परोपकार धर्म र सेवाको एक झलक

आदर्श समाज सम्वाददाता
जेठ ६, २०७१

परोपकार भनेको सर्वथा अर्काको हित हुने काम गर्नु नै हो। अर्काको भलो गर्ने काम पनि परोपकार नै हो। अनाथहरूको उपकार गर्नु, असक्तहरूलाई सहयोग गर्नु, बाटो विराएकालाई बाटो देखाइदिनु आदि सबै परोपकारका कार्यहरू हुन्। परोपकार शब्द व्यापक अर्थमा प्रयोग भएको पाइन्छ। यसको क्षेत्र विशाल छ। समाजमा रहेका दीन दुःखीहरूको सहायक बन्नु पनि परोपकार नै भनिएको छ। सम्पूर्ण जीवित प्राणीहरूको भलाईको काम गर्नु पनि परोपकार नै मानिन्छ। सेवा, त्याग, प्रेम सहृदयता, सहिष्णुता, यी सबै परोपकारका अंग मानिएका छन्। मानिसले मानिसलाई मानवीय दृष्टिले हेर्न सक्नु पनि परोपकार नै हो। पीडितहरूको पिडा देखेर आत्मानुभूत हुनु परोपकारको भाव हो। ती पीडितहरूको पिडा हामीलाई भएको भए हामी के गर्दथ्यौ होला भन्ने भाव पैदा हुनु पनि परोपकार नै मानिएको छ। दुःख कष्ट, पिडा, ताडना लान्छना, आदिले हामीलाई जुन किसिमको दुःख लाग्दछ, त्यस्तै दुःख अरुलाई पनि हुन्छ भन्ने भावनाले प्रेरित भै अरुको सहयोग गर्नु परोपकार हो। इश्वरीय प्रेमको अभिव्यक्ति पनि परोपकार मानिएको छ। परोपकारको जननी दया हो, कवि शिरोमणि लेखनाथ पौडेल भन्दछन् “दया हो पृथ्वीको अति चहकिलो पारसमणि”। मानव विभूतिहरू परोपकारका प्रत्यक्ष प्रमाण हुन्। मानव सुविधाको प्रयोजनको निमित्त निर्माण गरिने  कार्य जस्तै बाटो, घाटो, पौवा, धर्मशाला, सिंढी, चौतारा, पोखरी बनाई वर पिपल रोपी छाहारी दिने व्यवस्था मिलाउनु पनि परोपकारका  काम मानिएका छन्।

अव्यक्त रूपले मानवजाति प्रति प्रकृतिले गरेको योगदान पनि परोपकार नै भनिएको छ जस्तो बाटोका वृक्षहरूले हावामा हुने कार्वनर्डाईअक्र्साईड आफूले पचाएर प्राणी मात्राको लागि अक्सिजन दिइरहेका हुन्छन्। प्रकृतिले पनि परोपकारकै काम गरिरहेको छ। हावा प्राणीहरूकै निमित्त बहिरहेको छ। वर्षा वषिर्रहेको छ। नदी बहिरहेको छ। बोट वृक्षले फल अटुट रूपमा अरुकै लागि दिई रहेका छन्। श्रीखण्डका रुखले सुगन्ध अरुको लागि दिएको छ यी सबै परोपकार नै हुन्। साना र ठूलोमा कुनै भेदभाव नराखी मानिस सहित प्राणी मात्रमा सूर्य भगवानले दिइरहेको प्रकाश र ताप झन परोपकारकै अद्वितीय प्रमाण हो। माता पृथ्वीको सहनशीलताले नै मानिसको अस्तित्व रहेको छ। यसको पनि मानिसले लेखाजोखा गर्नु जरुरी छ। श्रीमद्भागवतमा राजा रन्तिदेवको कथा छ, जो यहाँ उल्लेख गर्नु उपयुक्त नै सम्झेको छु। राजा रन्तिदेव धार्मिक प्रवृत्तिका राजा थिए। उनको जीवनको मुख्य लक्ष्य नै परोपकार गर्ने थियो। दया र परोपकारको भावनाले ओतप्रोत भएको आत्मिक उर्जाले दुःखहरूको दुःख, पिडितहरूको पिडा हटाउन सकिन्छ भन्ने उनीमा दृढ विश्वास रहेछ। उनी आफ्नो विचार यसरी प्रस्तुत गर्दछन्। “म बैभव चाहन्न सबैको मरीहत्ते गर्ने मोक्ष पनि चाहन्न, म केवल यही चाहन्छु समस्त दुःखी र पीडितहरूको दुःख पीडा, हटाउन सकु“ र उनीहरूको हृदयमा स्थित हुन -बस्न) पाउ+m” श्रीमद्भावगत ९।२१।१२

