नेपाल नबन्नुको जिम्मेवार को ?

आदर्श समाज सम्वाददाता
असाेज ३, २०७१

एउटा बहस चलेको छ- ‘नेपाल किन बन्न सकेन -’ आउटलाइन मिडियाको सक्रियतामा प्रारम्भ भएकोे यो बहसलाई अगाडि बढाउनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् पत्रकारद्वय सुशील शर्मा र सुधीर शर्माले। विषयको उठान जति रोचक छ, बहसको श्रृङ्खला त्यत्तिकै गम्भीर मात्र छैन रोमाञ्चक पनि छ। सुशील शर्माको लेखबाट प्रवेश गरिएकोे यो बहसमा धेरै ‘फलोअर’हरू भैसकेका छन्। ‘फलोअर’का ‘फलोअर’ पनि छन्। त्यही ‘फलोअर’को ‘फलोअर’ हुने क्रममा म पनि यो बहसमा जोडिन पुगेको छु। क्षमताले भ्याएसम्म यस विषयमा आएका विचारहरूलाई नजिकबाट नियाल्ने प्रयास पनि गररहेको छु। सिद्धान्तका कसीदेखि व्यवहारका तराजुसम्मको तर्कवितर्क दिने क्रममा नेपाल यो कारणले बनेन र ऊ कारणले बनेन भन्ने विचारको थुप्रो लागिसकेको छ र बढ्नेक्रम जारी छ।

नेपाल किन बनेन, कसले बन्न दिएन र कसरी बन्छ र यी प्रश्न अति नै गहन छन्। निष्कर्षविहिन बहसको थालनी गर्नु हुँदैन भन्नेहरूका दृष्टिमा प्रश्नहरू जति बेकार लाग्दछन् हरेक कुराको निकास हुन्छ भन्नेका दृष्टिमा प्रश्न त्यत्तिकै महत्वपूर्ण पनि लाग्दछन्। किन बनेन एउटा महत्वपूर्ण प्रश्न हो, नबन्नुको दोषी को भन्ने झनै महत्वपूर्ण प्रश्न हो र कसरी बन्छ भन्ने त अझ अति नै महत्वपूर्ण अको प्रश्न हो। त्यसैले यी प्रश्नहरूको उत्तर फरक फरक चाहिन्छ। नबन्नुको दोषी को हो त्यो नै किन बनेन भन्ने प्रश्नको उत्तर हुँदैन न त कसरी बन्छ भन्ने कुरा नै किन बनेनको उत्तर हुन सक्ला। नबनेको हिजो हो बन्ने भोलि हो। हिजो जे जे कारणले नेपाल बनेन आज त्यही कारणहरूको निराकरणले मात्र नेपाल बन्दैन। हिजो नेपाल नबन्नुका कारण साना थिए आज ठूला भैसके, हुन सक्तछ अझै नेपाल बनाउने अभियानमा लागिएन भने ती काराणहरू अझ विकराल हुन सक्तछन्। घाउको उपचार सानैमा गरेको भए सानो औषधीले हुने थियो तर ठूलो भैसकेपछि ठूलै उपचार चाहिन्छ, विकराल नै भैसकेपछि त औषधीले पनि काम गर्दैन।

नेपाल बन्न नसके पनि नेपाल कसरी बनाउने भन्ने सन्दर्भमा विचारको ओइरो लागेको देख्दा भने नेपाललाई गरिब नै भन्नु नपर्ने हो कि जस्तो देखिन्छ। नेपालले पनि विचारको महासागरमा पानी थप्न सक्तछ भन्ने कुरा नेपाल किन बन्न सकेन भन्ने सन्दर्भका विचारहरूले पुष्टि गरेको छ। संसार विचारको महासागर हो। जहाँ जाति धेरै विचार आउँछन् त्यो समाज त्यति नै धनी मानिन्छ। फेरि विचारविज्ञान यस्तो विज्ञान हो जो विचारहरू चाहे ती विपरीतधु्रवी नै किन नहुन् आफैँमा भने सत्य हुन्छन्। मात्र विचारकले जुन दृष्टिले विचार राख्छ हेर्ने र बुझ्नेले पनि त्यही दृष्टिले हेर्र्नु र बुझ्नु पर्दछ। महात्मा गान्धीले भनेका छन्- त्रि्रा लागि त्यही सत्य हो जुन तिमी देख्छौ। यस दृष्टिमा नेपाल किन बनेन भन्ने सन्दर्भमा आएका जे जति विचारहरू छन् ती विचारहरू आफैँमा सत्य छन्। तर विचारणीय कुरा चाहिँ के हो भने देश बनाउने यति धेरै विचार भएर पनि किन ती कामयावी भएनन्। किन ती विचारहरू नेपाल बनाउने कुरामा फिट हुन सकेनन्। कतै फिट हुँदैनन् भने ती विचार के शब्दजाल मात्र हुन् त – शब्दजाल मात्र त अवश्य होइनन्, बरु बोक्रा सहितका गुदी हुन् कि ?

