पुस्तकालय दिवस र यसको सान्दर्भिकता

आदर्श समाज सम्वाददाता
भाद्र १५, २०७०

‘एक गाउँ एक पुस्तकालय, एक विद्यालय एक पुस्तकालय’ को नारासहित भाद्र १५ मा देशभर छैटौं पुस्तकालय दिवस मनाइँदैछ। नेपालमा औपचारिक रूपमा वि.सं. १८६९ भाद्र १५ गते पुस्तकालय सेवा प्रारम्भ भएको दिनलाई ऐतिहासिक उपलब्धिको रूपमा स्मरण गर्दै पुस्तकालय तथा सूचना विज्ञानका क्षेत्रमा भएका गतिविधिहरू एवम् पुस्तकालयको आवश्यकता बारे जानकारी गराउने, देशभर पुस्तकालयको स्थापना, संरक्षण र विकासमा सहयोग पुर्‍याउने, ज्ञान र सूचनाको पहुँच वृद्धि गर्ने, नागरिकहरूमा अध्ययन संस्कृतिको विकास गर्नुका साथै सूचना एवम् ज्ञानमा आधारित समाज निर्माणमा सहयोग पुर्‍याउने जस्ता विविध उद्देश्यका साथ नेपालमा वि.सं.२०६५ देखि भाद्र १५ लाई ‘पुस्तकालय दिवस’ को रूपमा मनाउन सुरू गरिएको हो। यस अर्थमा नेपालमा संस्थागत रूपमा पुस्तकालय स्थापना भएको २०२ वर्ष पूरा भएको छ र पुस्तकालय दिवस छैटौं वर्षमा प्रवेश गर्दैछ।

पुस्तकालयकर्मी, पुस्तकालय, विभिन्न शैक्षिक संस्था र पुस्तकालयसँग सम्बद्ध संघसंस्थाहरूको सहभागितामा पोखरामा कविता, निबन्ध, चित्रकला प्रतियोगिताहरू, अन्तरक्रिया, पुस्तक दान तथा पुस्तकालयको विकासमा महत्वपूर्ण योगदान दिने व्यक्तित्वहरूलाई सम्मान प्रदान गर्नेजस्ता विविध कार्यक्रमहरूका साथ पुस्तकालय दिवस मनाइँदै आएको छ। गत वर्षसम्म पोखरा सार्वजनिक पुस्तकालयको नेतृत्वमा कार्यक्रम गरिंदै आएकोमा यस वर्षदेखि विभिन्न संस्थाहरूले क्रमशः पालोपालो नेतृत्व गरी मनाउने सहमति भए अनुसार सहिद स्मृति पुस्तकालयको संयोजकत्वमा छैटौं पुस्तकालय दिवस मूल समारोह समिति गठन भई भाद्र ७ गते पुस्तकालय तथा सूचना व्यवस्थापन निर्देशिका २०६९ बारे वृहत् अन्तरक्रियात्मक गोष्ठी सम्पन्न भइसकेको छ भने भाद्र १५ गतेका लागि विशेष तयारी भइरहेको छ। प्रथम पुस्तकालय दिवसको अवसरमा कास्की पोखरामा वि.सं. २००७ पछिको दशकमा पोखरामा सामुदायिक पुस्तकालय स्थापना गर्न सक्रिय भूमिका निर्वाह गर्ने अग्रज व्यक्तित्वहरू प्रदीप शंकर पालिखे, केशवराज पराजुली केदारप्रसाद बजिमय, वीरेन्द्रकुमार बाटाजु र वसन्त केशव पराजुली र २०४६ को दशकभन्दा पछि पुस्तकालय स्थापना र विकासमा महत्वपूर्ण योगदान दिने अग्रज पत्रकार एवम् पोखरा सार्वजनिक पुस्तकालयका संस्थापक सदस्य कृष्णप्रसाद बाँस्तोला र पुस्तकालयकर्मी अर्जुन श्रेष्ठलाई पाँचौं पुस्तकालय दिवसको सर्न्दर्भमा सम्मान प्रदान गरिएको थियो।

