पूर्वी रुकुमको भर्जिन सौन्दर्य

के.वी. मसाल
श्रावण ६, २०७६

बागलुङ देखि ढोरपाटन, स्यालपाखे हुँदै रुकुमको टकसेराको पैदल मार्ग भएर हुकाम मैकोट र रन्मा मैकाट सम्म हिमाली भेगमा ताल, तलैया मात्र नभएर खनिज सम्पदा बाट निस्किएको तातोपानीको मूलहरु पनि छन। डोल्पा जाँदा पर्ने दवारी भञ्ज्याङ, पुपाल भञ्ज्याङ पनि यसै क्षेत्रमा पर्दछ।

नेपालको कान्छो जिल्ला प्रदेश न‌. ५ को पूर्वी रुकुम हिमाली जिल्ला हो। पूर्वी रुकुममा विभिन्न जातजाति, भेष भूषा, भाषा, संस्कृति, चार्डपर्व विविधता रहेको छ। हिजो भूगोल र जनसंख्याका हिसाबले ठूलो रुकुम जिल्लामा बस्दै आएका रुकुमेली आज छुट्टै जिल्ला बन्दा खुशी छन्। प्राकृतिक र सांस्कृतिक हिसाबले पूर्वीरुकुम भू–स्वर्ग मात्र होइन प्राकृतिक वैभव र भर्जिन सौन्दर्यको धनी छ।

पूर्वी रुकुमको इतिहासका पाना पल्टाउने हो भने ०२२ देखि ०३० सालसम्म एकीकृत रुकुमको सदरमुकाम रुकुमकोट थियो। जब सदरमुकाम मुसीकोट खलंगा सारियो, पूर्वी रुकुमेलीको भावनामा चोट पर्यो। सदरमुकाम सारिएको विरोधमा आन्दोलन हुँदा सर्वसाधारण मनबहादुर थापाको प्रहरीले चलाएको गोलीबाट निधन भयो। केही घाइते भएका थिए। अहिले फेरि पूर्वी रुकुममा खुसी फर्किएको छ। सरकारले सदरमुकाम रुकुमकोटमा राखेको छ। चालीस बर्ष पछि रुकुमकोट पूर्वी रुकुमकोटको सदरमुकाम भएको छ। रुकुमकोट उत्तरगंगा र लुकुमखोलाको संगम स्थलमा पर्दछ। सरकारले रुकुमकोटलाई स्मार्ट सिटी बनाउने घोषणा गरेको छ।

पूर्वी रुकुम जिल्ला दुर्गम, बिकट, हिमाली, लेकाली बस्ती जहाँ खाममगर जातिहरुको बस्ती रहेको पहाडी भूगोल पर्दछ। खामगर जातीको बाहुल्य रहेको बस्ती पर्यटकहरुका लागि खाम भाषा, संस्कृतिको अध्ययन अनुसन्धान गर्न महत्वपूर्ण भूगोल हो। पूर्वीरुकुम खाम भाषीहरुको साँस्कृतिक पहिचान भएका गाउँ र रमणीय बस्तीहरु, ऐतिहासिक र प्राकृतिक छटाले सिँगारिएको भूगोल हो। पूर्वी रुकुमलाई आदिम सांस्कृतिक थलोको रुपमा चिनिन्छ।

खाममगर समुदायको जीवनशैली हिमाली संस्कृतिसँग मिल्दोजुल्दो छ। पूर्वीरुकुममा पर्यटकहरु रमाउने भनेकै खाममगर भाषाको अध्ययन, पाटन, वनस्पति, जंगल, नदीनाला, तालतलैया, वन्यजन्तुहरु पर्दछन। खाम मगर गाउँका बासिन्दा सामूहिकतामा विश्वास गर्छन्। सामाजिक एकताबिना उनीहरु आफ्नो अस्तित्व स्विकार नगर्ने सँस्कार छ। मगर खामहरुको गाउँमा समान संरचनामा घर निर्माण भएका हुन्छन। गाउँमा उनिहरुले खेतीपातीमा अर्मपर्मको सिद्धान्त र विकास निर्माणमा परम्परागत झाराप्रथा कायम राख्दछन। यो नै पूर्वी रुकुमको सामाजिक विशेषता हो।

पूर्वी रुकुमको मगर संस्कृति भाषा भेषभूषा जीवनशैलीले निकै सुन्दर मानिन्छ। आजभोलि पूर्वी रुकुमको मगर गाउँहरुलाई किङडम अफ मगर कल्चरको उपनामले समेत चिनिने भएको छ। प्रकृति र संस्कृतिको अनुपम संयोजनबाट सांस्कृतिक इतिहास बोकेका खाम मगर बस्तीहरु पर्यटकहरुको लागि गन्तब्य बन्दै गएको छ। पूर्वी रुकुमको भूगोलमा तकसेरा, हुकाम, मैकोट, कोल, काक्री, भूमे, लुकुम, महत र यसैसंग जोडिएको रोल्पाको जलजला, थबाङ र जेलबाङ जस्ता मगरबस्ती घुमघाम गर्न पर्यटकहरुको रोजाइमा पर्ने गरेको छ। यी गाउँहरु धवलागिरी हिमश्रंखलामा पर्ने चुरेन, पुथा, दोगरी सिस्ने हिमचुचुराहरुको काखमा रहेको छ।

