नेपाल शिक्षक युनियनको लगातारको जीत

आदर्श समाज सम्वाददाता
चैत्र ५, २०७०

नेपाल शिक्षक युनियन कास्कीको हालै सम्पन्न अधिवेशनबाट नेपाल राष्ट्रिय शिक्षक संगठन तीन पटकसम्म जीत हासिल अर्थात ह्याटि्रक गर्न सफल भएको छ। हुन त शिक्षक युनियनको विधानअनुरुप निर्वाचनमा सहभागी संघसंगठनहरु कोही पनि पराजित हुँदैनन्, सबै विजयी हुन्छन्। जसमा विजेताले युनियनको सभापति प्राप्त गर्छ भने उपविजेता संघ/संगठनले सचिवको जिम्मेवारी प्राप्त गर्दछ।

यसैगरी शिक्षक युनियनमा आबद्धता जनाएको अन्य संघ संगठनले पनि आफूले प्राप्त गरेको मतको आधारमा बाँकी रहेको अन्य पद समानुपातिक तवरले गर्दछन्। त्यसैले यो निर्वाचन कसैको पनि जीत हारको निर्वाचन होइन। यो जीत जीतको सिद्धान्तमा आधारित छ। यो शिक्षक संगठनहरुको छाता संगठन हो। यसमा व्यक्ति स्वतन्त्र भएर उम्मेदवार हुन पाउँदैन र मतदाताले व्यक्ति रोज्न पाउँदैन। उसले युनियनमा आवद्ध भएका संघ/संगठनलाई रोज्नु पर्दछ। उक्त संगठनले आफ्ना सदस्यलाई प्रतिनिधिको रुपमा गोप्यरुपमा नामावली पठाउनु पर्दछ र मतगणनापश्चात उक्त नामावली सार्वजनिक गरिन्छ। नेपाल शिक्षक युनियनका मतदाता भन्नाले नेपाल सरकारको सरकारी अनुदानमार्फत तलब खाने शिक्षकहरुमध्येबाट आबद्ध संघ वा संगठन वा परिषदकोे सदस्यता लिएको र नियमितरुपमा सदस्यता नवीकरण गरेका शिक्षकहरु मात्र यसमा मतदाताको रुपमा सदस्य रहने व्यवस्था छ अर्थात नेपाल सरकारअर्न्तर्गत स्थायी-अस्थायी राहत, करार र बालविकास केन्द्रका शिक्षक अथवा शिक्षिकाहरु जसले युनियनमा आबद्धता लिएका हुन्छन्, त्यसका सदस्यमात्र यसका मतदाता रहेका हुन्छन्। निर्वाचन प्रक्रियामा विद्यालयमा कार्यरत निजी श्रोतका शिक्षकहरु र विद्यालय कर्मचारीहरु यसका मतदाता हुन सक्दैनन्।

कास्की जिल्लाको मात्रै अध्ययन गर्ने हो भने नेपाल शिक्षक युनियनमा नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन र नेपाल शिक्षक परिषद् आवद्ध रहेको पाइन्छ। तर एकीकृत माओवादी र नेकपा-माओवादीसँग वैचारिकरुपले निकट रहेका शिक्षक युनियनमा शिक्षक संगठनमा शिक्षक युनियनमा आवद्धता रहेको पाइँदैन। यिनीहरुको सदस्यता संख्या तुलना गर्ने हो भने सबैभन्दा बढी सदस्यता दाबा गर्ने नेपाल शिक्षक संघ र दोश्रोमा नेपाल राष्ट्रिय शिक्षक संगठन र तेश्रोमा नेपाल शिक्षक परिषद् रहेका छन्। तर निर्वाचन परिणाम हेर्ने हो भने विगत तीनवटै निर्वाचनमा नेपाल राष्ट्रिय शिक्षक संगठनले अध्यक्ष पद आफ्नो पोल्टामा पार्न सफल भएको छ। यसबाट के कुरा स्पष्ट हुन्छ भने निर्वाचन भनेको संख्यामात्र होइन यसमा रणनीति र कुटनीति दुबै मिसिएको हुन्छ। यसबाट के स्पष्ट हुन्छ भने नेपाल शिक्षक संघ पटक-पटक नेपाल राष्ट्रिय शिक्षक संगठनसँग रणनैतिक र कूटनैतिकरुपमा नेपाल शिक्षक युनियनमा पटक-पटक पराजित हुनुको प्रमुख कारण नेपाल शिक्षक संघभित्र कायम रहेको आन्तरिक कमजोरीलाई पनि लिन सकिन्छ।

