पाठेघरको जाँच शिविरकै भर

भवानी अधिकारी
जेठ १६, २०८०

विश्वमा स्तन क्यान्सरपछि पाठेघर क्यान्सर हुने गरेको विभिन्न तथ्यांकले देखाउँछ । पाठेघरको मुखको क्यान्सरलाई निकै खतरनाक मानिन्छ । यसले शरीरका भित्री अंगहरुलाई समेत नकारात्मक प्रभाव पारेको हुन्छ । पाठेघरको मुखको क्यान्सर विस्तारै फैलने भएकाले यसको सुरुआती लक्षण नै देखिँदैन वा व्यक्तिले थाहा पाउन सक्दैन । यसको वृृद्धि निकै छिटो हुने हुँदा सबैले नियमित परीक्षण गराउन आवश्यक छ ।

पुतलीबजार नगरपालिका ११ की ४४ वर्र्षीय माया थापा (नाम परिवर्तन) आफ्नो स्वास्थ्य अवस्थालाई लिएर चिन्तित छिन् । करिब ६ महिनाअघि उनले रुग्णता कार्यक्रम अन्तर्गत आयोजित पाठेघरको मुखको क्यान्सर शिविरमा परीक्षण गराउँदा प्रारम्भिक नतिजामा पाठेघरको संक्रमण देखियो । पाठेघरको मुखको क्यान्सर हुन सक्ने सम्भावना जनाउँदै तत्काल उपचार गर्न संलग्न चिकित्सकले सुझाव दिए । अहिले उनी नियमित स्वास्थ्य परीक्षणमा छन् ।

संक्रमण बढ्नु, उपचार पनि नपाउने समस्याले गिजोलेको छ स्याङ्जाली महिलालाई । केही महिला त अझै पनि यस विषयमा खुलेर कुराकानी गर्न हिच्किचाउछँन् । असह्य पिडा लुकाएर बाहिर हाँस्नु परेको उनीहरुको गुनासो छ । महिलाका प्रजनन अंग र स्वास्थ्यसँग सम्बन्धित समस्याहरु महिनावारी सुरु भएदेखि नै हुन्छन् तरवेवास्ता गर्दै जाँदा पछि ठूलो समस्या र पीडामा परिन्छ । महिनावारीको समयमा सफासुग्घर, खानपान, आरामको आवश्यकता पर्छ भन्ने कुरा परिवारले बुझ्न जरुरी हुन्छ ।

पाठेघरसँग जोडिएको ४३ वर्षीय रमाको व्यथा अर्कै छ । पाठेघरमा समस्या आएपछि उनको यौन जीवन नै प्रभावित भएको छ । उनको यो समस्या श्रीमानले नबुझ्दा वैवाहिक जीवनमा समेत समस्या देखिएको छ । कमजोर शारीरिक अवस्था, पाठेघरबाट नियमित बग्ने दुर्गन्धित पानीको कारण उनी यौन सम्पर्कको लागि तयार हुन सक्दिनन् तर पनि श्रीमान्ले यो कुरा नबुझेको उनको गुनासो छ ।
उनले भनिन्, ‘पतिको व्यवहारबाट आजित छु । हाम्रो आपसी समझदारी नभएपछि दाम्पत्य जीवनमा समस्या आएको छ । मैले पतिबाट पाउनु पर्ने माया र सहयोग पाउन सकिन । अहिले म शाारीरिक एवं मानसिकरुपमा रोगी छु ।’

शारीरिक र पारिवारिक समस्याले समयमै खानपान र सरसफाई गर्न उनले सकिनन् । बालबच्चाले नियमित विद्यालय जान र राम्ररी पढ्न पाएनन् । सानो कमजोरीले ठूला दुर्घटना निम्त्याउने कारण बन्यो । वडामै महिलाको पाठेघर जाँच्नका लागि निशुल्क शिविर हुने भएपछि जचाउन जाँदा सुरुमा त उनको होस नै गुम्यो । उनको पाठेघरमा संक्रमण छ र उपचारमै छन् ।

यी त केही प्रतिनिधि पात्रहरु मात्र हुन् । उनीहरु जस्ता धेरै किशोरी र महिलामा पाठेघरको समस्या देखिएको छ । तल्लो तहसम्म जनचेतना पुर्‍याउन नसक्दा दिनप्रतिदिन यस्ता समस्या बढ्दो छ । समय समयमा स्वास्थ्य परीक्षण गराउनुपर्ने चेतनाका कमीले धेरै महिलाको ज्यानै गएको छ ।

प्रजनन अंग भन्न र देखाउन लाज मान्ने हाम्रो समाज । यौनांगमा लागेको पीडा र समस्या सुनाएपछि, देखाउनुपर्छ, जचाउँनुपर्छ भनेर, अरुलाई कहाँ आफ्नो गुप्तांग देखाउने ? लाज र संकोचकै कारण पाठेघर सम्बन्धी धेरै रोगहरु अझै पनि लुकाइने गरिन्छन् ।

