नेपालको स्वास्थ्य क्षेत्रका समस्या र समाधान

आदर्श समाज सम्वाददाता
फागुन ६, २०७१

एउटा समय थियो, झाडापखाला, झाडा बान्ता लागेर थलिएका विरामीहरूलाई पानीको थोपा समेत खान दिइँदैनथ्यो। धामी झाँक्री देखाइन्थ्यो। विरामी निको गराउने निहुँमा कालो बोका, कालो कुखुरा मन्साइन्थ्यो र भूत, प्रेत, भैरव, बोक्सी आदि नानाभाँतिलाई पन्छाइन्थ्यो। तर रोग रोगीसँगै। पखालाका विरामीलाई पानी नदिने यस्तो प्रथा एक दुर्इ दशक अघिसम्म पनि नेपालमा छ्याप्छ्याप्ती थियो। वास्तवमा झाडापखाला लागेका विरामीलाई बढीभन्दा बढी पानीको आवश्यकता पर्छ। तर उसैलाई पानीको थोपा समेत खान नदिनु, परम्परागत अन्धविश्वासको उपज हो र सँगसँगै चेतनाको कमी। यो त एक उदाहरण मात्रै हो। अझै पनि गाउँघरमा टाउको दुखेमा या सामान्य विसन्चो भएमा फलानीले हेरेकी थिई, के टुनामुना गरिदिई र यस्तो भयो भन्ने अन्धविश्वासी जमात जीवित छ। हुन त विगतमा जस्तो अति अन्धविश्वास अहिले छैन, बिस्तारै हट्दै र घट्दै गएको छ। तर व्यक्तिको स्वास्थ्यलाई चुनौतीका रूपमा खडा भएका यस्ता कुरीतिलाई पूर्णतः हटाउन आवश्यक छ। पुराना रूढीवाढी परम्पराप्रतिको विश्वास पूर्णतः नहटेकै कारणले गर्दा यस्ता परम्परागत अवैज्ञानिक उपचार पद्धतितिर मानिसको मन गएको हो। अझै पनि विरामी हुँदा अस्पताल नगई धामी, झाँक्री, लामाकहाँ झारफुक गर्न धाउने र रोग निको हुने आश गर्ने व्यक्ति सयौँ छन्।

यस्तो विकराल चुनौतीको वाबजुद पनि नेपाली समाजले स्वास्थ्य क्षेत्रमा विगतको तुलनामा फड्को नै मानेको मान्नुपर्छ। झाडापखाला लागेमा जीवन जल खानुपर्छ भन्ने सबैजसोले बुझेका छन्। धेरैजसो व्यक्तिले रोग लागेमा अस्पताल र स्वास्थ्य चौकीमा जानुपर्छ भनेर जानेका छन्। अनि रोग निको पार्न रोग अनुसारको औषधि खानुपर्छ भन्ने कुरा पनि बुझेका छन्। वर्तमान समयमा सबैमा स्वास्थ्यसम्बन्धी चेतना हुनु हामी सबैको गौरवको कुरा हो। अब एकपल्ट यता पनि सोच्नु पर्छ कि, के नेपालमा स्वास्थ्य सुविधा आम नागरिकको पहुँचमा छ त ?