जसअनुसार आफूभित्र सर्वसम्मत उमेदवार चयनमा निर्णय गर्न नसक्नु आफ्नो मातृपार्टीनेपाली काङ्ग्रेसका नेताहरु नै गुट उपुगटमा लाग्नु शिक्षक संघको नेतृत्व तहमा रहेका नेताहरुको आत्मियता नहुनु बरु प्रतिस्पर्धी संगठनका नेताहरुसँग निकटता बढ्नु आदि कारणहरुले गर्दा विशेषगरी तटस्थ सदस्य तथा दोहोरो सदस्यता भएका शिक्षकहरु तटस्थ शिक्षकहरुले नेपाल शिक्षक संघलाई भन्दा नेपाल राष्ट्रिय शिक्षक संगठनलाई बढी विश्वास गरेको पाइन्छ। फलतः नेपाल शिक्षक संघ एउटा बेलुनको हात्तीसरह आफूलाई कमजोर प्रस्तुत गरिरहन बाध्य भएको छ। यसबाट नेपाल शिक्षक संघले नेपाल राष्ट्रिय शिक्षक संगठनबाट सिक्नु पर्ने पाठहरु प्रशस्त छन् किनकि निर्वाचन एउटामात्र होइन र एक ठाउँमा मात्र होइन प्रजातान्त्रिक पद्धतीमा यो त निरन्तररुपमा चलिरहने प्रक्रिया हो।

यस निर्वाचनलाई हेर्ने हो भने निर्वाचनमा आवद्ध नहुने शिक्षक संगठन नगन्य मात्रा भएको पाइन्छ  किनकि उक्त निर्वाचनमा प्रकाशित भएको नामावली हेर्ने हो भने कास्की जिल्लाभरि केही शिक्षकहरुको मात्र सदस्यता नवीकरण भएको छैन। अन्यथा सबैको नाम मतदाता नामावलीमा प्रकाशित भएको छ। कतिपय शिक्षकहरु अरु बेलामा अन्य शिक्षक संगठन भने तापनि उहाँहरु आफ्नो मातृ संगठनमा उत्साहपूर्वक फिर्ता हुनु भएको छ र एकप्रकारको खुसी साट्नु भएको छ। र, कतिपय शिक्षकहरु निर्वाचन प्रक्रियामा सामेल नभए तापनि आफ्नो सदस्यता पुरानो संगठनले नवीकरण गरिदिएकोमा खुसीयाली मनाउनु भएको छ। कुनै पनि आपत्ति जनाउनु भएको छैन। विशेषगरी यो समस्या अखिल नेपाल शिक्षक संगठनमा रहेको छ। हेर्दा यस्तो लाग्छ कि अखिल नेपाल शिक्षक संगठन जीवित छ या मृत। यदि जीवित छ भने किन युनियनको मतदाता नामावलीमा आपना संगठनका साथीहरुको नामावली प्रकाशन हुँदा टुलूटुलू हेरेर बसिरहेको छ ? आफ्नो संगठनका सदस्य मतदान प्रक्रियामा सक्रिय भएर सहभागी भएकामा किन मौन छ ? किन खबरदारी गर्न सकेको छैन। प्रतिस्पर्धी संगठनहरुले आफ्ना सदस्यको नामावली लगेर प्रकाशन गर्ने दुस्साहस किन गर्‍यो भनेर बोल्ने हिम्मत खै ? आफ्ना सदस्यहरुको नामावली चोरेर लगेको हो कि स्वीकृतिले लगिएको हो ? खोजी गर्ने हिम्मत खै ? चोरी गरेर लगिएका सदस्यबाट बनाएको शिक्षक युनियन रुपी घर भत्काएर त्यो घर अवैद्य र चोरीको हो भन्ने हिम्मत छैन। वरु त्यही घरमा अतिथ्यता ग्रहण गरेर मस्ती भोजमा रमाउला झै गरेर उ हषिर्त भएको छ। उसलाई चुनौती छ कि घर चोरीको हो  भनेर प्रमाणित गर्नु पर्दछ र त्यो घरमा सहकार्य बन्द गर्न सक्नु पर्दछ। नत्र आफ्ना अधिकांश सदस्य त गए-गए अब आफू किन नजाने भनेर युनियनको एउटा कोठामा बास बस्नुको विकल्प छैन।

