न धर्म, न कर्म, न शर्म

दुर्गा अधिकारी दुर्गा अधिकारी
जेठ २५, २०७७

जेठ महिना उत्तराद्र्धको संघारमा छ । अब असार लाग्दैछ । असार भन्ने वित्तिक्कै किसान मानो लिएर मुरीको सपनाका लागि माटोको परेडमा उत्रने समय हो । किसानसंग एउटा योजना हुन्छ । आफ्नो खेतको आयतनअनुसार मल, बीउ, खेताला, बाउसेको इन्तजाम गर्छ । भौगोलिक अवस्था र सिंचाइको सम्भावना हेरी सोही प्रकृतिको बाली लगाउँछ । बाली लगाएपछिका हरेक चुनौतीका लागि पूर्वतयारीमा रहन्छ । बाली भित्र्याएपछि चुल्होको अर्थशास्त्र सहजै निभाउँछ । परिवारका आवश्यकताको प्राथमिकीकरण गर्छ । घरमा गुनासोले सुविधा पाउँदैन । त्यसैले उ घरभित्र एउटा कर्मशील, स्वाभिमानी अभिभावक बनेर सन्तानको आदर्श बन्छ । अपठित त्यो पिताले पत्नीको मजेत्रो, छोराछोरीको पठनपाठन, विहेदान, पाहुनापासादेखि समाजमा खेल्नुपर्ने सांस्कृतिक र सामाजिक गतिविधिमा अब्बल भूमिका निर्वाह गरेको हुन्छ । समाजमा धेरै यस्ता पात्र छन, जसको कथा लेखिदैन । वास्तवमा ती असल व्यवस्थापक हुन । आखिर घाँटी हेरी हाड निल्नु नै त अर्थशास्त्रको गन्तव्य हो ।

मानवीयता हराएपछि हुने यही नै हो । राजा महेन्द्र मल्ल कसैको घरमा चुलो नबलेको थाहा पाए त्यो घरमा चुल्हो बलेको स्थिति थाहा नपाएसम्म आफू पनि भाग बस्दैनथे भन्ने इतिहासको विरासत वर्तमान राजनीतिक नेतृत्वले निर्वाह गर्ने छनक कतै देखिएन । व्यवस्था परिवर्तन सँगै हामीले कस्तो किसिमको समाजबाद, माक्र्सबाद, लेलिनवाद, विकासवादको विकास गर्यौ जहाँ मानवताको स्थान छैन । संवेदनशीलता छैन न इमान्दारी छ, न त कुनै जिम्मेवारी नै । भोको पेटले नै त हो नि हत्या, हिसां र आंतक मच्चाउने जुन अवस्था सुरु भैसकेको छ ।

नेपाल एउटा घर हो र नेपाली परिवार । आज देशको बागडोर सम्हालेको नेकपाको सरकार एउटा सामान्य किसानको जतिको जिम्मेवार र इमान्दार छैन भन्दा आफैंलाई सकस हुन्छ । सरकारले यो वर्षका लागि तोेकेका १,३५१ वटा ‘माइलस्टोन’ भनिएका मध्ये १४ प्रतिशत मात्र पूरा भए । यो भनेको सयवटा गर्ने संकल्प गरेकोमा १४ वटा मात्र काम सम्पन्न भए । १४ वटा मन्त्रालयले ८५ प्रतिशत लक्ष्य पूरा गरेनन् । ९ मन्त्रालयले ७० प्रतिशत बजेट गुमाए । हामी जहिले पनि अगाडि स्रोत अभावको कुरा गर्छौं । संकल्प, इमानको खडेरी लागेपछि आखिर हात लाग्ने त शून्य नै त रहेछ नि । जनतालाई मुर्ख बनाएर यसरी देश बन्छ भनेर आत्मप्रशंसामा रमाउने जमातकै कारण आज देश अनिर्णयको बन्दी बनेको छ । प्रक्रियामा देश संचालन नभएका कारण विषय विज्ञको कुनै मतलव हुँदैन । १० भन्दा कम पढेकाले देश चलाउँछन् । झनै अहिले यो कोरोनाको महामारीमा जनप्रतिनिधि नै डाक्टर, विज्ञ, इन्जिनीयर सबै भएको देखेर अचम्म लाग्छ । अरु त अरु मुलुकको वैधानिक अभिभावकको जिम्मेवारीमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली समेत विषय विज्ञ बनेर अर्ती बुद्धि बाँड्ने गर्नुहुन्छ । जुन उहाँबाट अपेक्षा गरिएको सन्दर्भ नै होइन । क्रिकेट खेलको रणनीतिका विषयमा सन्दीप लामिछानेले बोलेको सुहाउँछ । राजनीतिज्ञले होइन । सवै कुरामा जान्ने हुँदा भैपरि आउने विपद्लाई सामना गर्न कठिन भइरहेको छ ।

