पोखरी नै पोखरी धेरै भएकोले त्यसको अपभ्रंस हुँदै पोखरा शब्दको जन्म भएको भन्ने भनाइ अब पत्याउन नसकिने भएको छ। धेरै पोखरीहरू मध्यको एउटा ठूलो पोखरी हो फेवाताल, जसलाई हामी फेवाताल भन्छौं। फेवातालभन्दा साना पोखरी रूपा र बेगनास, दिपाङ, मैदी, खास्टे न्युरेनी हुन्। फेवा, रूपा र बेगनास अन्य पोखरीभन्दा केही ठूला र आकर्षक भएकै कारण पोखरा अन्तर्राष्ट्रिय पर्यटनको केन्द्रका रूपमा स्थापित हुने सौभाग्य पाएको भन्दा अतिशयोक्ति नहोला। माछापुच्छे्र, अन्नपूर्ण र धौलागिरिको काखमा उहिलेको पोखरी समयक्रममा पोखरा बन्यो। तर आज प्रकृतिले दिएको यो रूप मानवीय कारणबाट क्षतविक्षत भएको देख्दा लाग्छ यहाँ कुनै जिम्मेवार निकायको उपस्थिति नै छैन। फेवाताल जलाधार क्षेत्रको प्रयासबाट आजभन्दा तीस वर्ष अगाडि यसको संरक्षणका लागि विशेष कार्यक्रम गरेर कास्की, ढिकुरपोखरी, चापाकोट भदौरेतामागी र सराङकोट क्षेत्र समेतलाई संरक्षण गरेमात्र फेवातालको संरक्षण हुन्छ भन्ने अवधारणा अनुरुपका कार्यहरू सञ्चालन गरिएका थिए। जब देशमा प्रजातन्त्र आयो, लोकतन्त्र र गणतन्त्र समेत आयो अनि प्राकृतिक संरचनाहरूको संरक्षणमा कसैको ध्यान पुग्न सकेन बरु कसरी त्यसलाई ध्वंश गर्ने, राजनीतिक आडमा अतिक्रमण गर्ने, संरक्षणका नाममा विकास बजेट निकालेर बाँडीचुँडी खाने तर विकासको ठाउँमा हाकाहाकी बिनाश गर्ने काम भए। परीणाम आज ०७२ वैशाख १२ को भूकम्पपछि प्राकृतिक बिपत्ति जसरी आयो देशमा आएको प्रजातन्त्रपछि फेवातालका लागि मानवीय कारणबाटै बिपत्ति सुरु भयो। पोखरामा रहेका धेरै ताल तलैयाहरू पुरिँदै गएको टुलुटुलु हेरिरहँदा आज फेवाताल पुरिएको भन्दा आर्श्चर्य नमान्दा हुन्छ। वि.सं. १९५७ ताका २२ हजार रोपनी क्षेत्रफलमा फैलिएको फेवाताल २०३५ सालतिर आउँदा १३ हजार रोपनीमा खुम्चियो।
२०५५/०५६ को आँकडामा तालको क्षेत्रफल ४ दशमलव ४३ वर्ग कि.मी. मा झरिसकेको अवस्था थियो भने अहिले २०७०।०७२ मा आउँदा फेवातालको शिर पञ्चासे हुँदै बग्ने हपनखोला ढिकुरपोखरीतर्फबाट बग्ने खहरे खोलाले बगाएर ल्याएको गेगर, ढुङ्गा, माटो र काठपातले फेवातालको स्वरुप नै परिवर्तन गरिदिएको छ। यसले गर्दा फेवाताल बीच भागमा रहेको तालबाराही मन्दिर वरपर मात्र तालको अवशेष बाँकी देखिन्छ। त्यो पनि धमिलो र हिलोले गर्दा पहिलेको झंै सङ्लो पानीमा माछाहरू खेलिरहेको र माछापुच्छ्रे्र हिमालको प्रतिबिम्ब देख्न पाइदैन। यसमा जब माटोले ताल पुरिँदै गयो तब त्यस क्षेत्रमा मानवीय अतिक्रमण पनि तीव्र भयो त्यसलाई रोक्ने कुनै प्रयास भएन। पोखरा उपत्यका नगर विकास समिति, पोखरा उप-महानगरपालिका, जिल्ला विकास समिति र अन्य प्रशासनिक निकायहरू यहाँको प्राकृतिक सुन्दरताको आनन्द लिँदै जागिर पकाउँदै बिदा हुँदै गए। बरु विदेशी मुलुकका मान्छेहरूले चिन्ता र चासो लिए। जापानको जाईका नामक संस्थाले फेवाताल बँचाउन लामो समय जलाधार क्षेत्रमा काम गरेको थियो तर यहाँका सरोकारवाला निकायलाई कुनै चिन्ता र चासोको विषय कहिल्यै भएन। भयो त केवल अर्बौ बजेट माग गर्ने अनि बजेट आएन, भएन भनेर बस्ने गरेको अवस्था छ। यतिबेलाको तालको अवस्थालाई हेरेर एक वर्ष अगाडि पोखरा उप-महानगरपालिकाअन्तर्गतको फेवाताल संरक्षण कार्यालय स्थापना भएको थियो। उक्त संस्थाले साउन २५ गते एक कार्यक्रम गरी फेवताल संरक्षणका लागि १ अर्ब ७८ करोडको बजेट माग गरेको छ। समयमै बजेट पाउने र योजनाबमोजिम काम हुने होे भने फेवातालको आयु केही वर्ष थप हुन सक्ने अनुमान गर्न सकिएला होइन भने अब फेवाताल रामराम … भन्नुबाहेक