प्रारम्भदेखि नै पुस्तकालय दिवसको सर्न्दर्भमा पोखरामा पुस्तकालयको स्थापना र विकासमा सक्रिय योगदान दिने अग्रज व्यक्तित्वहरू र पाठक, पुस्तकालयकर्मी, शिक्षासेवीहरू बीच आपसी अनुभव र जिज्ञासाहरू साटासाट गर्नेदेखि नेपालमा पुस्तकालय दिवस बारे जानकारी गराउने र पुस्तकालयको संस्थागत विकासमा नागरिकहरू र सरकारको भूमिका बारे विविध अन्तरक्रियाहरू गरिंदै आएका छन्। चौथो पुस्तकालय दिवसको सर्न्दर्भमा ‘ज्ञान र सूचनाका लागि पुस्तकालय’ शीर्कको कास्की जिल्ला क्याम्पस स्तरीय निबन्ध प्रतियोगिता र पाँचौ पुस्तकालय दिवसको सर्न्दर्भमा ‘पुस्तकालय’ र ‘पुस्तकालयको महत्व’ शीर्कको कविता प्रतियोगिता आयोजना गरी भव्य रूपमा सम्पन्न गरिएको थियो। पोखरावासीहरूका लागि खुसीको विषय चौथो पुस्तकालय दिवस २०६८ को अवसरमा पुस्तकालय दिवस मूल समारोह समिति काठमाडौंबाट पोखरा सार्वजनिक पुस्तकालय ‘उत्कृष्ट वर्ष पुस्तकालय’ र पोखरा सार्वजनिक पुस्तकालयका संस्थापक सदस्य एवम् अग्रज पुस्तकालयकर्मी अर्जुन श्रेष्ठ ‘उत्कृष्ट वर्ष पुस्तकालयकर्मी’ छनोट भई राष्ट्रिय सम्मान प्राप्त गरेका थिए।

पुस्तकालय दिवसलाई युवा पिँढी बीच लोकप्रिय बनाउन र पठन संस्कृतिको विकास गर्न प्रणय दिवसमा प्रेमी-प्रेमिका बीच गुलावको फूल आदान-प्रदान गरे जस्तै पुस्तकालय दिवसमा कम्तिमा एउटा मन परेको पुस्तक किन्ने, अध्ययन गर्ने र आपसमा सकारात्मक अनुभवहरू आदान-प्रदान गर्नुका साथै उक्त पुस्तक प्रेमपूर्वक प्रेमी-प्रेमिका, साथी-साथी, शिक्षक-विद्यार्थी, लेखक-लेखक र लेखक-पाठक बीच साटासाट गर्ने र आफूले लेखेका, प्रकाशन गरेका वा किनेका नयाँ पुस्तक पुस्तकालयलाई उपहार दिने नवीन संस्कृतिको विकास गर्नु सान्दर्भिक र्ठहर्छ।

छैटौं पुस्तकालय दिवसको सर्न्दर्भमा पोखरामा भाद्र ७ गते पुस्तकालय विकास मञ्च काठमाडौं र छैटौं पुस्तकालय दिवस समारोह समिति कास्कीको संयुक्त आयोजनामा समसामयिक विषय केन्द्रित ‘पुस्तकालय तथा सूचना व्यवस्थापन निर्देशिका-२०६९’ को कार्यान्वय सम्बन्धमा सरोकारवालाहरू बीच एक दिने अन्तरक्रियात्मक गोष्ठी र भाद्र १२ गते नेदरल्याण्ड लाइब्रेरी फोरमकी डाइरेक्टर डा. मरियन कोरेन, नेपाल पुस्तकालय संघका प्रकाश थापा र अशोक थापा तथा छैटौं पुस्तकालय दिवस समारोह समिति कास्कीका पदाधिकारी र सदस्यहरू बीच पुस्तकालय दिवस र सामुदाययिक पुस्तकालयको विकास बारे अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भइसकेको छ।

