नेपाली संस्कृति, वाङ्मय र रवीन्द्र

पद्मराज ढकाल पद्मराज ढकाल
वैशाख २०, २०७८

संस्कृति भन्नाले हाम्रो रहन, सहन, बानी, व्यवहार, लवाइ, खवाइ, हिँडाइ, बोलाइ, धर्म, संस्कार विभिन्न चाड पर्वहरु मनाउने प्रचलन र समग्रमा जन्मदेखि मृत्यु सम्मका हाम्रा कर्महरु र संस्कारलाई बुझिन्छ । संस्कृति हाम्रो जीवन पद्धतिसँग अनुकूल हुनुपर्दछ र समाजको उन्नति प्रगतिमा प्रतिकूल अथवा बाधक हुनुुहुँदैन । संस्कृतिका नाममा कतिपय परम्परावादी सोच र कर्म वास्तवमै कुसंस्कार कुसंस्कृतिका रुपमा विद्यमान छन् । यस्ता खराब प्रवृत्ति तथा कर्मलाई हटाएर हाम्रो पहिचान हाम्रो संस्कृतिलाई जोगाउनुपर्छ, संरक्षण गर्नुपर्छ भन्ने मान्यतामा रवीन्द्र अधिकारी दृढ हुनुहुन्थ्यो ।

आफ्नो संस्कृतिका सकारात्मक कुराहरुबाट सिक्दै समाज परिवर्तनको निम्ति आफू नै उदाहरण बनेर अघि बढ्नुपर्छ किनभने हाम्रा कर्महरुबाट उत्पन्न सम्पूर्ण विषयवस्तुहरु नै संस्कृतिका उपजहरु हुन्, जुन समाज विकासको निमित्त उपयोगी हुनुपर्दछ । त्यसैले सभ्य र सुसंस्कृत समाज निर्माणका लागि हामीले गरेका कर्महरु आलोचनाबाट मुक्त हुनुपर्दछ भन्दै जन्मदेखि मृत्युसम्म गरिने सम्पूर्ण परम्परावादी संस्कारमा रहेका विकृति विसंगतिलाई हटाउने अभियानमा उहाँ सधैं चिन्तनशील भई लागिपर्नुहुन्थ्यो । हाम्रा संस्कारहरु जन्मोत्सव, न्वारान, पास्नी, व्रतबन्ध, विवाह आदि जस्ता उत्सवहरु मनाउँदा तडकभडकविहीन हुनुपर्दछ, १३ दिनको मृत्यु संस्कार लामो र अत्यन्त पीडादायी भएकाले यसक्रममा रहेका अन्धविश्वास हटाएर मृतकप्रति श्रद्धा सुमन अर्पण गर्ने गरी १३ दिनलाई घटाएर ५–७ दिनमा काजकिरिया सम्पन्न गर्नुपर्दछ । मर्ने त मरिहाले, बाँच्नेलाई पीडामाथिको बढी कष्ट दिनुहुँदैन । वास्तवमा मृत्यु संस्कारमा किरियापुत्रीलाई आफन्त मर्दाको पीडा त छँदै छ । त्यसमाथि उनीहरुको निमित्त चाहिने आवश्यक वस्त्र र खानेकुरामा लगाइएको बन्देजका कारण स्वास्थ्यमा प्रतिकूलता हुने गर्दछ । यो अलिकति संवेदनशील विषय भएकाले तुरुन्तै परिवर्तन गर्न र सबैलाई चित्त बुझाउन गाह्रो हुन्छ । त्यसैले उहाँ जनस्तरदेखि सरकारीस्तरमा छलफल गरी आवश्यक निर्णयमा पुग्न आवश्यक छ भन्नुहुन्थ्यो । त्यसैगरी हामीले मनाउन विभिन्न चाड पर्वहरु सद्भावना भाइचारा र संस्कृतिका अभिन्न अंग बनिसकेका छन् । तर चाड पर्वहरु मनाउने क्रममा उत्पन्न विषय तथा हाम्रो समाजलाई अपाच्य हुने विषयवस्तुप्रति उत्तिकै सजग हुनुपर्दछ र त्यस्ता विकृतिजन्य विषय हाम्रा चाडपर्वमा भित्रिन दिनुहँुदैन । चाडपर्वहरु मनाउँदा फजुल खर्चलाई रोकेर मितव्ययी हुनुपर्दछ ।