यसैगरी नेपाल शिक्षक संघले पाठ सिक्नु पर्दछ कि निर्वाचन संख्याले मात्र जितिने रहनेछ। जसमा रणनीति, कूटनीति, गोपनीयता, नैतीकता व्यक्तिगत इमान्दारिता, एकता आत्मीयताले प्रभाव पादो रहेछ। साथीहरुलाई बाध्यता, करकाप, परिबन्धमा पारेर मन्दिरमै लगेर सदस्यता थमाउँदैमा पनि अर्थ केही नहुँदो रहेछ। त्यस्तै नेपाल राष्ट्रिय शिक्षक संगठनले सोच्नु पर्ने बेला आएको छ। आफ्नो सदस्यता नलिदा पनि साथी आफूलाई सघाउने प्रशस्तै हुँदा रहेछन्। आफूलाई सघाउने साथीलाई पनि खुलाउन सक्नु पर्ने आवश्यकता रहेछ। गोप्यरुपमा सघाउने तर खुल्न नसक्ने साथी प्रशस्तै रहेछन्। उसको संगठनको छाता अझै फराकिलो बनाउनु पर्ने महसुस गर्नु पर्दछ।

त्यसैगरी नेपाल शिक्षक युनियनले पनि सोच्नु पर्ने बेला आएको छ। के अब ऊ उसका मतदाताको मात्र युनियन हो या अन्य थरीका शिक्षकहरु र विद्यालयका कर्मचारीको समेत युनियन हो। आगामी दिनमा शिक्षक युनियनले शैक्षिक क्षेत्रमा देखा परेका समस्या विभेदलाई न्यूनीकरण गर्नुपर्नेतर्फ उन्मुख हुनु पर्ने देखिन्छ र शिक्षकहरुलाई कुनै राजनीतिक पार्टीका भातृ संगठनबाट मुक्त गराइ पेशागत संगठनको एकलरुपको रुपमा विकसित गर्नुपर्ने देखिन्छ। भोलिका दिनमा समग्र विद्यालयमा कार्यरत शिक्षक कर्मचारीको नेतृत्व गर्दै उनीहरुको पेशागत मर्यादाको विकास गराउँदै शिक्षकको गुणात्मक विकासमा समेत टेवा पुर्‍याउन सकोस् र हरेक नागरिकमा प्रजातान्त्रिक संस्कारको विजारोपण गर्न सकोस्। यही शुभकामना नवनिर्वाचित नेपाल शिक्षक युनियन कास्कीका पदाधिकारीलाई।

Related News

सम्बन्धित समाचार

  • मनोसामाजिक अपांगता के हो ?

    सुदीप घिमिरे मंसिर १७, २०८०
    राइनास नगरपालिका लमजुङका एक वडा अध्यक्षले अपांगताको अधिकार वकालत गर्न सुरु गरेका छन् । गत महिना आयोजित एक कार्यक्रममा मनोसामाजिक…
  • तिलकदाइको सम्झनामा

    हरि अधिकारी मंसिर १३, २०८०
    विख्यात लोकतन्त्रवादी नेता तथा पूर्वी नवलपुर, गैंडाकोट क्षेत्रका अग्रणी सामाजिक अभियन्ता तिलकप्रसाद सापकोटा कीर्तिशेष हुनुभएको एक वर्ष पूरा भएको छ…
  • अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध

    राजेन्द्र भण्डारी कार्तिक ३, २०८०
    अभिभावकज्यूहरू, मौसम बिस्तारै उष्णबाट शीतोष्णमा परिवर्तन हँुदै छ । अर्कातर्फ हाम्रा संस्कृतिका अभिन्न धरोहरहरू हाम्रा घरआँगनमा प्रवेश गरिसकेका छन्; कतिपय…
  • फेलको फेहरिस्त

    शेषराज भट्टराई असाेज २२, २०८०
    विद्वान्हरू भन्ने गर्छन् ‘विद्यार्थी र शिक्षक कहिल्यै फेल हुँदैन । फेल हुने भनेको सिकाइ विधि हो । सिकाइ विधि फेल…
  • नागरिकको समय नै देश विकासको आधारशिला

    डा. दीपकप्रसाद बास्तोला असाेज २२, २०८०
    नेपाल संसारकै एक पुरानो देश हो । यस कुरामा हामी सबै नेपालीहरूले गर्व गरेका छौं । देश विकासको लागि एक…

hero news full width