नेपालमा तीन किसिमको मगर भाषा छ। डोल्पाका मगरले काइके भाषा बोल्दछन्। रुकुम र रोल्पाका मगरहरु खाम (अठार मगराती) भाषा बोल्छन् भने, पाल्पा, स्याङजा, तनहुँ र नवलपरासीका मगर ढुट (बाह्र मगराती) भाषा बोल्छन्। भाषा, संस्कृति, परम्पराले मगर जाति धनी मानिन्छ।

मगरजातिको शारीरिक बनोट देखि रीति, रिवाज, रहनसहन, चालचलनमा छुट्टै खालको विशेषता रहेको छ। विशेषतः पहाडी इलाकामा बसोवास गर्ने भएका कारण पूर्वीरुकुमका मगरहरुले बाक्लो कपडाहरु लगाउने परम्परा रहेको छ। मगर जातीको संस्कृतिमा पनि छुट्टै खालको मौलिक पहिचान पाइन्छ। मगर जातिमा बहुल भाषा, संस्कृति, परम्परा र चाडपर्वहरु रहेका छन्।

विविध संस्कृति, चाडपर्वको कुरा गर्दा अट्ठार मगराँत क्षेत्रका मगरहरुले मनाउने संस्कृतिको प्रमुख चाडमा भूम्या (नोगोबाङ्गे) पर्वलाई लिने गरिन्छ। भूम्या पर्व भूमि देवताको कुनैपनि आपतविपत्त नहोस भनेर भूमि देवतालाई मनाउने पर्व हो। यो पर्वको शुरुवात कहिलेदेखि भयो? त्यो खोजीकै विषय छ। तर पनि परम्परागत खाम मगरहरुले मान्दै आएको पर्व हो। जेठ मसान्तबाट शुरु हुने भूम्या पर्व असार ५ गतेसम्म मनाइन्छ।

पूर्वी रुकुमको सांस्कृतिक नृत्यहरु सबै सामूहिक हुन्छन्। लहरै, पैसेरी, भूम्या, डिग्रे, झोल्हा नाचहरु मगर खाम वस्तीका परम्परागत सामूहिक नाच हुन्। भूम्या नाचमा पुरुषको गोलबद्ध लहरलाई महिलाले घेरिएको हुन्छ भने पुरुषहरु खुकरी भिरेर नाच्छन्। अगुवालाई पछ्याएर गोलबन्द भई नाच्नु भूम्या नाचको विशेषता हो। पाका र ज्येष्ठतालाई प्राथमिकता दिइने यो नाचमा युवायुवतीहरु पनि सामेल हुन्छन।

भूम्या नाचले मुख्यगरी एकता, भ्रातृत्व र सामूहिकताको भावना प्रवद्र्धनसँगै सामाजिक सम्बन्ध विस्तार गर्ने सन्देश प्रवाह गर्छ। सिंगारु नाच यहाँको एउटा सांस्कृतिक गहना हो। पुरुषलाई एउटा निश्चित परम्परागत पहिरनले रुपवती महिलाको भेषमा सिंगारपटार गराई मादल, दुँदी र झ्याली बजाएर काव्यात्मक शैलीको गीतिकथा गाएर सिंगारु नचाइन्छ।

बागलुङ देखि ढोरपाटन, स्यालपाखे हुँदै रुकुमको टकसेराको पैदल मार्ग भएर हुकाम मैकोट र रन्मा मैकाट सम्म हिमाली भेगमा ताल, तलैया मात्र नभएर खनिज सम्पदा बाट निस्किएको तातोपानीको मूलहरु पनि छन। डोल्पा जाँदा पर्ने दवारी भञ्ज्याङ, पुपाल भञ्ज्याङ पनि यसै क्षेत्रमा पर्दछ। पेल्मा गाउँ पश्चिम सिमामा पर्ने डोल्पा जिल्लाको पानीढलो हिमालबाट बग्दै आएको खोलाको पानी तातो छ। पुरानो वाथका रोगीहरुले त्यो खोलाको तातो पानीमा नुहाउँदा वाथरोग सन्चो हुने जन विश्वास छ।

यो बाहेक पैदल यात्रामा भ्रमण गर्न चाहने पर्यटकहरुको लागि पूर्वी रुकुममा घुमघाम गर्ने धेरै स्थलहरु छन। रन्माकोटको पुपाल भन्ज्याङको खुराल फाटमा र ज्युङला भन्ज्याङको कुतलाबादली पाटनको बीचमा दुईओटा दह छन्। दहहरुमा दुर्लभ काम्लो नामका चराहरुले जलक्रीडा गर्दछन। बाग्लुङबाट ढोरपाटन हुँदै डोल्पा जाने पर्यटकहरु रुकुमको तकसेरा हुँदै यही बाटोहुँदै यात्रा गर्दछन्। तालमा हुने चराहरुको जलक्रीडाले त्यहाँ पुग्ने पर्यटकहरु रमाउने गर्दछन।