नेताहरु ठूलो पदमा पुगेपछि स्रष्टासँग भेटघाटको समय पाउन मुश्किल पर्छ तर रवीन्द्र स्रष्टाहरु खोज्दै हिँड्नुहुन्थ्यो

नेपाली समाजमा रहेको जातीय भेदभाव हाम्रो निम्ति लाजमर्दो विषय हो । एक्काइसौं शताब्दीसम्म आइपुग्दा पनि हामी गरिब र पछाडि हुनुको कारण सामन्ती संस्कृति र यसलाई पक्षपोषण गर्ने सामन्ती सत्ता नै हो भन्ने कुरामा दुई मत छैन भन्ने मान्यताका साथ समाज परिवर्तनको निमित्त वैज्ञानिक दृष्टिकोणसहितको समाजवादी व्यवस्था ल्याउन रवीन्द्र अधिकारीले आफ्नो जीवन राजनीतिमा समर्पण गर्नुभएको थियो । विद्यार्थी राजनीति होस् वा पार्टीको राजनीतिमा लाग्दा होस् रवीन्द्र कार्यकर्ता र जनताका बीच सधैं लोकप्रिय नेताका रुपमा स्थापित भएर रहनुभयो । ‘मिलेर काम गर्नाले हुन्छ अत्यन्त फाइदा, एकता हेर कस्तो छ मौरीको महमा सदा’ भन्ने कविशिरोमणिको भनाइजस्तै रवीन्द्रले राजनैतिक आन्दोलन र विकास निर्माणको अभियानमा विपक्षको समेत व्यापक समर्थन जुटाउन सफल हुनुभयो । त्यसैले त उहाँ आफ्नो पार्टीको अवस्था प्रतिकूल रहँदासमेत जितेर लगातार तीनपटक प्रतिनिधि सभामा पुग्नुभएको थियो । माओवादी आन्दोलनका बेला अत्यन्त प्रतिकूल अवस्थामा पनि सरकार र माओवादी दुबैको विश्वास जित्ने नेताका रुपमा रहेर पीडित जनताका विभिन्न समस्याहरु उहाँमार्फत समाधान भएका थिए ।

रवीन्द्रले सकेसम्म जनतालाई प्रत्यक्ष भेटघाट गरेर जनताका समस्याहरु सुन्ने र आफ्ना कामबारेमा पारदर्शी हिसाबले जनतामाझ राख्ने गर्नुहुन्थ्यो । हरेक वर्ष पत्रकार सम्मेलन नै गरेर आफूले सांसद हुँदा गरेका कामका बारेमा जनतालाई सुसुचित गराउनुहुन्थ्यो । प्राय नेताहरु चुनावको बेलामात्र जनताका घरमा पुुग्ने गर्दछन् तर उहाँ सधैं सबैसँग सम्पर्कमा रहिरहने गर्नुहुन्थ्यो । सुख दुख पर्दा अथवा चाड पर्वको अवसरमा सकेसम्म प्रत्यक्ष भेटघाट गर्ने र नमिलेमा सञ्चारका माध्यम प्रयोग गरेर भए पनि आफूलाई नजिक राख्ने गर्नुहुन्थ्यो । सम्भवत सबैभन्दा धेरै जनताको टेलिफोन नम्बर आफ्ना मोबाइलमा राख्ने नेतामा उहाँ पर्नुहुन्थ्यो । नम्बर धेरै नअटाउने भएकाले यो अर्को मोबाइल पनि किनेको छु भन्नुहुन्थ्यो । चाडपर्वमा प्राय सबैका मोबाइलमा उहाँको शुभकामनाको म्यासेज आउने गथ्र्यो ।

