पर्यटकीय सम्पदा व्यवस्थापन एवं प्रवद्र्धन

श्रीकान्त खतिवडा
मंसिर २६, २०७६

नेपालको सन्दर्भमा पर्यटनलाई घरेलु तथा कृषिजन्य प्रशोधन उद्योगका पनि उद्योग मानिने हुनाले हाम्रो देशका लागि यसको विकास आवश्यक देखिन्छ।

नेपालमा पुर्खाको पौरख र प्रकृतिको वरदानले समेत साथ दिएको क्षेत्र पर्यटन हो। तर यसलाई सोचअनुरुप प्रतिफल लिने गरी व्यवसायिक रुपमा उपयोग गर्न सकिएको छैन।

पर्यटन विकासको ऐतिहासिक सुरुवात सन् १८४१ मा बेलायतबाट भएको देखिन्छ। बेलायती नागरिक थमस कुकले पाँच सय ७० जना यात्रीलाई रेलमार्गमार्फत् यात्रा गराएर प्रथम व्यवसायिक पर्यटन सुरुवात गरेका थिए । पर्यटन व्यवसाय सन् १८६६ मा अमेरिकासम्म फैलिएको थियो भने सन् १९३८ मा भारतबाट दक्षिण एसियामा प्रवेश गरेको देखिन्छ । नेपालको सन्दर्भमा सन् १९५० को दशकबाट हिमाल आरोहणसँगै पर्यटकको आवगमन सुरु भए पनि ६० को दशकबाट मात्र व्यवसायिक पर्यटन सुरुवात भएको देखिन्छ।

आजसम्म आईपुग्दा पर्यटन विश्व अर्थतन्त्रको सबैभन्दा ठूलो उद्योगका रुपमा स्थापित भइसकेकोछ । यसले विश्व अर्थतन्त्रको करिब १० प्रतिशत भाग लिएको छ । सन् २०१६ सम्म आइपुग्दा विश्व पर्यटन बजारमा एक अर्ब २० करोड पर्यटकमार्फत् २५ करोड मानिस प्रत्यक्ष लाभान्वित भइरहेको देखिन्छ । यति ठूलो परिमाणमा आय तथा रोजगारीमार्फत् आर्थिक क्षेत्रमा योगदान गर्ने पर्यटनलाई अति संवेदनशील व्यवसायका रुपमा लिने गरिन्छ । किनकि पर्यटन व्यवसाय प्राकृतिक प्रकोप तथा सामाजिक एवं राजनीतिक घटनाद्वारा बढी नै प्रभावित हुने गर्छ ।

प्राकृतिक प्रकोप हाम्रो काबुभन्दा बाहिरको विषय हो। यसलाई व्यवस्थापन नगरी सुख पनि छैन। सन् २०१३ को विश्व पर्यटन बजारको तथ्याङ्क हेर्दा जापनमा प्राकृतिक प्रकोपबाट र सिरियामा राजनीतिक तनावका कारण क्रमशः २८ र ४१ प्रतिशतले पर्यटनमा हस आएको थियो। अकोर्तर्फ सोही वर्ष द्वन्द्व समाधानपछि हाम्रा छिमेकी मुलुकहरू श्रीलंका र म्यानमारमा ३१ र २६ प्रतिशतले पर्यटकको संख्या बृद्धि भएको थियो। उल्लिखित तथ्याङ्कले कुनै पनि देशमा अनुकूल र प्रतिकूल अवस्थामा पर्यटकको आवगमनमा तलमाथि भइरहनु पर्यटन उद्योगका लागि सामान्य अवस्था हो भन्ने प्रष्ट्याउँछ ।

विगतका प्रकोपले सिकाएको अनुभव भनेको विपदमूलक घटना घटिसकेपछि त्यसको उचित व्यवस्थापन महत्वपूर्ण विषय हो। श्रीलंकाको अन्तराष्ट्रिय विमानस्थलभित्रै बम पड्कदा होस् वा इण्डोनेसियाको वालीका सार्वजनिक स्थानमा बम पड्काउँदाका घटनालाई त्यहाँको सरकार, सञ्चारजगत र निजी क्षेत्रले यसरी व्यवस्थापन गरे, मानौं कि त्यहाँ केही भएकै छैन। जनजीवनलाई सामान्य देखाउने प्रयास र तद्नुकूलको व्यवहारबाट त्यहाँ पर्यटनलगायतका आर्थिक क्षेत्र सामान्य प्रक्रियाबाट अगाडि बढ्न सुरु भयो । अर्थात् उपयुक्त व्यवस्थापन मार्फत् परिस्थिति सामान्यतर्फ अगाडि बढ्यो।

