण शाहको सालिक पनि ढालिए । हाल त्यो स्थानमा शहीद लखन थापाको सालिक राखिएको छ ।
त्यो जनआन्दोलनको क्रममा ढालिएका सालिकहरुको पुनस्र्थापना गराउनका लागि २०७५ सालमा पोखराको पृथ्वीचोकमा ठूलो रिलेअनशन गरिएको थियो । पुनस्र्थापना गराउनको लागि पोखरा महानगरपालिकाका मेयर सहित यहाँका सम्पूर्ण अग्रजहरुको रोहवरमा समझदारी र सम्झौता गरेर उक्त अनशन समाप्त गरिएको थियो ।
पृथ्वीनारायण शाहले सैन्य अभियानको सफलतापूर्वक नेतृत्व नगरेको भए वर्तमान नेपालको उत्तरी भूमि चीनमा हुने र दक्षिणी भाग भारतको हिस्सा हुने निश्चित जस्तै थियो भनेर अनुमान लगाउनु गलत हुने छैन । उनमा कति धेरै राष्ट्रियता र राष्ट्रको माया थियो भन्ने कुराको अनुमान उनका महान उपदेशबाट पनि प्रष्ट हुन्छ । मेरा साना दुःखले आज्र्याको मुलुक होइन, सबै जातको फूलबारी हो । सबैलाई चेतना भया ।
सिंगो भारत र हिमाली क्षेत्रलाई एक गास बनाउन कम्मर कसेर लागिपरेका अंग्रेजहरुले नेतृत्व गरेको इष्ट इण्डिया कम्पनीको षड्यन्त्रलाई ध्वस्त बनाएर एउटा गे्रटर नेपाल राष्ट्रको जग बसाल्ने पृथ्वीनारायण शाहले नेतृत्व गरेको गोर्खाली सैन्य अभियान एकीकरणको युद्धबाट नै निर्माण भएको थियो, बाकसमा भोट खसालेर होइन ।
सन् १७४६ देखि १७७५ सम्म पृथ्वीनारायण शाहको अगुवाई तथा त्यसपछि बहादुर शाह र भीमसेन थापाको शासनकालमा टिस्टादेखि सतलजसम्म सम्पूर्ण हिमवतखण्ड काँगडासम्म अंग्रेज र भारतीय राजा रजौटाहरुलाई पराजित गरेर निर्माण भएको गोर्खा राज्य विस्तार र एकीकरण अभियानको परिणाम थियो ।
उनको राज्य विस्तार अभियान अगाडि बढ्दै गर्दा नुवाकोट तथा काठमाण्डौं उपत्यकामा विजयपछि गोरखा भन्दा बढी ऊर्वर जमिन हासिल भएको थियो । मकवानपुर विजयपछि तराईकै झन् उर्वर भूमि गोर्खाली सेनाहरुको हात लागेको थियो । यसले युद्धप्रति झन् आकर्षण पैदा गराएको थियो ।
पृथ्वीनारायण शाहको नेतृत्वमा गोर्खाली सेनाहरुको राज्य विस्तार अभियान सफल नभएको भए टुक्रा टुक्रामा विभाजित सिंगो मध्य हिमाली भूभागलाई अंग्रेजहरुले निलिसकेका हुने थिए । बाइसेचौबीसे सहित मकवानपुरको मल्ल र पूर्वका किँराती शासक र अंग्रेजहरुको गठबन्धन बनेको भए सम्भवतः केही दिन भित्रै सम्पूर्ण हिमाली भूभागमा अंगे्रजहरुको झण्डा फहराइरहेको हुने थियो । गोर्खालीहरुका समूहको रणनीति सफल नभएको भए नेपाल नाम गरेको गौरवशाली राष्ट्रको अस्तित्व विश्वको राजनीतिक मानचित्रमा रहने थिएन ।
आज नेपाल र नेपालीका सम्मुख राष्ट्रियता, राष्ट्रिय एकता र भौगोलिक अखण्डतालाई बचाउने कार्यभार सर्वाधिक महत्वको विषय बन्न गएको छ । दुई सय चालीस वर्षको राजतन्त्रको अन्त्यपछि फेरि एकपटक पृथ्वीनारायण शाह र उनको नेतृत्वमा संचालित राज्य संघीय गणराज्यको कठघरामा उभिएको छ । वर्तमानमा नेपाल राष्ट्रलाई कमजोर पार्ने र टुक्र्याउनका लागि संघीयता, जातीय स्वशासन र स्वायत्तताको सिद्धान्तलाई विकृत पार्न खोजिदैछ ।
विगतदेखि नै हुँदैआएको वैदेशिक हस्तक्षेप सीमा मिच्चाई कालापानी, सुस्ता, लिपुलेक अब पनि भारतले आफ्नो नक्सामा पारेर अतिक्रमण विभिन्न बहानामा तीव्र पारिँदै छ । यो अवस्थामा पृथ्वीनारायण शाहको उचित मूल्यांकन र उनले इतिहासमा नेपाल एकीकरण र निर्माणमा खेलेको भूमिकालाई पुनस्र्थापित गर्नु सबै नेपाली मात्रको कत्र्तव्य हो ।
वर्तमान समयमा पनि नेपाली जनता सनातन हिन्दू राज्य र संवैधानिक राजा हुनुपर्छ, वर्तमान संविधान संशोधन गरिनुुपर्छ भनेर प्रश्न उठाइरहेका छन् । संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानले राजतन्त्र निषेध गरेको हुँदा वर्तमान सरकार पृथ्वीजयन्ती र राष्ट्रिय एकता दिवस मनाउन तथा परम्परा अनुसार उक्त दिन बिदा गर्न पनि छोडेको छ । यसरी पृथ्वीनारायण शाहको योगदान बिर्सने हो भने नेपालको अस्तित्व माथि नै प्रश्नचिन्ह उठ्न सक्छ । यसको जवाफदेही वर्तमान राजनीति दलहरु र सरकार हुनुपर्छ ।
साथै सम्पूर्ण राष्ट्रिय विभूति तथा शहीदको उचित सम्मान गर्दै प्रत्येक वर्ष पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइरहँदा उक्त दिनमा अरु भव्यताका साथ मनाइनु पर्ने र बिदा दिइएमा अझ वेश होला कि ? अस्तु ।

Related News

सम्बन्धित समाचार

hero news full width