राजनैतिक, सामाजिक तथा सांस्कृतिक रुपमा जनतालाई सचेत गराउने सबैभन्दा महत्वपूर्ण माध्यम साहित्य, संगीत र कला रहेको कुरामा रवीन्द्र प्रष्ट हुनुहुन्थ्यो । वाङ्मयद्वारा इतिहासको मूल्यांकनसहित वर्तमानको यथार्थता कलात्मक तरिकाले प्रस्तुत गरिन्छ । हाम्रो गन्तव्य के हुनुपर्छ भन्ने कुराको दिशाबोध गराउनुका साथै सबैभन्दा छिटो जनतालाई प्रभावित पार्न सक्ने माध्यम भएकाले यसलाई विशेष महत्व दिनुपर्छ भन्नुहुन्थ्यो । राजनीति पछि उहाँको रुचिको विषय पनि वाङ्मय क्षेत्र नै हो । सायद उहाँ राजनीतिमा नलागेको भए एक स्थापित स्रष्टाको परिचय बनाउनु हुन्थ्यो होला । वाङ्मयिक तथा सांस्कृतिक कार्यक्रममा उहाँको प्रशस्त सहभागिता रहने गर्दथ्यो । साँच्चै देशको उन्नति र प्रगतिका निम्ति स्रष्टाले आशा भरोसा राखेका थिए । प्राय नेता तथा पार्टीले जनतालाई आकर्षित गर्नका लागि चुनावको बेलामात्र खोज्ने गर्दछन्, तर रवीन्द्रले बेला बेलामा स्रष्टाहरुसँग भेटघाट गर्ने, आफ्नै पहलमा छलफलका निम्ति भेला राख्ने र वाङ्मय तथा संस्कृतिका विषयमा छलफल गर्ने गर्नुहुन्थ्यो । नेताहरु ठूलो पदमा पुगेपछि स्रष्टासँग भेटघाटका लागि मात्र पनि समय पाउन मुश्किल पर्छ तर रवीन्द्र स्रष्टाहरु खोज्दै हिँड्नुहुन्थ्यो र उहाँहरुको समस्या समाधानका लागि पहल गर्ने गर्नुहुन्थ्यो ।

वाङ्मयलाई अनुत्पादक क्षेत्र ठान्दै राज्यले स्रष्टाहरुप्रति गरेको उपेक्षालाई देख्दाखेरि लाग्छ कहिलेकाहीं लेखेर पो के भयो, गाएर पो के भयो, नाचेर पो के भयो, कला सिर्जना गरेर अथवा देखाएर पो के भयो भनेर कलम, कापी कुची र बाजाहरु थन्क्याइदिऊँ जस्तो लाग्छ तर रवीन्द्र र उहाँजस्ता नेताको संगतले थप प्रेरणा प्राप्त हुन्छ र अगाडि बढ्न मन लाग्छ । पछिल्लो समय जब उहाँ संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री बन्नुभयो देशभरिका सामाजिक, सांस्कृतिक तथा वाङ्मयिक संघ संस्थाले केही राहत महसुस गरेका थिए । विभिन्न शीर्षकमा विनियोजित तर काम नभएर फ्रिज हुन लागेका रकम ती संघ संस्थालाई संस्कृति मन्त्रालायमार्फत वितरण गरेर क्रियाशील बनाउन महत्वपूर्ण भूमिका खेल्नुभएको थियो । हुन त आफ्ना नजिकका मान्छेलाई पैसा बाँडेको भनेर आलोचना पनि भएको थियो तर त्यो केवल विरोधका लागि विरोधमात्र थियो । किनभने रकम पाएका संघ संस्थाहरु हेर्दा विपक्ष पार्टीहरुसँग सम्बन्धित थुप्रै र स्वतन्त्र खालका पनि प्रशस्त थिए र कुनै किसिमको पक्षपात गरिएको थिएन । उहाँले थाहा पाएसम्मका क्रियाशील धेरै संघ संस्थालाई समेटिएको थियो । सहयोग नपाएका बाँकी संघ संस्थालाई क्रमश अर्को वर्षमा रकम विनियोजन गर्ने वचन पनि दिनुभएको थियो ।