“परोपकार पुण्याय पापाय परपीड्नम्” यसको अर्थ हो परोपकार गर्नु पुण्य हो र अर्कालाई दुःख दिनु पाप हो। श्रीमद्भागवतको सारांश नै यही हो। किनभने जति जहाँ व्याख्या गरे पनि यही नै भागवतको सार हो भन्दै “व्यासस्थ वचनम् द्वयम” भनिएको छ। परोपकार तथा धर्मको घनिष्ट सम्बन्ध छ। परोपकारलाई धर्मदेखि अलग गर्न सकिँदैन। किनभने धर्मपरायण नभैकन परोपकार हुन पनि सक्दैन। अतः परोपकारको सर्न्दर्भलाई उठान गर्दा धर्मको चर्चा गर्नु अति आवश्यक भएकोले यहा छोटकरीमा धर्मको बारे केही प्रकाश पार्ने प्रयास गरेको छु।

धर्म त्यो निष्ठा विचार तथा क्रिया पद्धतीको नाम हो, जो सबैलाई धारण गर्दछ। धर्मले मानिसको सात्विक भाव उत्थान गर्दछ। प्राणी मात्रको वास्तविक सुखसाधन दिने तत्व नै धर्म हो। धर्मको रक्षा गरेमात्र मानिसको रक्षा हुन्छ। धर्म तत्वज्ञानको दोश्रो नाम हो। यो चराचर जगतमा भएका सबै प्राणीहरूको आ-आफ्नै धर्म हुन्छ। व्यक्ति वा बस्तुको मूलप्रवृत्त पनि धर्म मानिएको छ। धर्मलाई वृत्ति भनिएको पनि पाइन्छ। कतैकतै बस्तुको प्रकृति स्वभाव हो पनि भनिएको छ। यति मात्र हैन धर्मलाई नियत, निजी, स्वभाविक गुण, सहज वृत्ति भनिने गरेको पाइन्छ। शास्त्रले निर्देशित गरेको नियमित कर्म र व्यवहारलाई पनि धर्म मानिएको छ। आवश्यकता अनुसार सर्वथा उचित ठहरिने काम कर्तव्य गर्नु पनि धर्म नै मानिएको छ। उचित अनुचितको विवेक गर्न सक्ने चित्त वृत्ति पनि धर्म नै हो। इश्वर प्राप्ति वा सद्गतिका लागि गरिने शास्त्र निर्देशित कर्म गर्नु पनि धर्म नै मानिएको छ। पीडित समाजलाई धैर्य दिएर दुःखबाट उद्धार गर्नु मुख्य धर्म हो। असल आचरणलाई पनि धर्मकै अंग मानिएको छ। सम्पूर्ण प्राणीहरूको जन्म, पालनपोषण धर्म कै आडमा हुन्छ। धर्मकै नियमानुसार सृष्टिको सुरक्षा र प्रलयको क्रम चलिरहेको छ। धरती धर्मकै आडमा अडिएको छ। धर्मलोप भयो भने धरतीको समाप्ति निश्चित छ।

जनको सभामा ऋषि अष्ट्रावक्रले धर्मको पहिचान यसरी दिनु भएको रहेछ। “मानिसको सर्वप्रथम कर्तव्य नै जीवनहरूको कल्याणको लागि प्रयत्नशील रही प्रेम गर्नु सच्चा धर्म हो” संसारका प्राणीहरू मध्यमा मानवसित अत्याधिक स्वतन्त्र विवेकशक्ति भएको कारणबाट नै मानव अरु प्राणीहरू भन्दा श्रेष्ठ मानिएको छ। यतिसम्म विवेकशक्ति स्वतन्त्र रूपमा रहिरहन्छ। स्वतन्त्र विवेकशक्तिको अभावमा मानव मानव रहँदैन। स्वतन्त्रतामा वाहेक विवेकशक्तिको कल्पनासम्म हुन सक्दैन। जहां विवेकशक्ति रहँदैन त्यहाँ धर्म हुँदैन। विवेकशक्ति मानवको धर्म हो। त्यही हो मानव धर्म। मुख्यतया धर्मको अर्थ धारणा नै हो। धारण गर्ने भएकोले धर्म भनिएको हो। भगवान श्रीकृष्णले गोर्वर्धन पर्वतलाई धारणागरी बज्रबासीहरूलाई बचाई धर्मको वास्तविक उदाहरण दिनुभएको छ। महात्मा र महापुरुषहरूबाट प्रतिपादित सिद्धान्त पनि धर्मनै मानिएको छ। यी आदि इत्यादि कुराहरूको विपरित काम गर्ने मानिसलाई धर्म छाडा भनिने गरिएको छ।