आङ् खसेर हिडदै गरेकी महिलालाई हेर्दा समेत निकै कठिन/दुखानुभूति हुन्छ । कल्पना गर्दा कहाली लाग्दो । बस्दा डल्लो खस्ने अनि हातले सकि नसकि घचाट्नु पर्ने । योनीभित्र रबरका रिङ् घुसारेर खसेको पाठेघरलाई अड्याउनुपर्ने । फेरि, समय समयमा ती रिङ्लाई फेर्नुपर्ने । पीडा त कति कति ? यी सबै प्रजनन स्वास्थ्य प्रतिको वेवास्ताका कारण आएका समस्या हुन् ।

अर्कोतर्फ, कति महिलाले कसैले थाहा नपाउन भन्दै परम्परागत मान्यता अनुरुप घरेलु उपचारका नाममा प्रजनन अंगजस्तो संवेदनशील भागमा विभिन्न किसिमका झारपात एवं जडिबुटीको प्रयोग गर्ने गरेको पाइन्छ । सकभर आफूभन्दा बाहिरका व्यक्तिले थाहा नपाउन भन्दै यसो गर्ने गरिएको हो ।

पाठेघरको समस्या निकै कहालीलाग्दो छ । सपक्कै पारेर लुंगी वा साडी लगाएर हिड्दा पछाडिपट्टी डल्लो र बस्दा अगाडि डल्लो जस्तो देखिन्छ । शारीरिक बनोट पनि भिन्दै देखिन्छ । भित्री लुगा (कट्टु/पेन्टी) बाक्लो भएमा त कति असहज बन्छ भने यस्तो संवेदनशील प्रजनन अंगमा किलो/किलोका मासुका डल्ला बाहिर निस्कदा कति पिडा सहनु पर्ने हो त ? स्याङ्जा अस्पतालकी निमित्त प्रमुख कृष्णकुमारी कार्की भन्छिन् ।

न त राम्ररी बसेर खान मिल्ने, न त काम गर्दा नै सजिलो, न त सुत्दा नै । करिब १५ वर्षेदेखि खसेको आङ् फालेपछिको सहजता सुनाउँदै ६८ वर्र्षीय रुपा (नाम परिवर्तन) ले भनिन्, ‘लाज र संकोचले घरमा भन्न सकिन । पछि परिवारले नै अस्पताल पु¥याए र पाठेघरको शल्यक्रिया पश्चात् केही साता आराम गरें । खानपान र स्वास्थ्यमा ध्यान दिए । अहिले धेरै सजिलो भएको छ ।’

हुन त, अहिले शिक्षा र सचेतना बढेको छ । समान अधिकार र शिक्षाका कुरा चलेका छन् । घर घरमै सरकार पुगेको छ तर पनि केही महिलामा भने संकोच र लाज अझै हटेको छैंन । आफ्नै पतिलाई समेत भन्न सक्दैनन् । पीडा र दुख सहँदै पनि पतिका लागि योैन सन्तुुष्टी दिन वाध्य छन् कैयौं महिला ।

यी सबै महिलाका स्वास्थ्य र प्रजननसँंग जोडिएका विषयवस्तु हुन् जसलाई समस्याका रुपमा मात्र हेर्नु हँुदैन । जहाँ समस्या हुन्छ, त्यहाँ समाधान पनि निस्कन्छ । विगतका वर्षहरुमा भन्दा अहिले धेरै सहज बनेको छ । धेरै प्रकारका रोगका संक्रमण देखिएसँगै उपचारका विधि पनि छन् । विगतमा उपचार नपाइ धेरै मानिसहरुका ज्यान जाने गर्दथे भने अहिले उपचार विधि प्राय सबैको छ तर, कुनै उपचार भने धेरै महँगो र जटिल छ ।

महिलामा बढ्दो पाठेघरको क्यान्सरलाई नियन्त्रण गर्न पुतलीबजारका केही वडाले अभियान चालेका छन् । महिलाका बजेटलाई स्वास्थ्य क्षेत्रमा खर्चिन थालेका छन्। आाफ्नो स्वास्थ्यको ख्याल आफैंले गर्नुपर्दो रहेछ भने केही मात्रामा भए पनि चेतना बढेको पाइयो ।