२०७७÷०७८ को बजेटमा करिब ३६ प्रतिशत ऋण, ८ खर्व ८९ अर्ब ६२ करोड राजश्व, ९ खर्ब ४८ अर्ब साधारण खर्च प्रक्षेपण गरिएको छ । विकास जति ऋण र अनुदानमा भर परेपछि कसरी सोचे जस्तै परिवर्तन गर्न सकिन्छ । सिद्धान्त र प्राथमिकताका आधारमा हेर्ने हो भने बजेट अत्यन्तै सकारात्मक र सन्तुलित छ । तर अहिलेको अवस्थामा नयाँ कार्यक्रम ल्याउन सक्नुपथ्र्यो । पुराना कार्यक्रम घटाउने साहस गर्नुपथ्र्यो । लाखौं बेरोजगारलाई रोजगारी दिनुपर्ने अवस्थामा सांसद कोषको नाटक बन्द गर्नुपथ्र्यो । प्रशासनलाई चुस्त दुरुस्त बनाउने हिम्मत गर्नुपथ्र्यो । शक्तिका नामका तजबीजी अधिकारलाई शून्यमा झार्ने मौका थियो । अब राजश्वले मुलुक चलाउँछु भन्नु दिवास्वप्नबाहेक केही नबन्ने निश्चित छ । भाषणले मात्र समृद्ध नेपाल, सुखी नेपालीको सपना पूरा हुन सक्दैन । यदि काठमाडौंबाट पोखरा जाने हो भने काठमाडौं छोड्ने साहस नगरी कसरी पोखरा पुग्न सकिन्छ ? यही बेला सुकुम्बासी आयोग गठन गरेर कार्यकर्ता भर्तीको झमेला किन उठाउनु पथ्र्यो ? अहिलेको अवस्था भनेको मानवजातिकै अस्तित्व संकटमोचनको महायात्रा हो ।

वैधानिक अभिभावक मानिने सरकारले नै नेपाल र नेपालीको अवस्था के हो ? हामी कुन अवस्थामा छौ त्यसको हिसाव किताव राख्न सक्दैन भने त्यो देशको शासन व्यवस्था कस्तो होला ? जोकसैले कल्पना गर्नसक्छ । बढ्दो व्यापार घाटाको यस्तो भयावह दृश्य देख्दादेख्दै समृद्धिको नाममा बनावटी चर्का भाषण यो बेला शोभायमान हुँदैन । राजनीतिलाई विना पसिना, विना मेहनतको कमाई गर्ने थलोबाट शुद्धिकरण गर्नु अहिलेको खाँचो हो । जिन्दगीभर रगत, पसिना बगाउने एउटा किसान सामान्य जीविकाबाट माथि उठ्न सक्दैन तर राजनीतिक बर्को ओडेकाहरुको हाइसन्चो जीवनशैली देखिन्छ । यो भित्रको रहस्य के हो ?

देशको दुर्दशा देखेर नेपाली जनताले अब कम्तीमा पाँच बर्ष चोट खानु नपरोस्, देशले स्थायित्व पाओस्, परिणाममुखी काम गर्ने स्पष्ट भिजन भएको सरकार बनोस्, देश सिस्टममा चलोस्, समतामूलक समाजको विकास होस् , न्याय नपाएर मर्न नपरोस्, सिटामोल नपाएर छट्पटिन नपरोस्, मास्टर डिग्रीका सर्टिफिकेट आलुप्याजको भाउमा विकसित देशमा बेच्न नपरोस् भन्ने जनचाहना हो । त्यस्तो सरकार आफ्नै घर आँगनमा देख्न पाइयोस, नजिकबाट छुन पाइयोस् र परिवर्तनको अनुभूति गर्न पाइयोस् भन्ने हो । के सरकारले यो सत्य बुझेको छ त ? सत्ता टिक्ने र टिकाउने खेलमा लागेकै कारण देश र जनताको पक्षमा काम हुन नसकेका हुन् ? जहाँ हेर्यो वेथिति, ‘विचौलिया’ हरुको विगविगी, थिचिनेहरु थिचिएको थिचियै, लुट्नेहरुले लुटेको लुट्यै गर्ने संस्कारको विकास भएको छ । यस्तो लकडाउनको अवस्थामा पनि मुलुक भारतबाट आयातीत तरकारीमा निर्भर छ । अरु त अरु हरियो धनियाँ समेत भारतबाट नआई नेपालीको जीब्रोले अचारको स्वाद पाउँदैन । यो भन्दा विडम्बना अरु के हुनसक्छ ? समस्या सामान्य छन । तर राजनीतिका डाक्टरहरुले समस्यालाई असामान्य बनाइदिनु हुन्छ । मानिसलाई चाहिएको छ– तिर्खा मेट्ने एक गिलास शुद्ध जल । राजनीतिक प्रतिवद्धता भने सगरमाथाको फेदीबाट मिनरल निकालेर जनतालाई बाँड्ने उही बतासे कुरामा रुमल्लिन्छ । नेपाललाई नेपाल बनाए हुने सिंगापुर बनाउन खोजेर वर्षौं जात्रा झेल्ने हामी नै हौं । प्रयोग, प्रयोग फेरि प्रयोगको यो श्रृंखला कहिल्यै टुटने भएन ।