रवीन्द्र अधिकारी नेतृत्वमा रहँदा स्ववियु तथा पार्टीको आयोजनामा सबैभन्दा धेरै र महत्वपूर्ण वाङ्मयिक क्रियाकलापहरु भएको पाइन्छ । उहाँ कास्कीको पार्टी सचिव हुँदा राष्ट्रिय जनसांस्कृतिक मञ्चको सहकार्यमा दुई दिनसम्म पोखरा सभागृहमा तीन सो ऐतिहासिक राष्ट्रियस्तरको विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सुसम्पन्न भएको थियो । त्यसबाट पार्टी कार्यालय निर्माणको निमित्त महत्वपूर्ण आर्थिक संकलन भएको कुरा अविस्मरणीय छ । उहाँ पृथ्वीनारायण क्यापसको स्ववियु सभापति रहँदा थुप्रै सांस्कृतिक कार्यक्रम भएका र पोखराका अन्य क्याम्पसमा समेत उहाँकै सल्लाहबमोजिम यस्ता कार्यक्रम भएका थिए जुन कार्यक्रममा हाम्रो पनि सहयोग तथा सहभागिता रहने गर्दथ्यो । पृथ्वीनारायण क्याम्पसको शैक्षिक तथा भौतिक विकासमा समेत उहाँको उल्लेखनीय योगदान रहेको छ । वाङ्मयिक क्षेत्रमा उहाँ एक सेलीब्रेटी नेताका रुपमा स्थापित भइसकेको उदाहरण पोखरामा आयोजना हुने साहित्यिक महोत्सवमा उहाँको सक्रिय सहभागितालाई लिन सकिन्छ । जुन महोत्सवमा देशको समृद्धि र विकासमा वाङ्मयको योगदानबारे भएका हरेक छलफलमा उहाँ कहिल्यै छुट्नु भएन । उक्त महोत्सवमा उहाँको आफ्नो पुस्तक ‘समृद्ध नेपाल’ बारेमा समेत विशेष परिचर्चा भएको थियो ।

वाङ्मयिक क्षेत्रमा लाग्दा उहाँबाट म पनि निकै प्रभावित भएको र प्रेरणा मिलेका थुप्रै प्रसंग छन् । क्याम्पस पढ्दा र पछि राष्ट्रिय जन सांस्कृतिक मञ्चमा १५ वर्षसम्म कास्कीको अध्यक्ष हुँदा मलाई धेरै सहयोग गर्नुभएको छ । त्यस्तै २०६९ वैशाख १६ गते २३ गते पोखरा र लेखनाथमा भएका मेरो एकल सांगीतिक कार्यक्रममा आर्थिक सहयोगसमेत गर्नुभएको थियो भने २०७३ जेठ ७ गते भएको तेस्रो एकल सांगीतिक कार्यक्रममा उहाँ नै प्रमुख अतिथि हुनुहुन्थ्यो । जति बेला उहाँ संसद विकास समितिको सभापति रहनुभएको थियो । २०७६ जेठ १८ गते गणतन्त्र दिवसको अवसरमा जब मेरो चौथो एकल सांगीतिक कार्यक्रमको आयोजना सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) काठमाडौंमा हुने निर्णय भयो । यसबारेमा उहाँलाई जानकारी गराइएपछि त्यस कार्यक्रमलाई सुसम्पन्न गर्न पूर्ण सहयोग गर्ने वचन दिनुभएको थियो र भन्नुभएको थियो ‘ढुक्क हुनोस् कार्यक्रम सफल बनाउने जिम्मा मेरो भयो ।’ अपसोच ! २०७६ फागुन १५ गते भएको उहाँको निधनले गर्दा उक्त कार्यक्रममा मैले ठूलो अभावको पीडा महसुस गर्नुपर्‍यो । यद्यपि मनकुमार श्रेष्ठ, रश्मि आचार्य लगायत थुप्रै साथीहरुको सहयोगले गर्दा उपप्रधानमन्त्री माननीय ईश्वर पोखरेलको प्रमुख आतिथ्यता तथा सांस्कृतिक संस्थाका महाप्रबन्धक राजेश थापाको सभापतित्वमा कार्यक्रम सुसम्पन्न भएको थियो ।