स्याङ्जाको पुतलीबजार लगायत ९ वटा पालिकामा पाठेघरको क्यान्सर हुनुपूर्व गरिने स्वास्थ्य परीक्षण शिविर सञ्चालन भएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । चालु आर्थिक वर्षको वैशाखसम्ममा सम्पन्न गरिएको पाठेघरको क्यान्सर परिक्षणको प्रारम्भिक नतिजा अनुरुप १ हजार ८ सय ४९ जना महिला परीक्षणमा सहभागी भएमा ३७ जनामा संक्रमण देखिएको छ । यसको पुनः परीक्षणका लागि पोखरा पठाइएको छ । केहीको नतिजा सार्वजनिक भइसकेका छ भने केहीको आउने क्रममा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

‘यौन सम्बन्ध राखेपछि, महिनावारीको बीच, महिनावारी सुकेपछि, महिनावारी नभएको बेलामा हुने रक्तश्राव, पातलो अथवा अत्यधिक गाढा रगत बग्ने, गन्हाउने, पटक पटक पिसाव लाग्ने र पिसाव फेर्दा पीडा हुनु’ यसका लक्षण हुन् ।

सिनियर अहेव तीर्थराज अर्यालका अनुसार, पुतलीबजार नगरपालिका ११ मा १ सय ४६ जनामा गरिएको पाठेघरको मुखको क्यान्सर सम्बन्धी परीक्षण गराउँदा ८ जनाको पाठेघर तल खसेकोले पाठेघरमा रिङ राखेर उपचार गरियो । ३ जनामा पाठेघरको मुखको संक्रमण देखिएपछि थप परीक्षणको लागि पोखरा पठाउँदा २ जना महिलामा पाठेघरको क्यान्सर भएको पुष्टि भयो ।

स्याङ्जाको ११ पालिकामध्ये पुतलीबजारका ३ सय ५६ जना महिलामा गरिएको परिक्षणमा ८ जनामा संक्रमण पोजिटिभ देखिएको छ । तीमध्ये ३० देखि ४९ वर्ष मुनिका ५ जना र ५० वर्ष माथि उमेरका ३ जनामा पोजेटिभ छ ।

आउँदा दिनमा महिला तथा स्वास्थ्य प्रजननका यस्ता प्रभावकारी कार्यक्रमलाई प्रत्येक वडामा पुर्‍याउने नगर प्रमुख तुलसीराम रेग्मीले बताए । स्याङ्जाका ११ भीरकोट नगरपालिकाका २ सय ५७ जनाको परीक्षण गर्दा ४ जनामा पोजेटिभ, गल्याङ् नगरपालिकाका ५ सय ५२ जनामा १ जनामा पोजेटिभ, चापाकोट नगरपालिकाका १ सय ८२ जनामा १ जनामा पोजेटिभ, वालिङ नगरपालिकाका ७० जनामध्ये कसैमा पनि संक्रमण देखिएन । यस्तै, फेदिखोला गाउँपालिकाका ६८ जनामा गरिएको परीक्षणमा एक जना पोजेटिभ, आँधीखोला गाँउपालिकाका १ सय ७३ जनामा २ जना पोजेटिभ, अर्जुनचौपारी गाउँपालिकाका २ जनामा गर्दा कसैमा पनि देखिएन र कालीगण्डकी गाँउपालिकाका १ सय ८९ जनामा २० जनामा पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय प्रमुख बसुन्धरा शर्माले जानकारी दिइन् ।

विश्व स्वास्थ्य संगठनले क्यान्सरलाई सन् २०३० सम्ममा उन्मुलन गर्ने भनेको छ । क्यान्सर हुनुभन्दा अघि कुनै पनि लक्षण नदेखिने हुँदा परीक्षण गरेमा भविष्यमा क्यान्सर हुन्छ कि हुँदैन भनेर थाहा पाउन सकिने स्वास्थ्य कार्यालय प्रमुख बसुन्धरा शर्माले जानकारी दिइन । उनले भनिन्, ‘आज गरिएको परीक्षणले १० वर्षपछि हुनसक्ने क्यान्सरका बारेमा थाहा पाउन सकिन्छ । त्यसैले स्वास्थ्यमा कुनै समस्या नदेखिए पनि पाठेघरको मुखको परीक्षण गर्नुपर्छ ।’

त्यसो त, सरकारले पाइलटका रुपमा सञ्चालन गरेको एचपिभी खोप सबै जिल्लाका किशोरीलाई लगाउन सके क्यान्सरको जोखिमबाट बच्न सकिने स्वास्थ्य प्रमुख शर्माको भनाइ छ । सरकारले केही महिना अघि ९ देखि १३ वर्ष उमेरका बालिकालाई पाइलटका रुपमा कास्की र चितवनमा एचपिभी खोप अभियान सञ्चालन गरेको थियो । परिक्षणले क्यान्सर विरुद्धको सो खोप निकै प्रभावकारी देखिएको शर्माले बताइन् ।