नेपालमा प्राकृतिक प्रकोपका घटना सानो वा ठूलो रुपमा घटिरहे पनि त्यसको पूर्व सावधानी र व्यवस्थापनमा हाम्रो ध्यान यथोचित पुगेको देखिँदैन। गत २०७२ साल वैशाख १२ गतेको विनासकारी भूकम्मपश्चात् विपद व्यवस्थापनमा हाम्रो पूर्व तयारी अत्यन्त फितलो सावित भयो। यहाँसम्म कि विपद्को अवस्थामा कसलाई के कामका लागि कुन जिम्मेवारीका साथ कहाँ जान अनुमति दिने भन्ने जस्ता सामान्य व्यवस्थापनमा समेत राज्यले आफ्नो परिपक्वता प्रदर्शन गर्न सकेन। यद्यपि यो सामान्य विपद्को अवस्था थिएन । विगत ८० देखि एक सय वर्षको अन्तरालमा यस किसिमका विपद् राज्यले भोग्दै आएको इतिहास हामीसँग थियो । भूगर्भशास्त्रीहरूले समेत भारतीय उपमहादीपको हिमालय पर्वतमाला खण्ड भूकम्पीय जोखिममा रहेको विषय निरन्तर उठाइ रहेका थिए। तर पनि एउटा अल्प विकसित मुलुकको नागरिकका रुपमा विपद्को दुर्दशा हामीले भोग्न बाध्य भयौं।

सायद हाम्रो यही कमजोरीमाथि सहयोगकै नाममा किन नहोस्, वैदेशिक चलखेल पनि बढी नै भयो र कूटनीतिक मर्यादाका विषयसमेत छिमेकीबाट उठे। विपद्मा परेकाको दुखः र पीडामा उद्धार र राहत गर्ने वाहानामा नै सही अनावश्यक प्रचारवाजी बढी भयो। नेपाल त पूरै खतम नै भयो। यहाँको भौतिक अवस्था र सामाजिक जनजीवन पूरै तहसनहस भयो, भन्ने आशयका प्रचार सामग्रीले अन्तराष्ट्रिय सञ्चार जगतमा स्थान पाए। परिणामस्वरुप अन्तराष्ट्रिय पर्यटन बजारमा समेत नेपालको छवि नराम्रो बन्यो। पर्यटकलाई भ्रमण गराउने कम्पनीहरूले समेत नेपाल भ्रमणका लागि असुरक्षित गन्तव्यको रुपमा राखी बिमा सुविधा उपलब्ध गराउन आनाकानी गरे। नेपालस्थित वैदेसिक नियोगका कूटनीतिज्ञले समेत आ–आफ्ना नागरिकलाई नेपाल भ्रमण नगर्न नेगेटिभ ट्राभल एडभाइजरी जारी गरे। त्यसलाई समयमा नै व्यवस्थापन गर्ने हाम्रो कूटनीतिक पहलसमेत फितलो साबित भयो। जसका कारण नेपालको पर्यटन उद्योग नराम्रोसँग प्रभावित भइरहेको अवस्था छ।

महाविनासकारी भूकम्प आयो। करिब नौ हजार नागरिकको ज्यान लिएर गयो। हजारौं घाइते, घरवार विहीन र लाखौं विस्थापित भए। पुनर्निर्माणका नाममा देशका राजनीतिक पार्टीहरूलाई जुँगाको लडाइ लड्ने अवसर पनि मिल्यो। भूकम्पको असर गोरखा, धादिड, रसुवा, सिन्धुपाल्चोक, काठमाडुलगायतका जिल्लामा बढी नै पर्यो। नेपालमा पर्यटकलाई आकर्षण गर्ने पर्यटकीय सम्पदाका हिसाबले केवल १२ देखि १५ प्रतिशतमात्र सम्पदामा क्षति पुगेको थियो। काठमाण्डौंका तीन दरबार स्क्वायरलगायतका साँकृतिक सम्पदामा आंशिक क्षति भएको थियो भने रसुवाको लाङटाङ र गोरखाको मनास्लु पदयात्रा मार्गमा नराम्रोसँग क्षति हुन पुगेको थियो।

बाँकी ८५ प्रतिशत पर्यटकीय स्थल सुरक्षित थिए। जहाँ पर्यटक सहज तवरले घुमफिर गर्न सक्ने अवस्था थियो। तर व्यवसायिक क्षेत्रमा हेर्ने हो भने करिब ७० प्रतिशतले गिरावट आएको अवस्था रह्यो। आखिर किन यति धेरै नकरात्मक असर पर्यो? विश्लेषण गर्नुपर्ने आवश्यकता देखिन्छ। आन्तरिक तथा बाह्य गरी वार्षिक करिब पाँच लाख पर्यटकको गन्तव्य बन्दै आइरहेको पोखराको पर्यटन बजारसमेत लगभग सुनसान रह्यो यद्यपि पोखरामा भूकम्पको गम्भीर असर कुनै पनि क्षेत्रमा देखिएको थिएन। यस्तो असहज अवस्थाको सम्बोधनमा आन्तरिक पर्यटन बजारको भूमिका तुलनात्मक रुपमा बढी रह्यो। यस अर्थमा विपद्को समयमा पनि आन्तरिक पर्यटकको महत्व र आवश्यकता विचारणीय देखिएको हुँदा तदनुकूलको नीतिगत व्यवस्थामा राज्यले जोड दिनुपर्ने देखिन्छ।