नेपालको स्वास्थ्य सेवा सुविधा आम नागरिकको पहुँचमा देखिँदैन। सँगसँगै स्वास्थ्य शिक्षा, चिकित्सा शास्त्रतर्फको अध्ययन समेत आम नागरिकको पहुँचभन्दा बाहिरको कुरा भएको छ। पहिले कुरा गरौ स्वास्थ्य सेवा, सुविधाको सहज पहुँचको बारेमा। हामीकहाँ स्वास्थ्य सेवा प्रभावकारी ढंगले न्यून आय स्तर भएका मान्छेको पहुँचमा जहिलेसम्म पुग्दैन, तबसम्म नेपालमा स्वस्थ जनशक्ति तयार पाछौर्ं भन्ने महंगा आश्वासन बाँडेर केही उपलब्धि हुँदैन। नेपालको छिमेकी राष्ट्र भारतका केही राज्यहरूमा नागरिकलाई निःशुल्क स्वास्थ्य र शिक्षा उपलब्ध गराइएको छ। रासन कार्डको व्यवस्था गरिएको समेत पाइन्छ त्यहाँ। तर हाम्रो देशमा अझै पनि सिटामोल नपाएर, जीवनजल नपाएर ज्यान गुमाउन बाध्य जनता यहाँ छन्। यतिबेलाको आवश्यकता, राजधानीका तारे होटलमा देश स्वस्थ बनाउन डुलिरहेका आयोजनाहरूले देशको कुना कन्दरासम्म पुगेर आम नागरिकको स्वास्थ्योपचारलाई निःशुल्क र सहज बनाउनु हो।

अर्को कुरा नेपालको आधाभन्दा बढी जनसङ्ख्या अझै पनि गाउँमै रहन्छन्। तर स्वास्थ्यसम्बन्धी जे जति सेवा सुविधा उपलब्ध छन, ती सबैजसो सहरमै केन्द्रित छन्। के नेपाल भनेको राजधानी मात्रै हो या नेपाल भनेको चिल्ला गाडी कुद्ने, सुटेट बुटेट मानिसको जमात हुने सहर मात्रै हो – यदि हो भने त सोच्नुपर्ने ठाउँ नै देखिँदैन। तर होइन भने एकपल्ट सोच्नै पर्छ, तारे होटलका आयोजनाहरूले ती गाउँका जनताप्रति र ती गाउँका मानिसहरूको स्वास्थ्य अवस्थाप्रति। यो त स्वास्थ्य सेवाको पहुँच सबैमा पुर्‍याउनतर्फ ध्यान दिनुपर्ने कुरा भयो। स्वास्थ्य सेवाको पहुँच पुगेको ठाउँमा समेत गुणस्तरीय सेवा उपलब्ध छैनन्। चिकित्सकको लापरवाहीले विरामीको ज्यान गएका उदाहरण धेरै छन् जसका कारण नेपालका धेरै अस्पतालहरूले तोडफोड, धर्ना, क्षतिपूर्र्ति आदिको साक्षी बन्नु परेको छ। यसर्थ नेपालमा प्रदान गरिँदै आएको स्वास्थ्य सेवा र सुविधाको नियमित नियमन तथा जाँच जरूरी रहेको देखिन्छ। आम नागरिकको स्वास्थ्यमा सरोकार राख्ने औषधि कम्पनीहरू, अस्पताल, मेडिकल कलेजहरू सबैले कताकता नागरिकको स्वास्थ्यमाथि खेलाँची गरेको जस्तो देखिन्छ। सायद प्रा.डा गोविन्द केसी स्वास्थ्य सेवाको सुधारका लागि पटकपटक अनसन बस्नुको रहस्य यस्तै गतिविधिका विरूद्धमै हुनुपर्छ। प्रा.डा. केसीलाई मान्नैपर्छ, आफ्नो स्वास्थ्यको ख्याल समेत नगरी आम नागरिकको स्वास्थ्यमा प्रतिकूल असर पर्ने कदमका विरुद्ध सधै आफूलाई उभ्याउनु भयो उहाँले। तर नेपालमा पैसामुखी चिकित्सक धेरै छन् जो पैसाका लागि जे पनि गर्न तयार हुन्छन्। कमिसनको चक्करमा लागेर मात्रा नपुगेका कमसल औषधिको समेत प्रयोग गर्न सल्लाह दिन भ्याइरहेका छन्। तर त्यस्ता औषधिमा, डाक्टरले प्रयोग नगर्नु, चिकित्सकका सन्तानले प्रयोग नगर्नु लेखेको त हुँदैन। भोलि त्यस्ता नक्कली औषधि प्रयोगको असर डाक्टरकै परिवारजनमा समेत देखिन सक्छ। डाक्टरसाब, एकपल्ट सोच्ने पो हो कि ?