पुस्तकालयको विकासमा विशिष्ट योगदान दिने व्यक्तिहरूलाई नेपाल पुस्तकालय संघबाट प्रदान गरिने अन्तर्राष्ट्रिय सरस्वती अवार्ड यस वर्षका लागि डा. मरियन कोरेनलाई र राष्ट्रिय सरस्वती अवार्ड नेपालकी प्रथम महिला लाइब्रेरियन शान्ति मिश्रलाई प्रदान गरिएको छ। पुस्तकालय दिवसको अवसरमा पुस्तकालयको विकासमा महत्वपूर्ण योगदान दिने व्यक्तित्वहरुलाई पोखराबाट क्षेत्रीय स्तरमा प्रदान गरिने सम्मान यस वर्षका लागि पोखराका अग्रज पुस्तकालयकर्मी तथा पोखरा सार्वजनिक पुस्तकालयका संस्थापक सदस्य श्याममोहन आले र ज्ञानज्योति पुस्तकालयका संस्थापक सदस्य तारा पाखेलाई प्रदान गरिंदैछ। यी कार्यक्रमहरूका साथै पोखरामा भाद्र १५ गते बिहान रक्तदान गर्ने, पुस्तकालय दिवसबारे परिचर्चा, पुस्तक दान, सम्मान प्रदान र नेपालीहरूको विविध जातजातिका मौलिक संस्कृति झल्कने नृत्यहरू सहित छैटौं पुस्तकालय दिवस सम्पन्न गरिंदैछ।

पोखरामा सम्पन्न पुस्तकालय दिवसहरूको समग्र रूपमा मूल्याङ्कन गर्दा सामान्य पाठकदेखि विद्यार्थी, शिक्षक, पुस्तकालयसेवीहरू र बुद्धिजीवीहरू सबैको “सरकारी, सामुदायिक वा शैक्षिक पुस्तकालयहरू बाल-बालिकादेखि युवा, बृद्ध अनि शारीरिक रूपमा अशक्त सबैका लागि मैत्रीपूर्ण एवम् विविध पाठ्य तथा विद्युतीय सूचना सामग्रीहरूले सुसज्जित आधुनिक पुस्तकालयको निर्माण हुनुपर्छ र पुस्तकालय सबैका लागि निशुल्क हुनुपर्छ” भन्ने सुझाव रहेको छ। यस प्रकार नागरिकहरूमा पुस्तकालयप्रति जिज्ञासा जगाउन र सकारात्मक दृष्टिकोणको विकास गराउन सक्नु खुसीको विषय हो र यसले पुस्तकालय दिवसको सान्दर्भिकतालाई पुष्टि गर्दछ। तर नेपालमा पुस्तकालय दिवसले अपेक्षा गरे बमोजिम छैटौं वर्षसम्म आइपुग्दा पनि पुस्तकालयको संस्थागत विकासमा सन्तोषजनक उपलब्धि हासिल हुन सकेको देखिंदैन। प्रत्येक वर्ष नयाँनयाँ नारा तय गरी पुस्तकालय दिवस मनाइरहँदा विगततर्फ फर्किएर नारामा भनिएका कुराहरू लागू भए-नभएको बारे समीक्षा गरिएको छैन। पोखरा लगायत देशभर सचेत नागरिकहरूको रहरबाट खुलेका सामुदायिक पुस्तकालयहरू आज पनि मूलतः आर्थिक अभावकै कारण दयनीय अवस्थाबाट गुज्रिरहेका छन्, जसका कारण बहुसङ्ख्यक नागरिकहरू स्वतन्त्र अध्ययन सुविधाबाट वञ्चित हुनुपरेको छ। पुस्तकालयकर्मीहरूको लामो सङ्र्घर्षपश्चात नेपालमा पुस्तकालय सेवा प्रारम्भ भएको झण्डै दुर्इ सय वर्षपछि आएर सरकारीस्तरबाट ‘पुस्तकालय तथा सूचना सेवा राष्ट्रिय नीति-२०६४’ र ‘पुस्तकालय तथा सूचना व्यवस्थापन निर्देशिका-२०६९’ जारी भएको छ तापनि हाल निर्देशिकामा उल्लेखित कार्यहरू लागू हुने कुरामा विश्वास गर्न सकिने अवस्था देखिंदैन। किनकि निर्देशिकाको प्रभावकारी कार्यान्वयनका लागि पुस्तकालय ऐन र नियमको आवश्यकता पर्छ। यस कारण पुस्तकालय दिवसको अवसरमा नागरिकहरूको जीवनपर्यन्त अध्ययन गर्न पाउने नैर्सर्गिक अधिकारको सम्मानका लागि देशमा छिटोभन्दा छिटो सरकारी स्तरबाट पुस्तकालय सम्बन्धी ऐन, नियम निर्माण गरी लागू गराउन सशक्त दबाव सिर्जना गर्ने बेला भएको छ।