नेपाल किन बनेन भन्ने सन्दर्भको बहस चाहिँ बोक्राको होइन गुदीको खोजी हो। सत्यमाथि पनि परमसत्यको खोजी हो। परमसत्यतामा पुगेपछि नै देश नबन्नुको सही कारण भेटिन्छ। रामायणमा हनुमानसम्बद्ध कथा छ- लक्ष्मण युद्धमा घाइते भएपश्चात् रामले बुटी खोजी ल्याउन हनुमानलाई अहृ्राए। बुटी चिन्न नसकेका हनुमानले बुटी भएको पहाड नै ल्याएर रामका अगाडि राखिदिए। आखिर बुटी रामले नै पहिचान गर्नुपर्‍यो। नेपाल किन बनेन भन्ने सन्दर्भको बहसमा पनि जे जति विचार आएका छन् ती हनुमानका पहाड बनेर आएका छन्। विचारको एकमुष्ट गर्ने हो भने यो एउटा पहाड हो तर त्यहाँ बुटी छ। मात्र पहिचान गर्न सक्नु पर्दछ।

नेपाल किन किन बनेन भन्ने प्रश्नमा केही पूरक प्रश्नहरू अवश्य आउँछन्। नेपाल आफैँ बन्न नसकेको हो कि अरुले बन्न नदिएको हो। बन्न नदिएको हो भने त्यो बन्न नदिने को – के बन्न नदिने शक्तिलाई मात्र निस्तेज पार्ने हो भने नेपाल आफै बन्छ त ? जस्ता बहसका बीचमा नेपाल किन बनेनको बहस अगाडि बढिरहेको छ। अहिलेसम्म मूलतः बहस कसरी बन्छ भन्दा पनि किन बनेनमै केन्द्रित छ। बन्न नदिने पात्र, प्रवृत्ति र परिस्थितिलाई औल्याउने काम पनि हुँदै नभएको होइन। तर बन्न नसक्नुको कारण र बन्न नदिनेको खोजी जति व्यापक बनेको छ बनाउन सक्नेको खोजी भने त्यति ब्यापक हुन सकेको छैन।

कुण्डकुण्ड पानी मुण्डमुण्ड बुद्धि भन्ने नेपाली उखान नै छ। जो जुन कित्तामा छन् तिनले त्यही कित्तामा बसेर बुद्धि प्रक्षेपण गर्दछन्। यो बहसको सन्दर्भ पनि यसबाट अछुतो छैन। महिलाहरू भन्छन्- महिलाहरूलाई पछाडि पारिएकाले नेपाल बनेन, दलितहरू दाबी गर्छन्? नेपाल नबन्नुको प्रमुख कारण नै जातिय विभेद हो। आदिबासी जनजातिका विचारमा आदिबासी समुदायलाई मूलधारबाट बाहिर पारिनु नै नेपाल नबन्नुको प्रमुख कारण हो। लेखक, पत्रकार, शिक्षाविद्, डाक्टर, इञ्जिनियर प्रश्न गर्छन्- विद्वत् वर्गसँग सल्लाह नलिए पछि कसरी नेपाल बन्छ – मजदूर भन्छन्- मजदूर र मालिक बीचको खाडल नै नेपाल नबन्नुको प्रमुख कारण हो, उद्योगपति भन्छन् उद्योगधन्दाको वातावरण घुमिल हुँदा देश बिग्रियो। अर्थविद् भन्छन्- आर्थिक क्रान्ति नै भएन, सर्वसाधारण भन्छन् शब्दमा क्रान्तिका कुराले देश बन्दैन। विद्यार्थी भन्छन्- अल्छी प्राध्यापकले देश विगारे, प्राध्यापक भन्छन्- अराजक विद्यार्थीले देशलाई समेत पछारे। राजनीतिज्ञ भन्छन्- जनता जिम्मेवार हुन सकेनन्, जनता भन्छन्- नेपाल नबन्नुको एकमात्र कारण राजनीतिक दल र दलका नेता मात्र हुन्।

नेपाल नबन्नुको कारणका रूपमा आएका पहाड विचारमध्येका केही विचार यिनै हुन्। यी दाबीहरूमध्ये कुन चाहिँ दाबीलाई ठीक होइन भन्ने – सब दाबी आ आफ्ना ठाउँमा ठीक छन्। तर प्रश्न कहाँनेर छ भने महिला दलित र जनजातिलाई पछि पार्ने, विद्वत् वर्गका कुरा नसुन्ने, मजदुर र मालिक बीच खाडल खन्ने, औद्योगिक वातावरण घुमिल बनाउने, आर्थिक क्रान्ति नगर्ने, प्राध्यापकलाई अल्छी र विद्यार्थीलाई अराजक बनाउने, जनतालाई जिम्मेवार नबनाउने, नेतालाई देश बिगार्न दिने चाहिँ को ? ‘ऊ’ ? ‘ऊ’ हो भने अनि त्यो ‘ऊ’ भन्ने पात्र चाहिँ को हो नि – के त्यो ‘ऊ’ भित्र मचाहिँ पर्दिन –