स्वास्थ्य क्षेत्रमा धेरै चिकित्सकहरू पैसा सोर्हर्न आत्तिएरै हुनुपर्छ, अस्पताल, मेडिकल, घरघराना चारैतिर भ्याइरहेका छन्। अनावश्यक जाँच गर्न लगाउँछन्, अनावश्यक औषधि भिडाउँछन्। उनीहरूलाई विरामीको स्वास्थ्यसँग खासै केही सरोकार हुँदैन। दिनहुँको आम्दानीले प्रमुख भूमिका खेल्दछ। माफियाकरण बढेको छ, सँगसँगै माफियाहरूलाई राजनीतिक मिलेमतोमा संरक्षण प्रदान भइरहेको छ। तसर्थ उनीहरूको कर्तूत वैधानिक बनेको छ। मैले यसो भनिरहँदा केही आदर्शवादी, देशभक्त र सच्चा सेवक डाक्टरसाबहरूको मन अवश्य दुख्न सक्छ। म हार्दिक नमन गर्दछु ती राष्ट्रसेवक डाक्टर साबहरूलाई जसले सदासदा विरामीको स्वास्थ्य सुधारका लागि निरन्तर आफ्नो समय, सीप र जाँगर लगाइरहनु भएको छ। हामीकहाँ जनताको सेवामा समर्पित डा. चित्रप्रसाद वाग्लेहरू आफै उपचार नपाएर मरिरहेका छन्। यसतर्फ पनि राज्यको ध्यान जानु जरूरी छ।

हुन त, टाउको दुख्दा पाठेघर गुमाउने महिलालाई थाहा हुनुपर्छ, यो देशको स्वास्थ्य उपचारको अवस्था या त जीवनजल नपाएर ज्यान गुमाइरहेका कर्णालीबासी जनताहरूलाई थाहा हुन सक्छ। कि त मुटुको उपचार गर्दा कलेजोको शल्यक्रिया भएका विरामीलाई थाहा हुन सक्छ, देशको स्वास्थ्य अवस्था। गाउँ, घर टोल, छिमेकमा १०-१२ वर्ष टेकेका केटाकेटीलाई गएर सोध्नुस्, बाबु नानी तिमी पढेर के बन्ने – भनेर। १०० मा ५० जति बालबालिकाले डाक्टर, नर्स बन्ने सपना सुनाउँछन्। तर हामीकहाँ चिकित्सा शास्त्र अध्ययनका लागि शैक्षिक क्षमता र योग्यता भएका मानिसहरू समेत जीवनयापनकै लागि चक, डस्टरसँग खेलिरहेका छन्। किन भन्दा स्वास्थ्य सुविधा सँगसँगै स्वास्थ्य शिक्षा पनि महंगो हुँदैछ। अध्ययनमा कमजोर नै भए पनि लाखाँ रूपैयाँ खर्च गर्ने योग्यता भएका व्यक्तिहरूको पहुँचमा स्वास्थ्य शिक्षा रहेको छ। यो अर्को दुःखद पक्ष हो। अब सोचौँ, लाखाँ रूपैयाँ खर्च गरेर, घर घडेरी बन्धक राखेर छोरालाई डाक्टर बनाएका बाबुआमाले के छोराबाट राष्ट्र सेवा मात्रै अपेक्षा गर्दछन् ? त्यही लाखाँ रूपैयाँको व्याज र साँवाले पटक-पटक झस्काउँछ। अनि के त्यो मान्छेले, आफू मरेर अरूलाई बचाउला ? तसर्थ स्वास्थ्य सुविधा गुणस्तरीय बनाउन, स्वास्थ्य शिक्षाको पहुँच सबैमा पुग्न अत्यावश्यक देखिन्छ। अझ भनौँ स्वास्थ्य शिक्षा राज्यले निःशुल्क प्रदान गर्न सक्नुपर्छ।