विश्व पर्यटन बजारको अवस्थालाई हेर्दा सन् २०१५ मा एसिया प्रशान्त क्षेत्र २२ प्रतिशत पर्यटकका साथ दोस्रो स्थानमा रहेको छ। यसलाई नेपालमा पर्यटन विकासका लागि एउटा अनुकूल परिस्थितिका रुपमा लिन सकिन्छ। नेपालमा पुर्खाको पौरख र प्रकृतिको वरदानलेसमेत साथ दिएको क्षेत्र पर्यटन हो। तर यसलाई सोचअनुरुप प्रतिफल लिने गरी व्यवसायिक रुपमा उपयोग गर्न सकिएको छैन। करिब आठ लाखको संख्यामा भित्रिने वाह्य पर्यटक र फस्टाउँदै गएको आन्तरिक पर्यटनको बजारले यसको उज्ज्यालो भविष्यको संकेत गर्दछ। सुदृढ आर्थिक विकासका लागि पर्यटन छिटो प्रतिफल दिने आधार बन्न सक्छ। प्रत्यक्ष रुपमा पर्यटनले नेपालको कुल ग्राहस्थ उत्पादनमा २.८ प्रतिशतमात्र योगदान गरेको देखिएता पनि अप्रत्यक्ष रुपमा भएको योगदानलाई हिसाब गर्दा करिब १२ प्रतिशत हुन आउँछ। नेपालको सन्दर्भमा पर्यटनलाई घरेलु तथा कृषिजन्य प्रशोधन उद्योगका पनि उद्योग मानिने हुनाले हाम्रो देशका लागि यसको विकास आवश्यक देखिन्छ।

साधन र स्रोतका हिसावले बलियो सम्भावना रहेको पर्यटन क्षेत्रलाई समस्याग्रस्त आँखाले हेरेर टिप्पणी गनेर्मात्र होइन, तत्कालका लागि पुनर्जागरण र दीर्घकालका लागि सम्पदाहरूको व्यवस्थापनसहितको रणनीतिक सोचका साथ अगाडि बढ्नुपर्ने देखिन्छ। सरकारी संयन्त्र, निजी क्षेत्र र आमसञ्चारसमेत एकीकृत एवं योजनावद्ध रुपमा क्रियाशील हुँदै पर्यटनलाई आम सरोकारको विषय बनाउने गरी घरेलु तथा साना उद्योग र कृषि क्षेत्रसँग जोडी तद्नुकूलको नीति तथा कार्यक्रममा जोड दिनुपर्ने देखिन्छ।

त्यस्तै, नेपाल स्थित विदेशी कूटनीतिक नियोगहरू तथा अन्तराष्ट्रिय सञ्चारमाध्यममार्फत् नेपाल भ्रमणका लागि अनुकूल रहेको सन्देश विश्व पर्यटन बजारमा पुर्याउनु आवश्यक छ। पर्यटकलाई नेपाल भ्रमणका लागि उत्प्रेरणा जगाउने किसिमका ट्राभल स्किमसमेत प्रदान गर्नुपर्ने देखिन्छ । गोष्ठी, सेमिनार, सभा, सम्मेलनका लागि आउने पर्यटकलाई निश्चित समयका लागि र निश्चित प्रयोजनका लागि भिसा निःशुल्क गर्ने व्यवस्था गरिनु सान्दर्भिक हुनेछ। यस अर्थमा पर्यटन विकासका लागि प्रवद्र्धन गतिविधि एक प्रमुख कार्य हो। विदेशस्थित नेपाली राजदूतावास तथा गैरआवासीय नेपाली संघका कार्यालयहरूबाट पर्यटन डेस्क राखेर नेपालबारे सत्य, तथ्य जानकारी गराउन पहल गर्नुपर्ने देखिन्छ।

५१ प्रतिशत अन्तराष्ट्रिय पर्यटकको क्रीडाभूमी बनेको युरोपमा समेत आन्तरिक पर्यटकको भूमिका उल्लेखनीय रहेको अवस्था छ। छिमेकी मित्र राष्ट भारतले समेत आन्तरिक पर्यटनबाट नै यस क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल गरेको उदाहरण हाम्रोसामु छ। अतः आन्तरिक पर्यटन प्रर्वद्धनका लागि राज्यले पि–एल–सी (पेइड लीभ कन्सेशन) को नीतिलाइ लागू गर्नुपर्ने देखिन्छ। यस कार्यक्रमलाई सफल बनाउन व्यवसायिक क्षेत्रले आन्तरिक पर्यटन प्रर्वद्धनका लागि विषेश किसिमका सहुलियतपूर्ण ट्राभल प्याकेजहरूको निर्माण गर्नुपर्ने आवश्यकता देखिन्छ ।

Related News

सम्बन्धित समाचार

hero news full width