म बच्चा हुँदा हजुरबुवा, हजुरआमा भन्ने गर्नु हुन्थ्यो– बाँदरको पुच्छर लौरो न हतियार । बुझ्ने भएपछि यसको अर्थ बुझें । आज त झनै उदाहरण सहित दुई तिहाईको सरकारलाई हेर्दा त्यसको असली रुप प्रमाणित हुन्छ । राजनीतिक नेतृत्व सम्हालेका नेताहरुमा हृदयमा पवित्रता, मनमा मानवीयता, आँखामा दृष्टि, कानमा श्रवण शक्ति, विचारमा दूरदृष्टि, निर्णयमा संवेदनशीलता, काँधमा जिम्मेवारी, काममा इमान्दारी नभएपछि परिवर्तनको परिकल्पना हावामा तरवार हानेजस्तै हो ।

कोरोनाको यो महामारीमा सरकारको गतिविधि र प्राथमिकता हेर्दा गरिबको ज्यानको मूल्य हुँदैन झैं गरी सरकार नेपालीको अवस्थामा अनभिज्ञताको नाटक गरिरहेको छ । राहत नपाएर निस्तो भात पानीसँग निलेर दिन काट्न बाध्य अवस्था एकातिर छ भने सरकार एकद्धार प्रणालीको नाममा राहतकोषमा रकम संकलन गर्नमा ध्यान केन्द्रित छ । जनप्रतिनिधिको अविश्वासका कारण र विगतका राहत कोषमा जस्तै पारदर्शी रुपमा खर्च गर्न नसक्दा हुनेखाने नागरिकले हुँदा खानेलाई सहयोग गर्न इच्छा भएर पनि सहयोग गर्न मन फुकाएका छैनन् । स्थानीय सरकार पुलिस परिचालन गरेर राहत बाँड्न चाहनेलाई भाँड्न चाहन्छ । मानवीयता हराएपछि हुने यही नै हो । राजा महेन्द्र मल्ल कसैको घरमा चुलो नबलेको थाहा पाए त्यो घरमा चुल्हो बलेको स्थिति थाहा नपाएसम्म आफू पनि भाग बस्दैनथे भन्ने इतिहासको विरासत वर्तमान राजनीतिक नेतृत्वले निर्वाह गर्ने छनक कतै देखिएन । व्यवस्था परिवर्तन सँगै हामीले कस्तो किसिमको समाजबाद, माक्र्सबाद, लेलिनवाद, विकासवादको विकास गर्यौ जहाँ मानवताको स्थान छैन । संवेदनशीलता छैन न इमान्दारी छ, न त कुनै जिम्मेवारी नै । भोको पेटले नै त हो नि हत्या, हिसां र आंतक मच्चाउने जुन अवस्था सुरु भैसकेको छ । जनताको आवाज राज्यले सुन्दैन । कोरोनाको यो महामारीमा मुखमा लगाउनुपर्ने मास्क सरकारले कानमा लगाएर बसेको अनुभव नेपाली जनताले गरेका छन् ।

राजनीति गर्ने देश र जनताका लागि हो । जनताको अप्ठ्यारोमा, समस्यामा बोल्न नसक्ने, अगाडि बढ्न नसक्ने, सहानुभूति दिन नसक्ने सरकार नभएर त्यो परपीडक हो । पहिलो भनेको जनता हो, अन्य देशमा जनता बचाउन नसक्दा आफ्नो पदबाट राजिनामा दिएका, आत्महत्या गरेका समाचार हामी पढेका छौ । तर हामीकहाँ सरकार खान पाएनौ भनेर स्थानीय सरकारकोमा पुग्दा निराशा बनाइएर फर्काइएका थुप्रै उदाहरण छन् ।