वर्तमान सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकको स्वास्थ्य सुधारका लागि केही आशा लाग्दा अवधारणा अगाडि सारेको छ। जस्तो कि, साठी वर्ष उमेर काटेका बृद्धबृद्धालाई उपचारमा पचास प्रतिशत छुट गर्ने, बृद्धबृद्धा, अपा·लाई सहज स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउने, सँगसँगै पाँच वर्षभित्र देशबासी सबैको पचास हजार रूपैयाँ प्रति व्यक्तिको दरले स्वास्थ्य विमा गराउने, भन्ने खालका सकारात्मक परिवर्तनकेा पाइला अगाडि बढाउन थालेको देखिन्छ। यो सराहनीय एवम् प्रशंसनीय काम हो। तर यस अवधारणालाई व्यावहारिकतामा कसरी लैजाने भन्ने चाहिँ अर्को जटिल पक्ष हो। सानै भए पनि जनताले राहत पाउने यो अवधारणाले मूर्त रूप पाओस् भन्ने सबैका अपेक्षा छ।

साथसाथै वर्तमान अवस्थामा स्वास्थ्य सेवा गरिब, असहायको पहुँचमा पुग्ने खालका कार्यक्रमहरू सञ्चालन गर्ने स्वास्थ्य कार्यालयका कर्मचारीको पारदर्शिता कायम गर्ने, सरकारी अस्पतालमा नियमित ड्युटीमा डाक्टरहरूलाई उपस्थित गराउने, गाउँ गाउँमा स्वास्थ्य सेवा र सुविधा जनता समक्ष पुर्‍याउने, स्वास्थ्य शिक्षा र सेवामा भएको कमिशन खोरी, माफिया तन्त्रको जरा उखेल्ने स्वास्थ्य शिक्षा, चिकित्सा शास्त्रको अध्ययन राज्यले निःशुल्क प्रदान गर्ने अवस्था तयार गर्नु आजको आवश्यकता समेत हो। नागरिकको स्वास्थ्यमाथि खेलवाड गर्ने जोसुकै माथि समेत कारवाही गर्न सक्षम नीति, नियम निर्माणको समेत टड्कारो आवश्यकता छ। यस विषयतर्फ सबैको ध्यान जाओस्।

Related News

सम्बन्धित समाचार

  • मेरो ओलम्पिक यात्रा संस्मरण

    आदर्श समाज सम्वाददाता असाेज ९, २०८१
    -तेजबहादुर गुरुङ ओलम्पिक सहभागिता जुनसुकै खेलाडीको लागि अन्तिम लक्ष्य हो । लामो समय खेल क्षेत्रमै जीवन समर्पण भएकाले मेरो निम्ति…
  • ‘स्व’ को खोजीमा प्रतीक्षा

    कृष्णप्रसाद बस्ताकोटी श्रावण ८, २०८१
    मूलतः मानिस धनको लालचले या त प्रख्यातिको भोकले तानिन्छ र यावत् कर्महरूमा यसरी जोगिन पुग्छ –कृष्णप्रसाद बस्ताकोटी चर्चित साहित्यकार सरस्वती…
  • गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण

    हरिबन्धु अर्याल जेठ २९, २०८१
    मुलुकको संवैधानिक प्रावधान र संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको काम हुँदै आएको छ…
  • नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)

    शेषराज भट्टराई जेठ १२, २०८१
    नमच्चिने पिङले झड्का मात्रै दिन्छ । चाहे लभका मामलामा होस् या जबका मामलामा अर्थात् सबका मामलामा काम नगर्ने मान्छेले गफ…
  • बालकथा : मौकाको साटो

    दिनेश बस्नेत जेठ १२, २०८१
    नेपालको पश्चिम भेगमा सुन्दा पनि अचम्म लाग्ने दुईओटा गाउँ थिए । एउटा लिखापुर र अर्काे भुसुनापुर । दुई गाउँको बिचमा…

hero news full width