स्थानीय सरकारले महिलाका स्वास्थ्य र प्रजनन स्वास्थ्यसम्बन्धी कार्यक्रमका लागि पर्याप्त बजेट विनियोजन गरेको पाइँदैन । समग्र स्वास्थ्य क्षेत्रलाई एकमुष्ट रकम विनियोजन गर्ने गरेता पनि यस्ता जनचेतनामूलक एवं प्रत्यक्षप्रभाव पार्ने कार्यक्रमलाई प्राथमिकतामा राखेको पाइँदैन तर जति ठाँउमा कार्यक्रम भए, ती ठाउँमा प्रभावकारी भएको देखियो । संकोच मानेर घरभित्र लुकेका धेरै महिलाहरु जचाँउन आए, देखासिकी भयो । मनभित्रका डर र त्रासले किनारा पायो ।

प्रत्येक महिलाहरुले आफ्नो प्रजनन स्वास्थमा ध्यान दिन जरुरी छ । महिलाहरुले नियमित रुपमा पाठेघरको परिक्षण गर्न आवश्यक छ । समयमै परीक्षण गरेमा भविष्यमा हुने क्यान्सरको जोखिमबाट बच्नुका साथै अन्य यौन रोगहरुको पनि पहिचान र उपचार गर्न सकिन्छ । यस विधिमा महिलाको पाठेघरको मुखबाट पानी निकालेर जाँचको लागि पठाइन्छ । पाठेघरको मुखको क्यान्सर गर्भाशयको तल्लो भागमा हुन्छ । यसले गर्भाशय र योनीलाई जोड्छ । ढल्कदो उमेरसँगै यो रोगको सुरुआत हुन्छ । विशेषगरी ३५ देखि ४५ वर्ष उमेरकोमा यो रोगको संक्रमण बढी देखिन्छ । सुरुआती चरणमै यसको केही लक्षण वा संकेतहरु थाहा पाउन सकियो भने उपचार सहज हुन्छ । नियमित भन्दा केही फरकपन देखिना साथ महिलाहरुले स्वास्थ्यकर्मीको परामर्शमा रहनुपर्छ । सर्तक र सचेत बन्नुपर्छ ।

सानो उमेरमा बिहे गर्नु, बालबच्चा जन्माउनु, सुत्केरी अवस्थामा गहु्रंगा भारी बोक्नु, परिश्रम बढी गर्नु, मासिकश्रावलाई वास्ता नगर्नु, शारीरिक सरसफाइमा ध्यान नदिनुजस्ता कार्यले पनि महिलाको पाठेघरमा असर पुर्‍याएको हुन्छ ।

पाठेघरको मुखमा रहेका जिवाणु अनियन्त्रित रुपमा बढ्ने हुँदा यी जीवाणु यौन सम्पर्कबाट सर्ने गरेको चिकित्सकको भनाइ छ । चाँडै विवाह गर्ने, धेरै व्यक्तिसँग शारीरिक सम्पर्क गर्ने र सरसफाइमा ध्यान नदिने महिलालाई पाठेघरको मुखको क्यान्सर सम्भावना बढी हुने स्वास्थ्यकर्मीको भनाइ छ ।

Related News

सम्बन्धित समाचार

  • मेरो ओलम्पिक यात्रा संस्मरण

    आदर्श समाज सम्वाददाता असाेज ९, २०८१
    -तेजबहादुर गुरुङ ओलम्पिक सहभागिता जुनसुकै खेलाडीको लागि अन्तिम लक्ष्य हो । लामो समय खेल क्षेत्रमै जीवन समर्पण भएकाले मेरो निम्ति…
  • ‘स्व’ को खोजीमा प्रतीक्षा

    कृष्णप्रसाद बस्ताकोटी श्रावण ८, २०८१
    मूलतः मानिस धनको लालचले या त प्रख्यातिको भोकले तानिन्छ र यावत् कर्महरूमा यसरी जोगिन पुग्छ –कृष्णप्रसाद बस्ताकोटी चर्चित साहित्यकार सरस्वती…
  • गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण

    हरिबन्धु अर्याल जेठ २९, २०८१
    मुलुकको संवैधानिक प्रावधान र संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको काम हुँदै आएको छ…
  • नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)

    शेषराज भट्टराई जेठ १२, २०८१
    नमच्चिने पिङले झड्का मात्रै दिन्छ । चाहे लभका मामलामा होस् या जबका मामलामा अर्थात् सबका मामलामा काम नगर्ने मान्छेले गफ…
  • बालकथा : मौकाको साटो

    दिनेश बस्नेत जेठ १२, २०८१
    नेपालको पश्चिम भेगमा सुन्दा पनि अचम्म लाग्ने दुईओटा गाउँ थिए । एउटा लिखापुर र अर्काे भुसुनापुर । दुई गाउँको बिचमा…

hero news full width