टक्सार, कोलको विरगुम गाउँको तामा खानी, पोखराको तातोपानी र सानोभेरीले पनि पर्यटकहरुलाई नया गन्तव्य स्थल बनाएको छ। यो बाहेक तकसेराको मनोरम वस्ती, उत्तर गङगा माछेमूल, कोल किनवाङ घनचौरको भेडाको बथान निस्कने ओढार हिमाली वन्यजन्तु र पशुपन्छीको वासस्थान लगायतका कतिपय पहिचान भएका र पहिचान हुन नसकेका भौगोलिक प्राकृतिक संरचनाहरुको धनी रहेको छ पूर्वी रुकुमको प्राकृतिक सम्पदा।

पर्यटकहरुको लागि चुनबाङ, रुकुमकोट, महत, लुकुम, मोराबाङ, राङ्सी, कोल, तकसेरा, हुकाम, खाराबाङ, रन्मामैकोट लगायतका गाउँहरु पूर्वी रुकुमका मुख्य आकर्षक गन्तव्य हुन्। यी गाउँका बस्ती संरचना निकै लोभलाग्दा छन्। सबै गाउँका आ–आफ्नै विशेषता छन्।

पोखरा बाग्लुङ भएर रुकुमकोट आउने पर्यटकहरुले पहिला ढोरपाटन पुग्न सकिन्छ। ढोरपाटन पुथा, चुरेन र गुर्जा हिमालको काखमा रहेको छ। फागुन महिनामा ढोरपाटन क्षेत्र लालीगुरासको पूmलले सजिएको हुन्छ। चैत्र, वैशाख महिनामा गोवे्रसल्ला, भोजपत्र, ठिङगे्र सल्ला, सिदुर र धुपि सल्ला र देवदारका वनस्पतिले ढोरापाटन सिँगारिएको हुन्छ।

प्राकृतिक आनन्द लिन हिमाली भागको दृश्यावलोकन र वन्यजन्तु सिकारको रोमाञ्च अनुभूति लिन चाहने पर्यटकको लागि ढोरपाटन आनन्दको स्थल मानिन्छ। ढोरपाटनको अर्थ फराकिलो ठाँउ हो। ढोरपाटनको अर्को नाम हो बादलपारीको गाँउ। वरिपरि हिमाली दृष्य हिमालको काखमा राता डाँडा त्यसमुनि हरियो जङगल, जङगल मुनि मैदानी भाग अनि वस्ती र कञ्चन पानिका स्वच्छ नदीको प्राकृतिक उत्तम उपहार हो ढोरपाटन।

ढोरपाटनको दक्षिण पट्टि रहेको रुद्र तालको पानी काली गण्डकीमा मिल्दछ। ढोरपाटन क्षेत्रमा झनु ताल पनि छ। त्यस तालको पानीबाट उत्तर गंगा अर्थात सानो भेरी नामबाट पूर्वीरुकुम जिल्ला प्रवेश गरी टकसेरा, कोल, नाथिगार, माछिने, सिम्ले हुदै भेरी नदीमा मिल्दछ।

ढोरपाटनको उत्तर तर्फको गर्पा डाँडाबाट कास्की, म्याग्दी, बाग्लुङ, गुल्मी, पाल्पा, र पूर्वीरुकुमका धेरै भूभाग देख्न सकिन्छ। त्यसैगरी उत्तर तर्फका हिमाल, चुरेन पुठा, हिमचुली, गुर्जा हिमाल, सिस्ने हिमाल, धौलागिरी हिमाल, माछापुच्छे्र, निल गिरी, अन्नपूर्ण हिमाल एकै ठाँउबाट देख्न सकिन्छ। ढोरपाटनमा हिमाल मात्र होइन, पार्मी ताल, मान्द्रे ताल, जाल्पा ताल, पुठातालले पनि पर्यटकहरुलाई आकषिर्त गराउँछ।

अहिले पूर्वी रुकुम विकास निमार्णमा जुटेको छ। जिल्लामा भएका ऐतिहासिक, सास्ँकृतिक र भौगोलिक दृष्टिले महत्वपूर्ण पर्यटकीय सम्भावना रहेको स्थानको पहिचान गरी पछिल्लो समय ग्रामीण पर्यटन क्षेत्रमा पनि विकास हुन थालेको छ। पूर्वीरुकुमको गाउँठाउँको भ्रमणबाट धेरै किसिमका कुराहरु सिक्न र जान्न पाईन्छ। प्रकृति, समाज र प्रविधिको अवस्था, आवश्यकता र सम्भावनाहरुको पहिचान गर्न सकिन्छ। त्यसैले होला भ्रमणलाई खुल्ला विश्व विद्यालय पनि भन्ने गरिन्छ।

Related News

सम्बन्धित समाचार

hero news full width