यसपटकको नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको गठनको क्रममा पोखराबाट हरिदेवी कोइराला प्राज्ञ परिषदमा चयन हुनुभएको तर हरिदेवी म्याडमले काठमाडौंमा गएर बस्नुपर्ने भएकाले आफ्नो इच्छा नभएको बताउनुभएको थियो । सोही परिप्रेक्षमा थुप्रैपटक उहाँले मलाई सम्पर्क गरेर म्याडमलाई जसरी पनि मनाउन पर्‍यो भन्नु भएको थियो । म्याडमले पनि मन्त्रीज्यूलाई भनेर मलाई प्राज्ञ परिषदमा नराख्न भन्दिनोस् भन्नुभएको प्रसंग केही समय रह्यो र अन्तिममा म्याडमलाई परिषदमा बस्नका लागि उहाँ र मेरो प्रयास सफल भएको थियो । त्यसो त मलाई पनि उहाँले प्राज्ञ परिषदमा राख्न प्रस्ताव गर्नुभएको रहेछ तर त्यहाँ जनजाति महिला लगायत कोटा पु¥याउनैपर्ने भएकाले म पुरुष तथा ब्राह्मण जातको भएकाले नपरेको रहेछु । परेकै भए पनि हरिदेवी म्याडमलाई जस्तै मलाई पनि काठमाडौंमा नै गएर बस्नुपर्ने भएकाले रुचि थिएन । बरु उहाँले नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको मातहत रहने गरी गठन हुन लागेको लेखनाथ जन्मस्थल विकास समितिको अध्यक्षमा मलाई सिफारिस गर्न लागेको कुरा बताउनुभएको थियो । यसका निमित्त लेखनाथ जन्मस्थल विकास समिति (पोखरा महानगरबाट गठित) का अध्यक्ष विश्वप्रकाश लामिछानेले मेरोसहित समितिमा रहने अन्य साथीहरुको नाम उहाँलाई बुझाउनु भएको थियो । समिति गठनका निमित्त प्रधानमन्त्रीसमेत सकारात्मक हुनुभएकाले छिट्टै संस्कृति मन्त्रालयबाट प्रस्ताव पेस गरिने र मन्त्रिपरिषदबाट निर्णय हुन लागेको कुरा उहाँले मलाई निधन हुनुभन्दा दुई दिन अघि होटल बाराही पोखरामा भेट हुँदा बताउनुभएको थियो । होटल बाराहीमा उहाँका स्वकीय सचिव अर्जुन अधिकारीबाट हामीहरु (मेनकाजी गुरुङ, मनकुमार श्रेष्ठ, नवराज बराल र म) लाई भेटघाटका लागि बोलाउनु भएको कुरा थाहा पाएपछि गयौं । पोखराका थुप्रै संघ संस्थाका साथीहरु पनि आउनुभएको रहेछ । चिया खाइयो र केही बेरपछि हाम्रो पालो आयो, कुराकानी गरियो । विशेष गरी २०७५ मा मन्त्रालयबाट सहयोग नपाएका संस्थालाई २०७६ मा सहयोग उपलब्ध गराइने भएकाले छुटेका केही संस्थाको नाम टिपाउने काम भयो । लेखनाथ जन्मस्थल विकास समिति छिट्टै गठन हुने र सरकारले हरेक वर्ष कविशिरोमणिको जन्मस्थलको विकास तथा साहित्यिक गतिविधिका निम्ति बजेट विनियोजन गर्दै छ भन्नुभएको थियो ।

वाइडबडीको विषयमा उहाँमाथि आरोप लागेको तर सबै काम पहिलेकै सरकारले सकेको र पहिलेको पैसा नडुबोस् भनेर आफ्नो पालामा जहाज ल्याउने काममात्र गरेको कुरा बताउनुभएको थियो । उहाँले भन्नुहुन्थ्यो,‘ काम गर्दा विरोधीहरुले आलोचना गर्छन्, तर गल्ती नगरेपछि डराउनु पर्दैन भन्दै कुन पनि काममा हातै नहाली हात बाँधेर बस्ने हो भने मात्र यस्ता आलोचना सुन्नु पर्दैन ।’ वास्तवमा उहाँ आफू काम नगरी बस्नै नसक्ने र देशको समृद्धि र विकासको निमित्त सबै उत्तिकै क्रियाशील भइरहनुपर्छ भन्ने मान्यता राख्नुहुन्थ्यो । यत्रो धेरै वर्षपछि महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मघरलाई सरकारले अधिग्रहण गरेर संग्रहालाय बनाउने काम उहाँ मन्त्री भएकै बेलामा अघि बढ्यो । लेखनाथ साहित्य प्रतिष्ठानको उद्देश्यअनुसार हामीले प्रतिष्ठान स्थापना गरेको २० वर्षपछि सरकारले लेखनाथ जन्मस्थल विकास समिति घोषणा गर्ने तयारी गर्दै थियो, लोककवि अली मियाँको नाममा स्थापित अली मियाँ लोकवाङ्मय प्रतिष्ठानलाई स्थापनाको १६ वर्षपछि अली मियाँ संग्रहालयका निमित्त आर्थिक सहयोग प्राप्त भएको थियो । यसरी देशभरका यस्तै सयौं साहित्यिक सामाजिक तथा सांस्कृतिक संघ संस्थालाई आर्थिक राहत दिएर र छुटेकालाई क्रमश दिने गरी धेरै संघ संस्थालाई क्रियाशील बनाउँदै सबैको विश्वास जित्ने काम गर्नुभएको थियो । विभिन्न संघ संस्थाद्वारा सहयोगको अपेक्षासहित अनुरोध गरिएका र रवीन्द्रले अगाडि बढाएका फाइलहरु मन्त्रालयको डस्टबिनमा नफालिऊन् । नयाँ मन्त्रीज्यूले सांस्कृतिक सम्पदालाई जोगाउँदै नेपाली संस्कृतिलाई समृद्ध बनाउने उहाँको अभियानलाई सफल पार्न अगाडि बढ्नुहुनेछ भन्ने अपेक्षासहित हामी सबै रवीन्द्रका सिर्जना ‘समृद्ध नेपाल’ पुस्तकको भावलाई आत्मसात् गरी वर्तमान सरकारको ‘सुखी नेपाली समृद्ध नेपाल’ नारा सार्थक पार्न एकजुट भएर लागेमा मात्र उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ । अन्त्यमा उहाँप्रति समर्पण गरेर रचना गरिएको एउटा गीतसहित बिदा हुन्छु । धन्यवाद ।