जस्तै परोपकारका लागि धर्मको आवश्यकता भए झै धर्म र सेवाको पनि सम्बन्ध देखिन्छ किने भने धार्मिक भावनाले ओतप्रोत नभैकन सेवा भावना प्रादुर्भाव हुन सक्तैन। हुनत सशुल्क सेवामा धार्मिक भावना हुन्छ भन्न सकिदैन। तर पनि सचेतना प्राप्त हुनमा धर्मको केही अंश जरुर हुनुपर्छ। निस्वार्थ सेवामा धार्मिक भावना नभै हुदैन। यसैले यहा सेवाको बारेमा पनि केही उल्लेख गरेको छु :

सामान्यतया सबैले बुझिदै आएको सेवा भनेको परोपकारको भावनाले अशक्तहरूको दुःख र समस्या हटाउने कार्य हो भन्ने महसुस हुदै आएको छ। सेवा धेरै किसिमका हुन सक्दछन्। सेवा सामान्यतया तीन किसिमका देखिएका छन्। (क) निशुल्क सेवा, (ख) सशुल्क सेवा (ग) आफ्नै शरीरको सेवा

अशक्तहरूको स्याहार, सम्भार, इश्वरको आराधना, उपासना, पुजा अर्चना, आदर सत्कार शिष्टता, धार्मिक स्थलहरूको उचित प्रवन्ध र रेखदेख, परोपकारको भावना राखी गरिने उक्त सबै कार्यहरू निशुल्क सेवा हुन् भन्ने बुझिएको छ। यतिमात्र हैन आफ्ना वृद्ध, बाबु आमाको सेवा गर्नु, वेवारिसे वृद्धवृद्धाहरूको लागि बृद्धाश्रम खोल्नु, अनाथ बालबालिकाको लागि अनाथालयको स्थापना गर्नु, धर्म संस्कृतिको संरक्षण, गुरुकुलको स्थापना गर्नु, तीर्थ यात्रीहरूको लागि बाटोघाटो, पाटी पौवा, चौतारो मर्मत निर्माण गर्नु आदि सेवा कै कार्य हुन्। यस्ता किसिमका सेवाहरू आध्यात्मिक चिन्तनबाट उत्प्रेरित भएका हुन्छन्। यस्ता सेवाको धरातल हाम्रो वैदिक सनातन धर्म नै हो। यस्ता किसिमका सेवा सबै निशुल्क नै हुन।

सशुल्क सेवाः राज्य कोषबाट पारिश्रमिक लिएर गरिने सेवालाई सेवा नै भनिएको छ। यस्तो सेवालाई सशुल्क सेवा भनिन्छ। जस्तो कि निजामति कर्मचारीले गरिने सेवा, सैनिक सेवा, प्रहरी सेवा, यस्तै अन्य सेवामा रहेका मानिसहरूले राष्ट्रको निमित्त र देश र जनताको निमित्त गरिने सेवा पनि सेवा नै हुन्। यतिमात्र हैन, इन्जिनियर, डाक्टर, वकिलहरूले आफ्नो आफ्नो क्षेत्रमा पुर्‍याउने सेवा पनि सशुल्क नै हुन्छन्। राजनीति गर्नेहरूलाई चुनावद्वारा पठाएपनि सशूल्क सेवा गर्ने हुनाले नै तलब भत्ताको व्यवस्था हुन्छ। मन्त्री तथा सभासदहरूपनि सेवा गर्छ भन्दछन् ती जनताले तिरेको राजश्वबाट नै भत्ता खान्छन्।