केही रहँदैन। किनकि विदेशतिर यस्ता ताल र पोखरीहरू कृत्रिमरूपमा बनाइएका हुन्छन् र त्यसको मात्र संरक्षण हुन्छ। हामी भाग्यका कमारा, प्रकृतिले बनाइदिएको संरचनाबाट लाभ मात्र लिन खोज्छौं अनि संरक्षण पनि प्रकृतिले नै गरिदेओस्, जब त्यस्ता प्राकृतिक संरचना र ऐतिहासिक धरोहरबाट व्यक्ति, समाज र राष्ट्रका जिम्मेवार निकायहरू निकम्मा भएर रमिते बनिदिन्छन् अनि फेवातालको यो दुर्दशा हुन्छ। यसैले अब पोखरा मात्र हैन विश्वकै ध्यान तानेको पोखरा, पानी नहुँदाको फेवाताल अनि सेताम्मे हिउँ नहुँदाको माछापुच्छ्रे अब नौलो र आर्श्चर्यजनक मान्नुपर्ने विषय धेरै टाढा र नौलो हुँदैन। आज फेवातालमा पानी छैन जलकुम्भी झार छ, तालमा डुङ्गा तालको पानीमा तैरन पाउँदैनन्, हिलोमा डराएर पाखा लाग्छन्। हेर्दाहेर्दै आफ्नै सामुन्ने ठूलो दुर्घटना भएर आफूमात्रै बाँचेजस्तो सपना पनि होइन बिपनाजस्तो पनि छैन। समाचार छापिन्छ, सबैले पढिन्छ नजिकै गएर हेरिन्छ के गर्नु। ताल यसरी पुरिँदैछ भन्ने कुरा नबुझ्ने, नजान्ने सायदै कोही छैन तर राजनीति गर्नेहरूले इन्जिनियरको काम गरिदिन्छन्, इन्जिनियर राजनीतिक पँहुच र शक्तिमा हुँदैनन् अनि फेवाताल सुक्छ पुरिन्छ, इतिहास बन्छ, प्लटिङ हुन्छ, टाउन बन्छ कसलाई किन मतलव। फेवातालको अतिक्रमण गरेर वरपर ठूला घर र होटल बनाउने र चलाउनेहरू पनि यतिबेला गोहीका आँशु झार्न थालेका छन् लौ अब हाम्रो लगानी बालुवामा पानी हुने भो भनेर।सारा पोखराभरिको ढल फेवातालमा मिसाइन्छ उता जलाधार क्षेत्रको विकास रोकेर विनाशको बाटो खन्न सुरु गरिन्छ अनि तालमा जलकुम्भीले संकेत गर्छ ताललाई बचाऊ भन्छ प्रकृतिको आवाज कसले सुन्ने – जलकुम्भी, पहिरोले ल्याएका माटो, गेगर झार जंगल काठपात एकैपटक आएर तालको सङ्लो संरचना हिलाम्य बनाउँछ अनि मात्र चर्चा सुरु हुन्छ, विचरा फेवातालको। हुन त हाम्रो राष्ट्रिय समास्या नै यो हो कि कुनै पनि वस्तु मानवीय नियन्त्रणभन्दा बाहिर पुगेर ठूलो क्षति र दुर्घटना भइसकेपछि मात्र बोल्ने र देख्ने अनि सुन्ने सुनाउने परम्परा छ। जसरी मृत्यु भएको मान्छे फर्केर आउँदैन त्यसैगरी फेवाताल पुरिएपछि आउँदो पुस्ताले फोटोबाहेक केही देख्न पाउने छैन। संरचना बँचाइदिने जिम्मेवारी त हाम्रै हो नि इमान्दारिसाथ भन्ने हो भने।
२०७२ साउन १३ गतेको रातमा एकदिन आएको भीषण बाढीले दर्जनौं घरबस्ती बगायो, जनधनको क्षति भयो र सँगसँगै फेवातालको सौर्न्दर्यतालाई बलात्कार गर्यो। हामी सबै दूधको साक्षी बिरालो बनेर रमिता हेर्यांै। साउन २५ गते फेवाको दुर्दशा देखेर माउण्ट कैलास रिसोर्टमा फेवाताल संरक्षण कार्यालयले कार्यक्रम गर्यो बल्ल फेवाको चिन्ता जागेजस्तो छ। सबैको साथ र सहयोग पाएमा फेवाताल बचाउन सकिन्छ तर जिम्मेवार निकायहरू कसरी प्रस्तुत हुन्छन्, समय क्रमले देखाउने छ।
Related News
सम्बन्धित समाचार
मनोसामाजिक अपांगता के हो ?
तिलकदाइको सम्झनामा
अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध
फेलको फेहरिस्त
नागरिकको समय नै देश विकासको आधारशिला
hero news full width
मुख्य समाचार
ठगी अभियोगमा वडा सदस्यसहित ४ पक्राउ
पोखरामा अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव सुरु, हिमाल जोगाउन एकमत
मंसिर २२, २०८०मनाङमा जलवायु परिवर्तनको असर : हराए हिमालको हिउँ र ताल
मंसिर २२, २०८०चिहानमा पुगिसकेको राजतन्त्र फर्किँदैन: ओली
मंसिर २१, २०८०पोखराको नयाँबजारमा व्यापार मेला सुरु
मंसिर २१, २०८०म टुहुरो भएँ: १४ वर्षमा बुबा बितेर, अहिले छोराछोरी विदेशिएर…
मंसिर २१, २०८०