प्रधानमन्त्री तथा मन्त्रीहरुको बिहान एउटा कुरा दिउँसो अर्को कुरा र बेलुका अर्कै कुरा गरेर सरकारको विश्वसनीयता धरापमा आफैं पार्दै छन् । नसकिने कुरा, नहुने कुराको झुटो आश्वासन दिनुपर्ने राजनीतिको कुन चाहीँ बाद वा सिद्धान्तमा लेखिएको छ ? देश अनुसारको राजनीति गर्न नजान्ने व्यक्ति, पार्टी र सरकारले देशलाई निकास दिन सक्दैन ।

गणतन्त्र दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र स्थापनाको छोटो समयको उपलब्धीबाट नेपाललाई विकसित राष्ट्रको नयाँ पहिचान दिन सक्नेमा आफू विश्वस्त रहेको बताइरहँदा कोरोनाको महामारी बिर्सनुभयो, अर्थतन्त्र ध्वस्त भएको विर्सनुभयो । स्वास्थ्य, शिक्षा, चेतनाको स्तर अनि हरेक विषयवस्तुमा परनिर्भरताको कहालीलाग्दो अवस्था चटक्कै भुल्नु भयो । प्रत्येक नेपालीको टाउकोमा थोपरिएको ऋणको बोझको स्मरण गर्न सक्नुभएन । चिल्ला, चिप्ला र ठुला कुरा भन्दा हाम्रै धरातलमा रहेर भाषण गर्दा पनि त हुन्थ्यो । प्रधानमन्त्रीको भाषण प्रलाप र मनचिन्ते पोको भएको कसैलाई प्रिय लाग्दैन ।

नेपालमा सबै किसिमका परिवर्तन हुँदा पनि किन बिग्रेको अवस्थामा बस्नुपरेको भनेर अनेक विश्लेषण भइसकेका छन् र सो क्रम टुंगिएको छैन । यसको एउटै कारण हो हामीले हाम्रा राजनीतिज्ञहरू स्वार्थी, अक्षम र विदेशीका दलाल छानेका छौ र उनैलाई सर्वेसर्वा मानेका छौ । नेपालले धेरै छोटे नेता पायो तर राजनेता पाउन सकेन । यो नेपाल र नेपालीका लागि दुर्भाग्य हो ।

Related News

सम्बन्धित समाचार

    • नेपाली संस्कृति, वाङ्मय र रवीन्द्र

      पद्मराज ढकाल पद्मराज ढकाल वैशाख २०, २०७८
      संस्कृति भन्नाले हाम्रो रहन, सहन, बानी, व्यवहार, लवाइ, खवाइ, हिँडाइ, बोलाइ, धर्म, संस्कार विभिन्न चाड पर्वहरु मनाउने प्रचलन र समग्रमा…
    • बिक्री र खुबीका कुरा

      शेषराज भट्टराई शेषराज भट्टराई वैशाख १८, २०७८
      हातको मैला सुनको थैला के गर्नु धनले ? साग र सिस्नु खाएको बेस आनन्दी मनले । महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा रचित…
    • ऐना

      इन्दु सुवेदी पौडेल इन्दु सुवेदी पौडेल वैशाख ११, २०७८
      उठेर बसेको सानो निधार । बांगिएको नाकको डाँडी । कालो र खस्रो छाला । साना चिमरिएका आँखा । घर छाडेर…
    • ‘अक्षरहरुको मूच्छर्ना’ भित्र लक्ष्मण थापा

      मदन भण्डारी मदन भण्डारी वैशाख ११, २०७८
      जनसंख्याको वृद्धिसँगै कविहरूको संख्या बढेको छ । यतिखेर बाँसको झ्याङझैं कविहरू झ्याँगिएका छन् । बाँसको ठूलो झ्याङमा उपयोगी बाँस छान्न…
    • नेता जनताका बनुन्

      रेशम शर्मा बस्ताकोटी रेशम शर्मा बस्ताकोटी वैशाख १०, २०७८
      जनताबाट निर्वाचित भएका जनप्रतिनिधि जनताकै सेवक हुन् । जनता राष्ट्रका पहरेदार सेवक हुन् । सेवकमाथि शासन गर्ने अधिकार कसैलाई छैन…

    hero news full width

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग