नेपालको पर्यटन : समृद्धिको आधार

हरि शर्मा
फागुन ३, २०७५

नेपाल विश्वमा रहेका कुनै पनि देशहरूसँग तुलना गर्न नमिल्ने अतुलनीय भूपरिवेष्ठित मुलुक हो। अझ भनौँ प्रकृतिको उपहारको रूपमा सृजित स्वर्गको एक टुक्रा हो। यहाँको जैविक विविधता, प्राकृतिक सौन्दर्य, भाषिक सांस्कृतिक एकता, तराई, पहाड र हिमालको छुट्टाछुट्टै वातावरणीय विविधता, अतिथि देवो भवः भन्ने यहाँका मानिसहरूको संस्कार, परिवेश अनुपम रहेकाले बाहिरी मुलुकबाट आउने जो सुकैको पनि मन लोभ्याउने वातावरण भएको देश हो।

सांस्कृतिक, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको तथ्याङ्कको आधारमा सन् २०१६ मा ५ लाख १४ हजार ३७५, सन् २०१७ मा ६ लाख ४४ हजार ९५७ र सन् २०१८ मा ७ लाख ७२ हजार ४६० बाह्य पर्यटकहरूले नेपालको भ्रमण गरेको देखिन्छ। नेपाल आउने पर्यटकहरूको सङ्ख्या पनि वार्षिक रूपमा क्रमशः १ लाख ३० हजार ५८२ र १ लाख २७ हजार ५०३ ले वृद्धि हुँदै गएको पाइन्छ। ती पर्यटकहरूको नेपाल बसाईँको समयावधि बढाउन सकेमा नेपालको कुल गार्हस्थ उत्पादनमा यसले अझै बढी टेवा पुर्याउने छ। सन् २०१७ को समग्र जिडिपीमा पर्यटनले ३.५ प्रतिशत योगदान दिएको छ भने सन् २०१८ मा यसले अझै बढी योगदान गर्ने देखिन्छ।

नेपाल पर्यटनको दृष्टिकोणबाट हेर्दा अथाह सम्भावना बोकेको देश हो तर व्यापक प्रचार प्रसारको अभावमा यसले जति गति लिनुपर्ने थियो त्यति गति लिन भने सकेको पाइँदैन। तैपनि वार्षिक रूपमा नेपाल आउने वाह्य पर्यटकको सङ्ख्या बढ्दै गएको माथिको तथ्याङ्कबाट प्रष्ट हुन्छ। जसलाई आन्तरिक पर्यटकहरूले पनि टेवा पुर्याइरहेका छन्। आफ्नै देश घुम्ने आन्तरिक पर्यटकहरूको सङ्ख्या पनि दिनानुदिन बढ्दै गइरहेको छ। जुन पर्यटन विकासको लागि सकारात्मक पक्ष हो। जसले गर्दा दिगो विकास, स्वरोजगारी, विभिन्न क्षेत्रहरूको भाषिक, सांस्कृतिक रीतिरिवाजहरू प्रचारप्रसार एवम् सम्बोधन गर्नमा सहयोग पुगेको छ।

तुलनात्मक र प्रतिस्पर्धात्मक लाभका दृष्टिले मुलुकको आर्थिक विकासको प्रमुख मेरुदण्ड भनेको पर्यटन नै हो। यसले मुलुकमा रोजगारी सिर्जना, विदेशी मुद्रा आर्जन, समग्र आर्थिक विकास र समुन्नतिमा टेवा पुर्याउँदै आएको छ। यसले मुलुकमा रहेका सम्पूर्ण सांस्कृतिक सम्पदाहरूको संरक्षण र विकास गरी तिनको आर्थिक उपयोग गर्ने तथा पर्यटनलाई मुलुकको आर्थिक आधारका रूपमा ग्रामीण तहसम्म विकास र विस्तार गरी यसको प्रतिफल जनजीवनको तल्लो तहसम्म पुर्याउन संस्कृतिक र पर्यटन क्षेत्रको विविधीकरण, विस्तार र प्रवद्र्धन गरिनु आवश्यक छ। पर्यटन क्षेत्रको समग्र विकास र विस्तारसहित यहाँका पूर्वाधारहरूलाई भरपर्दो, सुरक्षित र स्तरीय बनाउँदै आन्तरिक पर्यटनलाई पनि प्रवद्र्धन गरिनु पर्छ।

पर्यटन मन्त्रालयले सन् २०२० सम्ममा बाह्य पर्यटकहरूको सङ्ख्या दस लाख पुर्याउने महत्वाकाङ्क्षी गुरुयोजना अगाडि ल्याएको छ। त्यसका लागि मन्त्रालयले थुप्रै चुनौतीहरूको सामना गर्नुपर्ने देखिन्छ।  मन्त्रालयका महत्वाकाङ्क्षी योजनाका चुनौतीहरू पर्यटक क्षेत्रहरूमा अझै पनि पर्याप्त लगानीको अभाव, सीमित ठाउँहरूमा मात्र हवाई सेवाको उपलब्धता, विभिन्न एजेन्सीहरूसँगको कमजोर सहकार्य, सार्वजनिक र निजी संस्थाहरूको कमजोर साभेmदारी, पर्यटकहरूको पदमार्ग केही सीमित भौगोलिक क्षेत्रहरूमा मात्र भएको हुँदा यी चुनौतीहरूलाई पूरा गर्न सकेमा मन्त्रालयको योजनाले पूर्णता पाउने छ।

नेपालमा राजनीतिक परिवर्तनका कारण केही दशक पहिलेसम्म देशको पर्यटन, आर्थिक, सामाजिक र समग्र विकासको गति विकराल थियो। राजनीतिक क्रान्तिका लागि “जिन्दावाद र मुर्दावाद” को पछाडि दौडिने नेपाली समाज यतिबेला भने समृद्धिको नारामा लयबद्ध हुँदै अगाडि बढ्दै गएको देखिन्छ। केही राजनीतिक दल र व्यक्तित्वहरू बाहेक अहिले सबैको उद्देश्य दिगो विकास, समृद्ध नेपाल र खुसी नेपाली भएको छ। नेपालको संविधानको मर्म पनि यही हो।

समृद्धिको विषयमा मूलक एकमत छ केही अपवाद बाहेक त्यसमा कुनै मतमतान्तर र दुविधा छैन। तर त्यसको कार्यविधि कस्तो हुने, विकासको योजना कसरी स्वतस्पूmर्त गर्ने त्यसबारे छलफल, विचार विमर्श कतै गरेको पाइँदैन। तर पनि निजी क्षेत्रले थालेका प्रयासहरू भने निकै उत्साहजनक छन्, मुख्यत पर्यटन, ऊर्जा, पूर्वाधार विकासमा निजी क्षेत्रले गरेको प्रयास अनुकरणीय देखिन्छ।

देशको अहिलेको विकासक्रम र निजी क्षेत्रले पर्यटन, कृषि, ऊर्जा लगायतका क्षेत्रमा गरेको लगानी देख्दा अबको एक, दुई दशकमा नेपालले समग्र विकासको सफलताको चुचुरो पार गर्दै आफूलाई अल्पविकसित देशबाट विकसित देशसम्म पुर्याउने कुरामा कुनै शङ्का छैन।

नेपालको अर्थतन्त्रको प्रमुख स्रोत भनेको पर्यटन, कृषि र ऊर्जा हो। त्यसमध्ये थोरै लगानीमा अधिकतम फाइदा लिन सक्ने, अधिकांश मानिसहरू स्वरोजगार बन्नसक्ने, थोरै पूँजीबाट पनि अधिकतम् लाभ लिन सक्ने क्षेत्र भनेको पर्यटन नै हो। पर्यटन प्रवद्र्धनलाई मध्यनजर गरेर निजी क्षेत्रले भरमग्दुर रूपमा आफ्नो योजना अगाडि बढाइरहेका छन्। जसले गर्दा पर्यटन प्रवद्र्धनमा सहयोगीको भूमिका खेलिरहेका छन्।

सरकारले पर्यटन, कृषि र ऊर्जालाई पूर्ण रूपमा विकास गर्नको लागि निजी क्षेत्रसँग सहकार्य गरी देशलाई समृद्ध र विकसित मुलुक बनाउने प्रमुख दायित्व लिनुपर्छ। नेपालीमै औद्योगिक कारखाना खोली पलायन हुन लागेका युवा जनशक्तिलाई विदेशिनबाट रोक्नु पर्दछ। आप्mनो देशमा भविष्य अन्यौल देखी उज्ज्वल भविष्यको खोजीमा विदेशिएका शैक्षिक जनशक्तिलाई रोकी आफ्नै देशमा रोजगारी प्रदान गर्न सके देशले छिट्टै नै समृद्धिको लक्ष्य हासिल गर्न सक्ने देखिन्छ।

(लेखक, गण्डकी बोर्डिङ स्कूल लामाचौर पोखरामा कार्यरत छन्।सं.)

Related News

सम्बन्धित समाचार

hero news full width