आफ्नै सेवा : तपाई हामी सबैले सर्वप्रथम आफ्नै सेवा गर्नु अति आवश्यक छ। यो वाक्यको अर्थ अन्यथा नलागोस्, झट्ट हेर्दा आफ्नै स्वार्थ परिपूर्र्ति गर्ने महत्वकांक्षी भावना जस्तो देखिएला, तर त्यसो हैन। व्यक्ति आफै सवल र स्वस्थ रहन सकेमा मात्र अरुको सेवा गर्न सक्दछ। अस्वस्थ व्यक्तिले अरुको सेवा गर्न सक्दैन। असक्त छोराले बाबु आमाको सेवा गर्न सक्दैन। अस्वस्थ डाक्टरले विरामीको सेवा गर्न असमर्थ हुन्छ। अस्वस्थ राष्टसेवक, अस्वस्थ राजनेताले राष्ट्रको सेवा गर्न सक्दैनन्। प्रत्येक व्यक्तिले आफ्नो मानसिक शारीरिक र आत्मिक उर्जा हरहमेसा सवल राख्नु अति आवश्यक हुन्छ। विश्वको यौटा महत्वपूर्ण इकाई भनेको व्यक्ति सवल सक्षम बने घर परिवार समाज राष्ट्र र विश्व बन्दछु भनिएको छ। “सारा विश्व बनाउने मन भए आफै बने पुग्दछ”। अस्वस्थ एवं अक्षम शरीरले मानिसका जीवनका चार पुरुषार्थ धर्म, अर्थ, काम मोक्ष, कुनै पनि पुरा गर्न सक्दैन। यसैले प्रत्येक व्यक्तिले पहिला आफ्नो सेवा गर्नु अति आवश्यक छ। तत्पश्चात दिमागमा समझदारी, काधमा जिम्मेवारी र आत्मामा -हृदयमा) इमानदारी राखी, सेवा गर्न  सकिन्छ। हामी पनि बाबु आमाको, गुरुको महापुरुषको, सन्तको, अतिथिको, नारीको नदी -वाग्मती, विष्णुमति, सप्तगण्डकी, कृष्णगण्डकी, कर्णाली)को सेवा गरौं। परिवारको, समाजको, मातृभूमिको सेवा गरौं सेवा नै परोपकार हो, सेवा नै सम्पूर्ण धर्मको श्रोत हो भन्दा अत्युक्ति नहोला। अस्तु

Related News

सम्बन्धित समाचार

  • मनोसामाजिक अपांगता के हो ?

    सुदीप घिमिरे मंसिर १७, २०८०
    राइनास नगरपालिका लमजुङका एक वडा अध्यक्षले अपांगताको अधिकार वकालत गर्न सुरु गरेका छन् । गत महिना आयोजित एक कार्यक्रममा मनोसामाजिक…
  • तिलकदाइको सम्झनामा

    हरि अधिकारी मंसिर १३, २०८०
    विख्यात लोकतन्त्रवादी नेता तथा पूर्वी नवलपुर, गैंडाकोट क्षेत्रका अग्रणी सामाजिक अभियन्ता तिलकप्रसाद सापकोटा कीर्तिशेष हुनुभएको एक वर्ष पूरा भएको छ…
  • अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध

    राजेन्द्र भण्डारी कार्तिक ३, २०८०
    अभिभावकज्यूहरू, मौसम बिस्तारै उष्णबाट शीतोष्णमा परिवर्तन हँुदै छ । अर्कातर्फ हाम्रा संस्कृतिका अभिन्न धरोहरहरू हाम्रा घरआँगनमा प्रवेश गरिसकेका छन्; कतिपय…
  • फेलको फेहरिस्त

    शेषराज भट्टराई असाेज २२, २०८०
    विद्वान्हरू भन्ने गर्छन् ‘विद्यार्थी र शिक्षक कहिल्यै फेल हुँदैन । फेल हुने भनेको सिकाइ विधि हो । सिकाइ विधि फेल…
  • नागरिकको समय नै देश विकासको आधारशिला

    डा. दीपकप्रसाद बास्तोला असाेज २२, २०८०
    नेपाल संसारकै एक पुरानो देश हो । यस कुरामा हामी सबै नेपालीहरूले गर्व गरेका छौं । देश विकासको लागि एक…

hero news full width