पुस्तकालय दिवस ज्ञानको उज्यालो ज्योति छर्ने शुभ दिन पनि हो। यसलाई केवल नारामा सीमित नगरी पाठक, विद्यार्थी, शिक्षक, लेखक, प्रकाशक, अनुसन्धानकर्ता, नीतिनिर्माता, राजनीतिज्ञ लगायत आम नागरिकहरूले आदरपूर्वक सम्झने दिनका रूपमा स्थापित गराउनुपर्छ। ज्ञान र सूचनामा आधारित शिक्षित, सभ्य, सुसंस्कृत एवम् समृद्ध समाज निर्माण गर्न सहरदेखि गाउँ-गाउँ र हरेक विद्यालयमा बालबालिकादेखि युवा, बृद्ध अनि शारीरिक रूपमा अशक्त, दृष्टिविहीन तथा श्रवणविहीन आदि सबै प्रकारका पाठकहरूका लागि मैत्रीपूर्ण एवम् विविध पाठ्य, श्रव्य, श्रव्य-दृश्य र विद्युतीय सूचना सामग्रीहरूले सुसज्जित आधुनिक पुस्तकालय वर्तमानको आवश्यकता हो। त्यसैले ऐन, नियममार्फत् एक गाउँ एक पुस्तकालय, एक विद्यालय एक पुस्तकालय अर्थात टोलटोलमा अनि हरेक विद्यालयमा सुविधायुक्त पुस्तकालयको अवधारणालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सके मात्र पुस्तकालय दिवस सार्थक भएको मानिनेछ। पुस्तकालय दिवसको शुभ अवसरमा समयले प्रदान गरेको यस ऐतिहासिक जिम्मेवारी हामी सबै मिलेर समयमा पूरा गर्ने प्रण गरौं।

Related News

सम्बन्धित समाचार

  • मनोसामाजिक अपांगता के हो ?

    सुदीप घिमिरे मंसिर १७, २०८०
    राइनास नगरपालिका लमजुङका एक वडा अध्यक्षले अपांगताको अधिकार वकालत गर्न सुरु गरेका छन् । गत महिना आयोजित एक कार्यक्रममा मनोसामाजिक…
  • तिलकदाइको सम्झनामा

    हरि अधिकारी मंसिर १३, २०८०
    विख्यात लोकतन्त्रवादी नेता तथा पूर्वी नवलपुर, गैंडाकोट क्षेत्रका अग्रणी सामाजिक अभियन्ता तिलकप्रसाद सापकोटा कीर्तिशेष हुनुभएको एक वर्ष पूरा भएको छ…
  • अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध

    राजेन्द्र भण्डारी कार्तिक ३, २०८०
    अभिभावकज्यूहरू, मौसम बिस्तारै उष्णबाट शीतोष्णमा परिवर्तन हँुदै छ । अर्कातर्फ हाम्रा संस्कृतिका अभिन्न धरोहरहरू हाम्रा घरआँगनमा प्रवेश गरिसकेका छन्; कतिपय…
  • फेलको फेहरिस्त

    शेषराज भट्टराई असाेज २२, २०८०
    विद्वान्हरू भन्ने गर्छन् ‘विद्यार्थी र शिक्षक कहिल्यै फेल हुँदैन । फेल हुने भनेको सिकाइ विधि हो । सिकाइ विधि फेल…
  • नागरिकको समय नै देश विकासको आधारशिला

    डा. दीपकप्रसाद बास्तोला असाेज २२, २०८०
    नेपाल संसारकै एक पुरानो देश हो । यस कुरामा हामी सबै नेपालीहरूले गर्व गरेका छौं । देश विकासको लागि एक…

hero news full width