प्रिय नेता रवीन्द्र अधिकारीको सम्झना

सबैको साझा व्यक्तित्व थियौ
अनेक संस्थाको नेतृत्व लियौ
कति फाटेका मनहरु सियौ
खुसी बाँडेर पीडाहरु पियौ

थोरै बोलेर धेरै काम ग¥यौ
शान्ति र विकासको सन्देश छ¥यौ
यात्राका कयौं जँघार त¥यौ
जनताको सेवामा सधैं अघि स¥यौ

देशले भरोसा राखेको थियो
जनताको आस्था र विश्वासको मियो
उज्यालो भविष्यको त्यो दियो
निभ्यो अचानक हुरीले ज्यान लियो

समृद्ध देशको सपना सजाई
सुस्पष्ट बाटोको नक्सा बनाई
शिखरमा पुग्न पाइला बढायौ
नियतिले रोक्यो जिम्मा लगायौ

तिमीले थालेका तमाम काम अधुरा
गर्नेछौ हामीले सबै नै ती पूरा
तिम्रै पदचाप पछ्याउने मन छ
संसारमै सर्वोत्कृष्ट देश बन्छ ।

Related News

सम्बन्धित समाचार

    • कांग्रेस नेतृत्वमा सर्वदलीय सरकार

      युवराज खनाल युवराज खनाल वैशाख २४, २०७८
      कोभिडको माहामारी विकराल बन्दै छ । संक्रमितको दर कहाली ाग्दो रुपले बढेको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या पनि…
    • आमाबासँगका रैथाने ज्ञान

      सुरेन्द्र थापामगर सुरेन्द्र थापामगर वैशाख २४, २०७८
      आमा ! यो शब्द नै काफी छ सम्मानका लागि संसारमा एउटामात्र सत्य यो छ कि मानवमात्रको होइन, सबै जीवजन्तुहरुको सबैभन्दा…
    • बिक्री र खुबीका कुरा

      शेषराज भट्टराई शेषराज भट्टराई वैशाख १८, २०७८
      हातको मैला सुनको थैला के गर्नु धनले ? साग र सिस्नु खाएको बेस आनन्दी मनले । महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा रचित…
    • ऐना

      इन्दु सुवेदी पौडेल इन्दु सुवेदी पौडेल वैशाख ११, २०७८
      उठेर बसेको सानो निधार । बांगिएको नाकको डाँडी । कालो र खस्रो छाला । साना चिमरिएका आँखा । घर छाडेर…
    • ‘अक्षरहरुको मूच्छर्ना’ भित्र लक्ष्मण थापा

      मदन भण्डारी मदन भण्डारी वैशाख ११, २०७८
      जनसंख्याको वृद्धिसँगै कविहरूको संख्या बढेको छ । यतिखेर बाँसको झ्याङझैं कविहरू झ्याँगिएका छन् । बाँसको ठूलो झ्याङमा उपयोगी बाँस छान्न…

    hero news full width

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग