नेतृत्वमा धैर्यता र राजनीतिमा स्थिरता

Avatar उपप्रा. रामप्रसाद सुवेदी
चैत्र ६, २०७६

विश्वका जुन मुलुकले क्रान्तिपछि राजनैतिक रुपमा स्थिरता प्राप्त गरे , ती मुलुकहरुको विकासले एउटा लय समातेको देखिन्छ । अमेरिकाले सन् १७७५ को स्वतन्त्रता संग्रामपछि सन् १७८९ मा संविधान बनायो र एक किसिमको राजनैतिक स्थिरता प्राप्त गर्यो ।

नेपाली शब्दकोशका अनुसार प्रजाको शान्तिसुरक्षा कायम गर्ने मौलिक अधिकारको कदर गर्ने, राज्यको शासन व्यवस्थाको प्रणाली निर्धारण गर्ने, राष्ट्रिय र अन्तर्राष्ट्रिय नीतिको उपयुक्त सन्तुलन गर्ने कार्य राजनीति हो । सोही शब्दकोशले भनेको अर्थलाई केलाँउदा राजनीति देशको मूल नीति हो । हरेक कुराको केन्द्रमा राजनीति रहेको हुन्छ । राजनीतिसँग धैर्यता र स्थिरता पनि जोडिएका हुन्छन् । कुनै पनि सङ्कट वा कठिनाइका बेलामा विचलित नभई शान्त रहने मानसिक गुण धैर्य हो । धैर्य रहनु धैर्यता हो ।

सामान्यतयाः कुनैपनि कुरामा प्रतिक्रिया जनाउँदा उत्ताउलो नहुने, आत्तुरी नगर्ने कार्य धैर्यता हो । यदि व्यक्तिले धैर्यता ग्रहण गर्दछ भने उसका क्रियाकलापमा स्थिरता देखिन्छ । त्यसैले राजनीतिसँग धैर्यता र स्थिरता जोडिएका हुन्छन् । एउटै सिक्काका दुईवटा पाटालाई तुलना गर्दा एकातिर राजनीति रहेको हुन्छ, भने धैर्यता र स्थिरता अर्काे पाटोमा रहेका हुन्छन् ।

धैर्यता र स्थिरताले राजनीतिलाई लयमा ल्याउँदछन् । अनि राजनीतिकै कारणले विकास र समृद्धि अगाडि आउँदछ । विश्वका जुन मुलुकले क्रान्तिपछि राजनैतिक रुपमा स्थिरता प्राप्त गरे , ती मुलुकहरुको विकासले एउटा लय समातेको देखिन्छ । अमेरिकाले सन् १७७५ को स्वतन्त्रता संग्रामपछि सन् १७८९ मा संविधान बनायो र एक किसिमको राजनैतिक स्थिरता प्राप्त गर्यो । त्यहाँ अहिले चुनावको बेलामा मात्र राजनैतिक गतिविधि देखिन्छन् नत्र उनीहरु विकास र संमृद्धि बाहेक केही कुरा बोल्दैनन् ।

फ्रान्समा सन् १७७९ मा राज्यक्रान्ति सुरु हुनुभन्दा पहिला राजनैतिक अस्थिरता थियो । राजा महाराजा र धार्मिक सम्प्रदायका ठालुले आफूलाई मात्र देशको ठेकेदार मान्दथे । उनीहरुले हामीलाई ईश्वरले शासन गर्न पठाएको, नागरिकको काम शासकहरुको सेवा गर्ने हो भन्दथे । त्यहाँ १० प्रतिशत व्यक्ति जो आफूलाई ईश्वरको वरदान मान्दथे उनीहरु आफूमात्र शासनको सर्वेसर्वा ठान्दथे । त्यतिबेला फ्रान्समा १० प्रतिशत मानिसहरु अजीर्ण भएर मर्दथे र ९० प्रतिशत मानिसहरु भोकभोकै मर्दछन् भनिथ्यो । त्यसपछि त्यहाँ राजनैतिक चेतना चाँडो–चाँडो फैलियो । जनताको धैर्यताको बाँध फुट्यो, लुई १६औँ को टाउको काटियो र राजनैतिक रुपमा त्यसको लामो समयपछि संसदले गणतन्त्रको पक्षमा मतदान गरेपछि स्थिरता प्राप्त ग¥यो ।

प्रथम र द्वितीय विश्वयुद्ध पनि राजनैतिक अस्थिरताका कारण थिए । त्यतिबेला युरोपका धेरैजसो मुलुकमा प्रजातान्त्रिक शासन व्यवस्था थिएन । तिनीहरुको सिमाना निर्धारण थिएन । शक्तिशाली मुलुकले कमजोर मुलुकलाई जहाँ जतिबेला पनि आफ्नो कब्जामा लिन सक्दथ्यो । विकास र समृद्धिभन्दा पनि सिमाना बढाउने ध्याउन्नमा राज्यहरु रहेका हुन्थे । कतिपय मुलुकमा त बेलुका सुत्दा एउटा देशको नागरिक बिहान उठ्दा अर्कै देशको भएर उठ्दथे ।

द्वितीय विश्वयुद्ध समाप्तिपछि युद्धलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आयो । विश्वका शक्तिशाली संगठनका रुपमा संयुक्त राष्ट्र संघ स्थापना भयो । विभिन्न मुलुकहरुको सिमाना निर्धारण भयो । यसरी युरोपियन मुलुकहरुले राजनैतिक स्थिरता प्राप्त गरे । अहिले उनीहरु विकास र समृद्धिका लयमा रहेका छन् । राजनैतिक स्थिरताका सन्दर्भमा दक्षिण एसियाका मुलुकहरु भने कमजोर रहे । धेरैजसो मुलुकहरु (नेपाल बाहेक) लामो समय बेलायतको उपनिवेशमा रहे । उनीहरुमा आफ्नै देशको आफ्नो पन रहेन ।

बेलायतबाट स्वतन्त्रता प्राप्त गरेपछि भारत र पाकिस्तान टुक्रियो यसले पनि केही समय अस्थिरता ल्यायो । फेरि बंगालादेश सन् १९७१ मा पाकिस्तानसँग टुक्रियो । बंगलादेश र पाकिस्तान लामो समयसम्म राजनैतिक रुपमा अस्थिर रहे । एउटा शासनमा जान्छ, अर्काेले छिर्के दाउ हान्ने जस्ता कार्यले विकास र सम्वृद्धिमा पछि परे । श्रीलंका सन् १९५८ मा स्वतन्त्र भए पनि लामो समयसम्म राजनैतिकरुपमा अस्थिर नै रह्यो । तर त्यहाँ अहिले भने स्थिरता देखिँदै छ ।

आदिम कालदेखि कसैको उपनिवेशमा नपरेको मुलुक नेपाल हो । तर राजनैतिक रुपमा यसले अझै पनि बेला बेलामा धैर्यता र स्थिरता गुमाउँदै आइरहेको छ । नेपाल एकीकरण भएपछि, त्यतिबेला पार्टी पद्धति थिएन । शाहकालमा पार्टी भनेकै दरबारका रानीहरु हुन्थे । राजाले धेरै विवाह गर्थे, अनि धेरै रानीहरु भएपछि उनीहरु आफू अनुकूलका व्यक्तिलाई लिएर गुट बनाउँथे । जुन गुट शक्तिशाली हुन्थ्यो, उसको सत्ता हुन्थ्यो ।

त्यतिबेला विरोधीलाई कि मारिन्थ्यो, कि जेलमा कोचेर दुःख दिने, निर्वासनमा पठाउने काम हुन्थ्यो । राणा कालमा दरवारिया गुटहरु यथावत् प्रचलनमा रहे र भाइ, भारदारी शासन सुरु भयो । ल्याइता र विवाहिता भन्ने लेवल लगाइयो । विवाहिताहरु प्रधानमन्त्रीको रोलक्रममा परे तर त्यस अधिकारबाट वञ्चित ल्याइता राणाका सन्तानहरुले भने भित्र भित्र चलखेल गर्न लागे र राजनैतिक अस्थिरता प्रवलरुपमा दखियो तैपनि जसो तसो १०४ वर्षसम्म उनीहरुले शासन गरे ।
वि.सं. २००७ सालमा प्रजातन्त्र आइसकेपछि २०१५ सालसम्म राजनैतिक रुपमा नेपाल अस्थिर नै रह्यो । कुनै पनि सरकारले एकवर्ष ढुक्कले शासन गर्न सकेका थिएनन् । त्यतिबेला अस्थिरताको मूल जड राजा थिए । उनले आफूलाई मन लागेको मान्छेलाई प्रधानमन्त्री नियुक्त गर्दथे । फेरि आफै पदच्युत गर्दथे । वि.सं. २०१५ सालमा चुनाव भयो । नेपाली कांग्रेसले बहुमत ल्यायो । वि.पी. कोइरालाको अध्यक्षतामा मन्त्रिमण्डल गठन भयो, तर उक्त सरकार एक बर्ष भन्दा टिकेन, उही अस्थिरता दोहोरियो । महेन्द्रले धैर्य गर्न सकेनन् ।

हिजो चुनावबाट सुबिधाजनक बहुमत ल्याएर पटक–पटक सरकारको नेतृत्व गरेको कांग्रेस पार्टी अहिले सातवटै प्रदेशमा खुट्टो टेक्ने ठाउँ समेत नपाएर जसरी रक्षात्मक प्रतिपक्ष भएको छ । त्यसैगरी ने.क.पा. सरकारले पनि जनअपेक्षा अनुसार काम गर्न नसके त्यस्तै स्थिति आउने चुनावमा जनताले नपु¥याउलान भन्न सकिंदैन ।

वि.सं. २०१७ सालदेखि राजा महेन्द्रले निर्दलीय पञ्चायती व्यवस्था लागू गरे । बेला बेलामा नेपाली कांग्रेस र अन्य पार्टीहरुले आन्दोलन गरिरहे । २०४६ सालमा संयुक्त आन्दोलन चल्यो, सफल भयो र बहुदलीय व्यवस्था लागू भयो । २०४७ सालमा चुनाव भयो । नेपाली कांग्रेसले बहुमत ल्याउन सफल भयो । त्यतिबेला विपक्षीहरुले सरकार विरुद्ध आन्दोलन त गरिरहन्थे तर आफ्नै पार्टीका नेता र सांसदहरुले धैर्यता गुमाए । बहुमतको नेपाली कांग्रेसको सरकार ढल्यो । फेरि उही चलखेल र अस्थिरता सुरु भयो ।

माओवादीहरु पनि शासन सत्तामा चुनावबाट जाने सम्भावना देखेनन् र वैकल्पिक बाटोको खोजीमा लागे फलस्वरुप हतियारयुक्त आन्दोलन गर्न थाले । २०५१ सालमा ने.क.पा. एमालेको सरकार गठन भयो । उक्त सरकार पनि ९ महिनाभन्दा बढी टिकेन । पटक–पटक सरकार परिवर्तन भइरहे । सांसद खरिद विक्री र वर्षै पिच्छे सरकार परिवर्तन भइरहे । पाटीहरुले देशको विकास समृद्धि भन्दा पनि आफू कसरी सत्तामा जाने र प्रधानमन्त्री हुने भन्ने मात्र ध्यान दिए । माओवादी द्वन्द्वले देश एउटा युद्धको भूमरीमा फँस्यो । अरु पार्टीका क्रियाकलापहरु छायामा परे । देशमा दैनिक अपहरण तथा मारकाट मात्र चलिरह्यो ।

२०६२÷०६३ सालमा माओवादी सहित दोस्रो संयुक्त जनआन्दोलन भयो । उक्त आन्दोलनले गणतन्त्र स्थापना ग¥यो । २४० वर्षको राजतन्त्र समाप्त भयो । संसद पुनःस्थापना भयो । वर्षौसम्म किनारा लगाइएका बञ्चित वर्गसहित समावेशीकरणको संसद बन्यो । २०६४ सालमा पहिलो संविधान सभाको चुनाव भयो । उक्त संविधान सभाले विभिन्न जात, जाति, धर्म, वर्ण, लिङ्ग, भौगोलिक क्षेत्र सहितको समावेशी संसद बनायो । तर उक्त संविधान सभाले संविधान बनाउन सकेन बरु धेरै प्रधानमन्त्री बनाउने, अस्थिर सरकार र राजनैतिक चलखेललाई प्रश्रय दियो । वि.सं. २०७० सालमा बनेको दोस्रो संविधान सभाले २०७२ साल असोज ३ गते संविधान जारी गर्‍यो ।

संविधान जारी भएपछि संसद, प्रदेश र स्थानीय निकायको चुनाव भयो । संविधानको मर्मअनुसार धेरै पार्टीहरु एकीकरण भए । एमाले र माओवादी एकीकरण भएर ने.क.पा. बन्यो । चुनावपछि उक्त पार्टीले बुहमत ल्यायो । के.पी.ओलीको अध्यक्षतामा मन्त्रीमण्डल गठन भयो । उक्त सरकारले करिब २ वर्ष नबिताउँदै प्रतिपक्ष पार्टीको भन्दा आफ्नै पार्टीका सहपाठीहरु धैर्यताको बाँध फुटाउन लागेका छन् । अहिले राजनैतिक केन्द्रमा प्रचण्ड रहेका छन् । उनलाई थाहा छ यो सरकार गठन भएको पाँचवर्ष हो । तर आफै अधैर्य बन्दै कहिले कसलाई उचाल्ने, कहिले कसलाई थेचार्ने गर्दै हिड्ेका छन् । लामो समयसम्म अस्थिर सरकार भोगेका नेपाली जनताहरु राजनैतिक अस्थिरता, विकास, सम्वृद्धि र स्थायीत्वको अपेक्षा गरेका छन् । तर पार्टीका नेताहरु, व्यापारी र तस्करहरुसँग गोप्य बैठक गरेर सरकार परितर्वन गर्ने क्रममा कस्सिएर लागेका छन् ।

नेपालको राजनीतिमा पुष्पकमल दाहाल(प्रचण्डको) ठूलो योगदान छ । वर्र्षाैसम्म मूलधारबाट बाहिर रहेका वर्गहरु उनको नेतृत्वमा भएको जनयुद्धकै कारणले मूलधारमा आएका छन् । वर्षाैसम्म बञ्चितीमा परेका वर्गहरु मुक्त भएका छन् । अहिले हुम्ला, जुम्लाका दलितका छोरा पढेर डाक्टर, इन्जिनियर बन्न सक्छन । संसदमा, प्रदेश सभामा गएर मन्त्री बन्न सक्छन ।

यसले गर्दा त्यस्ता वर्गहरुको राज्य हाम्रो हो, हामीले योगदान गर्नुपर्दछ, जसले गर्दा देशमा विकास र समृद्धि आउँछ, भन्न सक्ने भएका छन् । वञ्चितीमा परेका वर्गहरुलाई मूलधारमा ल्याउने प्रशस्त प्रयास भएका छन् । अझ भन्ने हो भने २०६२÷०६३ सालको आन्दोलन सफल भएपछि नेपाल आधुनिक युगबाट उत्तरआधुनिक युगमा प्रवेश गरेको छ । हिजोको केन्द्रीकृत शासन प्रणाली पूर्णतया विकेन्द्रित भएको छ । यसमा उनको ठूलो योगदान रहेको छ ।

कमरेड पुष्पकमल दाहाल (प्रचण्डको) त्यति ठूलो योगदान हँुदाहुँदै पनि उनमा धैर्यता र स्थिरता जति देखिनुपर्ने हो त्यो देखिएको छैन । उनी देशको विभिन्न ठाउँमा मन्तव्य दिँदै हिड्छन् तर उनका हरेक भाषणहरुमा फरक–फरक आशय देखिन्छ । सरकार परिवर्तन गर्न उनी कोठे बैठकमा, व्यापारीहरु र घरानियाहरुसँग संलग्न हुन्छन् । काला बजारियाहरु देशमा स्थिरता चाहँदैनन् किनकि उनीहरु देशको विकास र समृद्धि भन्दा आफ्नो फाइदा खोज्दछन् । उनकै पार्टीका अरु मान्छेहरु मौरीले रानो नछोडे जस्तो पछि–पछि लागेर उनीसँग पदको भागवण्डा खोजिरहेका छन । कसलाई प्रधानमन्त्री बनाउने, कसलाई पार्टी सभापति बनाउने, को राष्ट्रपति हुने, लिष्ट बनाउँदै छन् ।

प्रचण्डले राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा एउटा उचाइ प्राप्त गरेका छन, तथापि राजनैतिक रुपमा धैर्यता र स्थिरता जति उनमा हुनुपर्ने हो, त्यो हुनसकेको छैन । पारिवारिक रुपमा उनले आफ्नो छोरा गुमाएका छन,् श्रीमती मानसिक रुपमा रोगी छन्, एक किसिमको पारिवारक चिन्ता उनीमा पक्कै छ तापनि उनी देश र जनताको लागि भनेर हिँडेका छन् । तर कहिले छोरीलाई मेयर बनाउन कांग्रेससँग मिल्ने, कहिले आफू र बुहारी सांसद हुन एमालेसँग मिल्ने अनि स्वार्थ पूरा भईसकेपछि अधैर्य हुँदै फेरि प्रधानमन्त्री र पार्टी सभापतिलाई म्युजिकल चियर मानेर वरिपरि घुमिरहने र कहिले कसलाई आश्वासन दिएर उचाल्ने गर्दछन ।

यसरी ठाउँ–ठाउँमा फरक–फरक आशयका भाषण गर्ने र जुनसुकै सरकार भएपनि बेला बेलामा गिराउने चलखेल गर्नु उपयुक्त हुँदैन । अहिलेको सरकार गठन भएको दुई वर्ष बितेको छ । यो सरकारलाई गिराउनका लागि कसैलाई काँधमा राख्नुभन्दा पाँचवर्ष काम गर्न दिएर यसको मूल्यांकन गर्ने जिम्मा स्वयम् जनतालाई दिनु उपयुक्त हुन्छ । हिजो चुनावबाट सुबिधाजनक बहुमत ल्याएर पटक–पटक सरकारको नेतृत्व गरेको कांग्रेस पार्टी अहिले सातवटै प्रदेशमा खुट्टो टेक्ने ठाउँ समेत नपाएर जसरी रक्षात्मक प्रतिपक्ष भएको छ । त्यसैगरी ने.क.पा. सरकारले पनि जनअपेक्षा अनुसार काम गर्न नसके त्यस्तै स्थिति आउने चुनावमा जनताले नपुर्‍याउलान भन्न सकिंदैन ।

त्यसैले प्रचण्डले एउटा राजनैतिक अभिभावकको रुपमा रहेर धैर्यताका साथ अनावश्यक चलखेल भन्दा पनि विकास र समृद्धिमा जोड दिनुपर्दछ । अहिले विश्वव्यापी महामारीको त्रासमा रहेका जनता देशमा नेताहरुको राजनैतिक धैर्यता र स्थिरताको अपेक्षा गर्दछन् । निकोलाई आस्त्रोभस्कीले आफ्नो ‘पाभेल’ उपन्यासको अन्त्यमा लेखेका छन् “मानिसलाई अरुले मूल्याङ्कन गर्ने एउटा कुरा हो, त्यो भन्दा पनि ठूलो कुरा उसले जीवनको अन्त्यमा आफूले आफूलाई मूल्याङ्कन गर्दा मैले जीवनमा जे गरें मानवजातिका लागि ठिक गरें त्यसैले मेरो जीवन सार्थक भयो । थाहा छैन, मानिसको जीवन रुपी धागो जहिले पनि चुडिन सक्छ ।” प्रचण्डले पनि यो कुरा ख्याल गर्नु उपयुक्त होला ।

हाम्रो सुझाव