नेपालीहरूका केही मौलिक विशेषताहरू छन्। अरुको कुरा काट्ने, अरुलाई दोष दिने, असन्तुष्टि व्यक्त गर्ने, हरेक कुरालाई नकारात्मक ठाउँमा लगेर टुंग्याउने जस्ता गुण नेपालीका पहिचानसँग जोडिन पुगेका छन्। त्यसमा पनि दोष शतप्रतिशत अरुलाई दिने र जस जति  शतप्रतिशत आफ्नो भनी दाबी प्रस्तुत गर्ने प्रवृत्ति आमनेपालीको रोगको रूपमा मौलाउँदै जान थालेको छ। नेपाल किन बनेन भन्ने सन्दर्भमा पनि जे जति विचारहरू आएका छन् त्यसमा मूलतः दोषी अरुलाई नै देखाउन खोजिएको छ। तर त्यो ऊ वा अरुभित्र आफूलाई पनि समाहित गर्ने साहस कसैले पनि गरेको छैन। दोषी हामी हौँ भन्नेसम्मका अपवाद देखिए पनि ‘म’लाई दोषबाट उन्मुक्ति दिने प्रयास प्राय सबै विचारकहरूबाट भएको छ।

अपजस अरुको भागमा र जस आफ्नो भागमा अंशवण्डा गरेर नेपाल कहिल्यै बन्दैन। त्यसैले अपजसको जिम्मेवारी आफू लिने र जस अरुलाई दिने संस्कृतिको विकास हुनुपर्दछ। म एकजनाले गरेर के हुन्छ र – भन्ने लघुताभाष र जिम्मेवारीबाट पञ्छिने रोग नै नेपाल नबन्नुको मूल जड हो। मूल जरोलाई छोडेर हाँगा र पाततिर दौडिएर कसरी नेपाल बन्ला ? अब देश बनाउने हो भने ‘ऊ’ बाट बन्ने आसा गर्ने होइन ‘म’बाट बनाउन सुरु हुनुृपर्दछ। मेरो शौचालयदेखि लिएर बेड, कोठा, घर, टोल, जिल्ला, क्षेत्र र देश अरु कसैले बनाएर बन्दैन मैले बनाए मात्र बन्छ। त्यसैले देश नबन्नुको प्रमुख जिम्मेवार ‘म’ र ‘म’जस्तै हरेक ‘म’हरू हुन्, ‘ऊ’हरू होइनन्।

Related News

सम्बन्धित समाचार

  • मनोसामाजिक अपांगता के हो ?

    सुदीप घिमिरे मंसिर १७, २०८०
    राइनास नगरपालिका लमजुङका एक वडा अध्यक्षले अपांगताको अधिकार वकालत गर्न सुरु गरेका छन् । गत महिना आयोजित एक कार्यक्रममा मनोसामाजिक…
  • तिलकदाइको सम्झनामा

    हरि अधिकारी मंसिर १३, २०८०
    विख्यात लोकतन्त्रवादी नेता तथा पूर्वी नवलपुर, गैंडाकोट क्षेत्रका अग्रणी सामाजिक अभियन्ता तिलकप्रसाद सापकोटा कीर्तिशेष हुनुभएको एक वर्ष पूरा भएको छ…
  • अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध

    राजेन्द्र भण्डारी कार्तिक ३, २०८०
    अभिभावकज्यूहरू, मौसम बिस्तारै उष्णबाट शीतोष्णमा परिवर्तन हँुदै छ । अर्कातर्फ हाम्रा संस्कृतिका अभिन्न धरोहरहरू हाम्रा घरआँगनमा प्रवेश गरिसकेका छन्; कतिपय…
  • फेलको फेहरिस्त

    शेषराज भट्टराई असाेज २२, २०८०
    विद्वान्हरू भन्ने गर्छन् ‘विद्यार्थी र शिक्षक कहिल्यै फेल हुँदैन । फेल हुने भनेको सिकाइ विधि हो । सिकाइ विधि फेल…
  • नागरिकको समय नै देश विकासको आधारशिला

    डा. दीपकप्रसाद बास्तोला असाेज २२, २०८०
    नेपाल संसारकै एक पुरानो देश हो । यस कुरामा हामी सबै नेपालीहरूले गर्व गरेका छौं । देश विकासको लागि एक…

hero news full width